दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो कात्तिक १९ गते मंगलबारदेखि चीनको दक्षिणपूर्वको बन्दरगाह सहर साङ्हाइमा सुरु भएको छ। एक्स्पो कात्तिक २४ गते आइतबारसम्म चल्नेछ। एक्स्पो उद्घाटनका क्रममा मंगलबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङले लामो सम्बोधन गरे। उनको सम्बोधनको मुख्य विषय चीनले अँगालेको खुलापनको बाटोलाई निरन्तरता दिनु रहेको छ।
आफ्नो सम्बोधनमा खुला विश्व अर्थतन्त्रको निर्माणमा चीनको मुख्य भूमिका रहेको उनले औँल्याए। ‘खुलापन तथा सहयोग र भाग्यको सहअस्तित्व’ शीर्षकमा सम्बोधन गरेका उनले ऐतिहासिक मुख्य प्रवृत्ति र मानव जातिलाई प्रथमिकतामा राख्ने दृष्टिकोणबाट अर्थतन्त्रको भूमण्डलीकरणको प्रवद्र्धनका लागि चीनले निरन्तर खुलापनमा अझ उच्च गुणस्तरीय विकास गर्ने स्पष्ट पारेका छन्।
खुलापन नै वर्तमान चीनको प्रतीक हो भन्दै चीनले अब पर्खाल बनाउने होइन पर्खाल भत्काउने उद्घोष पनि गरे। अमेरिकाले अवलम्बन गरेको व्यापारिक संरक्षणवाद र सिन्डिकेटका विरुद्ध चीनले दरिलो अडान लिने पनि उनले बताए। व्यापारिक संरक्षणवाद र एकपक्षीयवाद बढ्दै गएर विश्वको भूमण्डलीकरणका सामु चुनौती देखापरेको र विश्व अर्थतन्त्रको विकासका बाधासँग अन्तर्राष्ट्रिय समाज जुधिरहेको भन्दै अमेरिकालाई चुनौती पनि दिएका छन्। चीनको विकासलाई रोक्ने अमेरिकी नीतिप्रति कटाक्ष गर्दै उनले भने– बाढी र चट्टानसँग पौँठेजोरी खेल्दै बग्ने नदीलाई कुनै पनि शक्तिले रोक्न सक्दैन।
विगत ४० वर्षदेखि चीन निरन्तर खुलापनको नीतिमा बढिरहे पनि सन् २०१३ मा सि सत्तामा आएपछि यो क्रम निकै तीव्र बनेको छ।
विश्वको दोस्रो ठूलो आर्थिक समूह एवं एक जिम्मेवार मुलुकका रूपमा चीनले आफ्नो खुलापनको ढोकालाई विस्तार गर्दै जाने स्पष्ट बचनबद्धता पनि उनले व्यक्त गरे। विशाल चिनियाँ बजारमा सबैलाई हार्दिक स्वागत छ भन्दै विश्वलाई एक्स्पोमा सहभागी हुन उनले आमन्त्रण पनि गरे।
‘नवीन युग, साझा भविष्य’ मुख्य विषय रहेको चालु एक्स्पोमा सबै महाद्वीपका करिब एक सय पचास मुलुक तथा क्षेत्रका तीन हजारभन्दा बढी व्यवसाय सहभागी भएका छन्। तीमध्ये नयाँ प्रदर्शित व्यवसायको संख्या एक तिहाइभन्दा बढी छ। प्रदर्शन गरिएका क्षेत्रफलमा अघिल्ला दश स्थान क्रमशः अमेरिका, जापान, जर्मनी, चिनियाँ हङकङ, दक्षिण कोरिया, इटाली, फ्रान्स, अस्ट्रेलिया, स्विजरल्यान्ड र बेलायतले ओगटेका छन्।एक्स्पोमा अमेरिकाले औपचारिकरूपमा आफ्ना प्रतिनिधि नपठाए पनि १९२ वटा अमेरिकी कम्पनीसहभागी छन्। पहिलो एक्स्पोको क्षेत्रफल २ लाख ७० हजार वर्गमिटरबाट बढाएर यसपटकको एक्स्पो ३ लाख ३० हजार वर्गमिटर पु¥याइएको छ। पहिलो एक्स्पोमा ५७ अर्ब८३ करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको थियो। यसपटक यो परिमाण पनि बढ्ने आँकलन गरिएको छ।
ठीक एक वर्षअगाडि साङहाइको उही ठाउँमा पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजना भएको थियो। त्यो एक्स्पोको उद्घाटन समारोहलाई पनि चिनियाँ राष्ट्रपति सिले सम्बोधन गरेका थिए। उनले त्यतिबेला चिनियाँ अर्थतन्त्रलाई अझै खुला गर्ने विषयमा मुख्य गरी पाँचवटा बुँदा अगाडि सारेका थिए। एक वर्षअगाडि आयोजित पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सिले उद्घोष गरेका पाँचवटा बुँदामा विदेशी लगानीका लागि चिनियाँ कानुन परिमार्जन गरी पारदर्शी बनाइने, चीनमा लगानी गर्ने विदेशी लगानीकर्ताले चिनियाँसरह सुविधा उपभोग गर्न पाउने, विदेशी लगानीकर्ताबाट लिइँदै आएको कर घटाउने, लगानीको संरक्षण र अधिकारको प्रत्याभूति गर्ने र दिगो तथा मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने थिए। एक वर्षमा सिले घोषणा गरेका सबै बुँदा कार्यान्वयन भइसकेका छन्।
सन् १९७८ मा चिनियाँ नेता तङ स्यावोफिङले सुधार र खुलापनको नीति लागु गरेका हुन्। सुधार र खुलापनमा मुख्यगरी दुईवटा विषय समेटिएका छन्। चीनको आन्तरिक परिपाटी सुधार गर्ने पहिलो कुरा थियो। सन् १९६६ देखि १९७६ सम्म चलेको दस वर्षे सांस्कृतिक क्रान्तिले चीन आन्तरिकरूपमा आक्रान्त बनेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीभित्रै माओकी श्रीमतीले चलाएको ‘ग्याङ्ग अफ फोर’ अर्थात्‘चण्डाल चौकण्डी’ ले पूर्वाग्रह साँधेर तङको पक्षमा लागेकाहरूलाई कारवाहीस्वरूप मृत्युदण्ड, जेल, श्रमशिविर, घटुवालगायतका कारबाही थोपरेको थियो। त्यतिबेला वर्तमान राष्ट्रपति सि चिनफिङका बुबा सि चोङसुन उपप्रधानमन्त्री थिए।
उनलाई पनि उपप्रधानमन्त्री पदबाट बर्खास्त गरेर जेलमा राखिएको थियो। पार्टीभित्र चलेको उदण्डतालाई नियन्त्रण गर्नका लागि तङ स्यावोफिङले सुधार नीति अगाडि सारेका थिए। चीनलाई अन्तर्राष्ट्रिय समाजसँग जोड्ने तङको दोस्रो कार्यक्रम नै खुलापनको नीति हो। सन् १९७८ अगाडि चीनले बाह्य मुलुकमा लगानी गरेको थिएन भने चीनमा बाह्य मुलुकको लगानी पनि थिएन। तङको सुधार र खुलापनको नीति लागु भएको ४० वर्षव्यतीत हुँदा चीन विश्वमा सबैभन्दा धेरै लगानी गर्ने मुलुकमा स्थापित भइसकेको छ भने बाह्य मुलुकका लागि चीन लागानीका लागि आकर्षणको केन्द्र बनेको छ। विगत ४० वर्षदेखि चीन निरन्तर खुलापनको नीतिमा बढिरहे पनि सन् २०१३ मा सि सत्तामा आएपछि यो क्रम निकै तीव्र बनेको छ।
प्रायः देशले निर्यातलाई प्राथमिकता दिने गर्छन्। हरेक राष्ट्रले आफ्ना उत्पादनलाई विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने उद्देश्यका साथ व्यापार मेला आयोजना गर्छन्। चीनले पनि विगत दुई दशकदेखि विभिन्न प्रकृतिका निर्यातमुखी व्यापार मेला आयोजना गर्दै आएको छ। यसै पनि चीनलाई विश्वको कारखाना भनिन्छ। चीनमा नबन्ने र बन्न नसक्ने कुनै सामग्री नै छैन। यस्तो अवस्थामा चीनले आफ्नो निर्यात निरन्तररूपमा बढाइरहेकै छ। यसो गर्दा चीनको व्यापार एकतर्फी हुने भएकाले अन्य मुलुकले चीनसँगको व्यापार घाटा बढेर गुनासो गर्नु स्वाभाविक बन्न थाल्यो। अमेरिकाले चीनसँग सुरु गरेको व्यापार युद्ध पनि चीनसँगको व्यापार घाटाकै कारण थियो। यस्तो परिस्थितिमा चीनले अन्य देशका उत्पादनलाई चीनमा आकर्षण गर्नका लागि आयात एक्स्पोको आयोजना सुरु गरेको हो। यसले उत्पादनकर्ता मुलुकलाई चीनविरुद्ध गठबन्धन गर्नबाट रोकेको छ भने ती मुलुकका सामान आयात गर्ने इच्छा देखाएर चीनले न्याय पनि गरेको छ। कतिपय विकासोन्मुख मुलुकहरूले चीनको आयात एक्स्पोबाट मनग्गे लाभ लिएका छन्। एक्स्पोले चीनको छविलाई अन्तर्राष्ट्रिय समाजमा अझै लोकप्रिय बनाएको छ।
एक अर्ब चालीस करोड जनसंख्या भएको चिनियाँ बजारले यसैपनि विदेशी उत्पादनकर्तालाई आकर्षित गरेको छ। त्यसमाथि एक्स्पोले त्यो आकर्षणमा नयाँ इन्जिन थपेको छ। चीनमा मध्यम आय भएका व्यक्तिको संख्या करोडौँको छ। विश्वका महँगा गाडी, विलासी प्रयोगका सामग्री, विभिन्न ब्रान्डका जुत्ता तथा तयारी पोशाक, घरायसी सामग्री, प्रयोग गरिने अन्य महँगा सामानको मुख्य बजार चीन नै हो। विश्वमै विलासी सामग्री प्रयोग गर्ने उच्चस्तरका उपभोक्ता चीनमा मात्र ३० प्रतिशत छन्। आयात मेलाले यी कुरालाई एकैचोटि विश्वका व्यापारीको आँखामा ठोकाउँदैछ। फलतः ती व्यापारीले आफ्नो व्यापार वृद्धि गर्नका लागि चीनमा सामान पठाउन थाल्छन्। उनीहरूका लागि चीनमा कार्गो गरेर सामान पठाउनुभन्दा चीनमै कारखाना स्थापना गर्नु फाइदाजनक हुन्छ। तसर्थउनीहरू चीनमा लगानी गर्न तम्सन्छन्। अहिले धेरै बहुराष्ट्रिय कम्पनी र ठूला उद्योगधन्दाका कारखाना चीनमा स्थापित छन् र तिनीहरूले राम्रो मुनाफा लिइरहेका छन्। अप्रत्यक्षरूपमा यो आयात एक्स्पोबाट चीनले विदेशी लगानी पनि भित्र्याउँदैछ।
चीनले नेपाललाई यस एक्स्पोमा निकै प्राथमिकता दिएको थियो। नेपालले चीनसँग बेहोर्दै आएको विशाल व्यापार घाटा न्यून गर्न थोरै भए पनि यो एक्स्पोले भरथेग गर्नसक्थ्यो। नेपाली जडीबुटी, कृषि, हस्तकला, पस्मिना, काष्ठकला, मूर्तिकला, थाङ्का, गलैँचालगायतका सामग्रीले चिनियाँ बजार खोज्ने राम्रो अवसर पनि पाउने थिए। नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले आफ्नो मन्तव्यमा समेत एक्स्पोमा नेपाललाई स्वागत गर्ने कुरा उल्लेख गरेका थिए। भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यको ६ नम्बरको बुँदामा पनि यो कुरा लिपिबद्ध भएको छ। तर एक्स्पोमा नेपालको उपस्थितिचाहिँ झारा टार्नेखालको मात्र देखिन्छ। गत वर्षमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाएको थियो भने यो वर्षवाणिज्य सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी छ। सरकारी स्तरबाट दुईवटा नेपालका पेभिलियन खडा गरिएका छन् भने निजी स्तरका १५ वटा जति स्टल छन्। नेपालको कमजोर उपस्थितिले ठूलो अवसर खेर गएको छ। (बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआइ नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत।)
प्रकाशित: २१ कार्तिक २०७६ ०६:०५ बिहीबार