नेपालका क्रिस्चियन समुदाय र सम्भवतः तिनको भन्दा बढी संख्यामा अन्य धर्मावलम्बी परिवारका युवाले भर्खरै क्रिसमस मनाए। जिसस जन्मेको दिन ठ्याक्कै कुन हो भन्ने यकिन नभए पनि डिसेम्बर २५ लाई जिसस जन्मोत्सवका रूपमा क्रिसमस मनाउने चलन छ। क्रिसमसको १ दिनपछि डिसेम्बर २६ लाई भने माओ जन्मदिनका रूपमा सम्झिने गरिएको छ।
एकदमै फरक कालखण्डमा भिन्दाभिन्दै ऐतिहासिक, भौगोलिक, सांस्कृतिक परिस्थितिमा जन्मिएका यी दुई हरेक हिसाबले फरक हुने नै भए। आफ्नैबारे उनीहरूको बुझाइ पनि एकदमै फरक थिए। ३० वर्ष नाघिसकेपछि जोनबाट दीक्षित भए तापनि जिससले आफूलाई कसैको अनुयायी मानेनन्। शाश्वतकै नजिक छु भने। आफूलाई परमेश्वरकै सन्तान हुँ भनिदिए। माओले भने आफूलाई माक्र्सका अनुयायी भने। तर उनले गुरु मानेका माक्र्सले हेगेलबाट लिएको र उनको विचार प्रणालीमा अत्यन्त महत्वपूर्ण ठाउँ ओगटेको ‘निषेधको निषेध’ सिद्धान्तलाई समेत ‘वाहियात’ भनिदिए। जिसस धेरै बाँच्न पाएनन्, उनले धेरै लामो समय शिक्षा दिन पनि पाएनन्। आफ्नो बाटोमा हिँड्न र अरूलाई बाटो देखाउन थालेको केही वर्षमै विदेशी शासक र स्थानीय यथास्थितिवादीबाट मारिए। माओले भने यी दुवैथरी वैरीलाई हराएर लामो समय राज्य गरे, विभिन्न किसिमले विवादित समेत बने। यी दुवैले मानव जगत्मा कति ठूलो प्रभाव पारे भने उनीहरू बितिसकेपछि पनि उनीहरूका नामसँग जोडिएर अनेक गतिविधिभइरहेकै छन् र तिनले संसारभरप्रभाव पारिरहेका छन्।
विविधताबीच समानता खोज्दा नै मानव सभ्यताको विकास भएको कुरा हामी किन सजिलै बिर्सिन्छौं ?
झन्डै दुई सहस्राब्दीको फरकमा एकदमै फरक परिस्थितिमा जन्मेका यी दुईबीच के–के भिन्नता थिए, खोजिरहनै पर्दैन। तर समानता पनि केही थिए कि भनेर खोज्ने हो भने धेरै देखिन्छन्। दुवैले आफ्नो समयमा आआफ्नै किसिमले आफू बाँचेको परिवेशमा सामाजिक न्याय स्थापना गर्न खोजे, त्यसैका पक्षमा लडे र आआफ्ना किसमले बलिदान समेत गरे। दुवैले पराईका शासनविरुद्ध पनि विद्रोह गरे। जिससले ऊबेलाको जुडियास क्षेत्र (अहिलेका इजरायल–प्यालेस्टाइन)मा कब्जा जमाएर मनपरी शासन गरेका रोमनविरुद्ध अप्रत्यक्षरूपमा लड्नुप¥यो भने माओले पश्चिमा मुलुक र जापानविरुद्ध। जिससका पालामा यहुदीको धार्मिकसभा ‘सान्हेड्रिन’हरू आन्तरिक यथास्थितीवादका रक्षक हुन्थे। माओ संघर्षरत चीनमा थरीथरीका युद्धसरदार र पछिल्लो अवधिमा दक्षिणपन्थी हुँदै गएको कोमिन्ताङ। कुनै न कुनै रूपमा आआफ्नो देशकाल–परिस्थितिअनुरूप विदेशी शासक र आन्तरिक शक्तिशाली यथास्थितीवादीको विरोध गरेका जिसस र माओ दुवैले असंख्य अनुयायी पाए, त्यत्तिकै शत्रु कमाए, विश्वव्यापी प्रभाव जमाए। जिससले आफ्नै अनुयायी जुडासको अन्तरघात भोग्नुपरेजस्तै माओले पनि लिन–प्याओको अन्तरघात खेप्नुप¥यो। दुवैका अनुयायीबीच प्रशस्त वादविवाद, असहमति र विभिन्न कालखण्डमा त काटमारसमेत भए। अहिले पनि थरीथरीका समूहमा विभाजित क्रिस्चियन तथा माओवादी यो दुनियाँमा छन्।
क्रिसमस र माओको जन्मदिन दुवै भर्खरै सम्पन्न भएको यो बेला आआफ्ना किसिमले मानवजातिको इतिहासमा उल्लेख्य पदचिह्न छाडेका यिनलाई सम्झिरहँदा हामीले के सिक्ने ? के चिन्तन गर्ने ? हाम्रो भूमिमा न जिसस जन्मिएका थिए न माओ। तर यिनलाई, यिनले देखाएका पथर यिनका अनुयायी भएको दाबी गर्नेका बारेमाबेवास्ता गर्न सक्ने स्थितिमा हामी छेनौं। अत्यन्त छिटोछिटो बढिरहेका चर्च नेपालमा जहिले पनि चर्चामा रहने गरेकाछन् भने माओलाई गुरु मान्ने कोही सत्तामै छन्, कोही सत्ताबाहिर, अझ कोही त फेरि सशस्त्र क्रान्तिकै कुरा गर्दैछन्। यी दुवै यतिबेला जीवित नरहँदा पनि उनीहरूले संसारभर प्रभाव पारी नै रहेका छन्।
जतिसुकै महत्वपूर्ण जीवन बिताएका मानिसको इतिहास पनि समयसँगै बिस्तारै–बिस्तारै धूमिल हुँदै जानेरहेछ। इतिहासको ठाउँ बिस्तारै श्रुतिले लिँदै जानेरहेछ, विभिन्न पुराण बन्दै जाने रहेछन्। अनि ती पुराणका आधारमा जतिसुकै महान् मानिसका अनुयायी पनि विभाजन हुँदै जाने रहेछन्। दुई हजार वर्षअघि मानिसबीच बाँचेका जिससबारे त यतिबेला श्रुति र इतिहासबीचको दूरी निकै फराकिलो भई नै सक्यो। आफूलाई पक्का क्रिस्चियन मान्नेबीच कतिपटक घमासान युद्धसमेत भए। अझै पनि उनीहरूबीच प्रशस्त दूरी बाँकी नै छ। एक शताब्दीअघिमात्रै भर्भराउँदो युवा क्रान्तिकारी रहेका माओकै अनुयायी भनिनेबीचको दूरी पनि फराकिलो हुँदै गइरहेकै छ। यो दूरी अझै बढ्दै जानु पनि पटक्कै अस्वाभाविक हुने छैन। ‘महापुरुष’का नामले भोग्नुपर्ने नियति नै हो यो। हामी भन्छौं– हाम्रो लुम्बिनीमा जन्मेका बुद्ध अलि फरक थिए। उनी ‘खुरुक्क मैले भनेको गर’ भन्नुको सट्टा ‘यो मैले अनुभूत गरेको कुरा हो, मैले पहिल्याएको ज्ञान हो, तर तिमी आफैं हेर, अनुभूत गर, आँखा चिम्लेर मेरोपछि नलाग’ भन्थे। तर उनकै अनुयायीमा पनि ‘मलाई पछ्याऊ, किनभने बुद्धले भनेको साँच्चै बुझ्ने त मै हु’ भन्ने प्रशस्तै भए। फलतः बुद्धकै अनुयायीसमेत उत्तिकै विभाजित छन्।
उनीहरूबाट प्राप्त भइसकेका ज्ञानका आधारमा नयाँ ज्ञान सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको। इतिहास, श्रुति र पुराणका भारीमुनि किचिएर मर्नु आजका मान्छेको काम होइन। नयाँ इतिहास सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको।
महापुरुष भनिएका मानिसबीच मात्र होइन, संसारमा भएका बिलकुलै फरक प्राणीबीच पनि समानता छन्। खोज्ने नै हो भने असमानताभन्दा बढी समानता नै धेरै छन्। मानिस र चिम्पान्जीबीचको वंशाणु झन्डै ९९ प्रतिशत मिल्छ रे। मुसो र मानिसकै पनि झन्डै ७० प्रतिशत ! मानिस–मानिसबीच त अनेक कुरामा समानता छ नै। तर पनि भिन्नताबोध किन समानताबोधभन्दा सहज हुन्छ? विविधताबीचसमानता खोज्दा नै मानवसभ्यताको विकास भएको कुरा हामी किन सजिलै बिर्सिन्छौं ? मानिसका अनेक समान आवश्यकता, ग्लानीबोध, तृष्णा, आकांक्षाआदिका कारण विश्वग्रामको चित्र झन्झन् स्पष्ट हुँदै गएको यो बेला पनि अन्धराष्ट्रवाद, नश्लवाद र लघुराष्ट्रवादका अनेक रूप, विभिन्न तहका विभाजन किन झन् टड्कारो बन्दैछन् ? यो ठूलै अनुसन्धानको विषय होला। र, अनेक अध्ययन हुँदै पनि गर्लान्। तर जुन युगमा हामी बाँचिरहेका छौं, त्यसका विशेषता गम्ने हो भने र जुन युगमा प्रवेश गर्दैछौं त्यसका चुनौती पनि आत्मसात् गर्ने हो भने विद्यमान भिन्नताबीच समानता पहिल्याउन र विविध पहिचानभित्र एकता विकास गर्न आवश्यक मात्र होइन, आत्तुरी नै भइसकेको देखिन्छ। यो केवल विश्वशान्ति, भाइचारा, समान समृद्धि वा खुसी आदिका निम्ति होइन, पृथ्वीकै भविष्य तथा सबै–सबै रूपको रक्षाका निम्ति एउटा गम्भीर सवाल भइसकेको छ।
भिन्नतालाई केन्द्रमा राख्दा बन्ने पहिचान हो। पहिचानका आफ्ना फाइदा छन्। मानव इतिहासको विभिन्न कालखण्डमा त्यसले विकासका निम्ति ठूलो भूमिका निर्वाह गरेको पनि थियो। समयको आवश्यकता पनि थियो, बाध्यता पनि थियो। तर विश्व सभ्यताको विकास भने मानिस–मानिसबीचका भिन्नतालाई केन्द्रमा राख्दा होइन, समानता खोज्ने क्रममा भएको हो। वैश्विक एकता गराउने काम समानताको खोज वा आकांक्षाले गरेको हो। निश्चय नै,यसका नाममा धेरै नोक्सान पनि भएका छन्। तर यी नोक्सानी त्यसबेलाका ज्ञान, न्याय–अन्यायबुझ्ने मापदण्डमा रहेका त्रुटि, सांस्कृतिक विशेषता आदिका कारण भएका थिए। यतिबेला मानिससँग आफ्ना ऐतिहासिक गल्ती देख्न सक्ने साधन र दृष्टि पनि छ, स्वीकार्न सक्ने हिम्मत र विवेक पनि बिस्तारै विकास हुँदै छ।
यस्तो बेला, परम्परागत सांस्कृतिक, राजनीतिक मान्यताको कैदी भएर यो वा त्यो महापुरुषको अनुयायीका रूपमा आफ्नो पहिचान खोज्न होइन, आफ्नो वर्तमान र अब प्रवेश गर्नुपर्ने नयाँ युगका चुनौती सामना गर्ने पूर्ण मान्छे हुने प्रयत्नमा लाग्नु बढी महŒवपूर्ण छ। र त्यो चुनौतीको एउटा महत्वपूर्ण घटक हो– विविधताबीच समानता पहिल्याउने इमान्दार प्रयत्न। महापुरुष आफ्नै जीवनकालमा उपयोगी हुन्छन्। यो वर्तमान हिजोका महापुरुषको होइन। उनीहरूबाट प्राप्त भइसकेका ज्ञानका आधारमा नयाँ ज्ञान सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको। इतिहास, श्रुति र पुराणका भारीमुनि किचिएर मर्नु आजका मान्छेको काम होइन। नयाँ इतिहास सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको।
प्रकाशित: ११ पुस २०७६ ०५:१० शुक्रबार