८ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

डोजरको डर

जब मान्छेमाथि डोजर चलाइन्छ तब त्यो विकास होइन, विनाशतर्फको यात्रा बन्न पुग्छ। विकास मानिसका निम्ति हो। तर विकासका नाममा मानिसमाथिको आक्रमण विकृति हो। विकासका नाममा मानिसको समेत बेवास्ता गरिन्छ भने वातावरण र अन्य पक्षमा कति ध्यान पुग्ला ? बैतडीमा सडक निर्माणका क्रममा स्थानीय बासिन्दाबीचको असमझदारी संवादबाट समाधान गर्नुभन्दा डोजरले लतारेको दृश्यले मानवतालाई ललकारेको अनुभूति हुन्छ। यस्ता घटनालाई सामान्य प्रतिक्रियाका रूपमा मात्र लिन सकिन्न। कुनै व्यक्तिको ज्यानै जाने गरी ठूला मेसिन र औजार प्रयोग गरिन्छ भने त्योभन्दा असभ्य र क्रूर व्यवहार के हुन सक्छ ? केही वर्षयता क्रूरतापूर्ण व्यवहार समाजमा बढ्दै गएको अनुभूतिसमेत हुन थालेको छ। कुनैबेला व्यक्तिविरुद्धको सामान्य घटनालाई समेत गम्भीररूपमा लिने गरेको देखिन्थ्यो। कतै कुनै व्यक्तिको हत्या भइहाल्यो भने पनि त्यसले धेरैको मुटु कमाउँथ्यो र मानिस त्यस्ता दुष्कर्मप्रति सजग भएको देखिन्थ्यो। तर अचेल जसले जसलाई आक्रमण गरे पनि हुनेजस्तो देखिन थालेको छ। एउटा सभ्य समाजका निम्ति यो अत्यन्तै खतरनाक प्रवृत्ति हो।

समाज विकास भएर आज ‘डिजिटल युग’ मा आइपुगेको छ। हामीकहाँ बर्बरता भने कैयन् युगभन्दा अघिको जस्तो देखिन थालेको छ। बैतडीको यो डोजर काण्डको भिडियो सार्वजनिक नभएको भए शायदै यसलाई यति गम्भीररूपमा लिइने थियो।

समाज विकास भएर आज ‘डिजिटल युग’ मा आइपुगेको छ। हामीकहाँ बर्बरता भने कैयन् युगभन्दा अघिको जस्तो देखिन थालेको छ। बैतडीको यो डोजर काण्डको भिडियो सार्वजनिक नभएको भए शायदै यसलाई यति गम्भीररूपमा लिइने थियो। त्यतिमात्र होइन, यसलाई सामान्य घटनाका रूपमा चित्रित गरी पीडकलाई सहजै उम्काउन पनि सकिन्थ्यो। यस घटनामा ६ जना घाइते भएका छन्। घटनालाई सामान्यीकरण गर्ने भन्दा पनि यस किसिमको व्यवहार भविष्यमा नहोस् भन्नेमा ध्यानाकर्षण हुनु आवश्यक छ। वास्तवमा २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको ‘आफ्नो गाउँ आफैँं बनाऔँ’ कार्यक्रमपछि सडक निर्माणको लहर मुलुकभर फैलिएको छ। विकासका अनेकन आयाम छन्। तर हामीकहाँ भने सडकलाई मात्र विकासको मानकका रूपमा चित्रण गरिएको छ। यसले गर्दा देशैभरि कमला पहाडहरूमा डोजर दौडिन थालेको छ। यसले बाढीपहिरोको जोखिम झन बढाएको छ। त्यतिमात्र होइन, डोजरलाई हाम्रो विकासको एउटा अभिन्न अंगका रूपमा स्वीकार गरिएको छ। यसलाई व्यवसायको एउटा माध्यम बनाइएको छ। विशेषगरी ‘गाउँगाउँमा सिंहदरबार’ पुग्नुसँगै त्यहाँका पदाधिकारी भने डोजरका मालिक भएका छन्। डोजर सञ्चालन गर्ने, स्थानीय स्रोतसाधनको व्यवसाय गर्ने र विकास निर्माण आफ्नो हातमा लिएर व्यवसाय गर्ने प्रवृत्ति पनि गाउँगाउँमा पुगेको छ। विकासलाई सही ढंगले अघि बढाउन सकिएन भने यो सीमित व्यक्तिको व्यवसाय बन्नेमा सीमित हुन्छ।

बैतडीको डोजर काण्डले हाम्रो विकासमा देखिएको गलत सोचलाई समेत उजागर गरेको छ। विकास निर्माणमा सर्वसाधारणको सहभागिता आवश्यक हुन्छ। तर एउटा पक्ष आफूले भनेकोतिरबाट बाटो लैजान चाहने र अर्को पक्ष त्यसको विरोधमा हुने जुन विडम्बनापूर्ण अवस्था देखिएको छ, त्यो उचित होइन। सबैलाई पायक पर्ने गरी सर्वेक्षण गरी त्यसका आधारमा विकास अघि बढाउने परिपाटी आवश्यक छ। विकास गर्ने नाममा एकथरीले जबर्जस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। लोकतान्त्रिक व्यवस्थामा विकास प्रक्रिया केही ढिला हुन्छ। सबैको सहमति र सहभागिताको खोजीलाई लोकतन्त्रले प्राथमिकतामा राख्छ। अधिनायकवादी शासन व्यवस्था भएका ठाउँमा सर्वसाधारणलाई भन्दा शासकपक्षका अपेक्षालाई बढ्ता जोड दिइन्छ। त्यहाँ आमसहभागिताको गुञ्जायस रहन्न। विरोधलाई पनि दमनबाटै पेलिन्छ। बैतडी काण्डलाई गम्भीरपूर्वक लिँदै यसका दोषीमाथि कारबाही हुनुपर्छ। विकासका नाममा मानिसमाथि डोजर चलाउने खतरनाक प्रवृत्ति अन्त्य हुनुपर्छ।

प्रकाशित: ८ कार्तिक २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App