२१ असार २०८१ शुक्रबार
image/svg+xml
विचार

सूचना यात्राका आरोह/अवरोह

शाेभा ज्ञवाली, निर्देशक, नेपाल रिपब्लिक मिडिया

सूचनाको महासागरमा पौडने क्रममा हेमिल्टनले भनेजस्तै हामी सत्य मार्गमा विचलित हुनुहुन्न।
 

‘म पुरानो पत्रकार हुँ। पत्रकारिता व्यवसाय अथवा पेसामात्र हो भन्ने कुरा म मान्न सक्दिनँ। मेरो विचारमा पत्रकारिता जनताको सेवा पनि हो। पेसा हो र कला पनि। मेरो कर्तव्य जनताको ज्ञान बढाउनु र मार्गदर्शन गर्नु हो भन्ने नबुझेसम्म पत्रकारिताको जतिसुकै तालिम लिए पनि कोही पूर्ण पत्रकार बन्न सक्दैन’– बिखेम स्टिडको यो भनाइले प्रस्ट पार्छ– पत्रकारिताको धर्म अनि पत्रकारको कर्म।

वास्तवमै समाजप्रति पत्रकारको दायित्व असिम हुन्छ। वाचडगका रूपमा भूमिका निर्वाह गर्ने र समाजलाई सही मार्गमा डोहो-याउन पत्रकारिताको अहम् भूमिका हुनेमा शंका छैन। त्यसैले लोकतन्त्रले पत्रकारितालाई उच्च महŒव दिँदै आएको हो। जनइच्छा अखबारको माध्यमले व्यक्त हुन्छ भन्ने महात्मा गान्धीको भनाइले पनि प्रस्ट पार्छ– पत्रकारिता लोकतान्त्रिक मुलुकमा इच्छा र अभिमत आदानप्रदान गर्ने सबैभन्दा उपयुक्त साँघु हो। जसको प्रयोगबिना संवादहीनता तोडिन सक्दैन।

केही अनुभव

जब म विभिन्न कार्यक्रममा सहभागी हुन्छु, तब मलाई चिन्ने पाठक नजिक हुन मन पराउँछन्। कुराकानीका क्रममा यो नजिकिने कारण छर्लंग हुँदै जान्छ– उनीहरू म आबद्ध नेपाल रिपब्लिक मिडियाअन्तर्गतका सञ्चार माध्यमहरूले उठाउने विषयवस्तुबारे थप जान्न उत्सुक हुन्छन्। उनीहरू मसँग हाम्रा प्राथमिकताबारे हरदम जिज्ञासा राख्छन्। अनि हामीले उठाएका विषयवस्तुबारे थप बुझ्ने अभिलाषा व्यक्त गर्छन्। त्यतिमात्र हैन, पत्रकारिताको धर्म पनि थाहा पाउन चाहन्छन्। अनि हामीले प्रस्तुत गरेका सामग्री कसरी उपलब्ध हुन्छन् र जिन्दावाद ग्रहण तथा मूर्दावाद सामना कसरी गर्ने गरिन्छ भन्नेबारे पनि कौतूहल व्यक्त गर्छन्।

त्यतिमात्र हैन, उनीहरू मलाई यस मिडियाले उठाइदिए हुने भनेर विभिन्न विषयका ‘क्लु’ पनि दिने गर्छन्। अनि कतिपय सन्दर्भमा आफू र समूहलाई नै परेको मर्काबारे पनि पत्रिकाले लेखिदिए त्यो समस्या समाधान हुने अपेक्षा राख्छन्। सोझो अर्थमा भन्दा सञ्चार माध्यमसँग सम्बन्धित भएकै कारण धेरै मानिसको आशा गर्ने ठाउँ पनि बनिएको छ, खासगरी मर्कामा परेकाहरूका लागि।

यस अर्थमा पत्रकारितालाई, बिखेम स्टिडले भनेझैँ न व्यवसायमात्र मान्न सकिन्छ न त यसलाई पेसामा मात्र सीमित राख्न। वास्तवमा यो एक प्रकारले जनताको सेवा नै हो। नत्र किन यति धेरै मानिस आमसञ्चारका माध्यमप्रति आशा र भरोसा राख्थे र! नत्र किन मर्कामा परेकाहरू, अन्यायको जाँतोमा पिल्सिएकाहरू रुँदै/कराउँदै प्रकाशन गृहका ढोका ढक्ढक्याउन आइपुग्थे? अनुभव र प्रमाणहरूले सिद्ध गरेका कुरा हुन्– आज आमसञ्चार माध्यम थिएनन् भने संसार ‘मत्स्य राज’ मा परिणत हुन्थ्यो। कुटिनेहरू कुटिएका कुटियै हुन्थे। निचोर्नेहरू हरदम निचोरिरहेका हुन्थे।

प्रविधि प्रभाव
‘राणा शासकहरूको भान्सामा जुम्ली रातो चामल (मार्सी चामल) को भात पाक्थ्यो। त्यो चामल हुलाकबाट महिनौँ दिन लगाएर नियमितरूपमा काठमाडौँ आइपुग्थ्यो। कहिलेकाहीँ त्यो चामल समयमा राणाहरूको दरबारमा आइपुगेन र रोकियो भने बीचमा केही बाधा/अड्चन आइलाग्यो भन्ने अनुमान गरिन्थ्यो र राज्यका तर्फबाट खोजी सुरु गरिन्थ्यो’– गोरखबहादुर बोगटीले ‘कर्णालीमा कम्युनिस्ट आन्दोलन’ किताबमा लेखेका छन्। 

जग्गा खरिद प्रकरणमा करोडौँ अनियमितता भएको आयल निगमको घटना होस् वा ललिता निवासको सरकारी जमिन भूमाफियाको कब्जामा जाने कुरा होस्, नागरिकले उठाएको सशक्त खबरदारीकै कारण अनिष्ट टर्ने संकेत देखापरेका छन्। यी हाम्रा लागि यति ठूलो सन्तुष्टिको विषय बन्न पुगेका छन् जसको ठाउँ कुनै वस्तु वा सामग्री प्राप्तिले प्रतिस्थापन गर्नै सक्दैनन्।

तर अब भरिया आउन ढिला भएकाले बाटोमा पहिरो गएको अनुमान गर्ने दिनले डाँडा काटे। समयसँगै मिडियाले पनि धेरै प्रगति हासिल गरिसकेको छ। म आबद्ध मिडियाकै कुरा गर्ने हो भने पनि शतप्रतिशत समाचार इमेलमै आउँछन्। चाहे त्यो दुर्गम भनेर चिनिने डोल्पा होस् वा सुदूरपश्चिमको बाजुरा। हामीले फ्याक्स मेसिन त राख्नै परेको छैन। यसबाट पनि थाहा हुन्छ– अन्य कारणले पत्रकारितामा जटिलता थपिए पनि प्रविधिले यसलाई दिन दुगुना, रात चौगुनाका हिसाबले सहज तुल्याउँदै लगेको छ। श्रीलंकामा केही दिन अघिमात्र भएको बम विस्फोट होस् वा अमेरिकाको कुनै राज्यमा नयाँ खालको फेसन सार्वजनिक भएको विषय, केही मिनेटमै नेपालका आमसञ्चार माध्यममा छाइसक्छन्। यो हामी सूचनाकर्मीका लागि पनि खुसीको खबर हो।

एउटा अन्तर्राष्ट्रिय प्रसंग
कुरा गत मार्चको हो। अमेरिकामा भएको सिएसडब्लु ६३ (कमिसन अन दि स्टाटस अफ विमेन) को कार्यक्रममा ‘आवाज नभएकाहरूको आवाज मिडिया’ विषयमा बोल्ने अवसर पाएकी थिएँ। जसमा मैले भ्रष्टाचारविरुद्ध केन्द्रित भएर बोलेकी थिएँ। जब त्यहाँ उपस्थित स्रोताले पत्रकारिता र भ्रष्टाचार न्यूनीकरणमा यसको भूमिकाको खुलेर सराहना गरे, त्यसपछि झन् प्रस्ट भयो– हामी सही काममा लागेका रहेछौँ। आफू र आफ्नाबाहेक अरू कसैलाई हतपत नगन्ने अमेरिकी नागरिकसमेत यसरी पत्रकारिता जगतप्रति नतमस्तक भएको देख्दा मैले आमसञ्चारको वास्तविक महत्व महसुस गर्ने अवसरसमेत पाएँ। अमेरिकामात्र हैन, मैले यसबीच भ्रमण गरेका अरू देशमा पनि पत्रकारिताप्रति आदरभाव दर्शाउने प्रवृत्ति पाएँ।

सन्तुष्टिको पेसा
भक्तपुरस्थित लिवालीकी सुलोचना भोयदु जन्मजात अपांग थिइन्। २८ वर्षको उम्मेरसम्म पनि उनी कि घस्रेर कि त आमाको फेर समातेर हिँड्थिन्। जब यो समाचार नागरिकमा छापियो, क्षेत्रपाटीका एक सहृदयी कृष्णगोपाल श्रेष्ठले आधुनिक ह्विलचियर किनिदिए। अहिले सुलोचना यसैमा हिँडडुल गर्छिन्। त्यतिमात्र हैन, उनले जीवनमा पहिलोपटक खुसी मिलेको उपलक्ष्यमा जन्मदिनसमेत मनाइन् केही आफन्त जम्मा गरेर।

कुरो असहायहरूमा मात्र सीमित छैन। जग्गा खरिद प्रकरणमा करोडौँ अनियमितता भएको आयल निगमको घटना होस् वा ललिता निवासको सरकारी जमिन भूमाफियाको कब्जामा जाने कुरा होस्, नागरिकले उठाएको सशक्त खबरदारीकै कारण अनिष्ट टर्ने संकेत देखापरेका छन्। व्यावसायिक सञ्चार माध्यमको प्रमुख उद्देश्यमध्ये एक, जनविश्वास आर्जन पनि हो। यी घटना आज हामीले प्राप्त गरेको जनविश्वास मापन गर्ने आधार पनि हुन्। यसैले यी हाम्रा लागि यति ठूलो सन्तुष्टिको विषय बन्न पुगेका छन् जसको ठाउँ कुनै पनि वस्तु वा सामग्रीको प्राप्तिले प्रतिस्थापन गर्नै सक्दैनन्। सिक्टा सिँचाइ, छाया कम्प्लेक्स, साझा प्रकाशन, एनसेल करजस्ता थुप्रै प्रकरणमा नेपाल रिपब्लिक मिडियाले गरेको खबरदारी र त्यसपछिका सरकारी क्रियाशीलता सन्तुष्टिका थप आधार हुन्।

माथि उल्लिखित अनुभवहरूको सार के हो भने नेपालमा पत्रकारिताको भविष्य उज्ज्वल छ। पढेलेखेका र पछिल्लो अत्याधुनिक प्रविधिसँग साक्षात्कार सहकर्मीहरूको बढ्दो प्रवेशसँगै यो पेसालाई हेर्ने आमदृष्टिकोण थप सकारात्मक बन्दै जान थालेको महसुस हुन्छ। यसका लागि पत्रकारले पनि सूचनालाई एबिसी अर्थात् सत्यतथ्य, सन्तुलित र विश्वसनीय बनाउन कुनै कसर बाँकी राख्न हुँदैन। अर्थात् पत्रकारितालाई ‘काम नलाग्ने मानिसको अन्तिम सहारा’ बताउने लिन्डन बि. जोन्सनलाई हिरो बनाउने कि ‘पत्रकारिता जनताको ज्ञानका लागि रचनात्मक सेवा र सूचना प्रदान गर्ने सबल औजार भएको’ जर्ज फक्स मोटको दाबीलाई सत्य प्रमाणित गर्ने, रोजाइ हाम्रै हो।

अन्त्यमा,
एलेक्जेन्डर हेमिल्टनले भनेका छन्– असल उद्देश्य र औचित्यपूर्ण आकांक्षाले प्रेरित सत्य नै समाचार हो । हामी पनि सूचनाको महासागरमा पौडने क्रममा हेमिल्टनले भनेजस्तै सत्य पस्कने मार्गमा विचलित हुनुहुन्न । यसो भएमा सूचना शक्ति दुरुपयोग हुन पाउनेछैन र यो क्षेत्रमा संलग्न सूचनाकर्मीको मनोबल, मान र भविष्य सबै दिगो र दीर्घकालीन हुनेमा शंका रहन्न। 

प्रकाशित: ११ वैशाख २०७६ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App