ज्ञानबहादुर बोहरा
मेरा एक साथीलाई खाना नपच्ने समस्या थियो। विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण तथा अनेक औषधि सेवन गर्दा पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन। एक दिन उनी घर आएका बेला छिमेकीसँगको भेटघाट र भलाकुसारीका क्रममा गाउँका एकजना वृद्ध आमाले भाङको तेलमा कोदोको पिठो भुटेर खाली पेटमा हप्ता दिनसम्म खान सल्लाह दिइन्। बिरामीले आमाको सल्लाहअनुसार गरे। उनको स्वास्थ्यमा क्रमिक सुधार आयो। कोदो र भाङको तेलमा के शक्ति थियो, त्यसको वैज्ञानिक कारण त थाहा भएन। तर कोदो र भाङो तेलले उनमा देखिएको वर्षांैको समस्या समाधान भयो।
जतिबेला गाउँबस्तीमा अस्पतालको सुविधा थिएन, त्यतिबेला बिरामीहरूको उपचार परम्परागत ज्ञान, मौलिक विधि र पद्धतिबाट गरिन्थ्यो। खेतबारीमा उत्पादित वस्तुहरूको समिश्रण गरी रोग उपचार गर्ने प्रचलन थियो। गर्भवती हुन् वा रोगले थला परेका बिरामी, सबैलाई कोदाको रोटी, सिस्नुको झोल, जौको सातु, दूध, दही, मही प्रशस्त खुवाउने चलन थियो। जसका कारण आइरन चक्की नखाँदा पनि गर्भवतीहरूको शरीरमा रगत कमी हुँदैनथियो। उनीहरू सजिलै तरिकाले बच्चा जन्माउन सक्थे। गह्रुँगो भारी बोक्न र कडा परिश्रम गर्ने तागत हुन्थ्यो। रोग प्रतिरोधात्मक क्षमता निकै उच्च हुन्थ्यो। परम्परागत रैथाने बाली र अर्गानिक वस्तुको उपभोगले शरीरलाई सन्तुलित, फूर्तिलो, बलियो, निरोगी र रोगसँग लड्ने शक्ति प्राप्त हुन्थ्यो।
हाम्रा पुर्खाले हावापानी, भूगोल, वातावरण र उपलब्ध स्रोत–साधानमा आधारित मौलिक ज्ञान, सीप र धारणा विकास गरेका थिए। ती मौलिक ज्ञान र सीप स्वस्थ जीवनका लागि निकै उपयोगी थिए। तर स्वस्थ जीवन शैलीका लागि अति उपयोगी त्यस्ता मौलिक अभ्यासहरूको संरक्षण, संवद्र्धन र विस्तारमा कसैको ध्यान जान सकेन वा गएन। गाउँका असल अभ्यास र मौलिक ज्ञान सदुपयोग गर्ने क्रम कम हुँदै गयो। आधुनिक जीवन शैली र सुन्दर भविष्य खोजीमा सहर छिर्नेहरूको संख्या बढ्दै गयो। सहर छिरेकाहरू रैथाने बाली तथा गाउँमा उत्पादित वस्तु उपभोगमा रुचि देखाउन छाडे। सहरी तथा राजसी खानपान गर्ने संस्कृति मौलाउँदै गयो। गाउँबस्तीमा उत्पादित वस्तुहरूको उपभोग गर्नेहरू पाखे, असभ्य, अशिक्षित र पुरातनवादी ठहरिन थाले। आधुनिक र सभ्य बन्ने होडमा युवाले आफ्नो मौलिकता बिर्सिंर्दै गए। जसको परिणाम ‘न रहे बाँस, न बजे बाँसुरी’को अवस्थामा गाउँबस्ती पुगेका छन्। गाउँबस्तीमा न आफ्नो मौलिक पहिचान, परम्परागत ज्ञान, सीप, संस्कार, संस्कृति, वेशभूषा, रहनसहनको संरक्षण हुन सकेको छ, न त आत्मनिर्भर र स्वाभिमान बन्न सकेका छन्।
गाउँबस्तीमा मौसमअनुसारका खानेकुरा र भूगोलअनुसारका खेती प्रणाली थिए। हामीले तिनको संरक्षण पनि गर्न सकेनौं। ती अभ्यासहरूलाई पुरातन सोच र शैली भनेर बेवास्ता गर्दै आयौं। ती खानपान, विधि विधान आदि निकै वैज्ञानिक र अर्थपूर्ण छन् भन्ने ख्याल गरेनौं। स्वस्थ शरीरका लागि अति उपयोगी खानपानको साटो चाउचाउ, चाउमिन, बिस्कुटजस्ता जंक फुडहरूको उपभोगलाई प्राथामिकता दियौं। आफ्ना खेतबारीमा उत्पादन हुने शुद्ध तथा अर्गानिक अन्नहरू जस्तै ः कोदो, फापर, कागुनु, जौ, मकै, चामल र यसबाट बनिने विभिन्न परिकार उपभोगमा ध्यान केन्द्रित गरेनौं। घरमा उपलब्ध दही, मही र घिउजस्ता पोषिला खानेकुराहरूको उपभोग गर्न छाड्यौं। रक्सीको उपभोगलाई प्राथामिकता दियौं।
रक्सीबाट सायद आज कुनै व्यक्ति, परिवार र समाज अछुतो छैनन्। जन्म, विवाह, व्रतबन्ध, मृत्यु आदिजस्ता संस्कारमा पनि रक्सी अनिवार्य बनेको छ। जसका कारण गाउँको शान्ति, सुरक्षा र अमनचयनमा खलबलिन पुगेको छ। हत्या, आतंक र महिला हिंसा बढ्दो छ। समुदायमा स्थापित भातृत्व र सहिष्णुता कमजोर बनिरहेको छ। गाउँलेको मुहारमा देखिने हासो, खुसी र सन्तुष्टि हराउँदै छ। गाउँमा देखिने पौरखी हातहरू र उत्पादनमुखी व्यवहारहरू लोप हुँदै छन्। बाँझो खेतबारीलाई उर्वर तथा हराभरा बनाउन कोही तत्पर र क्रियाशील देखिँदैनन्। गरिखाने भन्दा लुटिखानेहरूको संख्या बढी छ। गाउँबस्तीमा यति परनिर्भरता बढेको छ कि प्रत्येक दिन सयौं मोटरगाडी वस्तु तथा सामाग्री बोकेर गाउँघर प्रवेश गर्छन्, तर फर्किंदा रित्तै। गाउँसँग निर्यात गर्ने कुनै वस्तुहरूको उत्पादन छैन। स्थानीय सरकार परनिर्भरतालाई अन्त्य गर्न गम्भीर देखिँदैन। स्थानीय सरकार सडक तथा भौतिक पूर्वाधारलाई मात्र जोड दिइरहेका छन्।
स्थानीय र राष्ट्रिय स्तरमा गाउँको आत्मनिर्भरता, सम्पन्नता र विकासबारे अहिलेसम्म बहस हुन सकेका छैनन्। कुनै बेला कर्णालीलगायत दूरदराजमा देखिने भोकमरी, खाद्यान्न अभाव र गरिबीका विषयमा काठमाडौंका होटल र संसद् भवनमा बहस हुन्थे। समाधानको उपायका रूपमा चामल आपूर्ति गरिन्थ्यो। सरकार तथा सरोकारवालाहरू आफ्ना जिम्मेवारी पूरा भएको सम्झन्थे। त्यतिबेला दुर्गम बस्तीका बासिन्दाले खाद्यान्नका रूपमा चामल खोजेकै थिएनन्। उनीहरूले स्थानीय उत्पादनलाई विविधीकरण गर्ने, विभिन्न स्वाद र परिकार उपभोग गर्ने व्यावहारिक ज्ञान, सीप र प्रविधि खोजेका थिए। तर पाउने बेलामा गाउँलेहरूले भाते संस्कृति पाए। यही भाते संस्कृतिले स्थानीय उत्पादनलाई दुब्लाउन र बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूलाई मोटाउन सहयोग ग¥यो। यसरी गलत बहस, सोच र योजनाहरूले गाउँबस्तीहरू परनिर्भरताको आक्र्रमणमा पर्दै गए।
परनिर्भरताको आक्रमणमा परेका गाउँबस्तीहरूलाई अब आत्मनिर्भरतामा बदल्नुपर्छ। यसका लागि सडक सञ्जाललाई स्थानीय उत्पादनसँग जोड्दै लानुपर्छ। अर्गानिक उत्पादनमा कृषकलाई आकर्षण गर्न स्थानीय सरकारले बीउ, कृषि औजार, प्रविधि हस्तान्तरणका साथै कृषकलाई अनुदान सहयोग गर्ने नीति अवलम्बन गर्नुपर्छ। कृषि सहकारी संस्थालाई एकीकृत गरी अर्गानिक वस्तुको आधुनिकीकरण, वैज्ञानिकीकरण र बजारीकरणका लागि आवश्यक व्यवस्था मिलाउनुपर्छ। अर्गानिक वस्तुको उपभोगप्रति बढेको सचेत नागरिक र विश्व समुदायको आकर्षणलाई मध्यनजर गरी गाउँबस्तीहरूलाई अर्गानिक क्षेत्र घोषणा गर्नुपर्छ। उक्त क्षेत्रमा अर्गानिक वस्तुको उत्पादन, विकास, विस्तार र आपूर्तिका लागि गाउँलाई सक्षम बनाउदै लग्नुपर्छ। यसका लागि स्थानीय सरकारले आवश्यक नीति, योजना र बजेट तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ। अर्को महŒवपूर्ण कुरा सुन्दर गाउँबस्तीहरूलाई रैथाने थेरापी केन्द्रका रूपमा विकास गर्न सकिन्छ। उक्त केन्द्रबाट सुन्दर प्राकृतिक दृश्यावलोकन गराउनाका साथै परम्परागत रैथाने मौलिक परिकारहरू खुवाएर आँखा, मुख र जिउको थेरापी उपचार सेवा उपलब्ध गराउनुपर्छ। यस्ता कार्यले पर्यटक प्रवद्र्धन र स्थानीय आयआर्जन अभिवृद्धिमा ठूलो सहयोग पुग्नेछ।
अन्तमा, गाउँको विकासबिना मुलुकको समृद्धि सम्भव छैन। मुलुकको विकासका लागि पहिला गाउँको विकास हुनुपर्छ। परम्परागत असल अभ्यास र मौलिक ज्ञानहरू मासेर गाउँबस्तीको विकास हुन सक्दैन। गाउँको विकासका लागि स्थानीय ज्ञान, सीप र मौेलिकतामा आधारित विकासका क्रियाकलापहरूलाई अघि बढाउनुपर्छ। स्वस्थ जीवनले मात्र देशलाई योगदान गर्न सक्ने भएकाले ‘टेस्टी’ होइन, ‘अर्गानिक हेल्दी’ खाना खाऔं, आयातित विषादीयुक्त चिजको बहिष्कार गरी आफ्नै उत्पादनमा जोड दिऔं भन्ने अभियानका साथ अगाडि बढ्न आवश्यक छ। यसैमा हाम्रो सुन्दर जीवन छ र मुलुकको भविष्य पनि।
प्रकाशित: ३ भाद्र २०७६ ०५:५५ मंगलबार