हामीले लोकतन्त्रको लडाइँ तीनपटक लड्यौं। दुईपटकका लडाइँपछि प्राप्त लोकतन्त्र हामीले संस्थागत गर्न सकेनौं। व्यवस्थापन गर्न सकेनौँ। राजतन्त्रले लोकतन्त्र स्वीकार नगरेको देखिएपछि तेस्रोपटक पनि लोकतन्त्रका लागि लड्यौं। तेस्रोपटकको लडाइँपछि जुन लोकतान्त्रिक गणतन्त्र आयो, जनताको बलिदानले आएको हो।
लोकतन्त्र प्राप्तिका ६० वर्षे इतिहासमा कांग्रेसले पनि ठूलो समर्पण गरेको छ। मधेसका जनताको पनि उत्तिकै योगदान छ। लोकतन्त्रका पक्षमा मधेसका जनताको सात सालको आन्दोलनदेखि नै ठूलो लगानी छ।
आधुनिक युगमा कहिँ कम्युनिष्ट राजनीतिक प्रणाली होला तर बहुदलीय व्यवस्थामा सबै विचार समेट्न सकिन्छ। सबैको मौलिक हक, स्वतन्त्रता, मानव अधिकार यसमा समेटिन्छन्। आर्थिक, सामाजिक परिवर्तन समेटिन्छ। समाजवादी अर्थनीतिबाट प्रभावित म केमा विश्वस्त छु भने प्रजातन्त्रमा आर्थिक, सामाजिक राजनीतिक रूपमा सबैलाई बराबर अधिकार हुन्छ।
मधेसमा पहाडी/मधेसीका कुरा उठ्दा मैले एन्टीकरेन्ट बोलेँ। बिपीले कतै लेख्नुभएको छ, यो धोतीवाला, टोपीवाला, लगौँटीवालाको देश हो। मैले त्यसमा बख्खु र कछाड थपिदिएको छु। पहाड, हिमाल सबैतिर घुमेर मैले यस्तो अनुभव गरेको हुँ। हामी पहाडी/मधेसी सबै यही देशका सन्तान हौं।
अहिले गम्भीर समय छ। हामीले लोकतन्त्र पाएका छौं। जनता मालिक भएका छन्। सामन्तवाद, राजतन्त्र गएको छ। हामीले हतियारको राजनीति समाप्त गरेर, देशलाई स्थायीŒवमा लग्न आवश्यक छ। देशलाई संविधान चाहिएको छ।
हामीले १७ सालमा डेढ वर्ष र २०४६ पछि २०५१ सम्म ५/६ वर्ष मात्र चलाउन सक्यौं। पार्टीहरूको कमजोरी, माओवादी विद्रोह र हतियारको राजनीतिले २०४६ मा प्राप्त लोकतन्त्र खत्तम भयो।
हामीले राम्रो संविधान बनाएर देशमा लोकतान्त्रिक प्रणली बसाल्नुपरेको छ। हतियारको राजनीति सदाका लागि समाप्त होस् भन्ने म चाहन्छु। यसका लागि लोकतान्त्रिक संविधान बनाउन अघि बढ्न आवश्यक छ। म लोकतान्त्रिक पद्धतिप्रति प्रतिवद्ध छु। हामीले लोकतान्त्रिक पद्धति बसाल्नुपर्छ तर लोकतन्त्रमा जादुको छडी हुँदैन। यसका प्रणाली हामीले विकास गर्दै लैजानुपर्छ।
हामी अमेरिकाको २ सय ३० वर्षको इतिहासमा जान हुँदैन। युरोपको ३/४ सय वर्षको इतिहाससँग तुलना गरेर हुँदैन।
नजिकैको हिन्दुस्तान हेरौं न। प्रजातन्त्रको ६३ वर्षमा १५वटा संसद् निर्वाचन भए। प्रत्येक पाँच वर्षमा उनीहरू जनतासमक्ष जान्छन्। जनताले परिमार्जन गरेर पठाउँछन्। हिन्दुस्तानका पछिल्ला निर्वाचनमा जात, धर्मले काम गरेको देखिदैंन। त्यहाँ आर्थिक, सामाजिक परिवर्तनका मुद्दामा चुनाव भए। भारत लोकतान्त्रिक प्रणालीबाट अघि बढिरहेको छ।
नेपालमा पनि १७ सालमा राजा महेन्द्रले लोकतन्त्र खत्तम नगरेको भए हामी कम से कम हिन्दुस्तानका हरियाणा, पञ्जाबजस्ता राज्य हाराहारी पुगिसकेका हुन्थ्यौं।
हामीले लोकतान्त्रिक प्रणाली बसाल्न सक्यौ र यहाँका स्रोत व्यवस्थापन गर्न सक्यौं भने धेरै परिवर्तन हुन्छ। लोकतान्त्रिक परिपाटी बस्न नसकेकैले विभिन्न विभेद उब्जेका हुन्।
२० वर्ष लोकतान्त्रिक परिपाटी चलेको भने पनि १२ वर्ष माओवादी सशस्त्र विद्रोहले खायो, तीन वर्षभन्दा बढी राजाले खेले। लोकतान्त्रिक अभ्यास त ५ वर्षमात्र चलेको हो।
त्यसैले लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्नु नै अहिले राष्ट्रको प्रमुख मुद्दा हो। हतियार व्यवस्थापन गरेर लोकतान्त्रिक संविधान बनाएर हामी अघि बढ्नुपर्छ। बेग्लाबेग्लै राजनीतिक दर्शन भए पनि पार्टीहरूले राष्ट्र नै सबैभन्दा ठूलो हो भन्ने बु‰नुपर्यो।
हामीले जन्मेदेखि देखिरहेका छौं, इजरायली र प्यालेस्टिनी आफ्नो भूमिका लागि लडिरहेका छन्। हाम्रो सुन्दर भूमि हामीले व्यवस्थापन गर्न सक्यौं भने अझ सुन्दर हुन्छ। तर, हामी विदेशीलाई गाली गरेर अनावश्यक रूपमा समय बर्बाद गर्दैछौं।
नेपाली राजनीतिक शक्ति मिलेर समस्या समाधान गर्यो भने दुनियाँमा राम्रो इतिहास लेखिन्छ। जसरी हामी मिलेर संविधान सभा चुनावसम्म आएका थियौं, चुनावपछि हामी त्यसरी मिल्न सकेनौं। यो हामी नेपालीको दोष हो। राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजिवी, पत्रकार, किसान, मजदुर सबैको जिम्मेवारी हो देश बनाउने। तर, मुख्य जिम्मेवारी मुख्य एक्टरहरू (राजनीतिक दल) को हो। संविधानसभामा २५ पार्टी छन्, तीमध्ये पनि तीन मुख्य पार्टी र मधेसी पार्टीको बढी जिम्मेवारी छ।
दुई छिमेकी द्रुत विकासमा अघि बढिरहेका छन्- एउटा लोकतान्त्रिक देश र अर्को साम्यवादी। यी देशको विकासबाट हामीले के सिक्ने? कसरी फल लिने? देशको राष्ट्रियता, एकता, भौगोलिक अखण्डता बचाउँदै वैज्ञानिक ढंगले राज्यको पुनर्संरचना गर्नुपर्छ।
जाति, भाषा, भेषका मुद्दा उठिरहेका छन्, यहाँको भूगोल, स्रोत र आर्थिक सभ्याव्यता बुझेर तिनलाई समायोजन गर्नुपर्छ। कहाँ जलभण्डार छ, कहाँ खानी, कृषि, पशुपालनको सम्भावना छ, वैज्ञानिक ढंगले हेनुपर्छ। हामीले संघीयताका लागि प्रतिवद्धता जनाइसकेका छौं।
लोकतन्त्रका आधारभूत विषय समेटेर कानुनी राज्यको सर्वोच्चता मानेर गयौं भने दस वर्षमा हामी कहाँबाट कहाँ पुग्नसक्छौं।
हिन्दुस्तानको आजादीपछि गान्धी, नेहरू, जयप्रकाश नारायणहरूको जीवनी पढेर, भारतमा करिब १४ वर्ष बसेर कमाएको अनुभव र नेपालमा ३६ सालदेखि अहिलेसम्मको कामका आधारमा मैले के बुझेको छु भने कसैले नेपाललाई तुरुन्तै परिवर्तन गर्छु भन्छ भने उसले ठगिरहेको छ।
लोकतान्त्रिक प्रणाली बनाएर शान्ति स्थापना गरेर नेपालीको ऊर्जा समेटेर अघि बढ्यौं भने हामी चाँडै अघि बढ्छौं। तर गलत किसिमले अघि बढ्न सकिन्न। एउटा भनाइ छ नि- तपाईं केही दिन मानिसलाई मुर्ख बनाउन सक्नुहुन्छ तर सधैं सबैलाई मुर्ख बनाउन सक्नुुहुन्न। हामीकहाँ अशिक्षा, गरिवी, अज्ञानता छ- झुठा कुरा पस्किएर भ्रमको खेती गर्नु हुँदैन। आजको दुनियाँमा आधुनिक प्रविधिका बारे सोच्ने हो। तर, जनतालाई भूठको कुरा गरेर, राष्ट्र अलमल्याएर ठुलो राष्ट्रघाती काम भइरहेको छ।
बाह्रबुँदे, शान्ति सम्झौता, अन्तरिम संविधान, तीनबुँदे सबै टेबुलमा राखेर इमान्दार भएर राजनीतिक पार्टीले छलफल गर्ने हो भने निकास निस्कन्छ। अबको दुनियाँमा तपाईं कुनै एउटा पार्टीको प्रणाली, कुनै तानाशाही लाद्न सक्नुहुन्न। नेपाली जनताको ज्ञानको चेतना हामीले विकास गर्न नसकेको र गरिबी भए पनि धेरै माथि छ। जनताको माग हामीले बुझेनांै भने राष्ट्रप्रति घात गरिरहेका हुनेछौं। झुठो कुरा गरेर हामीले सन्ततिलाई के दिदैंछौ?
राष्ट्र सबैभन्दा माथि छ, त्यसपछि पार्टी, त्यसपछि दर्शन। अहिलेको युगमा सबै दर्शनका राम्रा कुरा लिने हो। जुनसुकै दर्शनका राम्रा कुरा लिएर समायोजन गर्न सकिन्छ। सबै जनताका कुरा संविधानसभामा पुग्नुपर्यो। करिब ३ करोड नेपालीको प्रतिनिधि संविधानसभा पूरा समावेशी छ। सबै कुरा त्यहींबाट छलफल गरेर हामी राष्ट्रका लागि राम्रो काम गरौं। तर, संविधानसभाभन्दा बाहिर पार्टीहरू छलफल गर्छन्। नेपालीको सार्वभौम संस्था त संविधानसभा हो। राष्ट्रहितमा राम्रा काम त्यहींबाट गरौं। संविधानसभालाई केन्द्रविन्दु बनाउनुपर्यो। राष्ट्रियता, लोकतन्त्र, शान्ति र संविधानका विषय संविधानसभामा आउनुपर्यो।
मलाई चिन्ता भइरहेको छ- यत्रो ठूलो राजनीतिक परिवर्तन हामीले सम्हाल्नै नसक्ने पो हौं कि? ६० वर्षको लोकतान्त्रिक इतिहासमा अहिले हामी राजतन्त्र समाप्त गरेर इतिहासको गम्भीर मोडमा छौं। यो लोकतान्त्रिक प्रणाली पनि संस्थागत गर्न सकेनौं भने हामी असफल हुनेछौं। अर्थतन्त्र खत्तम भएको छ, जातीय, क्षेत्रीयताका कुरा उठेका छन्। यसले मलाई झन् चिन्ता हुन्छ।
यी सबै विषय संविधानसभामा मन्थन गरेर अमृत निकाल्ने काम हामी नेपालीको हो। संसारको इतिहास छ, हामी लड्दैमात्र गयौं भने यसको अन्त्य कहिल्यै हुँदैन। कहिँ न कहिँ पूर्णविराम दिनैपर्छ। नेपालीले यो देशमा फेरी द्वन्द्व धान्न सक्तैनन्।
परिवर्तनलाई राजनीतिक पार्टीले सम्बोधन गर्न सक्छन् कि सक्तैनन भन्ने चिन्ता छ जनस्तरमा। त्यो चिन्ता मलाई छ तर म निराश भइसकेको छैन। विगतका हाम्रा अनुभव, दक्षिण एसियाका अनुभव र विश्वका राजनीतिक अनुभवका आधारमा धेरै खेल्नु भएन।
(विश्वमणि पोखरेलसँग कुराकानीमा आधारित)
प्रकाशित: २१ भाद्र २०६७ २१:३६ सोमबार