प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कारण फेरि मुलुकको शान्ति भंग भएको छ। राजधानी उपत्यकामा आइतबार बेलुका भएका विस्फोटनका चिन्ताजनक घटना यो समूहका राजनीतिकभन्दा पनि हिंसात्मक चिन्तनको उपजका रूपमा लिनुपर्छ। अरुलाई लक्षित गरी विस्फोटनको तयारी गरिएका ग्यास सिलिन्डर, प्रेसरकुकर आदि पड्कँदा विप्लव समूहकै ४ जनाको ज्यान गएको छ। जोसुकै मारिए पनि आखिर ती हाम्रै नेपाली दाजुभाइ÷दिदीबहिनी हुन्। अनाहकमा आफ्नै कार्यकर्ता हुन् वा सर्वसाधारण कसैको पनि ज्यान जाने गतिविधि हुनुहुँदैन। काठमाडौँकों घट्टेकुलो र सुकेधारमा भएका घटनामा मृत्यु भएकाबाहेक ६ जना घाइतेसमेत छन्। यी घटनाबाहेक पनि मुलुकमा विभिन्न भागमा विस्फोटक पदार्थ राखिएका राखिए। त्यसलाई नेपाली सेनाको टोलीले निष्क्रिय पार्ने काम गरेको छ। यी घटनाको सबैभन्दा ठूलो प्रभाव सर्वसाधारणलाई परेको छ। दशक लामा हिंसा÷हत्याका गतिविधिबाट आक्रान्त सर्वसाधारण बिस्तारै शान्तिको सास फेर्न खोजिरहेका छन्। वर्षौँंका आन्दोलन, संघर्ष र अस्थिरतापछि सबैलाई लोकतन्त्रको पारिलो घाममा उन्नति गर्ने इच्छा छ। राजनीतिक परिवर्तनका कार्यभार पूरा भई समृद्धिको यात्रामा अघि बढेको हाम्रो मुलुकका निम्ति फेरि अर्को हिंसा/हत्याको राजनीति स्वीकार्य हुन सक्दैन। हाम्रो मुलुकले थप यस्ता गतिविधि धान्न पनि सक्दैन।
भयको वातावरण सिर्जना गरी राजनीति अघि बढाउन सकिँदैन। विप्लव समूहले फेरि पनि आतंकारी गतिविधि अघि बढाएको छ। यस्ता गतिविधिका कारण उसलाई सर्वसाधारणले समर्थन गर्न सक्दैनन्। सरकारले विप्लव समूहका गतिविधिलाई गत फागुन २८ गते प्रतिबन्ध लगाएपछि यहाँका अधिकारकर्मी र बुद्धिजीवीले राजनीतिकरूपमा व्यवहार गर्नुपर्ने आग्रह गरेका थिए। मुलुकलाई हिंसा/हत्याको दुष्चक्रमा नपार्न सरकार र विप्लव समूह दुवैलाई त्यो बेला आग्रह भएको पनि हो। तर, यस्ता गतिविधि हुन थालेपछि राजनीतिकरूपमा व्यवहार गर्नुपर्छ भनी सरकारसँग गरिएका आग्रहको कुनै अर्थ हुँदैन। अहिलेको राजनीतिक व्यवस्थाले कसैलाई आफ्ना शान्तिपूर्ण विरोध कार्यक्रम गर्न रोक लगाएको छैन। अहिलेको राजनीतिक प्रणालीमा कस्तो सुधार चाहिएको हो, त्यो भन्न तयार हुनुपर्छ। हिंसात्मक गतिविधि गरेर राजनीतिक शक्ति आर्जन गर्न सकिन्छ भन्ने विश्वास विप्लव समूहमा हुनु बेठीक हो।
हिजो जे-जस्तो परिस्थितिका कारण राजनीतिक शक्ति आर्जन गरेको भए पनि आजको परिस्थिति भिन्न छ। हिजो तत्कालीन नेकपा (एमाले)लगायतका राजनीतिक शक्तिविरुद्ध चलाइएको अभियान आज कहाँ पुगेको छ ? एमालेमै समाहित भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउनुपर्ने अवस्था आएको छ। बाघको घोडा चढ्न सजिलो छ तर त्यसबाट उत्रन गाह्रो हुन्छ। हिंसात्मक गतिविधि गर्दै गए पनि एकदिन शान्तिपूर्ण बाटोमा नआइ सुख छैन। त्यो बेलामा पुगुन्जेलमा हिंसा÷हत्याको राजनीति बढाउँदा समाधानबाट टाढा पुग्ने खतरा हुन्छ। अहिलेको नेपालमा कसैले पनि यस्तो राजनीति मन पराउँदैनन्। विप्लव समूहले यसरी गतिविधि बढाउँदै जाने हो भने सर्वसाधारणले अहिले पाएका स्वतन्त्रता गुम्ने खतरा झनै बढ्छ। आतंक नियन्त्रणका नाममा सरकारले नागरिकका मौलिक हक अधिकारमा प्रतिबन्ध लगाउने अवस्था आउँदा कसैले पनि बोल्न सक्ने अवस्था हुने छैन। त्यतिमात्र होइन फेरि राजनीतिक समस्या समाधानका नाममा यो मुलुकमा विदेशी चलखेल सुरु हुनेछ। त्यसैले यस्ता गतिविधिबाट आमविश्वास जित्न सकिँदैन भन्ने बुझेर शान्तिपूर्ण बाटोमा लाग्नुको विकल्प छैन। मुलुक र जनताविरुद्ध अक्षम्य अपराधमा कतैबाट पनि संलग्नता देखिनुहुँदैन। हाम्रो मुलुकले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै समाजवादमा पुग्ने लक्ष्य राखेको छ। संविधानको धारा ४ मा ‘नेपाल राज्य’बारे स्पष्ट उल्लेख छ– ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।’ यसको अर्थ हो– समाजवादमा पुग्न अहिलेकै व्यवस्थाबाट सम्भव छ। त्यसका निम्ति हिंसा÷हत्याको बाटो अंगाल्नु आवश्यक छैन।
प्रकाशित: १४ जेष्ठ २०७६ ०३:५५ मंगलबार