२१ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

कम्युनिस्ट कि कम निष्ठ ?

कम्युनिस्ट कम्युनिस्ट नहुँदा के हुने रहेछ ? छर्लंग भयो कि कामरेड कृष्णबहादुर महराको गिरफ्तारी र थुनाबाट ! कम्युनिस्ट साँच्चै कम्युनिस्ट भैदिएका भए यस्ता शत्रु हँसाउने दिन आउने थिएनन्। कम्युनिस्ट कम्युनिस्ट नहुँदाको प्रतिफल हो यो, लाजमर्दो स्थिति। नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असोज १४ गते कम्युनिस्ट नेतृ सहाना प्रधानको पाँचौं स्मृतिसभामा तीन/चारवटा प्रश्न गरेका थिए। जुन आत्मालोचनाको शैलीमा थियो। ‘के साँच्चै कम्युनिस्ट छौं त अहिले ?’ गम्भीर प्रश्न थियो उनको। उनले अरू अगाडि बढेर भनेका थिए– ‘नाम त अहिले कम्युनिस्ट नै छ, के साँच्चै कम्युनिस्ट छौं त अहिले ? समाजवाद यात्राका निम्ति योद्धाजस्तै छौं त ?’

अर्को प्रश्न तेस्र्याउँदै थपेका थिए– ‘वा बिस्तारै कांग्रेसजस्ता र हिजोका निरंकुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेका छौं ?  तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको थियो।’ उनको सार थियो– हामी के गर्छौं भन्ने कुराको अर्थ छ, के भन्छौं भन्ने कुराको त्यति अर्थ छैन। हो त प्रचण्डको उक्त भनाइ सार्वजनिक भएको हप्ता नपुग्दै एउटा निर्लज्ज घटना सार्वजनिक भयो। संघीय संसद्का सभामुख (?) कृष्णबहादुर महरा यौन दुराचार अभियोगमा पक्राउ परे। कहाँको संघीय संसद्को ‘सम्माननीय’ सभामुख, कहाँको हिरासत ! त्यो पनि नेपालीको महान् चाड बडादसंैको महाअष्टमीका दिन। दसैंको उपलक्ष्यमा सबै अदालतमा बिदा भएका बेलामा पनि अदालत बहाल गराई पक्राउ पुर्जी जारी गरी पक्राउ गर्नु र थुनामा राख्नुजस्ता कामले सरकारले यो मुद्दालाई सर्वोच्च प्राथमिकता दिएर नेपाली जनताबीच गिर्दै गएको आफ्नो साख उकास्न खोजेजस्तो लाग्यो। बधाई छ, यस्तो कामका लागि।

अन्य कामरेडहरूबीच पनि त्यस खालको ‘अफेयर’ छ भने सार्वजनिक गरी टुंग्याउनुप-यो। नत्र महरा–रोशनी काण्ड पुनरावृत्त नहोला भन्न सकिँदैन।

गोप्य कुरा खुल्दा
यौन वास्तवमा अत्यन्त संवेदनशील एवं परम गोप्य मामिला हो र हो, विवाहेतर यौन सम्बन्ध अस्वीकार्य र अपराधबोधक पनि। नेपाली समाजमा मात्र होइन, विश्वमै यस्तो सम्बन्ध बन्देज छ। तर यौन काण्डमा संसारका महान् हस्तीहरू पनि नराम्ररी मुछिएका छन्। उसो त मान्छेको सृष्टिकाल देखि नै यो मुद्दा नउठेको हैन। यो नितान्त गोप्य मामिलामा धार्मिक गुरु, प्रधानमन्त्री, राष्ट्रपतिसम्म  फसेका छन्। यौन नैतिकता समाजको उच्च तहमा कायम छ। अझ यसमा पनि कम्युनिस्टहरूमा त अरू कडा हुने गर्छ। तर हाम्रा महरामा यो आचारसंहिताले काम गरेन। यद्यपि यो मुद्दाकी अर्को लिंगी पात्र रोशनी शाहीको हो, होइन र फेरि होजस्ता फरक–फरक प्रतिक्रियाले निकै जटिल बनाइदियो। अन्ततोगत्वा शाहीले असोज १८ गते शनिबार बानेश्वर प्रहरी वृत्तमा कृष्णबहादुर महराले आफूलाई बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि घटनाले आँधीबेरी नै ल्यायो।

रोशनी शाही संसद् सचिवालयकी स्वास्थ्यकर्मी रहिछन्। त्यो यौन दुराचार भएको भनिएको छैठौं दिन यो उजुरी परेको हो। यी ६ दिनको लामो अन्तरालमा नेपथ्यहरूमा कति खिचडी पाके थाहा छैन। रोशनीको पहिलो कडा खालको आरोप त्यसको नितान्त उल्टो भावुक खण्डन वा स्पष्टीकरण, त्यसको फेरि कडा खालको किटानी जाहेरीलाई एउटै टेबुलमा राखेर केलाउँदा एउटा तस्बिर बन्छ। अलग–अलग केलाउँदा त्यस्तो तस्बिर बन्दैन। महरा असोज १२ गते आइतबार रोशनीको कोठामा देखिएदेखि निवास फर्किएसम्मका सिसीटिभी फुटेज प्रहरीसँग सुरक्षित छ रे। घटना सार्वजनिक भएपछि महराले सभामुख पदबाट राजीनामा दिएका हुन्। महरा र रोशनीबीच घटना भएको स्थलबाट बरामद सामानको फरेन्सिक जाँचको प्रक्रियासमेत अघि बढाइएको छ। रोशनीले सोही आइतबार राति नै महराले आफूलाई बलात्कार गरेको मौखिक जानकारी गराएकी रहिछन्।

‘निर्धक्क भै अनुसन्धान गर्नोस्’
खबर पाउनासाथ प्रहरीले घटनास्थलमै रक्सीको बोतल, फुटेको चस्माको सिसालगायत सामान बरामद गरेछ। प्रकाशित समाचारअनुसार त्यो कुरा नेकपाको सचिवालय बैठकमा पनि उठेपछि महरालाई बोलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिइएछ। तर महराले भने सभामुख पदबाट मात्र राजीनामा दिएर सांसद पद सुरक्षित नै राखेछन्। सबै घटना विवरण सुने, हेरेपछि प्रचण्डले पुर्पुरोमा हात लगाई सुस्केरा हालेका थिए रे। सरकारले यो मुद्दालाई आफ्नो प्रतिष्ठासँग पनि गाँस्यो र गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षकलगायत उच्च तहसँग निष्पक्ष अनुसन्धान कुनै कसर बाँकी नराखी अघि बढाउन निर्देशन दिए रे।

महरा–रोशनी ‘अफेयर्स’ लामो समयदेखिकै हो रे। यस्तो अनैतिक सम्बन्ध कामरेड प्रचण्डले किन रोकेनन् ? पार्टी नेताले रोक्नुपर्ने जिम्मेदारी होइन र ?

रोशनीले घटनाको भोलिपल्टै महरा आफ्नो कोठामै नआएको र उनीबाट कुनै दुव्र्यवहार नभएको दाबी गरेकी थिइन्। महराले समेत आफू रोशनीको कोठामा जाँदै नगएको, घटना हुदै नभएको दाबी गर्दै आएका थिए। घटना सार्वजनिक भएपछि आफूहरूबीच सम्बन्ध–विच्छेदको प्रक्रिया अघि बढेको र दुवै जनाले अलग–अलग बस्ने लिखित सहमति गरेको कुरा हस्ताक्षर गरेको कागजसहित रोशनीका श्रीमान्ले फेसबुकमार्फत सार्वजनिक गरेका थिए। यसले ठूलै तरंग ल्यायो। यसो हुनु अस्वाभाविक पनि भएन। घटना ठहरिए अपराध संहिता २०७५ अनुसार हुन सक्ने दण्ड सजाय पनि सार्वजनिक हुन बाँकी रहेन। अपराध संहिताअनुसार बलात्कार गरेको प्रमाणित भए महरालाई ७ देखि १० वर्षसम्म कैद हुन्छ रे, अनि यौन दुव्र्यवहार भएको पुष्टि भए ३ वर्ष कैद, ३० हजार जरिवाना।

रोशनीले डिप्रेसनको औषधि सेवन गर्दै आएको भन्नेछ। अपराध संहिताअनुसार अस्वस्थ महिलालाई बलात्कार गरेको प्रमाणित भए झन् थप ५ वर्ष सजाय हुनेछ। कसैले पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मन्जुरीबिना करणी गरे विभिन्न थरीका सजाय हुने अपराध संहितामा उल्लेख छन्। यस मामिलामा गृहमन्त्री स्वयंले निर्धक्क भई अनुसन्धान गर्न भनेकाले गम्भीर अनुसन्धान होला नै।

यो ‘अफेयर’ थाहा थिएन प्रचण्डलाई ?
कृष्णबहादुर महरा ‘सर’ हुनुहुन्थ्यो, आदरणीय हुनुहुन्थ्यो। उहाँलाई २०४८ देखि चिन्न थालेको हुँ। जनयुद्धकालमा हुने माओवादी र सरकारबीच वार्ताका सन्दर्भमा उहाँका ‘टक प्रोग्राम’ हुन्थे। त्यस्तोमा म पनि बोलाइन्थें। उहाँको योगदान उल्लेख्य थियो। रोल्पाका महरा जनमोर्चा नेपाल पार्टीबाट सांसद भएका थिए, प्रत्यक्ष निर्वाचनद्वारा २०४८ मा। त्यस्तो व्यक्तित्व कसरी रोशनी शाहीको बाहुपासमा फस्यो ! यौन काण्डको यो अर्को खोजको विषय बन्ने भो। ४२औं अमेरिकी राष्ट्रपति विल ल्किन्टनलाई चोख्याउन हिलारीले कम परिश्रम गर्नुपरेन।

कथा, पुराणहरूमा ठूलठूला ऋषिमुनि, तपस्वीहरूको तपस्या भंग गर्न अप्सराहरूको प्रयोग हुने गरेको  वर्णन पाइन्छ। यो रोशनी–महरा काण्डमा महरा प्रयोग भएका हुन् कि रोशनी ? क्रमशः खुल्दै जाला। अहिलेसम्म बुझेअनुसार यो काण्डमा महरा नै बढी कारण र कारक दुवै हुन् भन्ने लाग्छ। यी यौन नायक–नायिका महरा–रोशनीमध्ये बढी जिम्मेदार महरा हुन् भन्ठान्छु। यी खलनायक–नायिकाको उमेरमा कति अन्तर छ, ठ्याक्कै थाहा भएन।

तर निकै अन्तर छ भन्ने लाग्छ। कम्युनिस्ट भनेपछि चरित्र हो, स्वभाव हो, आचरण हो भन्ने लाग्ने कामरेड पुष्पलाल, कामरेड मनमोहनजस्ता नेताहरूबाट दीक्षित मजस्ताका लागि महरा–रोशनी रासलीला अनौठो र असहज लाग्ने। मेरा पालामा म पनि युवक थिएँ, महिला कामरेडहरू पनि युवती थिए। २००९–२०१६ सालतिर खै त त्यस्ता काण्ड भएनन् ! एकाध अपवादमा त्यस्ता कुराको छनक पाउनासाथ कि पार्टीको काममा टाढा खटाइन्थ्यो कि दुवै जना अविवाहित रहेछन् भने वैवाहिक सम्बन्ध नै कायम गराइन्थ्यो। महरा–रोशनी ‘अफेयर्स’ लामो समयदेखिकै हो रे। यस्तो अनैतिक सम्बन्ध कामरेड प्रचण्डले किन रोकेनन् ? पार्टी नेताले रोक्नुपर्ने जिम्मेदारी होइन र ?

महँगो रक्सी संस्कृति नै भो ?
‘के साँच्चै कम्युनिस्ट छौं त अहिले ?’ प्रचण्डको प्रश्न। ‘साँच्चै कम्युनिस्ट हुनुहुन्न तपाईंहरू !’ यही हो, उत्तर। अर्को प्रश्नको उत्तरमा पनि भन्छु– ‘समाजवादको यात्राका निम्ति योद्धाजस्तो पनि हुनुहुन्न। बिस्तारै कांग्रेसजस्ता पनि हुनुहुन्न, तपाईंहरूमध्ये धेरैजना।’ महरा एउटा सार्वजनिक भएका पात्र भए। निरंकुशतावादीहरूजस्तै पद र प्रतिष्ठाकै निम्ति धेरै कम्युनिस्ट लागेका देखिन्छन्। १६/१७ महिनासम्म पार्टी एकीकरण नटुंगिनु त्यसैको परिणाम हो भन्दा अन्याय होला र ? तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको थियो, फुट्यो त विकासको मूल ? अहँ ! फुटेन। अहिले तपाईंहरूले गर्वसाथ भन्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’, कतै त्यस्तै होला ? तपाईं के गर्नु हुन्छ भन्नेसँग मतलब छ, के भन्नुहुन्छ भन्ने कुराको अर्थ छैन। अहिले यस्तो भइसक्यो कि भनेको कामकुरो गर्नुहुन्न, गर्ने कुरो भन्नुहुन्न। यसरी टिकाउ राजनीति लामो समय कसरी चल्छ र !

पुरानी श्रीमती र परिवारबाट पृथक भएर रोशनीसँग घरजम गरेको भए यो दुर्दशा हुँदैनथ्यो होला। ‘महरा सर’सँग  मान्छेहरूका निकै अपेक्षा थिए। नेकपाको पनि पक्कै अपेक्षा थियो होला, तर ती सबै चकनाचुर भए। बोतल फोर्ने बानी सर हँुदा, मास्टर साहेब हुँदा पक्कै थिएन होला। तर माओवादी लडाकुका निम्ति शिबिरीकरणका बेला सीमित माओवादी नेताका हातमा करोडौं मात्र होइन, अर्बौं रुपैयाँ प-यो। त्यसै बेलादेखि महँगो रक्सीका ‘बोतलवाद’ औधी बढेजस्तो लाग्छ। त्यो क्यान्टोनमेन्टको हिसाब मिलान हुन नसक्नु लोकमानसिंह कार्की उत्थानको प्रमुख कारण थियो भन्ने ठूलै तरंग नै आएको थियो। प्रचण्डलाई नियन्त्रण गर्ने हतियार पनि त्यही क्यान्टेनमेन्टको अर्बौं रुपैयाँको हिसाब नै थियो। महरा त्यो प्रसंगमा प्रचण्डका दाहिने हात थिए क्यार !

कम्युनिस्ट हुन कम्युनिस्ट नै हुनुपर्छ
अरू पार्टीमा पनि युवा वयका धेरै कार्यकर्ता छन्। तर यस्ता यौन काण्डलाई चर्को रूपमा लिएको सुनिँदैन। कम्युनिस्ट पार्टीमा खुला यौनलाई आँखा चिम्लिइँदैन। अन्य कामरेडहरूबीच पनि त्यस खालको ‘अफेयर’ छ भने सार्वजनिक गरी टुंग्याउनुप¥यो। नत्र महरा–रोशनी काण्ड पुनरावृत्त नहोला भन्न सकिँदैन। कम्युनिस्ट नामका कामरेडहरूमा कम्युनिस्ट हुने संकल्प र दृढता छ भने कम्युनिस्ट नै हुनोस्। आचरण, व्यवहार, संस्कार, लवाइले पनि नेपालका आम खाँटी कम्युनिस्ट हुनुहोस्।

प्रकाशित: २६ आश्विन २०७६ ०२:३३ आइतबार

कम्युनिस्ट महरा_प्रकरण कामरेड