१९ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

सर्जक सर्जनहरू

जताततै निराशा मात्र छैन। सुरुङको अर्को छेउमा उज्यालो भनेजस्तै छ, केही व्यक्तिको काम। तिनैका कारण आशाको किरण देखा पर्छ। एउटा असल मानिसले संस्था निर्माण गर्छ। संस्थागत विकासले सत्कार्यलाई युगयुगसम्म निरन्तरता दिन्छ। हाम्रो मुलुकमा केही यस्ता व्यक्ति छन्, जसको नाम संस्था निर्माणका हिसाबले अग्रस्थानमा छ। डा. सन्दुक रुइत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आँखाको ज्योतिकै पर्याय बनेका छन्। वरिष्ठ मुटुरोग विज्ञ भगवान् कोइराला, जसले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र स्थापनामा दिएको योगदान र सेवालाई लिएर जनजनको मनमा उनीप्रति श्रद्धा छ। उनले अहिले अर्को ठूलो अभियानलाई आफ्नो बाँकी जीवनको अभीष्ट बनाएर काम थालिसकेका छन्। मुलुकमा बालबालिकाको स्वास्थ्यका लागि विश्वस्तरीय चिकित्सा सेवा दिनसक्ने संस्थाको आवश्यकता महसुस गरी त्यसलाई नेतृत्व दिनतिर लागेका छन्। डा. रुइत र कोइरालाजस्ता पेसाकर्मीकै कारण आशावादी बन्ने ठाउँ प्राप्त हुन्छ। यी प्रतिनिधि पात्र जस्तै सबै क्षेत्रमा यस्ता व्यक्ति भए मात्र आशा गर्न सकिन्छ। अन्यथा, यो भएन र त्यो भएन भन्ने गुनासो मात्रै गर्नुपर्ने हुन्छ। समाज र मुलुकको वास्तविक विकास भने त्यहीँ हुन्छ, जहाँ अन्य पेसाकर्मीले आफ्नो तर्फबाट योगदान गर्छन्। उदारवादी लोकतान्त्रिक मुलुकमा निजी क्षेत्रका व्यक्तिलाई आफ्नो रचनात्मक कार्यका लागि प्रोत्साहित गरिएको हुन्छ। तसर्थ तिनले अनेकन क्षेत्रमा योगदान पु-याएका हुन्छन्। यस अर्थमा राज्यको भूमिका यस्ता व्यक्तिका निम्ति वातावरण बनाइदिने पनि हो।

डा. रुइतको नेतृत्वमा तिलगंगा आँखा अस्पताल र यसले सहयोग गरेका अन्य संस्थाले गुणस्तरीय सेवा दिएर सेवाग्राहीलाई ठूलो गुन लगाएका छन्। आँखामा समस्या रहेका कैयन् व्यक्तिले फेरि उज्यालो संसार हेर्ने मौका पाएका छन्। वर्षौं निशामा रहेकाहरूले एकाएक नेत्रज्योतिको अनुपम उज्यालो अनुभव गर्दाका प्रारम्भिक प्रतिक्रिया परेलीमा आँसु डब्डबाउने खालका छन्। एकजना वृद्धाले फेरि आँखाको ज्योति फर्केपछि डाक्टरप्रति दर्साएको स्नेह होस् वा डाक्टरका गलामा अंकमाल गर्दै रमाइरहेका किशोर, ती सबै डा. रुइतको सेवाकार्यका पारितोषिक हुन्। उनको अविश्रान्त सेवाले तिलगंगा आँखा अस्पताल मुलुककै अग्रणी स्वास्थ्य केन्द्र बन्न पुगेको छ। यस केन्द्रले बितेका २५ वर्षमा ६० लाख मानिसको आँखा उपचार गरिसकेको छ। त्यसमध्ये चार लाखभन्दा बढीको मोतीबिन्दु तथा अन्य शल्यक्रिया गरेको छ। तिलगंगाको गुणस्तरीय सेवा, सबैका निम्ति यस्तो सेवाको पहुँच, प्रभावकारी व्यवस्थापन, अत्याधुनिक प्रविधिको प्रयोग, प्राज्ञिक अध्ययन÷अनुसन्धान सबै प्रशंसनीय छन्। डा. रुइटको टिमले दिएको सेवाप्रतिको विश्वास राष्ट्रको नेटो काटेर अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेको छ। यस तथ्यलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले समेत उत्कृष्ट ठानेर मान्यता प्रदान गरेको छ। संगठनको समन्वय केन्द्रका रूपमा मान्यता दिएको प्रमाणपत्र सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेका छन्। ओलीले यो सफलताको मुक्तकण्ठले प्रशंसा गर्दै भनेका छन्, ‘देशमा यति ठूलो सेवा पु-याएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेवा पु-याउने डा. सन्दुक रुइतलगायत सम्पूर्णलाई बधाई दिन चाहन्छु।’

डा. रुइतको अहिलेको सफलताबाट सहजै निष्कर्ष निकाल्न सकिन्छ, जनस्तरबाट पहल हुने हो भने तिलगंगाको सफलता दोहो¥याउन गाह्रो छैन। डा. कोइराला यतिबेला काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) निर्माणको काममा जुटेका छन्। काठमाडौंलगायत सातै प्रदेशमा नमुनायोग्य गुणस्तरीय बाल स्वास्थ्य सेवा दिने उद्देश्यले गैरनाफामूलक संस्था निर्माण अभियानबारे जानकारी दिने क्रममा डा. कोइरालाले बाँकी जीवन यसैमा लगाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। संस्था निर्माणको अनुभव भइसकेका र सबैले विश्वास गर्नसक्ने डा. कोइरालाजस्ता व्यक्तिबाट यस्तो काम सम्भव छ। त्यतिमात्र होइन, सरकारले यो संस्थाका लागि आवश्यक जग्गा उपलब्ध गराउने आश्वासनसमेत दिइसकेको छ। सरकारसँगको प्रत्यक्ष साझेदारीमा भरलाग्दा यस्ता पेसाकर्मीबाट नमुनायोग्य यस्तै संस्था निर्माण हुने विश्वास बढेको छ। १४ वर्षमुनिका बालबालिकाको संख्या झन्डै ३५ प्रतिशत रहेको मुलुकमा त्यस्ता बालबालिकाकेन्द्रित सेवा सुरुआत गर्नु आफैंमा भविष्यको नेपालप्रतिको लगानी हो। कियोच स्थापनालाई बालबालिकाकै अभियानका रूपमा अघि सार्दै भर्खरै डा. कोइरालाको टोलीले भारतीय रियालिटी सो ‘सारेगम लिल च्याम्प’मा सहभागी भएर आएका इटहरीका ११ वर्षीय बालक प्रितम आचार्यलाई ‘सद्भावना दूत’ बनाउने कार्यक्रमसमेत आयोजना गरिसकेको छ। राजधानी काठमाडौंमा आयोजित उक्त कार्यक्रममा सरिक भएका नेपालका एकसेएक व्यक्तिले डा. कोइरालाप्रति देखाएको सद्भावले पनि यो कार्य सम्भव हुने विश्वास बढेको छ। डा. सन्दुक र डा. कोइरालाजस्ता व्यक्तिले संस्था निर्माणमा देखाएको तत्परता अन्य पेसाकर्मीका निम्ति पनि प्रेरणा स्रोत बन्नुपर्छ। यस्ता संस्था बन्न थाले भने हाम्रो स्वास्थ्य सेवा यथार्थमै जनमुखी भई संविधानप्रदत्त स्वास्थ्य अधिकार रक्षामा मद्दत पुग्नेछ।

प्रकाशित: ८ श्रावण २०७६ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App