काठमाडौँमा ठूलो वर्षा भएको र बाढी आएको अहिले मात्रै होइन, हजारौँ वर्ष पहिले पनि यो भन्दा ठूलो वर्षा हुन्थ्यो, बाढी आउँथ्यो। तर क्षति भने निकै कम हुन्थ्यो। कारण त्यतिखेर खोला फिँजिएर बग्थ्यो। जमिनमा पानी पस्ने खाली ठाउँ धेरै थिए। अहिले जमिनले वर्षाको पानी सोस्न पाएको छैन। खुला ठाउँ नभएपछि वर्षाको पानी खोलामै मिसिँदा बहाव बढेको हो। त्यसमाथि खोलाको बहाव क्षेत्र पनि साघुँरिएको छ। जसका कारण घट्टको डुँडजस्तो जोडले पानी बग्दा खोलाआसपास बढी क्षति हुने गरेका छन्। वर्षाको पानीले जमिनमा सिँचाइ हुन नपाउनु, खोलालाई आफ्नै धारमा बग्न नदिनु, भौतिक संरचना निर्माणका लागि जताततै जमिन टाल्नुजस्ता कारण बाढीले बढी क्षति पु-याउने गरेको हो।
गत शुक्रबार बल्खुमा बाढी आयो। असार १५ सम्म खेत रोप्नसमेत पानी थिएन, मनसुन भित्रिएको ३/४ दिनमै एकाएक बेतोडले यति ठूलो वर्षा हुनु अनौठो हो। एक्कासि ठूलो मात्रामा परेको पानीले सबैतिर क्षति पु¥याउँदा त्यसको व्यवस्थापन गर्न हामीले सकिरहेका छैनौँ।
अरू देशको तुलनामा हामीकहाँ मनसुन बढी आउँछ। मनसुनकै पानीले हाम्रो जीवन र अर्थ व्यवस्था चल्छ। मनसुन राम्रो भएको वर्ष हाम्रो आर्थिक वृद्धिदर र उत्पादन पनि राम्रो हुन्छ। जुन बेला मौसम गडबड हुन्छ, पहिरो जान्छ अनि आर्थिक वृद्धिदर पनि तल झर्छ। आखिर मनसुन नभए घाटा हुन्छ। पछिल्ला वर्षहरूमा मनसुनले किन क्षति गरिरहेको छ? गम्भीर हुन जरुरी छ।
हामी बसाइँ सरेर वा जन्मिएर आउनुभन्दा पहिलेदेखि बाढी आफ्नो ठाउँ आएको हो। ऊ बग्ने नियमित बाटो हामीले छेकिदियौँ भने त्यसले अर्को बाटो खोज्छ र मानवीय क्षति हुन्छ।
२०७४ सालमा पनि पूर्वदेखि पश्चिमसम्म बाढीले ठूलो क्षति ग¥यो। त्यतिखेर ६१ अर्ब रुपैयाँ बराबरको नोक्सान भयो। खेती नासियो, सडक भासियो, भौतिक संरचना भत्किए। यस्तो क्षति अझै कति बेहोर्नुपर्ने हो, हेर्न बाँकी छ। पछिल्ला वर्षहरूमा वर्षाको मात्रा बढ्दै गएको हो त? यो विषयमा यसै हो भन्न नसकिए पनि २/३ वर्षयताको वर्षा अनुपात हेर्दा बढेकै देखिन्छ। अर्को कुरा, क्षणिक समय पानी आएर ठूलो क्षति निम्त्याउनु सामान्य होइन। अब हामीले यसलाई बुझ्ने कसरी? यही अवस्थामा वर्षाका कारण हुने क्षति न्यूनीकरण गर्ने कसरी? अवस्था जटिल छ। यसमा आत्तिएर मात्र हुँदैन, यसलाई बुझ्दै र तदनुरूप कदम चाल्दै जानुपर्छ। यसका केही तरिका र उपाय छन्। नेपाल मनसुनी क्षेत्र भएकाले यस्तो क्षति सामान्य मान्नुपर्छ। बाढी नआएको, भूक्षय नभएको भए हिमालयमुनि गंगा मैदान बन्ने थिएन। गंगा मैदानको माटो हिमालयबाट बगेर आएको हो। त्यसलाई सम्याएर मिलाउने काम बाढीले गरेको हो। त्यसकारण बाढी यो ठाउँको अभिन्न अंग हो। आजभन्दा हजारौँ वर्षअघि मानिसको बसोबास नहुँदा पनि बाढी आउँथ्यो, काठमाडौँमा। बाढी आउनु हाम्रोजस्तो देशका लागि अचम्म होइन। तर पछिल्लो समय बाढीले निम्त्याएको मानवीय र भौतिक क्षति आश्चर्यजनक छ।
बाढी अभिन्न अंग हो भनेर त्यसै छाड्न पनि भएन। मानिस मरिरहेका छन्। भौतिक क्षति भइरहेका छन्। यही अवस्थामा बाढीले निम्त्याउन सक्ने क्षति रोक्न मुख्य दुई पक्षमा ध्यान दिन आवश्यक छ।
पहिलो, प्रकृतिको प्रक्रिया कस्तो छ, बाढी कहाँ आउँछ, खोला कहाँ छ, त्यो खोलामा अलि ठूलो बाढी आएका बेला पानी कहाँसम्म पुग्छ भन्ने अध्ययन आवश्यक छ। दोस्रो, बाढीको चरित्र राम्रोसँग बुझ्नुपर्छ। कुनै बाढी १० वर्षमा आउने खालको हुन्छ। कुनै २५ वर्षे हुन्छ। कुनै ५० वर्षमा आउँछ। कुनै–कुनै बाढीलाई सय वर्षे बाढी पनि भन्ने गरिन्छ। जति लामो समयको बाढी भयो, उति ठूलो मात्रामा आउँछ र क्षति पु¥याउन सक्छ। त्यस्तो बाढी हरेक वर्ष दोहोरिन पनि सक्छ। त्यो बाढीको क्षति निकै बढी हुन्छ। बर्सेनि हुने बाढीको क्षतिलाई छोटो समयमै समाधान गर्न सकिए पनि पनि लामो समयपछि आउने बाढीले गर्ने क्षति कम गर्न भने हामीले ठूलो रकम र स्रोत खर्चिनुपर्छ। यही अवस्थामा १० वर्षे र २५ वर्षे बाढीको बाटो छेकियो भने त्यसले निम्त्याउने दुर्घटना हामीले कल्पनै गर्न नसकिने खालको हुन्छ। बाढी हामीभन्दा पुरानो हो। हामी बसाइँ सरेर वा जन्मिएर आउनुभन्दा पहिलेदेखि बाढी आफ्नो ठाउँ आएको हो। ऊ बग्ने नियमित बाटो हामीले छेकिदियौँ भने त्यसले अर्को बाटो खोज्छ र मानवीय क्षति हुन्छ। त्यसकारण यसबाट बच्ने एउटै उपाय भनेको खोलाको बाटो छाड्दिनु हो।
पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढीको आकार बदलिएको छ। पहिले–पहिले ४/५ दिनसम्म सिमसिमे झरी पथ्र्यो। त्यतिखेर ४/५ दिनमा आउने पानी अहिले २/३ घण्टामै आउँछ। पहिले प्रतिघण्टा ४/५ मिलिमिटर पानी पथ्र्याे, अहिले ४/५ घण्टामा ३० मिलिमिटरभन्दा बढीसम्म वर्षा हुन्छ। अहिले सिमरातिर २४ घण्टामा तीन सय मिलिमिटरभन्दा बढीसम्म वर्षा भयो। वर्षा सय मिलिमिटर नाघ्नासाथ बाढी आउनाका साथै अन्य प्रकारका क्षति गराउन थाल्छ। त्यसकारण बाढीको ठाउँ छाड्नु नै यसको उचित समाधान हो।
अहिले पानीसँग हिउँदको खडेरी पनि जोडिएको छ। पछिल्लो समय आएको पानी जमिनभित्र जम्मा भयो भने मात्रै हिउँदमा पानी आउने हो। अहिलेको पानी जमिनमुनि राम्रोसँग छिर्न पाएन भने हिउँदमा पिउने पानी अभाव हुन्छ।
अहिले हिमालय क्षेत्रमा भएको हिउँलाई पानी स्तम्भ (वाटर टावर) भन्ने गरिएको छ। यसैले सबैतिर पानी पु-याउँछ भन्ने सोच भने सच्याउन जरुरी छ। पहाड र उपत्यकाका अधिकांश खोलामा पानी हिउँ पग्लिएर आएको होइन। बर्खाको पानी जमिनमुनि जमेका कारण त्यो खोला हिउँदभरि बग्ने गरेको हो। हिउँदमा हामीले पिउने र खोलामा बग्ने पानी भनेकै बर्खाको पानी हो।
जमिनमुनि छिर्ने ठाउँ सिमेन्टले टालेपछि पानी कहाँबाट भित्र पस्छ? यो चिन्ताको विषय हो। हिउँदमा हामी जमिनमुनिबाट पानी तान्छौँ। जुन हजारौँ वर्ष अघिदेखिको पानी हो। अब हामीले आर्थिक लोभ र जमिन बेच्ने नाममा सबैतिर जमिन टाल्दै छौँ। त्यसकारण जमिनमुनिको पानी रित्तिँदै छ।
फिँजिएर बग्ने पानी साँघुरिएर र गहिरिएर बग्न थालेपछि त्यसले स्वाभाविक रूपमा क्षति पु¥याउँछ। जोडजोडले आएको पानीले मानवीय क्षति हुन्छ। अहिले आएको पानीको मात्रा हामीले सामान्य रूपमा लिनुपर्छ। किनभने यो भन्दा ठूलो बाढीको सम्भावना धेरै छ। गत बिहीबारदेखि शनिबारसम्म लगातार परेको पानी अझै एकदिन बढेको भए, त्यसले कति क्षति गथ्र्यो, अनुमानै गर्न सकिन्न। त्यस्तो बाढीले सबैतिर भत्काउँछ। वर्षा अझै यो भन्दा ठूलो मात्रामा हुन्छ। सम्भावना धेरै छ। छोटो समयमा धेरै पानी पर्नु, त्यसमा पनि खाँदिएर पर्नु झन् अर्को समस्या हो। खोला साँघुरो बन्नु, खाँदिएर पानी पर्नु, जमिनमुनि पानी पस्न नपाउनु, छोटो समयमा धेरै मिलिमिटर पानी पर्नुजस्ता कारणले क्षति अझै बढ्छ। पहिले–पहिले सबैतिर खाली थियो। खेतमा पाँगो माटो पस्थ्यो। बाढी आए पनि खेतमै बग्थ्यो। तर अहिले खुला ठाउँ नै छैन। खोलाको जग्गा खोसेर साघुँरो पार्ने काम भइरहेको छ। त्यसकारण पनि बाढीको वितण्डा मच्चिने गरेको हो। हनुमन्ते र बल्खुमा त हामीले देखिसकेका छौँ। अब वाग्गमतीमा बाढी आयो भने त्यसको असर झन् ठूलो हुन्छ। हामीले हाम्रो व्यवहार नसुधारेसम्म काठमाडौँमा वर्षाले यो भन्दा अझ बढी विनाश निम्त्याउने छ।
समाधान सोचौँ
हरेक घरधनीले आकाशे पानीलाई मंगाल वा पोखरी खनेर जमिनमुनि छिराउन सक्छन्। त्यो पनि सम्भव भएन भने छानाको पानीलाई पाइपमार्फत जमिनमुनि पठाउन सकिन्छ। त्यसले कुनै असर पार्दैन। हामीले पोखरी बनाएर पानी संकलन गर्दा पिधँमा प्लास्टिक राख्नु हुँदैन। किनभने त्यो पानी प्लास्टिकमाथि जम्मा हुन्छ, जमिनमा पस्न पाउँदैन। अर्को कुरा, अहिले हामीले काठमाडौँका पाइपबाट ढल बगेन भन्छौँ। त्यो नबग्नाको कारण अर्कै छ। जमिनले सोस्ने गरेका कारण ढल बाहिर नदेखिएको हो। जमिन धेरै सुक्खा भइसकेको छ। हामीले जमिनमुनिको पानी तानेर रित्याइसकेका छौँ। बर्खाको पानी जमिनभित्र पस्न पाउँदैन। त्यसकारण यसले अर्को समस्या पनि निम्त्याउन सक्छ। हामीले जमिनमुनि पानी पठाउन थाल्यौँ भने हिउँदमा त्यो प्रयोग गर्न पाउँछौँ।
नीति बदलौँ
हरेक वर्ष आउने बाढीले ठूलो क्षति पु-याउँछ। जुन समस्या समाधान गर्न भनेर हामीले नजानिँदो ढंगले निकै ठूलो बजेट खर्च गरिरहेका छौँ। तर विनाश हुनुअघि नै गर्नुपर्ने तयारीमा हामीले चासो दिएनौँ। बजेट छुट्याएनौँ। राहत र क्षतिपूर्ति बाँड्ने अवस्था आउनुभन्दा राज्यले पहिल्यै सावधानी अपनाएर त्यस्ता खालका विनाश र क्षति रोक्नु उत्तम हो। यतिका क्षति हुँदाहुँदै पनि प्राकृतिक विपत्ति रोक्न राज्यले नीति–नियम बनाएको छैन। अपनाएको उपाय पनि निकै कमजोर किसिमको छ। विज्ञहरूसँग सल्लाह लिएर समाधानका लागि तयारी गर्ने र नीति बदल्ने हो भने प्राकृतिक रूपमा हुने विनाश पनि कम गर्न सकिन्छ।
लेखक जलाधारविद् हुन्।
प्रकाशित: ३१ असार २०७६ ०२:१६ मंगलबार