मुलुक संघीयतामा प्रवेश गरे पनि धेरैलाई असजिलो भएको छ। हिजोकै कार्यशैलीको निरन्तरता पक्कै पनि संघीयता होइन। केन्द्रमा थुप्रिएको अधिकार र सेवा प्रदेश हुँदै स्थानीय तहसम्म प-याउनु संघीयताको लक्ष्य हो। केन्द्रीकृत शासनले राजधानी काठमाडौंलाई केन्द्र बनायो। अञ्चल र जिल्ला सदरमुकाम त्यसपछिका केन्द्र रहे। तैपनि शिक्षादीक्षादेखि रोजगारीसम्मका लागि राजधानी काठमाडौं नपुगी सुख भएन। केही सीमित सहरी क्षेत्रमा सबै सुविधा केन्द्रित भएपछि अन्य ठाउँ पृष्ठभूमिमा पर्ने नै भए। एकथरी केन्द्र बनिरहने र अरूले पृष्ठभूमिका रूपमै सीमित हुनुपर्ने अवस्थाको अन्त्य त्यतिबेला हुन्छ, जतिबेला सेवासुविधा सबैतिर बाँडिन्छन्। आज पनि थोरै जटिल स्वास्थ्य समस्या हुनासाथ राजधानी काठमाडौं धाउनुपर्ने अवस्था छ। दुर्गम गाउँमा बस्नेले सदरमुकाम जानुपर्ने, जिल्ला सदरमुकाम बस्नेले काठमाडौं धाउनुपर्ने र काठमाडौंकाले विदेशी अस्पताल ताक्नुपर्ने अवस्था अहिलेको यथार्थ हो। यसकारण पनि हाम्रा प्रत्येक स्थानीय तह (गाउँपालिका र नगरपालिका)मा न्यूनतम सुविधा उपलब्ध हुनुपर्छ। स्वास्थ्य सुविधा लिन गाउँ छाडेरै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। शिक्षाका लागि गाउँको नेटो काटेरै जाने अवस्था पनि हुनुहुँदैन। यसो हुनसक्दा अनावश्यक रूपमा सहर पस्नुपर्ने आवश्यकता पर्दैन। अनावश्यक रूपमा मानिस थुप्रिँदा सहरमा सेवासुविधाकै निम्ति समस्यामा पर्नुपर्ने अवस्था पनि हुँदैन। अझ सहरी गरिबीको चपेटामा पर्नबाट पनि सर्वसाधारणलाई जोगाउन सकिन्छ। यसकारण पनि संघीयताको अभ्यास अत्यावश्यक भएको हो।
संघीयताको अभ्यासका लागि सबैभन्दा ठूलो समस्या सरकारी कर्मचारीलाई प्रदेश र स्थानीय तहसम्म पु¥याउन भएको ढिलाइ हो। प्रदेश सरकारले निरन्तर कर्मचारीको अभाव भएको गुनासो गरिरहनु परेको छ। धेरै ठूलो पहलपछि बल्ल निजामती कर्मचारीको समायोजन पूरा हुने दिशातर्फ प्रक्रिया अघि बढेको छ। यहीबिच सरकारी स्वास्थ्य सेवाभित्रका चिकित्सकको समायोजनमा असन्तुष्टिका कारण यतिबेला अस्पतालहरू बन्द छन्। सरकारले स्वास्थ्योपचारलाई अत्यावश्यक सेवाका रूपमा राखी हडताल गर्न नपाउने व्यवस्था गरेलगत्तै सरकारी चिकित्सकले आफ्नो सेवालाई अवरोध गरिरहेका छन्। बिरामीले शुक्रबारदेखि सेवा पाउन सकेका छैनन्। सरकारी अस्पतालमा चिकित्सकले हडताल गर्दा दैनिक करिब डेढ लाख बिरामी अलपत्र परेका छन्। चिकित्सकले कुनै पनि बिरामीको उपचारलाई अस्वीकार नगर्ने शपथ खाएका हुन्छन्। तर, अहिले तिनको सरकारसँगको मागका कारण अस्पतालको काम रोकिएको छ। जटिल स्वास्थ्य अवस्था भएका र तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सेवामा रोक लगाउँदा सर्वसाधारणलाई मर्का परेको छ। निश्चय नै चिकित्सक बन्ने व्यक्तिले अध्ययन गर्दा मिहिनेत गरेका छन्। धेरै खर्च पनि भएको छ। तर तिनको सेवाको आवश्यकता सहरलाई भन्दा गाउँलाई बढी छ। सरकारले सबै चिकित्सकलाई संघमै समायोजन गर्नुपर्ने, प्रदेश र स्थानीय तहमा खटाउनुपर्ने भए पुलमा राखेर काम लगाउनुपर्ने माग सरकारी चिकित्सकको रहेको छ। निश्चय पनि सरकारी चिकित्सकका निम्ति स्थानीय तहमा पुगेर सेवा दिन गाह्रो हुन सक्छ। तर स्थानीय तहमा जाँदैनौं भनेर अड्डी कस्दा भने चिकित्सकप्रति आममानिसमा सकारात्मक धारणा बन्न सक्दैन। वास्तवमा चिकित्सा सेवा स्थानीय तहका लागि अत्यन्त आवश्यक छ।
अतः सरकारी चिकित्सकहरूले आफ्ना माग सरकारसँग राख्दै आफ्नो सेवालाई सुचारु गर्नुपर्छ। उनीहरूले आफूलाई परेको मर्काबारे सरकारसँग संवाद गर्दै सेवालाई चुस्त राखेर दबाब दिन सक्छन्। स्थानीय तहमा पुगेपछि त्यहाँबाट थप वृत्ति विकासका निम्ति मौका नपाइने भन्ने हुन सक्दैन। धेरैलाई अझै पनि स्थानीय तहमा काम गर्नु भनेको त्यहीँ सीमित हुनु हो भन्ने लागेको छ। तर स्थानीय तहको सेवालाई विशिष्टीकृत गर्दै जाँदा भोलि त्यहीँका अस्पताल र स्वास्थ्य केन्द्र अन्यका निम्ति प्रेरणाका स्रोत हुन सक्छन्। सेवालाई उन्नत बनाएबापत त्यहाँ कार्यरत चिकित्सकले मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षण गर्न सक्छन्। उदाहरणमा धुलिखेल अस्पताललाई लिन सकिन्छ। काठमाडौंमा अस्पताल नखोली धुलिखेलमा किन भनेर त्यतिबेला सोचेका भए सायदै अहिले एउटा उम्दा सामुदायिक अस्पताल बन्ने थियो। वास्तवमा अहिले सरकारी चिकित्सकले आफू जाने ठाउँमा उम्दा स्वास्थ्य संस्था बनाउने उद्देश्य बोक्नुपर्छ। चिकित्सक बन्ने व्यक्तिमा पहिल्यैदेखि सेवाको भावना हुन्छ भन्ने सबैले सोच राख्छन्। स्थानीय तहमा समायोजित भई जाने चिकित्सकले आफ्नो भविष्यको अन्त्य होइन, बरु अनन्त सम्भावनातर्फ उन्मुख भएको ठान्न सक्नुपर्छ। हो, उनीहरूलाई केन्द्रमा जाने बाटो भने खुला गर्नुपर्छ। स्थानीय तहमा काम गरेबापत थप अध्ययन÷तालिम र सुविधाको सुनिश्चितता सरकारबाट हुनुपर्छ। स्थानीय तहमा जानु नपरोस् भनी अस्पतालमा हडताल गर्दा दूरदराजमा रहेका सर्वसाधारणले चिकित्सकबारे कस्तो धारणा राख्लान् ? विचारणीय छ।
प्रकाशित: २५ चैत्र २०७५ ०४:१४ सोमबार