२४ श्रावण २०७७ शनिबार
विचार

नेपाली समाजका आदर्श

हेमराज ज्ञवाली चर्चित नाम हो, जसले नेपालमा दैनिक पत्रिका सम्भव छ र मज्जाले चल्न सक्छ भन्ने मान्यता व्यवहारबाट प्रमाणित गरे। नेपाल सरकारबाट अवकाशप्राप्त ज्ञवालीले सरकारी ओहोदामा रहँदा पनि महत्वपूर्ण कार्यहरू सम्पादन गरेका थिए भने अवकाश जीवनमा गरेका अन्य उद्योगमा पनि उल्लेख्य सफलता प्राप्त गरेका थिए। समाजसेवी, दैनिक पत्रिकाका कुशल व्यवस्थापक, वेदान्त दर्शनका कुशल प्रवाचक हेमराज ज्ञवालीसँग २०५४ सालबाट चिनजान भएको हो र दुई दशकसम्म सँगै एउटै समितिमा रहेर काम गर्ने अवसर प्राप्त भयो। उहाँसँग काम गर्न सजिलो, तर सदैव सक्रिय रहनुपथ्र्याे।

एउटै समितिमा रहेर काम गर्ने प्रसंग थियो– जयतु संस्कृतम् आन्दोलन २००४ स्वर्ण महोत्सव समारोह। भानुभक्त जयन्तीका सन्दर्भमा श्रीभद्र शर्माजीको र मेरो भेट भएको थियो र उहाँले मलाई  जयतु संस्कृतम् आन्दोलन भएको ५० वर्ष पुग्न लागेछ, एउटा कार्यक्रम गरेर स्मरण गरौं न भन्नुभयो। यो कुरा मलाई पनि उपयुक्त लाग्यो र मैले वाल्मीकि विद्यापीठका तत्कालीन सभापति बद्री पाण्डे (हाल सांसद)लाई एउटा स्वर्ण महोत्सव समिति बनाई कार्यक्रम भव्य रूपमा मनाउने प्रस्ताव राखें, उहाँले पनि स्वीकार गर्नुभयो र त्यस विषयमा विविध किसिमका छलफल र विमर्श भए। २०५४ भदौ २७ गते वाल्मीकि विद्यापीठमा एउटा भव्य भेला आयोजना गरियो। त्यस भेलामा संस्कृतका विभिन्न क्षेत्रमा स्थापित व्यक्तिहरू नरहरि आचार्य, विदुर पौडेल, तत्कालीन शिक्षा सचिव शरद्कुमार भट्टराई, प्रा.डा. जयराज आचार्य, प्रा.डा. व्रतराज आचार्य, निर्वाचन आयुक्त रामचन्द्र शर्मा पौडेल, श्रीभद्र शर्मा, कमलराज रेग्मी, राजेश्वर देवकोटा, पद्मशंकर अधिकारी, हेमराज ज्ञवाली, पत्रकार होमनाथ दाहाल, तत्कालीन उपकुलपति प्रा. माधवराज गौतम, वाचस्पति देवकोटा, अर्थमन्त्रालयका सहसचिव डा.बद्री पोख्रेल, नवराज कट्टेल, शिव तिमल्सिना आदि, ८०/९० जनाको भेला भएका थियौं। भेलामा साप्ताहिक र वार्षिक र्काक्रमको रूपरेखा प्रस्तुत गर्ने अवसर यस पंक्तिकारले नै प्राप्त गरेको थियो। सो भेलाले श्रीभद्र शर्माको संयोजकत्वमा समिति बनाउन प्रस्ताव राखे पनि शर्माले सो समारोहमा अभिनन्दसमेत गरिने कार्यक्रम रहेको र आफू पनि अभिनन्दन गरिने व्यक्तिमा पर्ने भएकाले रामचन्द्र शर्मा पौडेलको संयोजकत्वमा १०८ मूल समिति र ३१ सदस्यीय कार्य समिति निर्माण गर्ने प्रस्ताव सुझाउनुभयो र तद्नुसार भेलाले निर्णय ग-यो भने सचिवको जिम्मेवारी प्रस्तुत पंक्तिकारलाई नै मिलेको थियो। कोषाध्यक्षको प्रसंग आउँदा शिक्षा सचिव शरद्कुमार भट्टराईले हेमराज ज्ञवालीको नाम प्रस्ताव गर्नुभएको थियो र भेलाले अनुमोदन गरेको थियो। यसरी हेमराज ज्ञवाली र यस पंक्तिकारको सहयात्रा, सहकार्य सुरु भएको थियो।

जयतु संस्कृतम् आन्दोलन २००४ स्वर्ण महोत्सव समारोह सम्पन्न गर्न साधन–स्रोतको आवश्यकता थियो, त्यसको संयोजन हेमराज ज्ञवालीले कुशलतापूर्वक गर्नुभयो; श्रीभद्र शर्मा, तत्कालीन शिक्षा सचिव शरद्कुमार भट्टराई, अर्थ सहसचिव डा. बद्री पाख्रेल, रामचन्द्र शर्मा पौडेल आदि, जसको जहाँ–जहाँ पहुँच र पकड थियो, त्यहाँ–त्यहाँ सम्बद्ध व्यक्तिहरूलाई परिचालन गरी कुशलतापूर्वक उहाँले अर्थ संकलन गर्नुभएको थियो।

हेमराज ज्ञवालीजीले कुशलतापूर्वक अर्थ संकलन गर्नुभएकाले स्वर्ण महोत्सव समारोहको साप्ताहिक र वार्षिक कार्यक्रम भव्यतासाथ सम्पन्न भए। साप्ताहिक कार्यक्रमको समुद्घाटन ०५४ मंसिर १८ गते पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले भर्नुभएको थियो भने जयतु संस्कृतम् आन्दोलन २००४ का योद्धाहरूलाई अभिनन्दन (२२ गते) तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले गर्नुभएको थियो। त्यस्तै २०५५ असार १२ गते समापन समारोहमा अवशिष्ट व्यक्तिको अभिनन्दन र समापन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो। सो समापन समारोहमा जयतु संस्कृतम् आन्दोलन २००४ लाई चिरकालपर्यन्त स्मरण गर्दै जीवन्त राख्न र संस्कृत क्षेत्रमा स्थायी रूपमा काम गर्न जयतु संस्कृतम् संस्था गठन र घोषणा गरिएको थियो। सो नवगठित समितिमा श्रीभद्र शर्मा संयोजक रहनुभयो भने कोषाध्यक्षको जिम्मेवारी हेमराज ज्ञवालीलाई नै दिइएको थियो र सचिवको जिम्मेवारी प्रस्तुत पंक्तिकारलाई नै मिलेको थियो।

हेमराज ज्ञवालीजीले ०५४ देखि ०६६ सालसम्म कार्य समितिमा कोषाध्यक्ष र अध्यक्ष भएर जयतु संस्कृतम् संस्थामा कार्य सम्पादन गर्नुभयो भने बाँचुन्जेल विशेष सल्लाहकार भएर जयतु संस्कृतम् संस्थालाई नेतृत्व र सम्पोषण गर्नुभयो। उहाँको कार्यकालमा जयतु संस्कृतम् संस्थाले उत्तर महाभारत ग्रन्थ लेखन अगाडि बढायो भने जयतु संस्कृतम् पुरस्कार स्थापना गरेर धेरै संस्कृत भाषाका कवि/लेखकलाई नगद पुरस्कारसहित अभिनन्दन गरियो। उहाँ कोषाध्यक्ष भएकै समयमा संस्थाले अक्षय कोष स्थापना ग-यो। उहाँले सुरु गरेको जगमा आज संस्थाको अक्षय कोष सुदृढ बनेको छ। उहाँकै समयमा संस्थाले सुरु गरेको वार्षिक जयतु संस्कृतम् दिवस कार्यक्रम, संस्कृत कवि गोष्ठी, संस्कृत सम्भाषण शिविर, गोष्ठी, ग्रन्थ सम्पादन, सांस्कृतिक हाजिरी–जवाफ, पत्रिका तथा पुस्तक प्रकाशन आदिले निरन्तरता पाइरहेका छन्।

हेमराज ज्ञवालीजी ०५४ देखि निरन्तर कोषध्यक्ष रहँदै ०६२ असारदेखि ०६५ सम्म जयतु संस्कृतम् संस्थाको अध्यक्ष चुनिनुभयो। पंक्तिकारले उहाँसँग पनि सदस्य–सचिव भएर काम गर्ने अनुभव सँगाल्न पाएको थियो । यस कालखण्डमा पनि पूर्वप्रारम्भ गरिएका कार्यक्रमहरू अविछिन्न रूपमा सञ्चालन भए भने केही नयाँ र विशेष कार्यक्रम पनि सम्पन्न भए। ज्ञवालीजीको नेतृत्वकालमा ४–५ वटा पुस्तक प्रकाशन भए भने अक्षय कोष रकम थपिँदै कोष सुदृढ बन्न पुग्यो। प्रज्ञा प्रतिष्ठानसँग मिलेर थुप्रै कार्यक्रम गरियो भने मल्ल होटलमा गरिएको विद्वत् गोष्ठी सबैतिर प्रशंसित रह्यो। उपत्यका तथा उपत्यका बाहिरका विद्वान्हरूको उपस्थिति संख्या ३ सय हाराहारीमा थियो। सो गोष्ठीले संस्कृतको क्षेत्रमा एउटा राम्रै तरंग ल्याएको थियो। प्रत्येक वर्ष गरिने संस्कृत कवि गोष्ठीमा ज्ञवालीजीले पनि संस्कृतमा कविता प्रस्तुत गर्नुभएको थियो। तीमध्ये कतिपय कविता जयतु संस्कृतम्को संस्कृत कविता संग्रहमा पनि प्रकाशित छन्। अर्को महत्वपूर्ण कुरा अन्तर राष्ट्रिय संस्कृत सम्मेलन गर्न अध्यक्ष ज्ञवालीज्यू कस्सिएर लाग्नुभएको थियो। त्यसका विभिन्न चरणमा गरिने कार्यक्रमहरू, समिति, उपसमितिहरू बनेका थिए भने ब्रोसियरहरू पनि तयारी अवस्थामा थिए। यस विषयमा ज्ञवालीजीले छलफल र बहसहरू पनि गराउनुभएको थियो। नेपालका विद्वान्हरूसँग तीव्र रूपमा परामर्श गर्नुभएको थियो। तर ०६२/०६३ को आन्दोलनले गर्दा विभिन्न किसिमका विघ्न–बाधा आए। देशको अस्थिर राजनीतिका कारण त्यो काम अगाडि बढ्न सकेन।  

ज्ञवालीजीको अध्यक्षतामा सदस्य–सचिव भएर काम गर्न पाउँदा निकै सजिलो भएको थियो। उहाँ बोलेपछि काम फत्ते गर्ने स्वभावको हुनुहुन्थ्यो। कम बोल्नुहुन्थो, तर मीठो बोल्नुहुन्थ्यो, छोटो बोल्नुहुन्थ्यो, तर ठोस बोल्नुहुन्थ्यो। उहाँ जति गर्न सकिन्छ, त्यति बोल्नुहुन्थ्यो र जति बोल्नुहुन्थ्यो, त्यति गर्नुहुन्थ्यो। बैठक र समारोहमा उहाँ केही समय अगाडि नै आइपुग्नुहुन्थ्यो, तयारीको जनकारी लिनुहुन्थ्यो र केही सहयोग गर्नुपरे व्यवस्था मिलाउनुहुन्थ्यो। मिटिङ छोटो, ठोस र प्रभावकारी बनाउन अगाडि नै प्रस्ताव तयार गर्न लगाउनुहुन्थ्यो र निरन्तर सचिव र कार्यालय–सचिवसँग सम्पर्क गरिरहनुहुन्थ्यो। कार्यक्रम गर्ने भनेपछि उहाँ व्यग्र र चिन्तित बन्नुहुन्थ्यो र तयारीमा निकै ध्यान दिनुहुन्थ्यो। संस्था दर्ता हुँदा लेटर हेड, छाप आदि उहाँले कान्तिपुरमै गराउनुभएको थियो। त्यहाँका प्राविधिकहरूले जयतु संस्कृतम्लाई सहयोग गरेका थिए। संस्थाका राम्रा कामहरूका विषयमा बेलाबखत लेख लेखेर छपाइरहनुहुन्थ्यो। नागरिक पत्रिका स्थापना भएपछि पनि उहाँले जयतु संस्कृतम्लाई सहयोग र सल्लाह दिइरहनुभयो। पंक्तिकारलाई नागरिकमा राम्रै जिम्मेवारी दिन प्रस्ताव पनि गर्नुभएको थियो, तर  पिएचडीमा व्यस्त रहनुुपरेकाले सर्तअनुसार समय दिन नसकिने भयो र त्यो कुरा त्यत्तिकै रह्यो।

आज उहाँ हाम्रामाझ हुनुहुन्न, तर उहाँले गरेका राम्रा काम र छाडेका पदचिह्न नेपाली समाजमा रहिरहनेछन्। दैनिक पत्रिका प्रकाशनमा जुन क्रान्ति उहाँले ल्याउनुभयो, त्यो नेपाल र नेपालीका लागि अविष्मरणीय छ। काममा व्यस्त रहँदारहँदै पनि धार्मिक र आध्यात्मिक क्षेत्रमा उहाँको लगाव र योगदान अर्को उल्लेख्य पक्ष हो। उहाँ वेदान्त दर्शनका प्रखर वक्ता, पाठक र चिन्तक हुनुहुन्थ्यो, उहाँको मान्डुक्योपनिषद् ज्यादै सुन्दर र चर्चित छ। उहाँको समग्र व्यक्तित्व र संघर्षमय जीवनको उतारचढाव हेर्दा उहाँ नेपाली समाजका आदर्श व्यक्तित्व हुनुहुन्थ्यो र उहाँका असल कर्मले नेपाली समाजलाई युगयुगान्तसम्म पनि अभिप्रेरित गरिरहनेछ भन्ने मलाई विश्वास छ।

प्रकाशित: १६ आश्विन २०७६ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App