ठूलो जन/धनको क्षति गर्ने क्षमताको भूकम्प आइवरी गएको पनि ४ वर्ष बितेको छ। तर पनि यो भूकम्पको त्रास भने आममानसपटलबाट हराइसकेको छैन। कारण– यसले पु-याएको क्षतिको आकार ठूलो थियो। ५५ सेकेन्डसम्म गएको भूकम्पका कारणकरिब ९ हजार जनाको त ज्यानै गएको थियो भने २३ हजार जना जति घाइतेमात्र भएका थिए। करिब ६ लाख त घरै भत्केका थिए।तर आजसम्म पनि भूकम्पबाट पुगेको क्षतिको पुनर्निर्माण सम्पन्न हुन सकेको छैन। उसै त सानो अर्थतन्त्र भएको हरितन्नम मुलुक, त्यसमाथि राजनीतिक र पदीय खिचातानीको असर पनि हाबी हुँदा यसको असर सोझै पुनर्निर्माणमा प-यो।
यी विविध कारण भए पनि पुनर्निर्माणमा ढिलाइको मुख्य कारणचाहिँ यसका लागि चाहिने स्रोतसाधन हाम्रो हैसियतभन्दा बढी चाहिनु नै हो। त्यसैले यो भूकम्पले पु-याएको क्षति र त्यसको आकार अनि हाम्रो हैसियत तुलना गर्ने हो भने भूकम्प हाम्रा लागि ठूलो शिक्षा हुन पुग्छ। भनाइको मतलव यसबाट हामीले सिक्न सक्ने धेरै कुरा छन्। र, तीमध्ये पनि प्रमुखचाहिँ यस्ता प्रकोपले निम्त्याउने सम्भावित विपत् न्यूनीकरणका लागि तयारी नै हो। हामीलाई थाहा छ, हामी प्राकृतिक प्रकोप रोक्न सक्दैनौँ। त्योखाले क्षमता विकास गरिसकेका छैनौँ। यस्तो अवस्थामा वज्रपातबाट ओतिने एउटै उपाय भनेको त्यस्ता बेला हुने क्षतिलाई खुम्च्याउन सक्नु नै हो। आखिर जोसँग जे क्षमता छ, त्यसैको भरपुर उपयोग गरेर फाइदा लिने न हो।
प्रकोपबाट आइलाग्ने विपत्को तौल जतिसक्दो घटाउनका लागि थुप्रै उपाय छन्। सबैभन्दा पहिले भूकम्प प्रतिरोधी संरचना नै एक नम्बरमा आउँछ। त्यसबाहेक विज्ञहरूले अनुपयुक्त भनेका ठाउँमा घर नबनाउने, बन्दोबस्तीका सामानको जोगाड, सामान्यखालका तालिम हासिल जस्ता पक्षमा ध्यान पु-याउने हो भने पनि धेरै हदसम्म भूकम्प जस्ता प्रकोपका बेला बाँच्न सकिन्छ। वातावरणीय सन्तुलन कायमै राख्ने, प्रकृतिको जथाभावी दोहनप्रति ख्याल राख्ने तथा बढ्दो महत्वाकांक्षा परिपूर्ति गर्ने बहानामा आफूलाई सर्वोच्च ठानी जस्तोसुकै कुकृत्यमा पनि होमिनबाट सजग तुल्याउने हो भने पनि धेरै हदसम्म जोगिन सकिन्छ।
वास्तवमा हाम्रो मुलुकमा प्रकोपका सम्भावना र यसले पु-याउन सक्ने हानिबारे बिस्तृत अध्ययन भएकै छैन। जब यस्तो अध्ययनकै अभाव छ भने के आधारमा तयारी गर्ने ? त्यसैले भौगर्भिक गतिविधिको अध्ययन, त्यसैका आधारमा विपत् व्यवस्थापन नीति बनाउने, यसको तयारीका लागि लाग्ने रकमलाई खर्चका रूपमा नहेरी लगानीका नजरले हेर्ने, नयाँ ज्ञान, प्रविधिलाई अंगीकार गर्ने जस्ता पक्षमा ध्यान पु¥याइयो भने प्रकोपबाट हुने हानि न्यून गर्न सकिन्छ। तर नेपालमा अहिलेसम्म हुन नसकेको कामै यही हो भन्दा फरक पर्दैन। जसका कारण भूकम्प जस्ता प्रकोपले बेलाबेलामा सात्तो नै लिने गरेको छ। तर यतिखेर अर्थात २०७२ को भूकम्पपछि भने यस क्षेत्रमा केही सकारात्मक प्रभाव पनि देखिन्छ।दैवी प्रकोप (उद्धार) ऐन, २०३९ विद्यमान थियो भूकम्पका बेलासम्म।
जसले प्रकोपलाई पूरै ‘दैवी लीला’ को खेल ठान्थ्यो। र, प्रकोप रोक्न सकिन्न, हामीले गर्ने भनेको प्रकोपपीडित र उनका आफन्तलाई सहयोग गर्नेमात्र हो भन्नेमा यो ऐन केन्द्रित थियो।.तर २०७४ सालमा बनेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले भनेपर्याप्त तयारी गर्न सकिएमाक्षति न्यूनभन्दा न्यून गर्न सकिन्छ भन्ने स्वीकार गरेको छ।मतलव यो पछिल्लो ऐनलेतयारी, प्रतिकार्य, पुनर्लाभ, पुनव्र्यवस्थापन र पुनर्निर्माणमा जोड दिएको छ। राज्यले प्रकोप र त्यसले निम्त्याउने विपत्लाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरी त्यहीअनुसारका प्रावधानहरूसमेत अंगीकार गर्नु सकारात्मक पक्ष मान्नुपर्छ। त्यसैले यो नयाँ ऐनलाई भूकम्पले दिएको उपहार पनि भन्न सकिन्छ।
त्यतिमात्र हैन, यो ऐनले उल्लेख गरेको विपत् न्यूनीकरणका लागि स्वयंसेवक फोर्स, विपत्लाई तल्लो तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समेट्ने पक्ष तथा सबै स्थानीय तहले आफ्नै कानुन बनाइ विपत्का समस्या समाधान गर्ने जस्ता पक्षलाई व्यावहारिक बनाउन सकियो भने पनि बसले हल्लाउँदा पनि भूकम्प सम्झेर तर्सिनुपर्ने अवस्था अन्त्य हुनेछ। अध्यक्ष वा प्रमुखको संयोजकत्वमा प्रत्येक गाउँ तथा नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरिने व्यवस्था ऐनमै भएकाले यतिबेला हामी सबैको नजर त्यसैमा पर्न सके काफी हुन्छ। किनकि हामीले जुन कुनै कुरा लागु गर्ने आफ्नै गाउँठाउँबाट हो। यस्ता पक्षमा ध्यान दिन सकियो भनेभूकम्पको चौथो वार्षिकीको अघिल्लो दिन बिहान आएका ५.२ र लगत्तैको ४.३ रेक्टर त के, योभन्दा ठूलो भूकम्प आइहाले पनि बच्न सकिने सम्भावना रहन्छ।
प्रकाशित: १२ वैशाख २०७६ ०५:४० बिहीबार