१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

आत्महत्या दुरुत्साहन हुन सक्छ ?

अहिले ‘आत्महत्या दुरुत्साहन’ पदावली जनचासो र सार्वजनिक चर्चाको विषय बनेको छ। मुलुकी ऐन २०२० लागू रहँदासम्म यो पदावलीको खासै चर्चा हुन्नथ्यो। २०७४ सालमा जारी मुलुकी अपराध संहिताको १२औं परिच्छेदको ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा ‘आत्महत्या दुरुत्साहन’ लाई कसुरको नाम दिएर राखेपछि यो विषय चर्चामा आउन थालेको हो। अहिले उक्त अभियोगमा अनुसन्धान र अभियोजन सिलसिला पनि अगाडि बढेपछि यो  चर्चा र बहस बढेको छ। यो आलेखमा यस पदावलीका माध्यमबाट परिभाषित कसुरका सन्दर्भमा फौजदारी विधिशास्त्रीय दृष्टिपात गर्ने जमर्को गरिएको छ।

फौजदारी कानुनले अपराधको परिभाषा गर्छ, परिभाषित अपराधका लागि सजाय तोक्छ र अपराध अनुसन्धानदेखि सजाय कार्यान्वयनसम्मका कार्यसम्पादन गर्ने विधि निर्देश गर्छ। फौजदारी कानुनका सारवान र कार्यविधि गरी दुई ठूला फाँट छन्। अपराध र सजायसम्बन्धी कानुनी प्रावधान र सिद्धान्त व्याख्या÷विवेचना गर्ने विज्ञानलाई फौजदारी विधिशास्त्र भनिन्छ। सारवान फौजदारी कानुनले गर्नु भनेको नगर्नु वा नगर्नु भनेको गर्नु नै कसुर वा अपराध हो। कुनै पनि काम वा कार्य कसुर वा अपराध मानिनाका लागि फौजदारी कानुनले त्यसलाई तोकेरै प्रस्ट पारेको हुनुपर्छ। फौजदारी कानुन सबैलाई एकै किसिमले लागू हुन्छ, यो नियमित रूपले क्रियाशील हुन्छ।

आत्महत्या गर्न दबाब परेर त्यसबाट उम्कन नपाएको अवस्थाले नै मानिसले आत्महत्या गर्न सक्छ भन्नु असम्भवलाई सम्भव भन्नु मात्रै हो

मुलुकी अपराध संहिता २०७४ दफा ३ (ग) ले संहिता वा कानुनबमोजिम सजाय हुने कामलाई कसुर भनेको छ। दफा ६ र ७ ले कानुनबमोजिम गर्नुपर्ने वा कानुनले क्षम्य मानेको काम कसुर नहुने र कानुनले सजाय नहुने काम गरेमा सजाय नहुने भनेको छ। यो फौजदारी विधिशास्त्रीय सर्वव्यापी सिद्धान्त हो।

कसुर अपराधको समानार्थी शब्द हो तापनि अर्थ गहिरो बनाउन अपराधलाई फौजदारी कसुर भन्ने गरिन्छ। फौजदारी कानुन वा विधिशास्त्रले अपराधलाई दुई खण्डमा विभाजन गरेर हेर्छ ः पूर्ण अपराध र अपूर्ण अपराध। कुनै कार्य गर्दा अपराध घटित हुने कसुरलाई पूर्ण अपराध भनिन्छ। अपराध पूर्ण हुनाका लागि ज्ञान, मनसाय (हेलचक्र््याइँ, लापरबाहीसमेत) र कार्य सम्पन्न भएको हुनुपर्छ। कार्यले पूर्णता प्राप्त नगरी पूर्ण अपराध हुँदैन। अपराधको पूर्णतामा नपुग्दै भएका आपराधिक क्रियाकलापलाई अपूर्ण अपराध वा कसुर (इन्कोएट अफेन्स) भनिन्छ।

मुलुकी अपराध संहिताले यस्ता अपूर्ण कसुरअन्तर्गत आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारीलाई राखेको छ। अपराध संहिताको दफा ३५ ले कसैले कसैलाई कुनै कसुर गर्न दुरुत्साहन गर्न नहुने उल्लेख गर्दै कसैले कसैलाई कुनै कसुर गर्न उक्साएमा दुरुत्साहन गरेको मानिने भनेको छ। यसै दफाको उपदफा ३ मा के पनि भनिएको छ भने दुरुत्साहन गर्ने व्यक्तिलाई संहितामा छुट्टै सजाय व्यवस्था गरिएको भए सोही सजाय र नगरिएको भए दुरुत्साहन गरेबमोजिम कसुर भएको भए निजले नै कसुर गरेसरह र कसुर नभइसकेको भए आधा सजाय हुन्छ। अस्ट्रेलियाको कानुनले दुरुत्साहन अपराध हुनाका लागि उक्सने र उक्साउने दुवै कसुरमा संलग्न रहेको हुनुपर्ने मानेको छ। सोअनुसार दुरुत्साहनकर्ताले मूल कसुरदारलाई अपराध गर्न प्रेरित गरेको हुनुपर्छ। यसरी दुरुत्साहन हुनाका लागि मूल कसुरदारलाई कसुर गर्न उल्क्याउने, उकास्ने वा गरगर भन्ने दोस्रो पात्र अनिवार्य हुनुपर्छ।

यो विधिशास्त्रीय मान्यताले के स्पष्ट पार्छ भने कुनै कार्यको पूर्णताबाट अपराध बन्छ, अपूर्ण रहेसम्म अपराध पनि अपूर्णै रहन्छ। पूर्ण अपराधको सजाय पनि पूर्णै हुन्छ, अपराध अपूर्ण हुँदा सजाय पनि अपूर्णै (कम) हुन्छ। पूर्ण अपराध हुने बाहेकका कामकुराबाट अपूर्ण अपराध सिर्जना हुन सक्दैन। अर्थात् जुन कामबाट अपराध हुन्छ त्यसैका लागि षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारी सम्भव हुन्छ। कसुरबिना कसुरका लागि षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारी सम्भवै हुँदैन।

अब आत्महत्या दुरुत्साहनको चर्चामा लागौं। आफ्नो ज्यान आफैंले मनसायपूर्वक लिने वा स्वनियतबाट जानीजानी आफूले आफंैलाई मार्ने कार्य आत्महत्या हो। अवैध कार्य गर्न उक्साउने कामचाहिँ दुरुत्साहन हो। यिनै ‘आत्महत्या’ र ‘दुरुत्साहन’ दुई शब्द मिलेर बनेका हुनाले ‘आत्महत्या दुरुत्साहन’ विधिशास्त्रीय दृष्टिले विचित्र पदावली मान्नुपर्ने हुन्छ। यसले अनेक फौजदारी विधिशास्त्रीय प्रश्न निम्त्याउँछ।

हत्या कसुर हो ? हो। हत्याको षड्यन्त्र हुन सक्छ ? सक्छ। हत्याको उद्योग (प्रयत्न) हुन सक्छ ? सक्छ। हत्याको दुरुत्साहन हुन सक्छ ? हत्या गर्नमा मतियारी रहन सक्छ ? सक्छ। हो, पूर्ण अपराध हुने विषयमा त्यसका अपूर्ण खण्ड(षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारी) सम्भव हुन्छन् मात्र होइन, प्रचुर सम्भावनाका कुरा हुन्छन्। तर आत्महत्या कसुर हो ? होइन। आत्महत्याको षड्यन्त्र सम्भव हुन्छ ? हुँदैन। आत्महत्याको उद्योग (प्रयत्न) हुन सक्छ ? अहँ हुँदैन (कसैले आत्महत्या गर्दागर्दै कसैले हस्तक्षेप गरेर वा प्राविधिक कारणले उसको मृत्यु भएन वा बाँच्यो भने त्यो आत्महत्याको उद्योग होइन, असम्पन्नता मात्र हो)। आत्महत्याका लागि दुरुत्साहन हुन सक्छ ? सक्दैन किनभने आत्महत्या स्वैच्छिक मनसायले हुने कुरा हो, अरूको उक्साहटमा यो सम्भवै हुँदैन।

अपराध संहिताको दफा १८५ को आत्महत्याका लागि दुरुत्साहन गर्न नहुने भन्ने प्रावधान फौजदारी विधिशास्त्रीय उत्पादन नभएर मस्यौदाकारको लहडी कल्पनामा विधायकहरूको निर्विवेक अनुमोदनको उपज हो।

ज्यानसम्बन्धी कसुरलाई अथ्र्याउन दुइटा सिद्धान्त प्रयोग हुन्छन् ः जरियाको सिद्धान्त र सहभागिताको सिद्धान्त। जरियाको सिद्धान्तले मृत्युको कारण के हो अर्थात् केको नतिजास्वरूप मृत्यु हुन पुगेको हो त्यसको पुष्टि माग गर्छ। दोस्रो सहभागिताको सिद्धान्तले मृत्युको कारण सिर्जना गर्न कसको के कुन कार्यको सहभागिता कति छ भन्ने निश्चितता माग गर्छ। आत्महत्याको षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारीलाई अपराधीकरण गर्न आत्महत्याको जरिया र सहभागिता हुनुपर्छ तर आत्महत्याको जरिया अर्को व्यक्ति नभएर मृतक स्वयं हुन्छ र आत्महत्या गराउन सहभागी हुन सक्ने क्रियाकलाप के हुन् ? निश्चित गर्न सकिँदैन।

कुनै पनि कार्य अपराध वा कसुर हुनाका लागि त्यसका निर्मात्री घटकु तत्व अपरिहार्य हुन्छन्। फौजदारी विधिशास्त्रमा त्यसलाई अपराध तत्व भनिन्छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानले समेटेका युद्ध अपराध, मानवताविरुद्धका अपराधलगायत सबै अपराधका लागि अपराध तत्व घोषित छन्। हाम्रै अपराध संहिताले पनि केही यस्ता अपराधतत्व निर्देश गरेको पाइन्छ। संहिताका धेरै ठाउँमा जानीजानी गरेको, नियतपूर्वक गरेको, हेलचक्रयाइँ वा लापरबाहीपूर्वक गरेको कामलाई अपराध तत्व मानेकै छ। आत्महत्या दुरुत्साहनलाई कसुर मान्ने हो भने त्यसका अपराध तत्व केलाई मान्ने अर्थात् के–के कुरा के कसरी गरेमा आत्महत्या गर्न उक्साएको हुन्छ ? हाम्रो संहिताले यसबारे केही भन्न सकेको छैन।

कुनै पनि कार्य कसुर हुनाका लागि कर्ताले त्यो कार्य गर्न चाहेको र भौतिक रूपमा शरीर वा वचनद्वारा त्यो सम्पन्न गरेको हुनुपर्छ। अपराध दुरुत्साहन हुन कम्तीमा मूल कसुरदारलाई अर्को व्यक्तिले कर्मणा वा वाचा त्यस्तो काम गर्ने भौतिक वा वाचिक स्थिति सिर्जना गरेको हुनुपर्छ। यो तथ्यका आधारमा हेर्दा अर्कालाई आत्महत्या गराउन सकिँदैन। यसैले संविधान सभाले जारी गरेको भए पनि अपराध संहिताको दफा १८५ को आत्महत्याका लागि दुरुत्साहन गर्न नहुने भन्ने प्रावधान फौजदारी विधिशास्त्रीय उत्पादन नभएर मस्यौदाकारको लहडी कल्पनामा विधायकहरूको निर्विवेक अनुमोदन गर्नाको उपज हो। अतः सो प्रावधान फौजदारी विधिशास्त्रको मान्यता विपरीत छ। सो प्रावधान सोही संहिताको परिच्छेद २ मा रहेका फौजदारी न्यायका सिद्धान्त र परिच्छेद ३ मा रहेका अपूर्ण अपराधका आधारभूत मान्यतासँग नै मेल खाँदैन। संविधान र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा १५ का अक्षर र भावनासँग मेल खाने कुरा त झन् धेरै टाढाको कुरा हो।

कसैले कसैलाई आत्महत्या गरेजस्तो देखाउने गरी हत्या गरेको अवस्था दुरुत्साहनबाट सम्भव हुँदैन, त्यो त सरासर हत्याको पूर्ण अपराध हो। आत्महत्या गर्न दबाब परेर त्यसबाट उम्कन नपाएको अवस्थाले नै मानिसले आत्महत्या गर्न सक्छ भन्नु असम्भवलाई सम्भव भन्नु मात्रै हो किनभने आत्महत्या सम्बन्धित व्यक्तिको आफंैलाई समाप्त पार्ने स्वैच्छिक निर्णय हो, त्यसको जरियामा उसैको मानसिक अवस्था मूल रूपमा जिम्मेवार हुन्छ, कार्य सम्पन्न गर्नमा पनि ऊ एक्लोको मात्र संलग्नता रहन्छ। यसकारण आत्महत्या गर्ने कार्यमा आपराधिक दुरुत्साहनको कुनै गुन्जायस देखिँदैन।   

हो, मुलुकको विधायिकी कानुनले आत्महत्या दुरुत्साहनलाई कसुर परिभाषा गरेको र सजाय तोकेको अवस्थामा कसरी त्यो कसुर वा अपराध हुँदैन भन्ने दलिल गर्न सकिन्छ भन्ने पनि कतिपयले ठान्लान्। हाम्रो विधायिकाले आत्महत्याको दुरुत्साहनलाई अपराधीकरण गर्दा यसका अपराध तत्व यी–यी हुन् र खास परिस्थितिमा यी–यी कार्य र कुरा भए भने आत्महत्या दुरुत्साहन मानिन्छ भनेर स्पष्टीकरण राखेको वा व्याख्यात्मक टिप्पणी दिएको छ र ?

प्रकाशित: ९ भाद्र २०७६ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App