समाज, संस्कृति र सभ्यता– प्रकृति र मानवबीच निरन्तर चलिरहने अन्तरसम्बन्ध र अन्तरसंघर्षका उपज हुन्। पूर्वी विश्व दृष्टिकोणबाट प्रभावित हाम्रो समाज र संस्कृतिले सदैव जीव, जगत् र जीवनको अन्तरसम्बन्ध र सहअस्तित्व स्वीकार गरेको पाइन्छ। मानिस आफूलाई प्रकृतिको एक अंश हो भन्ने ठान्छ, त्यसैले होला– अन्य समाजभन्दा पूर्वीय समाज प्रकृति, प्राकृतिक स्रोत र अन्य जीवजन्तु उपयोगमा धेरै हदसम्म संयमित र अहिंस्रक छन्।
रक्षित प्रकृतिबाट मात्र हाम्रो रक्षा हुन्छ भन्ने वैदिक मान्यता छ। त्यस्तै मानव जीवन धेरै हदसम्म जंगल, जमिन, जीवजन्तु र जलको वरिपरि घुमेको हुन्छ भन्ने बुझाइ छ। वैदिक शास्त्रमा मानव जीवनको उतराद्र्धमा प्रकृतिसँग एकाकार हुन वानप्रस्थ आवश्यक ठानिन्छ। अठारौं शताब्दीका प्रसिद्ध अमेरिकन प्रकृतिप्रेमी जोन मिउर पनि भन्ने गर्थे– ‘जंगलमा गएपछि म आफ्नो ‘मन’ गुमाउँछु र ‘आत्मा’ प्राप्त गर्छु।’ वनजंगलमा विभिन्न रोगको निदान गर्न सक्ने उपचारात्मक गुण हुन्छन् भन्ने कुरा त वैज्ञानिक अध्ययनबाट पनि प्रमाणित भइसकेको छ। त्यसैले होला– जापान, कोरिया, अमेरिका, क्यानडा र युरोपका डेनमार्कजस्ता विकसित मुलुकमा रक्तचाप, एलर्जी, तनाव, डिप्रेसन, श्वासप्रश्वास आदि समस्याको उपचारका लागि वनजंगलमा घुमाउन लैजाने, वन शिविरमा राख्ने चलन बढ्दो छ। जापानमा यस कार्यलाई ‘सिनरिन याकु’ (वनस्नान) भनिन्छ।
सकिन्छ, संरक्षित क्षेत्र पुस्तौंपुस्तासम्मलाई हुने गरी जोगाऔं, सकिँदैन, कम्तीमा नबिगारौं, नबेचौं– नेपाल र नेपालीको समृद्धि र सुखका लागि।
नेपाल प्राचीनकालदेखि नै वनजंगल, जडीबुटी र पवित्र देवभूमिका रूपमा सुपरिचित छ। नेपाली समाजका संस्कृति र संस्कारमा प्रकृतिका विभिन्न पहलु जस्तै ः वनजंगल, जनावर, बोटबिरुवा, पहाड, हिमाल, नदीनाला, ताल तलैया, हरिया फाटँ आदिको गहिरो प्रभाव देखिन्छ। जसरी बिहानीको घामको किरणले शीत हराउने पार्छ, त्यस्तै मानिसका सबै पाप हिमालको एक दर्शनले नास हुन्छ भन्ने पौराणिक भनाइ छ। त्यसैले होला– हामीले परापूर्वकालदेखि नै प्रकृति र प्राकृतिक स्रोतको सम्मान, संरक्षण र सदुपयोगमा विशेष महŒव दिएको पाइन्छ। नेपाली समाजले आर्थिक स्रोतका रूपमा मात्र नभई सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्पदाका रूपमा समेत वनजंगल, नदीनाला, पहाड संरक्षण गरिरहेको छ।
विकास र विज्ञानको प्रगतिसँगै मानव–प्रकृति सम्बन्धका उद्देश्य र संरक्षण विधिमा फरक पर्नु स्वाभाविक भए पनि यसका आधारभूत र मौलिक तŒव सदैव उस्तै हुन्छन्। त्यसैले होला– नेपाली समाज प्रकृति संरक्षणमा सदैव सकारात्मक पाइन्छ। फलस्वरूप आज नेपाल प्रकृति संरक्षणमा विश्वमै अग्रस्थानमा छ। सन् १९७० को मध्यदेखि आधुनिक संरक्षण परिपाटी अँगालेको नेपालले हालसम्म २० वटा संरक्षित क्षेत्र बनाइसकेको छ। देशको कूल भूभागको २३ प्रतिशतभन्दा बढी क्षेत्रफल ओगटेका संरक्षित क्षेत्र– विश्वमै संकटापन्न अवस्थामा रहेका बाघ, गंैडा, हात्तीजस्ता वन्यजन्तु जोगाउन र सगरमाथाजस्ता संसारकै अग्लो हिमशिखर र विश्वकै गहिरो कालीगण्डकी घाँटीजस्ता अद्वितीय भूस्थल संरक्षण गर्न सफल भएको छ।
संरक्षित क्षेत्र, नेपाल आउने ५० प्रतिशतभन्दा बढी पर्यटकको आर्कषणको केन्द्र बनेका छन्। बढ्दो वन विनाशका कारण ‘हरिया टापु’जस्ता भएका हाम्रा संरक्षित क्षेत्र विभिन्न बोटबिरुवा र जीवजन्तुको अन्तिम आश्रयस्थल र प्रमुख ‘कार्बन सञ्चित’ क्षेत्र बनेका छन्। विज्ञका अनुसार हाम्रो वनजंगलले सञ्चित गरेको ११५७.३७ मिलियन टन कार्बनको करिब ३० प्रतिशत (३४४.२० मिलियन टन) कार्बन संरक्षित क्षेत्रमा मात्र सञ्चित छ। प्रतिटन मूल्य १० डलर मात्र राख्यो भने पनि संरक्षित क्षेत्रमा सञ्चित कार्बनको मूल्य झन्डै ४ खर्ब हुन्छ। जुन दिगो विकास लक्ष्य प्राप्त गर्न लाग्ने वार्षिक बजेटको २५ प्रतिशतजति हो।
प्रकृति आफैंमा अथाह र रहस्यमय छ। संसारमा हरेक वर्ष नयाँ बोटबिरुवा र जीवजन्तुका प्रजाति पत्ता लाग्ने क्रम जारी छ। गत वर्ष मात्र नेपालमा एक दुर्लभ चरा प्रजाति, एक माउसुली र नेपालमा मात्र पाइने दुईवटा सुनाखरी प्रजाति पत्ता लागेको समाचार प्रकाशन भएको थियो। त्यस्तै सन् २००९ मा ३ सय ५३ नयाँ प्रजाति पूर्वी हिमाली क्षेत्रमा पत्ता लागेको रिपोर्ट सार्वजनिक भएको थियो। जसमध्ये ९४ वटा वा २७ प्रतिशत प्रजाति नेपालका थिए। नेपालजस्तो देश, जहाँ जैविक विविधताको सर्वेक्षण पर्याप्त भएका छैनन्, जान–अन्जान प्राकृतिक क्षेत्रको क्षतिबाट हाम्रा अमूल्य प्राकृतिक स्रोत पहिचान र हामीलाई तिनको महŒवबारे ज्ञान हुनुअघि नै ती नष्ट हुन सक्छन्। यसबाट हाम्रा भावी पुस्ताको अनुसन्धान, आविष्कार र आर्थिक अवसर खुम्चिन पुग्छ।
प्रकृति संरक्षणको महŒवलाई अझ बढी उजागर गर्न यहाँ प्रकृतिबाट प्रेरित भएर मानिसले कसरी उपयोगी आविष्कार गर्छन् भन्ने केही उदाहरण उल्लेख गर्नु उपयुक्त होला। बुलेट ट्रेनको इन्जिनको थुतुुनो किङफिसर चराको चुच्चोबाट लिइएको हो, फ्रान्सका विश्वप्रसिद्ध इफेल टावरको डिजाइन उभिएको जिराफबाट लिइएको भनाइ छ। लामखुट्टेको सुँडबाट प्रेरणा लिई जाँच गर्न रगत निकाल्ने सियोको परिमार्जन गरिएको हो। त्यस्तै भर्खर एककजना चराप्रेमीले माकुरोको जालोबाट प्रेरित भएर चरा नठोकिने विशेष किसिमको सिसाको डिजाइन गर्न मद्दत गरेका छन्। प्रकृति संरक्षणको आवश्यकता र वैज्ञानिक अनुसन्धान तथा आविष्कारको अन्तरसम्बन्ध र महŒव कति रहेछ भन्ने कुरा यसबाट प्रस्ट हुन्छ। अतः हाम्रो प्रगति र समृद्धि प्रेरणाको स्रोत भण्डार– प्रकृतिको संरक्षणमा निहित छ, विनाशमा होइन।
तर हाम्रो देशमा भने मुलुकको वातावरणीय, आर्थिक र सामाजिक दीर्घकालीन हित र सुरक्षाका लागि अति महŒवपूर्ण र संवेदनशील यस्ता संरक्षित क्षेत्रको– केही समयदेखि समृद्धि र विकासका नाममा संरक्षणका विश्वव्यापी मूल्य–मान्यता बेवास्ता गर्दै जथाभावी दोहन गर्ने कुचेष्टा हुन थालेको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा तीन केबलकार र रिसोर्ट प्रोजेक्ट थालनी गर्न खोज्नु, कम शुल्कमा संरक्षित क्षेत्रभित्र रिसोर्ट खोल्न दिन कोसिस गर्नु, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा खुला चिडियाखानाको अवधारणा १५औं योजनामा प्रस्ताव हुनु, एयरपोर्ट, प्रान्तीय राजधानी र औद्योगिक क्षेत्र वन्यजन्तु करिडोर र जैविक विविधता संरक्षणका दृष्टिले संवेदनशील क्षेत्रमा प्रस्ताव गर्नु, भूबनोट र वातावरणीय पक्षको उचित विचार नगरी देशका विभिन्न भागमा जथाभावी सडक योजना सञ्चालन गर्नुजस्ता कार्य केही प्रतिनिधि उदाहरण मान्न सकिन्छ।
यसरी संरक्षणका आधारभूत सिद्धान्त र उद्देश्य बेवास्ता गर्दै ऐन–नियम परिमार्जन गरी सीमित व्यक्तिलाई असीमित आर्थिक फाइदा दिलाउने परिवेश निर्माण गर्न खोज्नु ज्यादै अनुत्तरदायी सोच हो भन्नु अतिशयोक्ति नहोला। यस्ता क्रियाकलाप संविधानको भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धता र देशको दीर्घकालीन हितप्रतिकूल छन्। वर्तमान सरकारका यस्ता गतिविधिले दिगो र सन्तुलित विकासमा विश्वास राख्ने नागरिकलाई ज्यादै चिन्तित बनाएको छ। ‘न्यातपोल’ भत्काएर ‘नेपाल टावर’ बनाउन खोज्ने प्रवृत्तिको सर्वत्र विरोध हुनेछ भन्ने अपेक्षा गर्नु अनुचित नहोला।
हामीले के भुल्न हुँदैन भने वास्तवमा राज्यले संरक्षित क्षेत्रलाई ‘प्रजातान्त्रिक स्थल’ का रूपमा व्यवस्थापन गर्नुपर्छ, जहाँ सबै नागरिकलाई प्राकृतिक सुन्दरताको रसस्वादन गर्न र प्रकृतिमा रमाउन समान अवसर प्राप्त होस्। तर साम्यवादमा विश्वास गर्ने दलको शक्तिशाली सरकार नै आफ्नो राजनीतिक सिद्धान्तविपरीत संरक्षित क्षेत्र सामाजिकीकरण गर्नुको साटो केही व्यक्तिको फाइदाका लागि व्यापारीकरण गर्ने बाटोमा लाग्नु ठूलो विडम्बना हो।
सिंगो विश्व दीर्घकालीन वातावरणीय सुरक्षा र सन्तुलित विकासको बाटोतर्फ अग्रसर छ, तर हामी भने स्वविनाशकारी (सेल्फ डिस्ट्रक्टिभ) र अनुपयुक्त (आउट डेटेड) विकास मार्ग अनुसरण गर्ने प्रयास गरिरहेका छौं। हाम्रो देशका राजनीतिक नेतृत्व वर्गले संयुक्त राज्य अमेरिकाका ३२औं राष्ट्रपति थिओडोर रोजवेल्टबाट सिक्नु राम्रो होला, किनकि उनी प्रकृति संरक्षण, आर्थिक समृद्धि र राज्य शक्ति एकसाथ प्राप्त गर्न सकिन्छ भन्ने राम्रो उदाहरण पेस गर्ने एक सफल राजनेता हुन्। आर्थिक समृद्धिको सपना नेपालको सुन्दर प्रकृति र अथाह हरित स्रोतको उचित संरक्षण र सदुपयोगबाट मात्र सम्भव छ भन्ने कुरा दोहो¥याइरहनु नपर्ला। प्रकृति संरक्षण र संरक्षित क्षेत्रलाई ‘समाज कल्याणकारी’ कार्यक्रमका रूपमा बुझौं, व्यक्तिगत सम्पत्ति आर्जन गर्ने उद्यमका रूपमा होइन। सकिन्छ, संरक्षित क्षेत्र पुस्तौंपुस्तासम्मलाई हुने गरी जोगाऔं, सकिँदैन, कम्तीमा नबिगारौं, नबेचौं– नेपाल र नेपालीको समृद्धि र सुखका लागि।
पूर्वसदस्य, राष्ट्रिय योजना आयोग
प्रकाशित: ९ पुस २०७६ ०६:१२ बुधबार