८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

कम्युनिस्ट कहिले कम्युनिस्ट हुन्छ?

यही असोज ७ गते एक दैनिक पत्रिकामा पुष्पकमल दाहाल प्रचण्डको एउटा अनुभूति पढेँ जसले उद्वेलित बनायो। प्रचण्ड आजको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुइटा अध्यक्षमध्ये एउटा अध्यक्ष हुन्। कम्युनिस्ट नेतृ सहाना प्रधानको पाचौँ स्मृति दिवसमा सहानाप्रति सम्मान प्रकट गर्दै ‘के साँच्चै कम्युनिस्ट छौँ त अहिले’ भनी आफूहरूलाई नै प्रश्न गरेर एउटा गम्भीर चित्र उजागर गरे। आफ्नो उद्गार अभिव्यक्त गर्ने सन्दर्भमा प्रचण्डले ‘नाम त अहिले कम्युनिस्ट नै छ, के साँच्चै कम्युनिस्ट नै छौँ त अहिले ?’ भने। भन्न त हामीले समाजवादको यात्रा सुरु गर्ने भनेका छौँ, के हामी समाजवादको यात्राका निम्ति योद्धा जस्तै छौँ त ?’ अर्को सवाल थपे फेरि शङ्का गर्दै– ‘या बिस्तारै कांग्रेस जस्ता र हिजोका निरंकुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेका छौँ।’ अर्को जिज्ञासा राख्दै पुनः थपे प्रचण्डले ‘तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको’ संस्मरण गर्दै भने– हामीले के गछौँ भन्ने कुराको अर्थ छ, हामीले के भन्छौँ भन्ने त्यति अर्थ छैन।

क्या खाँटी कुरो ! यसअघि प्रचण्डले सहाना कम्युनिस्ट अग्रणी महिला रहेको भन्ने मूल्याङ्कन गर्दै उनीकम्युनिस्ट आन्दोलनमा अग्रणी महिला रहेको तथ्य उल्लेख गर्न पनि भुलेनन्। प्रचण्डले अरु अगाडि बढ्दै भने– समग्रमा सहाना नेपाली कम्युनिस्ट आन्दोलन र राजनीतिक आन्दोलनको अग्रणी नेता हुनुहुन्थ्यो। उहाँ समाजको रूपान्तरण र राजनीतिलाई नेतृत्व गर्ने अगुवा हुनुहुन्थ्यो भन्न पनि बाँकी राखेनन्। राणाशाही र तानाशाहीविरुद्ध जीवनभर अप्ठ्यारो सामना गरेको बिर्सन नहुने कुरा उल्लेख गरे र भने– सहाना प्रधान राजनीतिज्ञ हुन्। यसै प्रसंगमा पुष्पलालको पनि सन्दर्भ मिलाउँदै पुष्पलालले नेपाली समाज र माक्र्सवादको राम्रो विश्लेषण गरेर स्थापना गरेको पार्टीबाट नै नेपालमा क्रान्ति र परिवर्तनको प्रक्रिया सुरु भएको तथ्य उल्लेख गर्न पनि बिर्सेनन्।

पद र प्रतिष्ठाका लागि लाग्थे राजनीतिमा कांग्रेस र निरंकुशतावादीहरू। त्यही रोग अहिले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामा व्यापकरूपमा लाग्न थालेको छ।

लवाइ र कम्युनिस्ट आन्दोलन
कमरेड प्रचण्डले अरु अगाडि बढ्दै पुष्पलाल र प्रधानलगायतले त्याग, तपस्या, निष्ठा, मेहनतको जीवन व्यतीत गरे पनि व्यक्तिगत पद, प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग नगरेको जिकिर गर्न पनि कञ्जुस्याइँ गरेनन्। प्रचण्ड यदाकदा यस्ता साँचा र खराकुरा गर्न तम्सन्छन्। तर उनका कुरा टिकाउखालका हुँदैनन्। साँच्चै हो, आजका कम्युनिस्टहरू अपवादलाई छाडेर कम्युनिस्ट त के,कम्युनिस्ट जस्ता पनि देखिँदैनन्। साँच्चै कम्युनिस्ट हुन त सजिलो छैन। तर यसको तात्पर्य कम्युनिस्टले सधैँ मैलो, फाटेको लुगा लाउनुपर्छ, जुत्ता होइन, प्लास्टिकको फ्याटफ्याटेमात्र लाउनुपर्छ भनेको होइन। चीनले माओत्सेतुङले मनपराउने घाँटीसम्मै टाँक लगाउने लामो कोट छाड्यो माओपछि।

चिनियाँहरू बेलायती ढाँचाका थ्रि पिस सुट र टाइमा चिटिक्क परेर हिँड्न थालेपछि संसारैभरका कम्युनिस्टहरूको पोशाकमा परिवर्तन हुन लागेको हो। महात्मा गान्धीको पालाको कछाड र गान्धी टोपी पनि छाड्यो भारतले। अपवादमा मात्र देखिन्छन् भारतमा गान्धी टोपी लगाउने मान्छे। तर नेपालमा कम्युनिस्ट नेताहरू महँगो, निकै महँगो लुगा लाउन थाले। त्यो पोशाकले गर्दा गाउँघरका अझ मधेसका गरिब नेपाली, दलित, महिला, विपन्न वर्गका केटाकेटी हाम्रा नेताहरूको नजिक जान पनि धक मान्न थाले। नेताहरू कार्यकर्तार विपन्न जनताबीच लवाइमा यति धेरै अन्तर पर्न थाल्यो कि जनता नेताहरूको नजिक पर्न पनि धक मान्न थाले। 

आक्रमणबाट प्रतिरक्षात्मकमा
नेपाल कम्युनिस्ट पार्टी भन्न त भन्छ– समाजवादको यात्रा सुरु गर्ने। समाजवादको यात्रा सजिलो हुने गरेको छैन। समाजवादको यात्राका लागि योद्धा जस्तै हुनुपर्छ। साँच्चै छन् त आजका कम्युनिस्ट योद्धा जस्तै ? यो गम्भीर सरोकारको विषय हो। पद र प्रतिष्ठाका लागि लाग्थे राजनीतिमा कांग्रेस र निरंकुशतावादीहरू। त्यही रोग अहिले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामा व्यापकरूपमा लाग्न थालेको छ। पदप्रति आकर्षण यति बढेको छ, यति बढेको छ जसका कारण १६ महिना नाघिसक्यो एमाले र माओवादी पार्टी एकीकरण भएको तर पद बाँडफाँट नमिलेर अझै टुङ्गिएको छैन पूर्ण एकीकरण। पार्टीको स्कुल विभागका प्रमुख नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल दुवैले दाबी गरेकाले निकै समय खायो त्यो पदले। प्रचण्डको त्यो अभिव्यक्ति त्यो घटनाको पनि प्रतिबिम्ब हो जस्तो लाग्छ।

पुष्पकमल दाहालले भनेजस्तै नेकपामा कांग्रेस मानसिकता र निरंकुशतावाद प्रवेश गरेकै हो त ?अनि कसरी प्रारम्भ हुन्छ त समाजवादको यात्रा ? आजको कम्युनिस्ट आन्दोलनलाई विश्वव्यापी ऐनामा हे¥यो भने ह्रासोन्मुख प्रतिबिम्ब देखा पर्छ। विश्वस्तरमा हेर्दा कम्युनिस्ट आन्दोलन आक्रामक स्वरूप र स्वभावको थियो अलि अघिसम्म। तर तत्तत् देशका कम्युनिस्ट पार्टी र नेता कार्यकर्ताको काम र जनतासँगको व्यवहार, भड्किलो लवाइ र मीठो खवाइ आदिले गर्दा रक्षात्मक अवस्थामा रूपान्तरण हुन पुग्यो। त्यो त्यही भारतमा कति बलियो थियो कम्युनिस्ट आन्दोलन। तर अहिले ? बिजोग छ। केरलामा उहिल्यै राज्यसञ्चालन गरेको थियो कम्युनिस्ट पार्टीले। पश्चिम बङ्गालमा त ज्योति बसुले निर्वाचित कम्युनिस्ट सरकार चलाए तीनवटा हो क्यार कार्यकालसम्म। अहिले विश्वव्यापीरूपमै कम्युनिस्टहरूको आचरण र व्यवहारले गर्दा हुनुपर्छ, निर्वाचनहरूमा नगण्य स्थानमा मात्र विजयी हुनु।

नत्र कांग्रेस वा निरंकुशतावादतिर    
आज भारतमा कम्युनिस्ट पार्टीहरू यति कमजोर भएका छन् प्रत्येक निर्वाचनमा सिट घट्दो स्थितिमा छ। के भएर यो विपरीत परिस्थिति खडा भो ? निर्मम र कठोर तरिकाबाट केस्रा केस्रा केलाउनु जरुरी भएकोछ। कम्युनिस्ट पार्टीभन्दा अरुपार्टी राम्रा भएर कम्युनिस्टहरू पराजित भएका हुन् ?त्यो पनि होला जस्तो लाग्दैन। भारतको केन्द्रीय सरकारमा मन्त्री भएकामध्ये झण्डै ३० प्रतिशत फौजदारी मुद्दाको तारिख बोकिरहेकाहरू छन्। तिनीहरू नै धेरै मत ल्याएर जित्छन्। कम्युनिस्ट उमेदवारहरू जमानत पनि जफत हुनेगरी परास्त हुन्छन्। यो केको संकेत हो ? कि संसारभरका मान्छेको आकर्षण हराएको हो कम्युनिस्ट पार्टीबाट ? चीन,उत्तर कोरिया, क्युबा र भेनेजुएलाबाहेक कम्युनिस्ट पार्टीको सरकार छैनन् संसारभरि। के संसारका कामदार जनता सम्पन्न भइसकेर कम्युनिस्ट आन्दोलन प्रतीरक्षात्मक स्वरूपमा परिवर्तन भएको हो ? यो पक्कै होइन।

सरकार वा सबभन्दा ठूलो पार्टीको नेतृत्व गर्ने दलले नागरिकको आलोचनालाई हमला हो भन्ने भ्रममा पर्नुहुन्न। यदि गुनासोबाट डराउने हो भने शासन व्यवस्था यस्तो चुस्त र दुरुस्त बनाउनुपर्छ जहाँ गुनासो गर्ने अवस्था नै नआओस्।

प्रचण्डले सहाना प्रधानको स्मृतिसभामा दिएका भाषणले कम्युनिस्ट चरित्र, आचरण, व्यवहार र जीवनशैलीमा गम्भीर कटाक्ष प्रक्षेपण भएको छ। तर आज पदमा आसीन कम्युनिस्ट नेता सम्पूर्ण कम्युनिस्ट आन्दोलनको परिप्रेक्ष्यमा हेर्दैनन्। खुब हेरे आफूसँग सरोकार राख्ने विषयमा मात्र सीमित हुन्छन्। समग्र कम्युनिस्टआन्दोलनमा चासो राख्नुपर्नेमा त्यसो गरेको आभाष आउँदैन। प्रचण्डको त्यो अभिव्यक्तिको गम्भीर समीक्षा र चिरफार जरुरी छ। नत्र अहिलेकै मतिमा, गतिमा र व्यवहारमा चल्ने हो भने नेकपा कम्युनिस्ट पार्टी रहँदैन, कांग्रेस र निरंकुशतावादी पार्टीको प्रतिछायाँरूपान्तरण हुनेछ।

प्रतिक्रिया स्थानान्तरण गर्न त होइन ?
जीवित तत्वमा सधैँ खतरा रहन्छ। यो सामान्य विज्ञान हो। सरकार भनेका, राजनीतिक पार्टी भनेको जीवित वा जीवन्त अवयव हुन्। तसर्थ खतरा भइरहनु प्राकृतिक हो र हो स्वाभाविक पनि। तर यस्ता सामान्य कुरामा पनि नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्षले खतराको भयाबह स्वरूपमा किन देखेका हुन् ? जिज्ञासा उन्पन्न भएको छ। किन यस्ता अनिष्ट कल्पना उनीहरूमा ? योखालको मनोविज्ञान किन टुसायो यी दुवै खारिएका नेतामा ?त्यो बरु प्रश्नवाचकभएको छ। सरकार पार्टी (नेपाल कम्युनिस्ट पार्टी) लाई असफल पार्न चारैतिरबाट दबाबआइरहेकोछ। हो ! पूर्वसावधानी नराम्रो अवश्य होइन। तर यदाकदा नकारात्मक तरङ्ग तरङ्गित हुने गर्छ जीवनमा। हो यी दुवै राजनीतिका चतुर खेलाडी हुन्।

तसर्थ कतै अन्तरङ्गमा खतराको प्रतिछायाँको आभास पो भयो कि ?हामी सर्वसाधारण जनता यो सरकारप्रति र पार्टीप्रति पनि ठाडै खतरा देखिरहेका छैनौँ। तर कतै यी चतुर खेलाडीले आफूले जनतासँग गरेका वाचा र प्रतिज्ञा व्यवहारमा उतार्न नसकेपछि जनताबाट आउने प्रतिक्रियालाई अन्यत्रै मोड्ने चतु-याइँ गरेका त होइनन् भन्ने दृष्टिले पनि हेर्न लागिएकोछ। यो मुद्दालाई व्यापक बनाउन प्रमुख प्रतिपक्षलगायत सर्वदलीय अनुष्ठान नै पनि बोलाए। संसद्मा पनि प्रधानमन्त्री ओलीले अहिलेको राजनीतिक व्यवस्थामाथि नै आक्रमण भइरहेकाले लोकतान्त्रिक शक्तिलाई एकै ठाउँमा उभिन आह्वानसमेत गरे। ओली आत्तिएर भन्छन्– देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तŒवहरू सक्रिय भएकाछन्। नेकपा संसदीय दलको बैठकमा पनि दुवै अध्यक्षले निर्देशन दिँदै भनेछन्– अहिले हामीमाथि चौतर्फी हमला भइरहेको छ, यसलाई तपाईँहरू खुलेर प्रतिकार गर्नोस्।

आलोचना हमला हुँदैन
पछिल्लो समय ओली र दाहालका अभिव्यञ्जनामा बारम्बार यो भय पुनरावृत्त भइरहेको सुनिन्छ। तर हमला गर्ने शक्ति को हो भन्नेबारे भने दुवै नेता भन्दैनन्। आकाशको बादलमा अनेक चित्र देखे जस्तै। अध्यक्षद्वयकै यो भनाइउपर सचिवालय बैठकमा त्यसबारे सोधे रे अरु नेताहरूले– कुन शक्ति हो त त्यो सरकार र पार्टीउपर प्रहार गर्ने भन्दा ठोस उत्तर आउँदैन रे उनीहरूबाट। तर यो केको छायाँ हो भन्ने एकीन भएनछ कतैबाट पनि। मुलुकको शक्ति सन्तुलनमा परिवर्तन आइसकेपनि नेतृत्वको मानसिकतामा भने परिवर्तन आउन नसकेको गुनासो छ जानकारहरूको। नेताहरूले आफूहरूमाथि हमला भयो भने नागरिकलाई मनोवैज्ञानिक त्रासमा राख्न अनेक कुरा गर्ने आदत पनि छ नेताहरूको भन्ने प्रतिक्रिया छ।

सरकार वा सबभन्दा ठूलो पार्टीको नेतृत्व गर्ने दलले नागरिकको आलोचनालाई हमला हो भन्ने भ्रममा पर्नुहुन्न। यदि गुनासोबाट डराउने हो भने शासन व्यवस्था यस्तो चुस्त र दुरुस्त बनाउनुपर्छ जहाँ गुनासो गर्ने अवस्था नै नआओस्। नेताहरूले कस्तो किसिमको खतरालाई संकेत गर्न खोजेका हुन् त्योसँग आफूहरू अनभिज्ञ रहेको भन्छन् स्थायी समिति सदस्यहरू स्वयं नै। सचिवालय बैठकमा के/कस्तो छलफल हुन्छ भन्नेउनीहरूलाई नै थाहा हँुदैन रे। स्थायी समिति बैठक पनि बोलाइँदैन भन्ने गुनासो छ ती सदस्यहरूको पनि। नेकपाको स्थायी समिति सदस्यहरूको यो हालत छ भने पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको के हविगत होला ? यो स्थितिमा प्रचण्डले प्रश्न गरेजस्तै नेकपाका कति सदस्य साँच्चै कम्युनिस्ट छन् ? उनीहरू के भन्छन्, के गर्छन् भन्ने प्रश्न नै रहस्यमय भएको छ। कम्युनिस्टसाँचो कम्युनिस्ट भएको कहिले देख्न पाइएला ?

प्रकाशित: १२ आश्विन २०७६ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App