प्रायः नेपाली आफूलाई अभागी ठान्छन्। भाग्यशाली हुने मानिस पनि भाग्य पल्टिएला भनी डराउँछन्। हुन पनि नेपालको इतिहास यस्तै भाग्य खुलेका र नखुलेका मानिसको कथाले भरिएको छ। तर आज एक/दुईजना व्यक्तिको भाग्य जागेको र एक÷दुईजनाको भाग्य हराएको कथामा मानिस रुचि लिंँदैंनन्। उदाहरणका लागि केपी शर्मा ओली र पुष्पकमल दाहालको भाग्य जागेको र ज्ञानेन्द्रवीरविक्रम शाहको भाग्य हराएकामा नेपाली त्यति धेरै महत्व दिँदैनन्। उनीहरू यसलाई समयको एउटा चक्रमात्र मान्छन्। उनीहरूको सोचाइमा अब व्यक्ति महत्वपूर्ण होइनन्। अबको सोचाइमा देश महत्वपूर्ण मान्छन्। नेपाल रहे न नेपाली रहन्छन् भनी विश्वास गर्छन्।
हुन पनि नेपालीले चाहिँदो जति सबै अनुभव बटुलिसके। २००७ सालको परिवर्तन हुँदा मानिस कति न आशावादी थिए। के के न होला ? कस्तो युग परिवर्तन होला ? समयले सँगै लिएर आएका परिवर्तन त भए। शिक्षाको महत्व ह्वात्तै बढ्यो। मानिस बोल्न चाल्न थाले। समाज सल्बलायो। राजनीतिक हल्लीखल्ली बढ्यो। प्रजातन्त्रको नाउँमा अनेक सिद्धान्त र स्वतन्त्रताको खोजी भयो तर स्थिरता आएन। आजसम्म पनि मानिस यही विवाद गर्दैछन् कि राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्रीलाई हटाएर ठीक गरे कि गरेनन् ?प्रजातन्त्रवादीहरूले र खासगरी त्यस व्यवस्थाबाट लाभ पाइरहेकाले राजा महेन्द्रलाई सराप्न छाडेका छैनन्। तर अरुले त्यस कदमलाई सही र उचित पनि मानेका छन्। यो विवादको टुङ्गो कहिल्यै लाग्ने छैन। तर उनको पालामा के÷कस्ता उपलब्धि भएका थिए भनेर बारम्बार दोहो-याइने गरिन्छ। त्यो त आँखाले देख्न सकिने सत्य नै हुन्।
केपी शर्मा ओली र पुष्पकमल दाहालको भाग्य जागेको र ज्ञानेन्द्र शाहको भाग्य हराएकामा नेपाली त्यति धेरै महत्व दिँदैनन्। उनीहरू यसलाई समयको एउटा चक्रमात्र मान्छन्।
त्यही प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना भएको भनेर २०४६ सालमा ठूलो रडाको मच्चाइयो। दलहरूको राजकाज चल्न थालेपछि पुनः के के न प्रगति हुन्छ भनेर मानिस आश गर्न थाले। नभएको त कहाँ हो र ! नयाँ नयाँ सत्ताकेन्द्र निस्के। दरबारको रजगज कम भएर गयो। तर त्यसको साथसाथै भ्रष्टाचारका अनेक रूपरंग निस्के। भ्रष्टाचारको रकम कलम बढ्दै गयो। हजारौँ रुपियाँ हिनामिना भएको सुनिन्थ्यो। अब लाखौँं रुपियाँ अपचलन हुन लाग्यो भनेर सुनिन थाल्यो। गर्दागर्दा त्यो रकमको अंक करोडमा उच्चारण गर्न थालियो। प्रजातान्त्रिक युगले ३० वर्ष काट्दा÷नकाट्दा त्यो रकमको थैली अरबमा पुग्यो। आज कतै करोड हिनामिना हुँदा मानिस नाक खुम्च्याउँछन् किनभने हिनामिनाको रकम अरबमा सुनिन थालिएको समयमा करोडको रकम सानै देखिन्छ।
हुन पनि नेपालको प्रजातन्त्र पनि गजबको छ। कहिले राजाले खाने, कहिले माओवादीले खाने। प्रजातन्त्रकै मातहतमा राजा थिए, दल थिए। तर त्यसमाथि माओवादी हतियार लिएर खनिए। किन खनिएका होलान् यसरी भनेर मानिस छक्क परे। आखिर बोल्न पाएकै थिए। दल खोल्न पाएकै थिए। होहल्ला गर्न पाएकै थिए। फेरि त्यसमाथि हतियार नै उठाउनुपर्ने, मानिस मार्नैपर्ने र सरकारी घर भत्काउनैपर्ने ? के त्यस्तो परिस्थिति आएको थियोे र ? तर विध्वंश भएर नै छाड्यो। आखिर १७ हजारको ज्यान गयो। त्यसबाट नेपाली जनताले के पाए? उही पुरानो मक्किएको संसदीय व्यवस्था। ३० अर्ब खर्च गरेर एउटा संविधान आयो। त्यो पनि उबडखाबडले भरिएको छ। जसले त्यो बनाएको थियो उसैलाई घाँडो भएर बसेको छ। त्यसले बनाएको विधिविधान लागु हुन सक्दैन भनी थाहा हुँदाहुँदै जसरी भए पनि यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर भन्न छाडिएको छैन। यो तमासा पनि नेपाली जनताले हेरिरहेका छन् भोगिरहेका छन्। यसलाई भाग्यशाली भन्ने कि अभाग्यशाली ?
के त्यस्तो परिस्थिति आएको थियोे र ? तर विध्वंश भएर नै छाड्यो। आखिर १७ हजारको ज्यान गयो। त्यसबाट नेपाली जनताले के पाए? उही पुरानो मक्किएको संसदीय व्यवस्था। ३० अरब खर्च गरेर एउटा संविधान आयो। त्यो पनि उबडखाबडले भरिएको छ। जसले त्यो बनाएको थियो उसैलाई घाँडो भएर बसेको छ।
सबभन्दा गजबको कुरा के भयो भने नेपालीले थाहा पाए को के हुन्। उनीहरूले थाहा पाए २००७ सालमा कसरी मोहनशमशेरलाई प्रधानमन्त्रीमा कायम राखियो ? उनीहरूले थाहा पाए कसरी कोशी, गण्डक र महाकाली नदी बेचिए। आखिर माओवादी जनयुद्ध भनियो तर कसरी बाहिरबाट परिचालित भएका रहेछन् ? गर्दागर्दा अहिले आएर थाहा पाए कसरी कालापानी, लिम्पियाधुरा र लिपुलेक अर्काको अधीन पर्न गएको रहेछ। अझ थाहा पाउँदैछन् कसरी नेपाल सरकारले त्यसबारेमा छलि काम गर्दैछन्।
यी सब कुरा थाहा पाएर पनि नेपाली जनता हनुमान जस्तै बेसुर भएर बसेका छन्। हनुमानले एउटा ऋषिको श्रापका कारण आफ्नो भूत बिर्सिएका थिए। उनको उड्न सक्ने क्षमता भएको स्मरण पनि हुन छाडेको थियो। रामायणको कथामा लंका जानुपर्दा उनी उडेर जान सक्छन् भन्ने तथ्य बिर्सिएका थिए। उनलाई सो कुरा सम्झाउनुपरेको थियो। सम्झाएपछि उनी उडेर देखाए, काम फत्ते गरेर छाडे। उही हाल आज नेपाली जनताको छ। २०६२ सालको आन्दोलनमा नेपाली जुन संख्यामा सडकमा आए सो अकल्पनीय थियो। न आन्दोलनकारी नेताहरूले कल्पना गरेका थिए न दरबारले अनुमान लगाएको थियो। यतिसम्म कि अन्तर्राष्ट्रिय जगतले पनि त्यो तादातमा नेपाली आन्दोलनमा उत्रिएला भनेर सोंचेका थिएनन्। तर उत्रिए। परिवर्तन ल्याए।
हनुमान रामभक्त भनेर जानिन्छन्। त्यसैगरी नेपाली सेवाभक्त भनेर चिनिन्छन्। चौकीदारी गर्छन् तर इमान्दारीका साथ गर्छन्। उनीहरूको विश्वासमा सबै सेठगहिरो निद्रामा सुत्न पाउँछन्। लडाइँमा इमान्दारीसाथ लडछन्। मरिएला भनी डराउँदैनन्। बहादुरी देखाए। बहादुर कहलिए। अहिले पनि बहादुर भनेर नै चिनिन्छन्। आजसम्म त्यो बहादुरी अरुका लागि गरिएको थियो। अब त्यो नेपालका लागि हुनुप¥यो। अब खालि उनीहरूले एकपटक सम्झनुप-यो। त्यसका लागि सम्झाउनुप¥यो। किनभने हनुमानले जस्तै नेपाली जनताले पनि आफ्नो शक्ति बिर्सेर बसेका छन्।
नेपाल आज पुनः संकटमा परेको छ। हनुमान संकटमोचनका लागि प्रख्यात छन्। हामीले देखेकै छौँं जहाँ संकट आइलाग्छ त्यहाँ नेपाली पुग्छन्। अफ्रिका, एसियाका विभिन्न देशमा संकट आइपर्दा नेपाली दौडेर जान्छन्। अन्तर्राष्ट्रिय शान्ति सेनामा नेपालीको ठूलो नाउँ छ। द्वन्द्व भएको मुलुकमा बस्नु, कुर्नु, शान्ति कायम राख्नु संकट मोचनको काम हो। श्रमको संकट परेको देशलाई श्रम दिनु, मानव सेवकको संकट परेको समाजलाई सेवक÷सेविका पठाउनु र भयबाट त्रसित मानिसलाई अभयदान दिनु संकटमोचनको काम हो। जसरी हनुमान संकट मोचनका लागि प्रसिद्ध छन्, नेपाली पनि संकट मोचनमा संलग्न छन्। जो नेपालीहरूसंसारमा संकट मोचनका लागि कहलिएका छन्,के उनीहरूले आफ्नो देशलाई आइपर्दा संकटमोचन गर्न सक्दैनन् ? अवश्य गर्न सक्छन्। तर हनुमानलाई जस्तै नेपाली जनतालाई पनि बिर्सिने बानी लागेको छ। त्यसकारण उनीहरूलाई बराबर सम्झाउनु आवश्यक छ।
प्रकाशित: १० पुस २०७६ ०५:१९ बिहीबार