१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

भ्रमण वर्षको पूर्वसन्ध्यामा

देशको समृद्धिको आधार नै पर्यटन हो भन्ने तथ्य सबैले बुझ्न जरुरी छ । अनि हरप्रकारको समृद्धिको मूल आधार सडक हो भनेर बुझ्न झनै जरुरी छ ।

भदौ अन्तिम साता काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङ यी आएको भोलिपल्ट चन्द्रागिरि डाँडा पुगे । औपचारिक भ्रमणपछिको यो उनको निजी भ्रमण थियो । उनले त्यहाँ ४ घण्टा बिताए । पश्चिम (चित्लाङ)तर्फ हेरेर लोभिएका उनी ओरालो लागे र करिब २ घण्टा ट्रेकिङ गरे । उनको त्यो सवारी निजी भएकाले समाचारमा त्यति आएन । त्यही साँझ उनको सम्मानमा सरकारले अयाोजना गरेको रात्रिभोजमा उनले चन्द्रागिरि भ्रमण र ‘हाइकिङ’ को बयान सदृश्य गरेपछि भने उपस्थित विशिष्ट पाहुना छक्क परे । उनले भनेका थिए– ‘नेपाल हिमाल र पहाडको देश, राजधानीमै यति मनमोहक रहेछ, देशभरका पहाड पर्वतले झन् कति लोभ्याउला ?’

वाङको यही बयानले होला बंगलादेशका राष्ट्रपतिको भ्रमणमा उनलाई अनौपचारिक राजनीतिक संवाद (रिट्रिट)का लागि चन्द्रागिरि लाने कार्यक्रम सरकारले नै राख्यो । तर अस्वस्थताका कारण उनी पुग्न सकेनन्, भ्रमण दलका अरू सदस्य गए । त्यो डाँडामा जाने भारतीय विदेशमन्त्री सुष्मा स्वराजको इच्छा भने पूरा हुन सकेन । दुई वर्षअघि बिमस्टेकको मन्त्रिस्तरीय बैठकमा आउँदा सबैजसो विदेशमन्त्री केबलकार चढेर चन्द्रागिरि पुगे र घण्टौं रमाए । सुष्मा भालेश्वर महादेव दर्शन गर्न चाहन्थिन् । उनले त्यस स्थानमा सतीदेवीको निधार पतन भई महादेव उत्पत्ति भएको तथ्य आफैं पत्ता लगाई भालेश्वर जान चाहेकी थिइन् । केही समयअघि मात्र मिर्गौला प्रत्यारोपण गरिएकाले उनलाई कलंकी–थानकोट सडकको हालतका कारण निजी चिकित्सकले नजान सुझाए ।

बिमस्टेकको शिखर सम्मेलनका सबै कार्यक्रम सोल्टी होटलमा राखिएको थियो । तर बैठकका सहभागीलाई गोकर्ण रिसोर्टमा ‘रिट्रिट’ कार्यक्रम परराष्ट्रले सार्वजनिक गर्‍यो, जुन मिडियामा आइसकेको थियो । चावहिल–बौद्ध सडक निर्माण चाँडो सक्न प्रधानमन्त्री र मन्त्रीले दबाब दिएका समाचार पनि आए । एक दिन त पूर्वप्रधानमन्त्री माधव नेपाल र भौतिक योजनामन्त्री रघुवीर महासेठ सडकमै पुगेर चाँडो निर्माण सक्न ठेकेदारलाई निर्देशन पनि दिए । तर पनि समयमा सकिएन । जसका कारण विदेशी नेताहरूका लागि सोल्टीमै कार्यक्रम आयोजना गरियो । यो घटनाले राष्ट्रकै बदनाम भएको थियो । परराष्ट्रले अरू मन्त्रालयसँग समन्वय नगरी कार्यक्रम बनाउँदा यस्तो हालत भएको पछि भौतिक योजना मन्त्रालयले बतायो ।

नेपाल यतिखेर भ्रमण वर्ष– २०२० को पूर्वसन्ध्यामा छ । २० लाख पर्यटक भित्र्याउने तयारीमा हामी छौं । तर हाम्रा पर्यटकीय संरचना, पूर्वाधारकोे अवस्था कमजोर छ । माथिका उदाहणले त हाम्रो राजधानीकै अवस्था बत्तीमुनिको अँध्यारोमा रहेको देखाउँछन् । पहिलो उदाहरणको कुरा गर्‍यौं भने राजधानीनजिकैको ट्रेकिङ रुटको पहिचान चिनियाँ विदेशमन्त्रीले गराए, जुन अवसर हामी आफैंले खोज्न सकेनौं । यहाँ चन्द्रागिरि–चित्लाङ ट्रेकिङ रुट प्रतिनिधि स्थान मात्र हो, यसले देशैभरका यस्ता सम्भावना खोज्न सरकारको ध्यानाकर्षण गराउँछ । अर्काे कुरा– विदेशमन्त्री वाङको ‘हिमाल र पहाडको देश नेपाल राजधानीनजिकै त यस्तो रहेछ झन् देशैभरिका हिमाल र पर्वत कति लोभलाग्दा होलान्’ भनाइबाट पनि हामी केही सिकौं । प्रकृतिको अनुपम बरदान हामीले पाएका सम्पदालाई संसारका पर्यटक लोभ्याउने गरी कसरी सिँगार्ने भनेर पनि सिकौं । अनि ती सम्पदाको जानकारी वश्वमा कसरी दिन सक्छौं भन्ने पनि जानौं ।  

विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका एक मात्र जापानी आरोही हिरोताका ताकुउचीले गत हप्ता जापानी दूतावासमा आफ्ना अनुभव सुनाए र आरोहणको भिडियो पनि देखाए । उनले नेपाललाई पृथ्वीको स्वर्ग भनेका थिए । ८ हजार मिटरभन्दा अग्ला विश्वका पर्वतमध्ये नेपालमा मात्र ८ वटा छन् । त्यसैले उनले नेपालको अलौकिकता आफूले शब्दमा बयान गर्न नसक्ने बताए । तर उनले त्यस समय दिएको यो सन्देश मननयोग्य छ– ‘जापानीहरू नेपाललाई ‘माउन्टेन’ को देश भनेर बढी चिन्छन् । तर यहाँ प्राकृतिक सम्पदा, अद्वितीय स्थान र धनी संस्कृति छ । यो पनि जापनीलाई थाहा दिन सके यहाँ धेरै जना आउनेछन् ।’

कुनै देशबारेको सन्देश पर्यटकले लाँदा बढी प्रभाकारी हुन्छ । यहाँको पर्यावरणको अनुसन्धान गर्न विश्वका कैयौं प्राध्यापकले आफ्ना विद्यार्थी पठाउने गरेका उदाहण त हामीसँग छन् नै, उनीहरू लाने सन्देश विश्वका ठूला मिडियामा गरेको प्रचारभन्दा बढी प्रभावकारी पनि हुन्छ । जस्तो कि चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि चिनियाँ पर्यटकले चन्द्रागिरिलाई ‘मुन माउन्टेन’ भनेर चिनेका छन् ।

त्यसयता यहाँ चिनियाँ पर्यटकको आगमन बढेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाह बताउँछन् । उनका अनुसार हाल रिसोर्ट प्रायः चिनियाँ पर्यटकले भरिभराउ हुन थालेको छ । चिनियाँ संस्कारमा आफ्ना नेता पछ्याउने चलन बढी छ । त्यसैले पनि चिनियाँ आफ्ना नेता पुगेका ठाउँमा गइरहेका होलान् । तर कलंकी–थानकोट बाटोका कारण भारतीय विदेशमन्त्री  शुष्मा चन्द्रागिरि पुग्न नसकेको र बिमस्टेक बैठकमा आएका नेतालाई राजधानीकै सडकको अवस्थाका कारण पूर्वनिर्धारित स्थानमै पुर्‍याउन नसकेको खबर उनीहरूले आ–आफ्ना देशमा कसरी लगे होलान् ? अफसोच ! यी दुवै सडककोे हालत अहिले पनि उस्तै छ । राजधानीबाट पोखरा, लुम्बिनी, सौराहा, मुस्ताङ अरू धेरै प्रमुख पर्यटकीय स्थल जाने बाटो यही हो ।   

नेपालले सन् १९९८ मा भ्रमण वर्ष र २०११ मा पर्यटन वर्ष मनायो । पहिलोमा नेपालको कला, संस्कृति र स्थानीय उत्पादनमा केन्द्रित रही मेला/महोत्सवको आकर्षण दिइयो । यसबाट देशको कला–संस्कृतिको प्रवद्र्धन भएको थियो । त्यस्तै २०११ मा होमस्टेको नयाँ अवधारणा ल्याइयो । नेपालका धेरै ठाउँमा होमस्टे खोलियो । भ्रमण वर्ष २०२० मा नयाँ के दिने ? सोच्न अझै समय छ । यो वर्ष धार्मिक पर्यटन र छिमेकी भारत र चीनमा केन्द्रित गर्दा हुँदैन ? लुम्बिनीप्रति चिनियाँलाई आकर्षण गर्न सके हामीलाई लक्ष्य भेट्न सजिलो हुन्छ । भारत र चीनबाट आउने पर्यटक संख्या बढ्दो पनि छ । त्यसपछि हाम्रा अलौकिक हिमाल, पर्वत र ट्रेकिङमा जोड दिँदा राम्रो हुनेछ ।

साढे २ अर्ब जनसंख्याका दुई ठूला देशबीचका हामीले राखेको लक्ष्य २० लाख पर्यटक मात्र हुन् । यसका लागि दिनमा ५ हजार ४ सय ८० पर्यटक भित्र्याउन गाह्रो होइन । दश लाख पर्यटक त भित्र्याउने लक्ष्य त हामीले सन् २०११ मै राखेका थियौं । ग्लोबल टाइम्म पत्रिकाले हालै सन् २०२० पछि नेपालमा धेरै पर्यटक बढ्ने लेखेको छ । नेपालबारे खोजी गर्ने चिनियाँको संख्या पहिलेभन्दा १३ प्रतिशत बढेको उसको तर्क छ । यो आँकडा हेर्दा नेपालले गरेको ३ लाख चिनियाँ भित्र्याउने लक्ष्यभन्दा बढी नै आउने देखिन्छ । हामी भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा छौं,

त्यसैबमोजिमका कार्यक्रम बनाऔं, लक्ष्य टाढा छैन ।  देशको समृद्धिको आधार नै पर्यटन हो भन्ने तथ्य सबैले बुझ्न जरुरी छ । अनि हरप्रकारको समृद्धिको मूल आधार सडक हो भनेर बुझ्न झनै जरुरी छ ।  
 

प्रकाशित: २५ मंसिर २०७६ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App