१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

मलेसिया रोजगारीका विसंगति

माधवी भट्ट
डेढ वर्ष अघिदेखि बन्द मलेसिया रोजगारी पुनः खुलेको छ। नेपाल र  मलेसियाबीच भएको नयाँ श्रम सम्झौताअन्तर्गत अब मलेसिया जाने कामदारले पहिलेजस्तो म्यानपावर व्यवसायी र रोजगारदाता कम्पनीबाट ठगिनुनपर्ने विश्वास नेपाल सरकारको छ। कार्यान्वयन पक्षमा देखिने चुनौती र जटिलता सामना गर्न सक्ने हो भने नेपाली श्रमिकको हितमा यो नयाँ श्रम सम्झौता कोसेढुंगा साबित हुन सक्ला। तर मलेसिया रोजगारीमा जोडिएका सबै समस्या यो श्रम सम्झौताले सम्बोधन गर्न भने सक्दैन। जसको सुधारका लागि नेपाल पक्षले आगामी दिनमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

मलेसियामा विगतमा अधिकतम ९ लाखसम्म नेपाली रहेकामा हाल यो संख्या ५ लाखमा झरेको अनुमान छ। नयाँ श्रम सम्झौतापश्चात् हजारौंको संख्यामा नेपाली कामदार माग भइरहेको खबर सार्वजनिक भएको छ। बढ्दो माग हेरेर आगामी वर्षमा मात्रै ५० हजारसम्म नेपाली श्रमिक मलेसिया पुग्ने अनुमान गरिएको छ। नयाँ कामदार जान सुरु गरेपछि मलेसियामा पुनः नेपालीको संख्या तीव्र रूपले बढ्ने निश्चित छ। नेपालमा जस्तै मलेसियामा रहेका प्रवासी नेपाली पनि राजनीति, समाजसेवा, व्यापार तथा अन्य विविध क्षेत्रमा सक्रिय छन्, विभिन्न रूपमा संगठित भएका छन्। नेपालीको बलियो नेटवर्किङ पनि छ, त्यहाँ।

मलेसियामा नेपाली पुरुष खासगरी इन्डोनेसियन महिलासँग ‘लिभिङ टुगेदर’मा रहने समस्या विकराल रहेछ।

मलेसियास्थित प्रवासी नेपाली नेटवर्कमा सकारात्मक र नकारात्मक दुवै खाले सामाजिक पुँजी परिचालन भएको पाइन्छ। नेपाली चाडपर्व मनाउने, रमाइलो गर्ने तथा मर्दापर्दा नेपालीलाई सहयोग गर्ने संस्कार उनीहरूमा छ। कडा श्रम÷परिश्रम गर्नुपर्ने बाध्यताबीच मलेसियामै रहेका सहकर्मीलाई मद्दत गर्नुपर्ने त छँदै छ, नेपालमा पनि बाढी÷पहिरो तथा विपत्तिमा सहयोगको हात बढाउन उनीहरू  सधैं तत्पर रहन्छन्। तर मलेसियामा रहेका नेपाली यसरी सकारात्मक काममा मात्र सक्रिय छैनन्, उनीहरू अनैतिक, ठगी तथा आपराधिक क्रियाकलापमा पनि संलग्न भइरहेका छन्। जसप्रति नेपाल सरकारको ध्यान जान सकेको छैन। हुन त विदेशमा रहेका नेपालीको गतिविधि नियमन र नियन्त्रण गर्ने न कानुनी व्यवस्था छ न त कुनै संयन्त्र। यो लेखमा मलेसियास्थित श्रमिकप्रधान नेपाली समाजका विकृति–विसंगति केलाउने र त्यसमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विश्लेषण गरिएको छ।

यौन साथी पारिवारिक समस्या
वैदेशिक रोजगारीमा जाने अधिकतर नेपाली जवान र ऊर्जाशील उमेरमा परिवारसँग बिछोडिन पुग्छन्। विवाहयोग्य उमेरमा वा भर्खरै विवाह गरेकी श्रीमती छाडेर परदेशिनु आफैंमा एउटा दुःखद परिस्थिति हो। जसको मार्मिक वेदना मुनामदन खण्डकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रस्तुत गरिसकेका छन्। सक्रिय यौन जीवन बिताउने उमेरमा कामका लागि एक्लै बिदेसिएका कतिपय(सबै होइन)नेपालीले विदेशमै यौन साथी खोज्ने गरेको र ‘रेड लाइट एरिया’ धाउने गरेको खबर नेपालमा बारम्बार सार्वजनिक भइरहेका छन्। कोरिया, जापान तथा अन्य देशमा पनि नेपाली समुदायभित्र यो समस्या नभएको भने होइन, तर मलेसियामा भने बढी नै गम्भीर भएको बुझिन्छ(मलेसियामा रहेका सबै नेपालीलाई भन्न खोजिएको होइन।

समस्याको चित्रण मात्र गरिएको हो)। जुन विषयमा नेपालले आँखा चिम्लेर बस्ने हो ठूलो सामाजिक मूल्य चुकाउनुपर्ने देखिन्छ। यस्ता घटनाले परिवार विघटन मात्र होइन, सम्बन्धित व्यक्तिका श्रीमती र सन्तानमा पर्न जाने समस्यालाई नजर अन्दाज गर्न सकिँदैन। नेपाली श्रमिक पुरुष खासगरी इन्डोनेसियन महिलासँग ‘लिभिङ टुगेदर’मा रहने समस्या विकराल रहेछ। घरेलु श्रमिक तथा अन्य काममा आएका इन्डोनेसियाली महिलासँग भुलेका नेपाली पुरुषले घरमा रेमिटेन्स पठाउन छाडेको र कतिपय अवस्थामा त परिवारसँग सम्पर्कै गर्न छाडेको अवस्थाले कतिपय परिवार(नेपालमा)विघटनको अवस्थामा पुगेका छन्। मलेसिया रोजगारीमा जाने कति नेपाली यसरी बसेका छन् यकिन तथ्यांक छैन। यद्यपि क्यालालाम्पुरस्थित नेपाली दूतावास तथा त्यहाँ भेटिएका दर्जनौं नेपालीले इन्डोनेसियन महिलालाई यौन ‘पार्टनर’ बनाउने गरेको पुष्टि गरेका छन्। नेपाली राजदूत उदयराज पाण्डेका अनुसार यो समस्याबारे दूतावास बेखबर नभए पनि हस्तक्षेप गर्ने अवस्था छैन। इन्डोनेसियन कामदारको बाक्लो उपस्थिति छ, मलेसियामा।

नेपाली श्रमिक म्यानपावर व्यवसायी तथा रोजगारदाता कम्पनीबाट ठगिएकाले उनीहरूलाई त्यसबाट जोगाउन नयाँ श्रम सम्झौता गरिएको सरकारको दाबी छ। तर मलेसियामा नेपाली समाजभित्र आफ्नै सहकर्मी र समुदायका व्यक्तिलाई ठग्ने प्रवृत्ति अधिक छ।

‘लिभिङ टुगेदर’मा रहेका केहीले त आफ्नो आर्थिक स्वतन्त्रता नै गुमाएको पनि बताइन्छ। इन्डोनेसियन युवतीले बैंक कार्ड नै नियन्त्रणमा लिने गरेकाले कतिपय नेपाली फन्दामा परेको बुझिन्छ। यता नेपालमा पनि श्रीमती परपुरुषसँग हिँड्ने वा सम्बन्ध बनाउने समस्या नभएको होइन। दक्षिण कोरियामा द्रुत गतिमा आर्थिक विकास भएसँगै कडा श्रम र उच्च तलब सुविधाले त्यहाँका पुरुष विवाहेतर सम्बन्धमा आकर्षित हुन थालेपछि कोरियाली कम्पनीहरूले श्रीमान्को तलब श्रीमतीको खातामा पठाउने नियम बनाएका थिए।

मदिरा र अपराध
मलेसिया मुस्लिमबाहुल्य देश हो। यहाँको राजनीति मुस्लिम समुदायकै वर्चस्व र नियन्त्रणमा छ। यद्यपि समाज भने मुस्लिम संस्कृतिको नियन्त्रणमा भएजस्तो देखिँदैन। खुला छ। सहज रूपमा मादक पदार्थ किन्न पाइने भएकोले नेपालीको पहुँच त्यसमा सहज हुने नै भयो। त्यसबाहेक विषाक्त रक्सी खाएर थप स्वास्थ्य चुनौती निम्तिएको देखिन्छ। गत वर्ष असोजमा मात्रै विषाक्त मदिराका कारण १७ नेपाली गम्भीर रूपमा बिरामी परेका थिए भने तीमध्ये केहीको उपचारकै क्रममा मृत्यु भएको थियो। विभिन्न देशका कामदारले (खासगरी फिलिपिनोहरूबाट) विषाक्त ट्याबलेट ल्याउने र कोठामा मादक पदार्थ बनाउने चलन पनि रहेछ। यसबाहेक सप्ताहान्त वा कुनै बिदाको समय पनि मदिरा पिउने कारण हप्तैपिच्छे नेपाली–नेपालीबीच नै झैझगडा तथा कुटपिट भएका खबर आइरहन्छन्। एकातिर नेपाली विश्वासिला भनी मलेसियाभरि चौकीदारीमा खटिएका छन्, अर्कातिर उनीहरूबीच भने कुटपिटका घटना नै बढी हुन्छन्। कैयौं विवादमा हतियार नै प्रहार हुने गरेका छन्। कतिपय घटना स्थानीय प्रहरीले छानबिन गर्छ भने धेरैजसो झैभगडा नेपालीले गुपचुपमै राख्छन्। र, घाउचोटको उपचार गराउँछन्।

नेपालीबाटै ठगी र दुर्व्यवहार
नेपाली श्रमिक म्यानपावर व्यवसायी तथा रोजगारदाता कम्पनीबाट ठगिएकाले उनीहरूलाई त्यसबाट जोगाउन नयाँ श्रम सम्झौता गरिएको सरकारको दाबी छ। तर मलेसियामा नेपाली समाजभित्र आफ्नै सहकर्मी र समुदायका व्यक्तिलाई ठग्ने प्रवृत्ति अधिक रहेको गुनासो छ। कठिन काम, कार्यक्षेत्रमा हुने दुव्र्यवहार, तलब थोरै तथा समयमा नपाइने समस्याका कारण कम्पनी छाडेर अवैधानिक बन्नुपर्ने बाध्यतामा धेरै नेपाली श्रमिक छन्। यस्तै समस्या सम्बोधन गर्न भनेरै नेपालले नयाँ श्रम सम्झौता नभएसम्म कामदार नपठाउने निर्णय गरेको हो। नेपाली समुदायमै यस्ता व्यक्ति छन्, जो सहकर्मीलाई अवैधानिक बस्न तथा अर्कोमा काम लगाइदिने प्रलोभन देखाएर तोकिएको कम्पनी छाड्न उक्साउँछन्। अन्तमा नयाँ कम्पनीमा काम खोजिदिने नाममा ठूलै रकम कमिसन माग्छन्। कतिपय नेपाली होटेल र रेस्टुरेन्ट सञ्चालकले नै नेपाली श्रमिकलाई ग्राहक होइन, अछूतजस्तो ठान्दारहेछन्। अपहेलना र दुव्र्यवहार भोगेका ग्राहकले गुनासोसम्म गर्ने ठाउँ छैन। मलेसिया सरकारले अनुगमन नगर्ने भएकाले यस्ता घटना सधैं ओझेलमै पर्ने रहेछन्।

नेपाली श्रमिक म्यानपावर व्यवसायी तथा रोजगारदाता कम्पनीबाट ठगिएकाले उनीहरूलाई त्यसबाट जोगाउन नयाँ श्रम सम्झौता गरिएको सरकारको दाबी छ। तर मलेसियामा नेपाली समाजभित्र आफ्नै सहकर्मी र समुदायका व्यक्तिलाई ठग्ने प्रवृत्ति अधिक छ।

वैदेशिक रोजगारलक्षित सामाजिक सुरक्षा
स्वदेशमै रोजगारी सिर्जना गर्नु नै वैदेशिक रोजगारीको सबैभन्दा उत्तम र भरपर्दो विकल्प हो। दुईतिहाइ मतको बलियो सरकारले यसको जग बसाल्नु आवश्यक छ। नेकपाको चुनावी घोषणापत्रले पनि यही उद्देश्यसहित जनतासँग भोट मागेको थियो। तर तत्कालै सरकारले वैदेशिक रोजगारी विस्थापन गर्ने गरी नयाँ रोजगारीको कार्यक्रम अघि सार्ने अवस्था देखिँदैन। तसर्थ वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु नै एक मात्र विकल्प हो। नेपाली समाजलाई थप विघटन हुनबाट जोगाउन वैदेशिक रोजगारीलक्षित सामाजिक सुरक्षा ऐन आवश्यक देखिन्छ। जसमा निम्न विषय समावेश हुनुपर्छ :

१. वैदेशिक रोजगारीमा हुँदाका बखत महिला वा पुरुषले नेपालमा सम्बन्ध–विच्छेद गर्न नपाउने।
२. नेपालमा आश्रित श्रीमती र छोराछोरीका लागि मासिक तलबको आधा रकम अनिवार्य पठाउनु पर्ने।
३. वैदेशिक रोजगारीमा रहेका बेला श्रीमान् वा श्रीमतीले नेपालमा अर्को विवाह वा सम्बन्ध–विच्छेद गर्न नपाउने।
४. श्रीमतीले आफ्ना श्रीमान् विदेशमा अर्की महिलासँग लागेर आफूलाई बेवास्ता गरेको भनी उजुरी दिएमा नेपाली दूतावासले उसलाई नेपाल फर्काउन सक्ने।
५. विवाहित पुरुषले ३ वर्ष विदेश बसेपछि अनिवार्य रूपमा केही वर्ष स्वदेशमा परिवारसँग बस्नैपर्ने आदि।  
झलक्क हेर्दा यस्ता प्रावधान असम्भव र अनुपयुक्तजस्तो लाग्छन्। तर वैदेशिक रोजगारी र सामाजिक सन्तुलनका लागि नेपालले केही कठोर निर्णय गर्नुपर्नै देखिन्छ।

प्रकाशित: ५ आश्विन २०७६ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App