अहिले मुलुकमा जताजतै अन्योल छ। सरकारी कार्यालयमा जनताको काम राम्रोसँग हुन नसक्दा उनीहरू आक्रोशित छन्। कुनै पनि कार्यालय यस्तो छैन, जहाँ जनतालाई राम्रोसँग काम गरेर पठाइयोस्। त्यतिमात्र हैन, सडक हिँडिसाध्य छैन। कुनै ठाउँ सुरक्षित छैन। छोरीबेटी एक्लैदुक्लै हिँड्न डराउनुपर्ने अवस्था छ। जसले मानिसमा चौतर्फी निराशा जन्माएको छ।
खासमा राम्रा र नराम्रा पक्ष दुवैतिर हुन्छन्। त्यसैले हामीले राम्रा पक्ष अनुशरण गर्न सक्नुपर्छ। त्यसैले यतिबेला हामी विकास निर्माणका काममा जुट्ने हो। हो, दल दलबीच वैमनश्य छन्। एकापसमा धुलो छ्यापाछ्याप गर्ने प्रवृत्ति पनि छ। दलबीचमात्र हैन, एउटै दलभित्र पनि गुटबीच हिँलो छ्याप्ने प्रवृत्ति कायम छ। यस्तो अवस्थाले पनि सर्वसाधारणमा अन्योल सिर्जना गरेको छ। अर्थात उनीहरूलाई निराश बनाएको छ।
त्यसैले पनि यतिबेला जनताबीच मेल चाहिएको हो। दलबीच मिलाप चाहिएको हो। सबै मिलेमात्र देश बन्छ भन्ने कुरा बुझ्न आवश्यक छ। सधैँ झगडामात्र गर्ने हो भने विकास हुन सक्दैन। आखिर कहिलेसम्म हामीमात्र अविकसित अवस्थामै रहने ? विश्वका हामीभन्दा कान्छा देश विकासको चरम आनन्द लिइरहेका छन्। हामी अझै पनि पुरानै दुःख साँचेर बस्ने ? अब यो कुरा स्वीकार्य हुन सक्ला र ? त्यसैले सोचौँ र आजैदेखि पुराना मतभेद बिर्सेर विकासपथमा लागौँ भन्ने आग्रह छ।
अर्को कुरा, अहिले नेकपाको सरकार दुईतिहाइको दम्भमा देखिएको छ। अर्कोति मुख्य प्रतिपक्षले पनि आफ्नो दरिलो भूमिका निर्वाह गर्न सकेको छैन। यस्तो अवस्थामा एकले अर्कोलाई दोष लगाएर पन्छिन खोज्नुको साटो आफ्नो भूमिकामात्र राम्रोसँग ख्याल गर्ने र त्यसलाई राम्रोसँग निर्वाह गर्ने हो भने पनि समस्या आफैँ पाखा लाग्छन्। अझ खासगरी नेताहरू सकारात्मक बन्न सके भने जनता आफैँ सकारात्मक हुन्छन्। यो कुरा नेतृत्व वर्गले बेलैमा बुझ्न सक्दा मुलुक बन्ने सम्भावना बढी हुन्छ।
एक जमाना थियो, मानिसहरू राजनीतिकरूपमा विभाजित थिए। पँधेरोसमेत कांग्रेस र कम्युनिस्टको छुट्टाछुट्टै थिए। एकले अर्कोको भारो पर्म गर्न निषेध थियो। जन्ती र मलामीसमेत जाँदैनथे। भर्खर भर्खर बहुदल व्यवस्था आएकाले जनतामा यो व्यवस्थाका विकृतिप्रति कम ज्ञान थियो। तर समयक्रमसँगै यसमा बिस्तार प्रगति हुँदै जान थालेको छ। त्यसैले दलमा आबद्धबीचको दूरी पनि कम हुँदै जान थालेको छ। यो सकारात्मक पक्ष पनि हो। यस्तो अवस्थालाई ध्यानमा राखेर सबैले मौकामा चौका हान्नुपर्छ अर्थात यो मिलापलाई विकासका लागि प्रयोग गर्नुपर्छ।
विश्वका विकसित मुलुक पनि सोझै वा सहजै यो अवस्थामा पुगेका हैनन्। त्यसका लागि उनीहरूले ठूलो त्याग, मेहनत र धैर्य गरेका छन्। हामीले यसबाट पाठ सिक्नुपर्छ। खाली लोभ गरेर वा पराइ हात्ती चढेको झोक पूरा गर्न धुरी चढेरमात्र हुन्न। किनकि धुरी हात्तीझैँ हिँड्दैन, बरु चुहिन्छ। यही यथार्थ बुझेर अघि बढ्यौँ भने देश विकास हुन समय लाग्दैन। अहिले सबैले बुझ्नुपर्ने गाँठी कुरा यही हो।
प्रकाशित: १९ चैत्र २०७५ ०७:१४ मंगलबार