–प्रेमनारायण भुसाल
अप्राकृतिक रूपमा जीवनलाई आफैं अन्त्य गर्ने कामलाई आत्महत्या भनिन्छ। प्रकृतिप्रदत्त जीवनलाई असामयिक रूपमा अप्राकृतिक तवरले अन्त्य गर्ने भएकाले यसलाई अपराधका रूपमा लिएको देखिन्छ। खासगरी आत्महत्या प्रयास वा संयुक्त रूपमा आत्महत्या गर्दा सहभागीमध्ये कुनै एक बाँचेमा ऊ सजायको भागिदार बन्छ। आफ्नो जीवनबारे आफैंले निर्णय गर्न पाउनुपर्छ भन्ने दृष्टिकोण एकथरीको पाइए पनि आत्महत्याले परिवार तथा समाजमा नराम्रो प्रभाव पार्ने भएकाले नै यसलाई निकृष्ट कार्य मानिएको हो। आत्महत्या बाहिर देखिने मुख्य कार्य भए पनि यसका भित्री कारण अनेक हुन्छन्, जसको समयमै उपचार भएमा आत्महत्या दर अवश्य घटाउन सकिन्छ।
नशालु वा मादक पदार्थ खाई मस्तिष्कीय असन्तुलन निम्त्याएर आत्महत्या गर्नेको संख्या संसारभरै धेरै देखिन्छ। यसका अतिरिक्त जुवातास वा अन्य कारण आर्थिक बिचल्ली भएमा पनि मानिस आत्महत्याका लागि अग्रसर हुन सक्छ। सम्बन्ध–विच्छेद वा प्रेममा असफलता र प्रियजनको मृत्युले पारेको गम्भीर मानसिक चोट पनि आत्महत्याको कारण बन्न सक्छ। अति महत्वाकांक्षी व्यक्ति सधैं आत्महत्याको उच्च जोखिममा हुन्छ। यसैगरी बीभत्स दृश्य देखेका व्यक्ति पनि मनोसामाजिक रूपमा विक्षिप्त हुने भएकाले कुनै पनि समय र सन्दर्भले मानसिक पीडामा पुग्दा आत्महत्या गर्ने प्रबल सम्भावना रहन्छ। सामान्य रूपमा उपर्युक्त तत्वहरू आत्महत्याका कारकका रूपमा देखिए पनि मूल रूपमा यसका कारण यी तीन हुन् ः १. न्युरोसिस, २. साइकोसिस र ३. तात्कालिक प्रतिक्रिया।
आत्महत्या बाहिर देखिने मुख्य कार्य भए पनि यसका भित्री कारण अनेक हुन्छन्, जसको समयमै उपचार भएमा आत्महत्या दर अवश्य घटाउन सकिन्छ।
न्युरोसिस मनोसामाजिक समस्या हो। आवेग र संवेगको असन्तुलनले सामाजिक समायोजनमा असन्तुलन देखापर्नु वा सामाजिक घटनाका प्रभावले मानसिक अवस्थामा आउने असन्तुलनलाई न्युरोसिस भनिन्छ। एन्जाइटी, डिप्रेसन, अब्सेसिब कम्पल्सिब डिसअर्डर, कन्भर्जन डिसअर्डर र दुर्घटनापछिको तनाव न्युरोसिसका प्रमुख प्रकार हुन्। संसारभर आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी डिप्रेसनका बिरामी रहेको तथ्यांक पाइन्छ। एन्जाइटी र डिप्रेसनका कारण आत्महत्या प्रयास गर्ने महिलाको संख्या अत्यधिक छ भने मर्नेमा पुरुषको संख्या बढी देखिन्छ।
लामो समयसम्म आफूलाई दुःखी महसुस गर्ने साथै सामाजिक सम्बन्धबाट विमुख हुँदै जाने लक्षण न्युरोसिस भएका व्यक्तिले देखाउँछन्। जीवनप्रति अति निराश र आफूलाई पूर्णतः असहाय वा दीनहीन ठानेपछि यस्ता व्यक्तिले आत्महत्याको योजना बनाउँछन् तथा प्रयास गर्छन्। यसरी आत्महत्या गर्ने व्यक्तिले आफ्नो कुनै भूमिका वा संलग्नता नभएका विषयमा पनि आफूलाई निकै दोषी ठह¥याउँछन्। आफ्नै कारण नराम्रा काम भएको ठान्ने र बिनाकारण आफूलाई दोष दिने यस्ता व्यक्तिले आफूलाई मनपर्ने नजिकका मानिसलाई आफ्नो जीवनप्रतिको निस्सारता र अप्रत्यक्ष रूपमा आत्महत्याको समेत संकेत गरेका हुन्छन्। यस्ता व्यक्तिले इन्टरनेट वा अन्य यस्तै माध्यममा आत्महत्या गर्ने सजिला उपाय खोजी गर्ने तथा मृत्युपछिका विषयमा समेत रुचि राख्ने गरेका तथ्य पनि भेटिएका छन्। कुनै न कुनै रूपमा आत्महत्याको संकेत गर्ने भएकाले परिवारका सदस्य सचेत भएमा वा साथी असल भएमा यस्ता व्यक्तिको ज्यान बचाउन सकिने सम्भावना बढ्छ। न्युरोसिस भएका व्यक्तिलाई मनोपरामर्श तथा साइकोथेरापीद्वारा उपचार गर्न सकिन्छ। मस्तिष्कमा खुसी रसायनका नामले चिनिने सेरोटोनिन उत्पादनमा आएको कमीले न्युरोसिस विकास हुने भएकाले सामान्य अवस्थामा मनोपरामर्श तथा गम्भीर अवस्थामा औषधिसमेत प्रयोग गरी सेरोटोनिनको मात्रा बढाइन्छ जसबाट बिरामीले आफूमा खुसी र आशा बढेको महसुस गर्न थाल्छ र उसबाट आत्महत्या गर्ने नकारात्मक सोच हराएर जान्छ।
साइकोसिस गम्भीर प्रकृतिको मानसिक समस्या हो। मस्तिष्कका कोषिका विशेषमा आएको गडबडी र कहिलेकाहीं दीर्घकालसम्म रहेको न्युरोसिसबाट पनि साइकोसिस सिर्जना हुन सक्छ। जतिबेला व्यक्तिलाई आफ्नो वास्तविक अवस्थाको ज्ञान हुँदैन। त्यसैले यसबाट पीडित व्यक्ति आफूलाई सद्दे र अरू सबैलाई असद्दे ठान्छ। उसले हरेक कामका लागि अरू व्यक्तिलाई दोष दिन्छ । काल्पनिक व्यक्ति र वस्तुको अस्तित्व स्वीकार गर्ने, हुँदै नभएको व्यक्तिसँग कुराकानी गर्ने र अति शंकालु हुने भएकाले यस्ता मानिसले कुनै पनि बेला काल्पनिक व्यक्तिसँगको द्वन्द्व, उनीहरूको आदेश वा निर्देशनअनुसार जोकोहीलाई आक्रमण वा जतिखेर पनि आत्महत्या गर्न सक्छन्। आफू, परिवार र समाजको वास्तविक चेतना नहुने भएकाले साइकोसिस भएका व्यक्तिका व्यवहार, कुराकानी र अवस्थाबीच तालमेल हुँदैन।
संसारभर हुने आत्महत्यामध्ये करिब ८० प्रतिशतको कारण न्युरोसिस र साइकोसिस देखिन्छ भने बाँकीको कारक तत्कालीन प्रतिक्रियालाई मानिन्छ। खासगरी कुनै पनि घटनापश्चात् त्यसको सामाजिक प्रतिक्रिया सहन नसक्ने महसुस गरी मानिसले तुरुन्तै आत्महत्या गर्न सक्छ। धनसम्पत्तिको ठूलो क्षति, बिछोड र इज्जत प्रतिष्ठामा अकस्मात् आएको वा आउनै लागेको आँचको डरका कारण गर्ने आत्महत्यालाई तेस्रो प्रकारको आत्महत्या भनिन्छ। यस प्रकारको आत्महत्यामा न त न्युरोसिसमा जस्तो पूर्वप्रयास वा पूर्वतयारी हुन्छ न त साइकोसिसमा जस्तो व्यवहारको तालमेल नै बिग्रेको देखिन्छ।
अकस्मात् आत्महत्याको सोच आई निर्णय लिइहाल्ने भएकाले हामफालेर, पासो लगाएर वा विष खाएर मृत्यु वरण गर्ने प्रयास गरेको पाइन्छ। यस्तोमा २–३ मिनेट मात्र उनीहरूको आत्महत्यासम्बन्धी सोचलाई बिथोलिदिने हो भने र जीवन र जगत्प्रति आशा देखाइदिन सक्ने हो भने उनीहरूको ज्यान जोगाउन सकिन्छ तर आत्महत्याको असफल प्रयास गरिसकेको भए त्यही घटनाप्रतिको ग्लानिले न्युरोसिस विकास भई पुनः आत्महत्या गर्न सक्ने भएकाले उसलाई मनोपरामर्श र साइक्याट्रिक उपचार अति आवश्यक हुन्छ। (लेखक मनोवैज्ञानिक परामर्शदाता हुन्।)
प्रकाशित: १३ भाद्र २०७६ ०४:४४ शुक्रबार