२०४६ सालमा नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित सरकारका प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा रहेका गिरिजाप्रसाद कोइरालासँगको पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरसिंह रावलाई सोधियो– ‘विश्वमा शीतयुद्ध अन्त्य भयो, अब छिमेकीसँगको सम्बन्धमा परिवर्तन आउँछ त ?’ जवाफमा रावले भनेका थिए– ‘विश्वमा परिवर्तन आए पनि छिमेकी सम्बन्ध जस्ताको तस्तै रहन्छ।’ तीनतिरबाट घेरिएको नेपालसँगको सम्बन्ध जस्ताको तस्तै राख्ने दक्षिणी छिमेकीको मनसाय हालै चीनका राष्ट्रिपति सी चिनफिङको २ दिनको भ्रमणपछि नरहने संकेत दिएको छ। भूपरिवेष्ठित राष्ट्र नेपालको भौगोलिक बाध्यता अब केही हदसम्म खुकुलो बनेको कुरा चिनियाँ राष्ट्रपपतिले नेपाल अब भूजडित हुनेछ भनेबाट पुष्टि हुन्छ।
सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएपछि आधुनिक चीन र नेपालबीच सम्बन्ध विकास भएको र यो सम्बन्ध समस्यारहित छ। चीन नेपालको विकास र समृद्धिको रणनीतिक साझेदारी भएको सीले गरेको नेपाल भ्रमणक्रममा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ। यो अर्को महत्वपूर्ण पक्ष हो। १४ बुँदे संयुक्त वक्तव्यमा उल्लेख यो ‘रणनीतिक साझेदारी’को गहिरो अर्थ छ।
सन् १९४९ मा स्थापना भएको आधुनिक चीनले अहिले आफ्नो ७०औं वर्षगाँठ मनाइरहेको छ। माओकालीन चीन अविकसित, पछौटे र साम्यवादी राजनीतिको उद्देश्य प्राप्तिका लागि अग्रसर थियो। नेपाल राणाशासन अन्त्य गरी विश्वमा खुला हुँदै थियो। नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको भ्रमण गरेर नेपाल–चीन सम्बन्ध अगाडि बढाए। २०१६ सालमा निर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइरालाले चीन भ्रमण गर्दै सगरमाथासम्बन्धी विवाद अन्त्य गरी सम्बन्धलाई नयाँ आयाम दिए। चीनका प्रधानमन्त्री चाउ एन लाईले त्यही समयमा नेपाल भ्रमण गरे। नेपाल–चीन सम्बन्धले जहिले पनि दक्षिणको भारतको अति प्रभाव र हस्तक्षेपविरुद्ध नेपालको सार्वभौमिकता र स्वतन्त्रता दाबी गर्न मद्दत पुगेको छ।
पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।
माओकालीन चीन देङ स्यायो पिङको नेतृत्वमा सन् १९७८ पछि खुलापन र उदारीकरणको बाटोमा हिँड्यो। अन्तरमुखी चीनले आफ्नै अस्तित्व खोजी गर्दै सन् १९७२ मा तत्कालीन साम्यवादी सोभियत संघबाट वैचारिक मतभेद राखेर अमेरिकासँग सम्बन्ध सुधार ग¥यो। यो अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको भ्रमणबाट सम्भव भएको थियो। सन् १९७८ मा चिनियाँ उपप्रधानमन्त्री देङले नेपाल भ्रमण गरे भने त्यसपछि चिनियाँ राष्ट्रपति ली स्यानन्यान र प्रधानमन्त्री ली फङले नेपाल भ्रमण गरे। चीनका तत्कालीन राष्ट्रपति च्याङ चमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि हाम्रो देशमा सीले भ्रमण गरेका हुन्। यो २३ वर्षमा चीन तथा नेपाल दुवै मुलुकमा धेरै परिवर्तन भएका छन्। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। आत्मकेन्द्रित चीन खुला रूपले विश्व रंगमञ्चमा देखिएको छ। बितेका ७० वर्षमा चीनले आफ्ना ७० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको छ। बेल्ट र रोड अभियानमार्फत उसले एसिया, युरोप र अफ्रिकामा पूर्वाधार, सडक र बन्दरगाह आदि निर्माणबाट करिब ३ सय वर्षदेखि यहुदी÷इसाई नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिन थालेको छ। विश्व जगत्मा चीनको यो आश्चर्यजनक उदय र शक्तिका पाइला अब हिमालपारि नेपालसम्म आइपुगेको सन्देश उसले दिएको छ।
भनिन्छ– माओेले चीनलाई मुक्त गराए, देङले धनी बनाए, जियाङ चमिनले विश्व रंगमञ्चमा चिनाए भने सीले विश्व व्यवस्थामा दाबी गर्न सक्ने तुल्याए। फोब्र्स पत्रिकाका अनुसार विश्वकै सबैभन्दा शक्तिशाली भनिएका सी चीनमा माओपछिका शक्तिशाली नेता हुन्। चिनियाँ कम्युनिस्ट पार्टीले ‘नयाँ युगका लागि सी विचारधारा’ नै आविष्कार गरेको छ। विश्वको महाशक्ति बनेको चीनका नेताले गरेका नेपाल भ्रमण दुई देश(नेपाल–चीन)का लागि मात्र होइन, हिमालय र दक्षिण एसियाकै लागि महत्वपूर्ण छ। यो ऐतिहासिक भ्रमणबाट केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेल सञ्चालन हुने पक्का भएको छ। जसले नेपालको ‘इन्डिया लक्ड’ भूगोल खुला गर्ने मात्र होइन, नेपाली भूमि हुँदै भारतको मुटुसम्म व्यापार गर्न सहज गराउनेछ। रणनीतिक महत्वको यो रेलमार्गले नेपालमा आर्थिक कायापलट गराउन सम्भव छ। प्रसिद्ध भारतयी पत्रकार एम.जे. अकबरले केही वर्षअघि लेखेका थिए– नेपालको प्रधानमन्त्री परवेज मुसर्रफ भए पनि भारतपरस्त हुनुपर्छ। उनको जस्तै अहंकार भारतीय संस्थापन पक्षका मानिसमा देखिन्छ।
विश्वको महाशक्ति बनेको चीनका नेताले गरेका नेपाल भ्रमण दुई देश(नेपाल–चीन)का लागि मात्र होइन, हिमालय र दक्षिण एसियाकै लागि महत्वपूर्ण छ। यो ऐतिहासिक भ्रमणबाट केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेल सञ्चालन हुने पक्का भएको छ।
तर अब नेपाल स्वतन्त्र र असंलग्न भएर दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने हैसियमा पुग्नेछ। नेपालको विदेश नीति भनेको भूगोलको कैदी हो। यो नीतिले हामीलाई भारतकेन्द्रित बनाएको छ। हाम्रो व्यापार संस्कृति, राजनीतिक चिन्तन र धार्मिक व्यवहारले हाम्रो राष्ट्रिय आध्यस्वरूपमा भारत बसेको छ। पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन। जसको सुरुवात केपी शर्मा ओलीले पहिलोपल्ट प्रधानमन्त्री हुँदा गरेका थिए, त्यसैकोे विकसित रूप यो भ्रमणमा देखिएको छ। दक्षिण भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेर नेपाल आएका सीलाई नेपालको सीमितता थाहा नहुने कुरै भएन। मोदीले सीसँगको वार्तापछि भारत–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन्। यो ‘ग्रेट गेम’मा नेपालले सन्तुलन नगुमाई आफ्नो कूटनीति सञ्चालन गर्नुपर्छ। चीनलाई चुनौती ठानिरहेका अमेरिका र युरोपका चासो पनि नेपालमा बढ्नेछ। दुईतिहाइ मतको स्थिर सरकारका कारण पनि चीनले नेपालसँग यति धेरै कार्य अघि बढाएको हो। सी विचारधाराबाट प्रशिक्षित नेकपाका नेताहरूको भावनात्मक सामीप्यले पनि सीलाई आनन्द मिलेको हुन सक्छ। तर नेपाल–चीन सम्बन्ध पार्टी विशेषको होइन, यो राष्ट्रको सम्बन्ध हो जुन कुरा चीनले राम्ररी बुझेको छ।
माओदेखि सीसम्म आइपुग्दा यस भ्रमणले नेपाल–चीन सम्बन्धलाई ‘प्याराडाइम सिफ्ट’ गरेको छ, जुन कुरा जान्न हामीले कम्युनिस्ट होइन, कन्फुसियाली चीन बुझ्न आवश्यक छ । चीन अब शास्त्रीय रूपमा कम्युनिस्ट होइन, कन्फुसियाली एकाधिकारवादी मुलुक हो। लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक मार्टिन ज्याक्सका अनुसार चीनले आफूलाई सभ्यतागत राष्ट्र ठान्छ। पश्चिमी अर्थको राष्ट्र राज्यभन्दा कन्फुसियाली वैभवताको सभ्यतागत राष्ट्र मान्दै पश्चिमका सबै विचारधारा र प्रणाली आत्मसात् गर्दैन, जसलाई चिनियाँ मोडेल भनिन्छ। चीनको यो मोडेल र दार्शनिक आधारलाई चिनियाा प्राध्यापक ज्याङ वे वेले ‘चाइनीज वेभ’ पुस्तक नै लेखे। प्राचीन कालदेखि विश्वको केन्द्र मध्य अधिराज्यको ग्रन्थी बोकेको चीनसँग व्यवहार गर्दा उसका विश्व लक्ष्य र महत्वाकांक्षा बुझ्नुपर्ने हुन्छ। किनकि हेनरी किसिन्जरका अनुसार चीनले आफूलाई विशेष ठान्छ। कम्युनिस्ट माओदेखि कन्फुसियाली सीसम्मको नेपाल–चीन सम्बन्धमा उसको विशेष प्रभाव यो भ्रमणमा देखियो।
प्रकाशित: ३ कार्तिक २०७६ ०३:४५ आइतबार