९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

सीको सल्लाह

‘ताइवान हिजो पनि चीनको अङ्ग थियो, आज पनि हो। केही शक्तिले त्यसलाई स्वतन्त्र भन्न खोज्छन् त्यो सम्भवै छैन। हामी आवश्यक प-यो भने ताइवानमा बल प्रयोग गर्न पनि सक्छौँ’– उक्त कडा र खरो टिप्पणी हो चिनियाँ राष्ट्रपति तथा चिनियाँँ कम्युनिस्ट पार्टीका महाचिव सी चिनफिङको। त्यो अभिव्यक्ति नेपाल–चीनबीच काठमाडौँमा गत असोज २६ गते औपचारिक बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक एवं आधिकारिक भनाइ राखेपछि चिनियाँ पक्षले आफ्नो औपचारिक र आधिकारिक लिखित वक्तव्य प्रस्तुत गर्नुअघि मौखिकरूपमा हात हल्लाइ हल्लाइ व्यक्त गरेको कुरा।

यस्तो वक्तव्य चीनको सन्दर्भमा क्रमभङ्ग पनि हो। चिनियाँ नेताहरू अर्को पक्षबाट आफ्नोबारेमा मन्तव्य दिएपछि औपचारिकरूपमा धन्यवाद भनेर कुरा टुङ्ग्याउने गर्थे र लिखित भाषण पढ्थे। तर यसपल्ट अलिखित भाषण गर्दै मुख्यतः ताइवान, हङकङ र तिब्बतको मुद्दा उठाए। प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्तामा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट उल्लेख गरेका थिए। थपेका थिए–‘हामी नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग हुन दिने छैनौँ।’ एक वर्षअघि प्रधानमन्त्री ओलीले बेइजिङमा यस्तै धारणा राख्दा राष्ट्रपति सीले धन्यवादमात्र भनेका रहेछन् तर यसपाला भने राष्ट्रपति सीले अप्रत्याशित व्यवहार देखाए जसले अन्तर्राष्ट्रिय रूप नै लियो। त्यो छापिएनमात्र, विश्वभर नै ‘हेडलाइन’ बन्यो। फेरि एकपल्ट विश्वव्यापीरूपमा नेपाल अग्लिएर उभियो। राष्ट्रपति सीको गर्जन थियो–चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने कोसिस गर्ने जोकोहीलाई पनि धुलोपिठो बनाइनेछ। त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन्।

नेताहरू हो ! अब समय कम छ। देश बनाउने ७० लाख युवा अरूको देश बनाउँदैछन्। व्यापार घाटा सगरमाथाभन्दा अग्लो हुन खोज्दैछ। सीको सल्लाह भालुलाई पुराण सुनाएजस्तो नहोस्।

ताइवान, हङकङ र तिब्बत
काठमाडौँको द्विपक्षीय वार्ताको सुरुमा नै राष्ट्रपति सीले ताइवानका बारेमा माथि सुरुमा भनेको कुरा पछि हङकङ र तिब्बतको प्रश्न उठाउँदै हङकङमा जारी आन्दोलनबारे अरू कठोर टिप्पणी गरे र थपे– ‘हङकङमा जुन अवाञ्छित कार्य भइरहेकोछ, त्यसमा पश्चिमाहरूले  पैसा सहयोग गरेकाछन्। राजनीतिक तालिम दिएकाछन्। त्यहाँ चीनविरुद्ध आन्दोलन गराइरहेकाछन्।’ सीले ‘पश्चिमा’ भन्ने शब्द स्पष्टसँग उल्लेख गर्दै भनेका थिए– ‘हुँदाहुँदा अहिले हङकङको स्वतन्त्रता कुरासमेत गर्न थालेका छन्, त्यो हामीलाई कुनै हालतमा सह्य हुँदैन।’ सोही क्रममा भने–‘तिब्बत हिजो पनि चीनको थियो अङ्ग थियो, आज पनि चीनकै अङ्ग हो। तिब्बत बौद्ध धर्मको एउटा केन्द्र हो र त्यहाँ जीवित बुद्ध रहन्छन् भन्ने विश्वास गरिन्छ। दलाइलामा जीवित बुद्धका प्रतीक हुन् तर अहिलेका दलाइ लामाले राजनीति गर्दै हिँडे। उनले जस्तो स्वतन्त्रताको कुरो गर्छन्,त्यो समभव छैन, स्वीकार्य पनि छैन।’

चीन जस्तो विशाल राष्ट्र जो विश्वको प्रथम आर्थिक शक्तिका रूपमा उदीयमान हुन भगीरथ प्रयत्नमा छ त्यस्तो राष्ट्रका शक्तिशालीकार्यकारी राष्ट्रपति, चीनको कम्युनिस्ट पार्टीका महासचिव सी.जिन.पिङले संसारभर तरङ्ग ल्याउने उक्त दृढता सार्वजनिक गर्न किन नेपाल नै रोजे? त्यो विचारणीय छ जस्तो लाग्छ। नेपाल आउनुअघि सिले भारतको यात्रा गरेका थिए जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि ताइवान,हङकङ र तिब्बतबारे यति खरो अभिव्यक्ति दिएका थिएनन्। यसका लागि किन नेपाल रोजे सीले? त्यसको सुक्ष्म विश्लेषण हुनु राम्रो हुनेछ। नेपाल विश्व राजनीतिक रङ्गमञ्चमा अग्रस्थानमा स्थापति भयो। यो राम्रो पक्ष भो। यति महत्वपूर्ण कुरो सार्वजनिक गर्न सीले नेपाल किन रोजे होला ? तीव्र जिज्ञासा छ। जे भए पनि सीलाई हार्दिक धन्यवाद।

मोदीसमक्ष सीको वकालत
राष्ट्रपति सीजिनपिङले प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटे र २० मिनेट कुरा भएछ सी र देउवाबीच। कांग्रेस र देउवाबीच भएको भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीचको पार्टीगत सम्बन्ध बिस्तारबारे पनि कुरा भएको थियो रे। राष्ट्रपति सीले पार्टीगत सम्बन्ध बिस्तारमा आफूहरूको जोड रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध थप सदृढ बनाउँदै लैजानुपर्ने पनि बताए रे। कांग्रेसले चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्ध बिस्तारको अपेक्षा राखेको थियो। त्यही अपेक्षाअनुसार महासचिव सीले पार्टीगत सम्बन्ध झन् राम्रो बनाउने बताए र देउवालाई चीन भ्रमणको निम्तो पनि दिए। यति भएपछि देउवाको आकांक्षा पनि सम्बोधन भयो होला।

यसबाट नेपाली कांग्रेसभित्रको गुटबन्दीमा देउवा केही बलियो भएको आकलन पनि गरिएको छ। राष्ट्रपति सीको साँढे एक्काइस घण्टाको नेपाल बसाइका क्रममा दुई देशबीच विकास र समृद्धिमा साझा रणनीति तय गर्नु उपयुक्त हुने धारणा राख्दै ‘वाचा गरेका प्रतिबद्धताहरू पूरा गर्नैपर्ने’ अडान दोहो-याए। यो राजनीतिक वृत्तका लागि पनि गतिलो छ। सीले नेपाल निकै महत्वपूर्ण छिमेकी हो भन्नु निकै महत्वपूर्ण कुरा हो भन्ने टिप्पणी नागरिक समाजका अगुवा केदारभक्त माथेमाको छ। आइतबार भएको दुईपक्षीय वार्ता ४० मिनेटका लागि भनिएकामा निकै बढी समय चलेछ। सीले आफू नेपाल आउनुअघि भारत गएको र चीन–भारतबीच भइरहेको शान्ति एवं विकासको साझेदारीमा नेपाल पनि जोडिन सक्ने धारणा पनि राखे। उनले अगाडि भने–‘टु प्लस वन’अर्थात चीन–भारत प्लस नेपालको सन्दर्भ झिक्दै यस्तो धारणा राखेका हुन् उनले। सीले नेपाल आउनुअघि आफू भारत गएको जनाउ दिँदै भने– मैले मोदीजीलाई भनेँ, नेपाल हामी दुई ठूला देशको छिमेकमा छ। नेपाल हाम्रो असल छिमेकी पनि हो। नेपालको विकास र समृद्धिमा हामी दुवैले सहयोग गर्नुपर्छ।’ सीले तपाईँहरूले चाइना–इन्डिया प्लस नेपालको अवधारणाबाट फाइदा लिनुहोस् पनि भने।

चीन जस्तो विशाल राष्ट्र जो विश्वको प्रथम आर्थिक शक्तिका रूपमा उदीयमान हुन भगीरथ प्रयत्नमा छ त्यस्तो राष्ट्रका शक्तिशाली कार्यकारी राष्ट्रपति, चीनको कम्युनिस्ट पार्टीका महासचिव सी.जिन.पिङले संसारभर तरङ्ग ल्याउने उक्त दृढता सार्वजनिक गर्न किन नेपाल नै रोजे ? त्यो विचारणीय छ जस्तो लाग्छ।

चिनियाँ जनताप्रतिको दृढ विश्वास
राष्ट्रपति सीले नेपाल आफूले बनाएका योजना पूरा गर्दैन भनेर ठाडै त भनेनन् तर कूटनीतिक शैलीमा ‘हामीले बनाएका योजनाहरू पूरा गरेरै छाड्छौँ, हामीले चीनमा यस्तै गरेका छौँ’ भनेर एउटा प्रसंगमा उनले वाचा गरेको कुरा पूरा गर्नुपर्छ भनेर कुनै अलौकिक कुरा गरेका होइनन् भन्ने टिप्पणी पनि गरियो। वास्तवमा यो वर्तमान सरकारलाई मात्र इङ्गित गरिएको पनि होइन। हाम्रो पद्धतिलाई नै गतिलो सुझाउहो भन्ने पनि छन्। जनतालाई आशा र सपना बाँड्ने तर काममा कतै नदेखिने हाम्रो पद्धतिमाथि यो वास्तवमा कठोर प्रहार नै हो। घोषणा गरिएका योजनाहरू समयमै कार्यान्वयन गर्नुपर्छ भन्ने सीको सन्देश नेपालका लागि निकै मननीय छ भन्ने भनाइ पनि सार्वजनिक भए।

चीन जुन योजना गर्ने भन्छ, वास्तवमा जस्तोसुकै बाधा÷व्यवधान आएपनि ती अठोट र आयोजना पूरा गरेरै छाड्छ। यो चीनको परिचय भइसकेको छ। यसैले त चीन सरकारले चिनियाँ जनताको मन जितेको छ। जनताको मन सितिमिति जितिँदैन। जनताको मन नजिती जनतालाई उतार्न सकिँदैन। चीन गर्ने भनेर योजनामा परेका काम आकाश–पाताल जोडेर भएपनि फत्ते गराएरै छोड्छ। अनि सारा जनता पनि ओइरिन्छन् ती योजना पूरा गर्न। त्यसैले चीन पूर्ण अध्ययन नभएका आयोजना योजनामा नै राख्दैन। राखेका योजना साङ्गोपाङ्गो अध्ययनपश्चात मात्र राखिन्छन्। ती योजनाले जनता चिनेका हुन्छन्, जनताले योजना चिनेका हुन्छन्। अनि किन पूरा हुँदैनन् योजना ? राष्ट्रपति सीले ‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउन कोसिस गर्ने जोकोहीलाई पनि धुलोपीठो बनाइनेछ, त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् त्यसै भनेका होइनन्।

पार्टीभित्र स्वच्छता र अनुशासन
नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरूसँगको संयुक्त भेटका बेला राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका प्रथम पुरुष (महासचिव) सीले पार्टीभित्रको स्वच्छतामा बढी जोड दिए। चीनको आत्मविश्वास बढ्नुमा पार्टीको अनुशासन पनि मुख्य काम हो रे। नेपालका पार्टीहरूमा अपवादलाई छाडेर यी दुवै कुरा प्रमुख मुद्दाका रूपमा छन्। जनताको मन जितेरकाम गरेमात्र लामो समय सत्तामा रहन सक्ने सन्देश दिए। चीनको कम्युनिस्ट पार्टीले चीनमा गरिरहेको शासनको अनुभव पनि बाँडे। चीनमा आफूहरू समाजवाद निर्माणमा अघि बढिरहेको जानकारी दिँदै सीले भने– जनताको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै गएकाले सम्भव भएको हो,

सत्ताकब्जाकै कारणले मात्र होइन।
पार्टी वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक हरेक किसिमले दह्रो बनाएरमात्र हामीले चीनमा प्रगति गरेका हौँ भन्दै तपाईँहरूले पनि हाम्रा अनुभवलाई ध्यान दिन सक्नुहुन्छ भन्ने सल्लाह दिएछन्। सीले भनेछन्– पार्टी बलियो नबनाइकन केही गर्न सकिँदैन। उनले यसो गर्नोस्, उसो गर्नोस् नभनीकन धेरैथोक भनेछन्। चीनले आजको उपलब्धि हासिल गर्न धेरै कठिनाइ पार गर्नुपरेको अनुभव बाँड्दै ठुल्ठूला बलिदान गर्नुपरेको र ठूला अपमान पनि खेप्नुपरेको विगत सुनाएछन् महासचिव सीले। यस्ता सारा कठिनाइविरुद्ध जुध्दै चीन आज यो उचाइमा पुगेको हो भन्न पनि बाँकी राखेनछन्। सीले राजनीतिक, आर्थिक, प्रतिरक्षा, सामाजिक, सांस्कृतिक, विदेशसम्बन्धलगायत सबै क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अबको चीन दुनियाँको कुनै पनि शक्तिको थ्रेटबाट हुने आक्रान्त अवस्थामा नरहेको वस्तुस्थिति अवगत गराएछन्।

कति कष्ट हुने रहेछ देशबनाउन?
यतिका भइसकेर पनि चीन अझै प्रभुत्ववाद, नवउपनिवेशवाद र एकत्ववादविरुद्ध जुध्नुपर्ने अवस्थामा छ भन्दै महासचिव सीले यी वाधाविरुद्ध लड्दै गरिबीको रेखाबाट तत्काल माथि उठ्ने र तीस वर्षभित्र विकसित मुलुकको सूचीमा पुग्ने दुई मुख्य लक्ष्य राखेको कुरा गौरव्साथ भने। राष्ट्रपति सीले नेपालसँगको सन्बन्धलाई उचाइ दिन हिमालय वारपारको कनेक्टिभिटीलाई बढाउन चाहेको प्रसङ्ग दोहो-याए। एउटा त्यस्तो सवल र प्रवल राष्ट्र चीन त विकसित मुलुकको सूचीमा सूचीकृत हुन तीस वर्षको प्रक्षेपण गरेको रहेछ। हाम्रो देशको नेपाल कम्युनिस्ट पार्टीको समृद्ध नेपाल र सुखी नेपालीको सपना कहिले विपनामा रूपान्तरित होला ? जबकि सरकारी विकास बजेट खर्च हुँदैन, पुँजीगत बजेट त्यस्तै थारो बस्छ।

दुई पार्टीबीचको एकता पूरा हुने त कता छ कता ?
राष्ट्रपति सी चिन फिङले आफ्नो देशको र आफ्नो पार्टीको सबै दुःख÷सुखका अनुभव धैर्यपूर्वक नेपालका सबै सचिवालय सदस्यलाई छ्याङ्गै हुनेगरी अवगत गराएछन्। गर्ने त आफैँले हो। कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हालेर झिक्दा पनि सोझो नभएर बाङ्गाको बाङ्गै रहेको नकारात्मक उपमा पनि छ र सफल भएका दृष्टान्त पनि। नेताहरू हो ! अब समय कम छ। देश बनाउने७० लाख युवा अरूको देश बनाउँदैछन्। व्यापार घाटा सगरमाथाभन्दा अग्लो हुन खोज्दैछ। राष्ट्रिय गौरवका आयोजना कतिवटा त थालिएकै छैनन्। सीको सल्लाह भालुलाई पुराण सुनाएजस्तो नहोस्।

प्रकाशित: ३ कार्तिक २०७६ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App