चेतनाथ आचार्य
भूकम्पबाट बन्द रहेको तातोपानी नाका चार वर्षपछि खुलेको छ। केही मालबाहक सवारी साधन वारपार गर्नथालेपनि सर्वसाधारणका लागि तातोपानीमा गुल्जार आउन अझै केही समय लाग्नेछ। नेपाल र चीनबीचको मैत्री सम्बन्धमा तातोपानी नाका एउटा महत्वपूर्णघुम्ती हो।बाह्रबिसेदेखि तातोपानी खासासम्मका लाखौं व्यक्तिका लागि तातोपानी नाका जीवनरेखा हो।
चीनले अगाडि सारेको बिआरआई अवधारणाको कनेक्टिभिटी नै केन्द्रबिन्दु हो। सडकमार्ग, रेलमार्ग, हवाई मार्ग, जलमार्ग, सञ्चार सम्पर्क, सांस्कृतिक सम्पर्क,व्यापार,पाइपलाइन, जनस्तरको आदानप्रदान आदि कुरालाई प्राथमिकतामा राखेको चीनले तातोपानी नाका खोल्न चार वर्षलगायो। यसका मूलतः दुईवटा कारण थिए। पहिलो तातोपानी खासाको भौगोलिक संरचना र दोस्रो चीनको सुरक्षा संवेदनशीलता।
भूकम्पपछि खासा क्षेत्रमा देखिएका धाँजा र भविष्यमा हुनसक्ने प्राकृतिक प्रकोपलाई ध्यान दिँदै त्यहाँ बसोबास गरेका सबै चिनियाँ नागरिकलाई चीनले सुरक्षित स्थानमा सारिसकेको छ। आफ्ना नागरिकलाई अन्यन्त्र सारिसकेको र केरुङ नाका खोलिसकेको अवस्थामा तातोपानी नाका खोल्ने कार्यमा चीन कम गम्भीर बनेको हुनसक्छ।खासाको भौगोलिक जटिलताभन्दा चीनले आफ्नो सुरक्षा संवेदनशीलतालाई बढी गम्भीर रूपमा लिएको छ। चीनको सुरक्षा संवेदनशीलताको कुरालाई नेपालले राम्ररी बुझेर आइन्दा चीनको सार्वभौमिकतामा आँच पुग्ने काम दोहोरिन नदिन नेपाल गम्भीर हुनैपर्छ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला उनका निजी सचिव वीरेन्द्र दाहालले तत्कालीन भारतीय रक्षामन्त्री जर्जफर्नान्डिज (चार महिनाअगाडि दिवंगत)लाई अनधिकृत रूपमा तातोपानी नाकाबाट चीनको भूभागमा छिराए। सन् १९५६ मा नेपाल र चीनबीच भएको सम्झौतामा सीमा क्षेत्रको जिल्लामा बसोबास गर्ने नागरिकलाई एकअर्काको भूगोलको निश्चित दूरीसम्म आउजाउ गर्न सुविधाको दुरुपयोग गर्दै चीनको स्वायत्त प्रदेश तिब्बतको शान्ति सुरक्षामा खलल पार्ने उद्देश्यले जासुसी कार्यगरियो। खासाबाट अनधिकृत रूपमा तिब्बत छिरेका फर्नान्डिजले काठमाडौं फर्किएर पत्रकार सम्मेलन गरेरै यसको खुलासा गरे। चीनले तत्काल नेपाल सरकारसँग आपत्ति प्रकट गरेको थियो।
नेपालमा चिनियाँ पर्यटक बढाउने काममा तातोपानी नाकाको महत्वपूर्णयोगदान छ।
तातोपानी नाका सामान्य व्यापारिक नाकामात्र नभएर नेपाल र चीनबीचको मित्रताको निसानी पनि हो।
२०५६ पुस १६ गते सत्रौं कर्मापा लामा तिब्बतबाट भागेर मुस्ताङपुगेका थिए। नेपाल सरकारका उच्च व्यक्तिहरूको संलग्नतामा उनलाई मुस्ताङबाट मनाङ लगेर त्यहाँबाट हेलिकोप्टरमा नगरकोट पु¥याइयो। नगरकोटबाट जिपमा चढेर कर्मापा रक्सौल हुँदै भारत प्रवेश गरेका थिए। त्यो समयमा नेपालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए। भूकम्पपछि खासा क्षेत्रमा उद्धारका लागि गएको चिनियाँ सशस्त्र प्रहरी टोलीले प्रायः तिब्बतीको घरमा पृथकतावादी शंकास्पद सामग्री फेला पा¥यो। त्यस प्रकारका सामग्रीमा नेपालपट्टिको तातोपानी क्षेत्रका मानिसहरूको संलग्नता पनि प्रचुर रहेको पुष्टि भयो।
नेपालका विभिन्न राजनीतिक दलका नेता एक चीन नीतिविरुद्ध सक्रिय हुने गरेको कुरा समय–समयमा बाहिर आउने गरेको छ। उच्च तहका नेता नै दलाई लामाका प्रतिनिधिसँग भेट गर्ने र नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्ने वातावरण मिलाउने काम गर्दै आएका छन्। नेपालका गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय एजेन्सीहरूले कहिले मानवअधिकारको नाममा त कहिले शरणार्थीको नाममा तिब्बती पृथकतावादीहरूलाई उचाल्ने काम गर्दै आएका छन्। नेपाली प्रहरी प्रशासनको चीनविरोधी गतिविधिलाई नियन्त्रण गर्ने काम पनि आँखामा छारो हाल्ने खालको मात्र हुने गरेको छ। तसर्थचीनले बेलाबेलामा नेपालसँग असन्तुष्टि व्यक्त गर्दै आएको छ।
चीनको स्वायत्त प्रदेश तिब्बतको स्थिरता, विकास, शान्ति, समृद्धि र सार्वभौमिकतामाथि आँच आउन सक्ने क्रियाकलापमाथि नेपाल सरकारले कडा नियन्त्रण गर्नैपर्छ। आतंकवाद, पृथकतावाद र अतिवादका विरुद्धमा विश्वव्यापी उठिरहेको आवाज र ऐक्यबद्धतामा नेपाल सहभागी हुँदै चीनले अन्तर्राष्ट्रिय जगत्मा उठाएका मुद्दाहरूमा हातेमालो गर्नुपर्दछ।
चीनले नेपालको शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोग गर्दै आएको छ। यस कार्यमा चीनले भारतसँग पनि सहकार्यगर्ने बताइसकेको छ। तर, भारतले भने एकपछि अर्को गर्दै नेपाललाई चीनसँग सहकार्यनगर्नदबाब दिँदै आएको छ। यस प्रकारका भारतीय क्रियाकलाप कुत्सित स्वार्थर नेपालको हितविरुद्ध रहेको कुरा खुला आकाशजस्तै छ्यांग छ। केही समयअघि भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले त्यस्तै विचार व्यक्त गरेका छन्। तातोपानी नाका खोल्ने तयारी भइरहँदा कोसियारीको घृणित विचार बाहिर आएको हो। उनको यो विचार ६० वर्षपहिलेको इतिहासलाई सम्झना गराउनेखालको छ।
नेपालका तत्कालीन राजा महेन्द्रले सन् १९६१ सेप्टेम्बर २८ देखि अक्टोबर १५ सम्म चीनको भ्रमण गरेका थिए। जनगणतन्त्र चीन स्थापनाको १२औंवार्षिकोत्सवमा भाग लिन राजा महेन्द्रलाई चीनले आमन्त्रण गरेको थियो। सो भ्रमणका क्रममा उनले तत्कालीन चिनियाँ राष्ट्रपति ल्यू स्यावोचीसँग कोदारी राजमार्गबनाउनका लागि सम्झौता गरे। काठमाडौंदेखि तातोपानी खासासम्मको ११५ किलोमिटर सडकलाई पछि नेपालका राष्ट्रिय विभूति अरनिकोको नामबाट नामकरण गरियो। अरनिको तेह्रौंशताब्दीमा नेपालबाट चीन आएका प्रख्यात कलाकार हुन्। उनी नेपाल र चीनबीचका सांस्कृतिक दूत भएकाले उनकै नामबाट राजमार्गको नामकरण गरिएको थियो। सम्पूर्ण रूपमा चिनियाँ सहयोगमा निर्मित यो राजमार्गचीनको ३१८ नम्बरको राजमार्गसँग जोडिन्छ। ३१८ राजमार्गखासादेखि शाङहाई जोड्ने राजमार्गहो। यही राजमार्गको ल्हासादेखि खासासम्मको ८०६ किलोमिटर खण्डलाई मैत्री राजमार्गभनिन्छ। नेपालसँग जोड्ने हुनाले यसलाई मैत्री राजमार्गभनिएको हो।
चीन र नेपालबीचमा सम्झौता भएको पाँचवर्षमै अरनिको राजमार्गतयार भएर सन् १९६६ देखि सञ्चालनमा आयो। नेपाल र चीनलाई आधुनिक सुविधासम्पन्न सडकका रूपमा जोड्ने काम अरनिको राजमार्गले पहिलोचोटि ग¥यो। अरनिको राजमार्गकै कारण तातोपानी नाका स्थापित भएको हो जहाँबाट चीनले नेपाल हुँदै दक्षिण एसियामा व्यापार गर्दछ। तातोपानी नाका खोल्नुभन्दा अगाडि चीनको तिब्बतको व्यापार नाथुला नाकाबाट हुने गर्दथ्यो। नाथुला सिक्किम र भुटानको सीमामा पर्दछ। सिक्किमको विदेश नीतिमा भारतीय नियन्त्रण हुने भएकाले सिक्किम भारतमा विलय हुनुभन्दा अगाडिदेखि नै नाथुला नाकामा भारतीय सेना तैनाथ थिए। सन् १९६२ मा चीन र भातरबीच सीमा युद्ध भयो। यही युद्धका कारण नाथुला नाका बन्द भयो।ल्हासामा भएको भारतीय महावाणिज्य दूतवास पनि बन्द भयो। नाथुला नाका बन्द भएको तीन वर्षमै त्यहाँबाट भइरहेको व्यापार सर्लक्क तातोपानी नाकामा स-यो।
तातोपानी नाका खोल्दा नेपालमाथि भारतले हदैसम्मको दबाब दिएको थियो। नेहरु डक्ट्रिनबाट निर्देशित भारतको परराष्ट्र नीतिले नेपालमाथि गिद्देदृष्टि राखेको थियो। सार्वभौम मुलुकका रूपमा नेपालले अर्को छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध विस्तार गरेको कुरा भारतलाई पटक्कै मन परेको थिएन। चीन र भातरबीच सुचारु रहेको नाथुला नाका बन्द भएको र सीमायुद्ध भएको झोकमा भारत तातोपानी नाका खुलेको पटक्कै रुचाउँदैनथ्यो। त्यही समयमा रुसले चीनमाथि नाकाबन्दी लगाएको थियो।रुस र भारतबीच राम्रो सम्बन्ध भएको समयमा भारतले नेपालमाथि दिएको दबाबमा रुसको पनि परोक्ष संलग्नता थियो। तमाम दबाबका बाबजुद महेन्द्रले चीनसँगको सहयोगलाई अगाडि बढाए। फलस्वरुप अरनिको राजमार्गबन्यो र तातोपानी नाका खुल्यो। तत्कालीन परिस्थितिमा अरनिको राजमार्गबन्नु केरुङबाट काठमाडौं रेलवे जोडिनु जत्तिकै थियो। चीनलाई दक्षिण एसिया प्रवेश गराउने र भारतमाथिको निर्भरतालाई नेपालले कम गराउने साझा विन्दु थियो तातोपानी नाका।त्यसकारण तातोपानी नाका एउटा नाका मात्र नभएर रणनीतिक महŒवर नेपाल–चीन सम्बन्धमा एउटा कोसेढुंगा हो।
तातोपानी नाका खोल्दा राजा महेन्द्रले भनेको कुरा अहिले पनि निकै चर्चित छ। उनले भनेका थिए ‘साम्यवाद ट्याक्सी चढेर आउँदैन।’ अरनिको राजमार्गर तातोपानी नाका खोलेपछि नेपालमा चिनियाँ प्रभाव बढ्छ र चीनले नेपाललाई खर्लप्पै खान्छ भन्ने हौवा पिटाएर नेपाली सत्तामाथि व्यापक दबाब दिएपछि राजा महेन्द्रले उक्त भनाइबाट भारतलाई जवाफ दिएका थिए। वि.सं. २०२७ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको एउटा कारण तातोपानी नाका खोल्नु पनि थियो।
अरनिको राजमार्गनेपालको तेस्रो राजमार्गहो। महेन्द्र राजमार्गनेपालको पहिलो राजमार्गहो भने त्रिभुवन राजमार्गदोस्रो राजमार्गहो। त्यसैगरी, पृथ्वीराजमार्गचौथो राजमार्गहो। चीन सरकारले सन् २०१२ मा यो राजमार्गलाई विस्तार गर्ने योजनासहित लार्चामा सुक्खा बन्दरगाह निर्माणका लागि तत्कालीन चिनियाँ राजदूत यङ हौलानले शिलान्यास गरेका थिए। त्यसपछि निरन्तर बाढीपहिरोले राजमार्गविस्तार अवरुद्ध भयो। सुक्खा बन्दरगाहको काम भने निरन्तर अगाडि बढ्यो र अहिले यो सम्पन्न भएको छ।
तातोपानी नाका खुलेपछि सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा क्षेत्रका हजारौंले रोजगारी पाएका थिए। नेपालीहरूले सस्तो मूल्यमा चिनियाँ सामान उपभोग गर्नपाए। अरनिको राजमार्गकै कारणले बाह्रबिसे र खाडी चौरलाई चाइनाटाउनका रूपमा परिचित बनायो। अरनिको राजमार्गबाट काठमाडौंल्हासा साझा बस चल्यो। नेपालमा चिनियाँ पर्यटक बढाउने काममा तातोपानी नाकाको महत्वपूर्णयोगदान छ। यो नाका सामान्य व्यापारिक नाका मात्र नभएर नेपाल र चीनबीचको मित्रताको निसानी पनि हो। दुई देशबीचको सम्बन्धमा एउटा महत्वपूर्णघुम्ती पनि हो।नेपालले विगतमा गरेका गल्ती दोहो-याउनु हुँदैन र तातोपानी नाकालाई अझै सुव्यवस्थित गर्ने कुरामा गम्भीर हुनुपर्छ।
आचार्यचिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।
प्रकाशित: १६ जेष्ठ २०७६ ०३:१८ बिहीबार