१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

विदेशी मुद्रा आर्जनको माध्यम : पुनर्बिमा

प्रवीण सुवेदी

जोखिमहरूको व्यवस्थित विधिबाट उचित व्यवस्थापन गरिने विधिलाई बिमा भनिन्छ। बिमा कम्पनीहरूमा जम्मा भएर रहेका जोखिमहरूलाई सुरक्षित गरिने कार्य वा प्रणालीलाई चाहिँ पुनर्बिमा भनिन्छ। यस्ता प्रकारका जोखिमहरू धारण गर्ने कम्पनीलाई पुनर्बिमा कम्पनी भनिन्छ। सर्वसाधारण व्यक्ति वा संस्थाका जोखिमलाई बिमा कम्पनीले धारण गर्छन् भने बिमा कम्पनीमा रहेको जोखिमलाई पुनर्बिमा कम्पनीहरूले धारण गर्छन्। अर्को सरल भाषामा भन्नुपर्दा बिमाको पनि बिमा हुने प्रक्रियालाई पुनर्बिमा भनिन्छ। बिमाको पनि बिमा नभै बिमा कारोबार पूर्ण हुँदैन। पुनर्बिमाबिना बिमाको सम्भावना नै रहँदैन। अझ भनौँ, पुुनर्बिमा नभई बिमा कम्पनीहरू सञ्चालन हुनै सक्दैनन्। पुनर्बिमाबारे बुझ्नुभन्दा पहिले बिमालाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ।

बिमा भनेको कुनै पनि वस्तु वा सेवामा रहेको जोखिम न्यूनीकरण गर्न एक पक्षले अर्को पक्षलाई जोखिम हस्तान्तरण गरिदिने पद्धति हो। अथवा विमितबाट जोखिम लिन विमकले सम्झौता गरी जोखिम लिने पद्धतिलाई बिमा भनिन्छ। विमक भनेको बिमा कम्पनी हो र त्यो नेपाल सरकारको सम्बन्धित निकाय बिमा समितिबाट बिमा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त कम्पनी भन्ने बुझ्नुपर्छ।

सर्वसाधारणले आफ्नो जोखिम हस्तान्तरण गर्न इजाजतपत्र प्राप्त बिमा कम्पनीसँग सम्झौता गरी गरिएको प्रणाली बिमा हो। यसरी एउटा बिमा कम्पनीमा धेरै जोखिम जम्मा भइरहेका हुन्छन्। यस्तो जोखिमलाई फेरि अर्को इजाजतपत्र प्राप्त कम्पनी वा संस्थामा हस्तान्तरण हुने माध्यम नै पुनर्बिमा हो।

बिमा कम्पनीभन्दा धेरै जोखिम पुनर्बिमा कम्पनीहरूले धारणा गरेका हुन्छन्। पुनर्बिमा कम्पनीहरूमा यसरी नै जोखिमहरू जम्मा भइरहेका हुन्छन् र उक्त जोखिमहरू अर्को कम्पनीमा हस्तान्तरण गर्ने व्यवस्था हुन्छ। यस्तो व्यवस्थालाई रेट्रोसेसन भनिन्छ। यो व्यवस्था पुनर्बिमा कम्पनीबीच मात्र सम्भव हुने गर्छ।

अब रेट्रोसेसनबारे केही चर्चा गरौँ। रेट्रोसेसन शब्द ल्याटिन शब्द हो र यो रिट्रो सिडिडबाट १७ औँ शताब्दीको बीचतिर प्रचलित हुन पुगेको हो। एउटा पुनर्बिमा कम्पनीले ऊसँग जम्मा हुन आएका जोखिमको मूल्यांङ्कनपश्चात जोखिम धेरै भयो, यसले कम्पनीलाई पछि क्षतिपूर्तिमा समस्या ल्याउन सक्छ भन्ने लागेमा उसले अर्को पुनर्बिमा कम्पनीलाई त्यस्तो जोखिम हस्तान्तरण गर्छ। र, यसका केही विधि र प्रक्रिया हुने गर्छ भने यस्तो प्रक्रियालाई रेट्रोसेसन भनिन्छ।

रेट्रोसेसनका माध्यमबाट धेरै ठूला ठूला जोखिमलाई पुनर्बिमा कम्पनीले धारण गर्छन्। जस्तै– बाढी, पहिरो, मनसुन आँधी, हुरी, भूकम्प तथा युद्धअन्तर्गत आइपर्ने जोखिम आदि। रेट्रोसेसनबाट ठूला ठूला रकमका कारोबार हुने गर्छन् र यी सबै विदेशी मुद्रामार्फत हुने गर्छन्। अब सजिलै अनुमान लगाउन सकिन्छ कि यस्तो पुनर्बिमाबाट विदेशी मुद्रा आर्जन पनि हुने गर्छ भनेर।

पुनर्बिमाबिना बिमाको अस्तित्व रहन सक्दैन। त्यसैले पुनर्बिमाको महत्व बढी छ। राज्यले पुनर्बिमाका सम्बन्धमा आवश्यक नीतिहरू तयार गरी पुनर्बिमा व्यवसायलाई व्यवस्थित गर्न आवश्यक छ। पुनर्बिमा कम्पनीहरूको कारोवार देशभित्र मात्र सीमित हुँदैन। यसको कारोवार अन्तर्राष्ट्रिय स्तरमा समेत हुने हुनाले राज्यले राम्रो विदेशी मुद्रा आर्जन गर्न सक्छ। अझ भनौँ, विदेशी मुद्रा आर्जन गर्ने एक राम्रो माध्यम हो पुनर्बिमा व्यवसाय। विदेशी बिमा कम्पनीहरूका जोखिम बहन गरेर तथा पुनर्बिमा कम्पनीहरूबीच हुने रेट्रोसेसनका माध्यमबाट पुनर्बिमा कम्पनीहरूले विदेशी मुद्रा आर्जन गर्न सक्छन्। रेट्रोसेसनमार्फत पुनर्बिमा कम्पनीहरूका जोखिम बहन गर्न हाम्रो देशमा रहेको पुनर्बिमा कम्पनीको मौजुदा स्तरलाई व्यापकरूपमा सुधार गरी कम्पनीको अधिकृत पुँजीमा व्यापक वृद्धि गर्न जरुरी छ। पुनर्बिमा कम्पनीको पुँजी वृद्धि जति बढाउन सकिन्छ पुनर्बिमा कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमतासमेत त्यति नै वृद्धि हुन्छ।

पुँजी वृद्धि गर्न हाल भइरहेको लगानी नीति परिमार्जन गरी देशका ठूला ठूला वाणिज्य बैंक तथा वित्तीय संंस्थाहरूले समेत लगानी गर्न सक्ने गरी संस्थापक सेयरका लागि बाटो खुला गर्न जरुरी छ। पुनर्बिमाको हाल कायम रहेको अधिकृत पुँजींमा जति वृद्धि गर्न सक्यो त्यति नै जोखिम बहन गर्न सकिने क्षमता वृद्घि हुँदै जान्छ। र, बिमा कम्पनीहरूको जोखिम पनि करिब करिब शतप्रतिशत धारण गर्न सक्षम भइनेछ।

पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूबीच कारोबार सञ्ंचालन गर्न गरिने सम्झौतालाई ट्रिट भनिन्छ। यो नगरी बिमा कम्पनीहरू सञ्चालन हुन सक्दैनन्। बिमा कम्पनीहरूले जोखिम धारण गर्न सक्ने जति आफैँ धारण गर्छन् र त्यसपछि पुनर्बिमा कम्पनीहरूमा ट्रिटमा व्यवस्था भएबमोजिमका माध्यमबाट जोखिमहरू हस्तान्तरण गर्छन्। बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीहरूबीच यसप्रकारको कार्य सम्पन्न गर्न पुनर्बिमा व्रोकरको व्यवस्था गरिएको हुन्छ जसको महत्वपूर्ण सक्रियताका कारण पुनर्बिमा व्यवसाय सम्भव र सरल हुने गर्छ।

यसरी ट्रिटमा व्यवस्था गरिएअनुसार बिमा कम्पनीहरू सञ्चालन हुने हुँदा पुनर्बिमा कम्पनीको महत्व अधिक छ। पुनर्बिमालाई बिमाको जननीका रूपमा समेत लिन सकिन्छ। बिमा कम्पनीहरूले विभिन्न प्रकारका बिमा लेखहरू जारी गरी सर्वसाधारणका जोखिम धारण गरेका हुन्छन्। भनौँ, पुनर्बिमा कम्पनीहरूको जोखिम धारण गर्न सक्ने क्षमताअनुसार बिमालेखहरू तयार गरी बिमा कम्पनीहरूमार्फत बिमालेख जारी गरी बिमा कारोवार सञ्चालन हुन्छन्।

प्रायः सबै विकसित मुलकमा पुनर्बिमा कम्पनी स्थापना भएकै हुन्छन्। नेपालमा पनि ढिलै भए पनि २०७१ साल कात्तिक महिनामा नेपाल पुनर्बिमा कम्पनी स्थापना भएको हो। तर पुनर्बिमा व्रोकरको भने हालसम्म व्यवस्था हुन सकेको छैन।

राज्यले कतिपय क्षेत्रमा बिमाका माध्यमबाट सहुलियत प्रदान हुने नयाँखालका बिमालेखहरू तयार पार्न पुनर्बिमा कम्पनीहरूलाई निर्देशन दिन सक्छ र सोहीबमोजिम तयार भएका बिमा लेखहरू बिमा कम्पनीहरूले जारी गरी बिमा कारोवार सञ्चालन गर्न सक्छन्। यस्ताखालका कार्यक्रमहरू सञ्चालन गर्न राज्यले पुनर्बिमा नीति बनाई लागु गर्न जरुरी छ।

बिमा कम्पनीका जोखिम तथा पुनर्बिमा कम्पनीका जोखिमलाई ग्रहण गर्ने विशिष्टीकृत कार्यप्रणाली भएको हुनाले यसको बजार अन्तर्राष्ट्रियस्तरमा व्यापक रहेको छ। अनुभव तथा साहसिक चातुर्यताका साथ जोखिम मूल्यांङ्कन गर्न सक्ने दक्षता भएमा यस व्यवसायवाट मनग्गे विदेशी मुद्राको कारोबार हुन सक्छ भने व्यापार घाटा व्यवस्थित गर्नसमेत मद्दत पुग्छ।

रेट्रोसेसनका माध्यमबाट पुनर्बिमा व्यवसाय प्राप्त गर्न सकिने ठूलो सम्भावना छ। यसका लागि पुनर्बिमा कम्पनीको क्षमता मूल्यांङ्कन हुने हुनाले क्षमता बिस्तार गर्न सर्वप्रथम यसको पुँजीगत संरचनामा ध्यान पु¥याउनुपर्छ। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूद्वारा समय समयमा पुनर्बिमा कम्पनीहरूको क्षमता मूल्यांङ्कन गराइराख्ने व्यवस्था रहेको हुन्छ। करोडौँ तथा अरबौँ रकम बराबरको रेट्रोसेसन हुने हुनाले पुनर्बिमा कम्पनीको पुँजीगत संरचना पनि सोहीबमोजिम जोखिम बहन गर्न सक्नेखालको हुनुपर्छ भन्ने मान्यता छ।
(अध्यक्ष, मल्टिनेसनल इन्स्योरेन्स सर्भिस सोलुसन प्रा.लि.)

प्रकाशित: २६ मंसिर २०७६ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App