सरकारले बनाएको घरको डिजाइन उनीहरूको संस्कृतिअनुसार नभएपश्चात् उनीहरूकै पहलमा ह्योल्मो डिजाइन पास गरेका छन्। सबै नसके पनि एउटा मात्रै भए पनि ह्योल्मो डिजाइन अनुसारको झ्याल बनाउने प्रयास गरिरहेका छन्।
तिम्बुको झोलुङ्गे पुल तरेर उकालो लाग्दा खामसुङ मेमेको घरको नुन, चिया र उनको मीठो मुस्कानले घ्याङ्गुलसम्मको उकालो पार गर्न ऊर्जा थप्यो। उकालो लाग्दै गर्दा बारीको डिलबाट माइला र सुनबहादुर तामाङ ढुङ्गा बर्साउँदै थिए। बाँदरले कोदोको बाला खाने र नल छुकुनी परी दुःख दिएकाले बाँदर लखेटेका रहेछन्। हेलम्बु लाङ्टाङ राष्ट्रिय निकुन्जभित्र पर्छ। हेलम्बुका प्रायः समुदाय बाँदरलगायत वन्यजन्तुहरूबाट आक्रान्त देखिन्थे। किसानको अन्न बाली जनावरले खाने र नष्ट गर्ने भएकाले परिवारको एक न एक सदस्य घर छोड्न पाउँदैनन्। तर पनि रातमा बँदेल मृगलगायत जनावरले दुःख दिने गरेकै छ।
तिम्बु ककनी तार्केघ्याङ मोटरबाटोको दायाँबायाँ अम्रिसो झाँगिएको देखियो। यसै गरी बाटोको दायाँबायाँ अम्रिसो खेती गर्ने हो भने जनावरले दुःख दिएकाले विकल्पका रूपमा रहने र भूक्षय कम गर्नका लागि पनि सहयोग पुग्ने देखिन्छ। इलामलाई पाँच ‘अ’ले चिनिन्छ। अम्रिसो, अलैँची, अकबरे खुर्सानी, अदुवा र अर्थोडक्स चिया। हेलम्बु र इलामलाई दाँज्ने हो भने भूबनोट, माटो र हावापानी मिल्छ। हेलम्बुमा लगाएको अम्रिसो, अलैँची र चियाका बिरुवाले त्यसको छनक देखाएको छ। गत वर्षदेखि हेलम्बु गाउँपालिकाले हेलम्बुका समुदायलाई चियाको बिरुवा लगाउन प्रोत्साहन गरेको छ। यो पनि बाँदर लगायत जनावरले दुःख दिने ठाउँको वैकल्पिक खेती हुनसक्छ।
उकालो लाग्ने क्रममा एक गाइडसहित जर्मन दम्पती भेटिए, ६० र ६५ वर्षका ती दम्पती हेलम्बु आएको यो तेस्रो पटक हो। ट्रेकिङका लागि उपयुक्त भएकाले उनीहरू यो समयमा तिम्बु, तार्केघ्याङ, नाकुते, मेलम्ची घ्याङ हुँदै रसुवा पुग्छन्। हेलम्बु छुट्टै संस्कृति, भेषभूषा र रहनसहनका कारणले यस क्षेत्रमा उनीहरूको आकर्षण बढेको रहेछ। भूकम्पअघिको घरको बनावट, होमस्टे र हेलम्बुको वातावरणले उनीहरूलाई लोभ्यायो र फेरि आए। यी दम्पतीको भूकम्पपछिको भने पहिलो भ्रमण हो।
३ घण्टाको यात्रा पार गरी तेम्बाथान पुग्यौँ। हेलम्बु गाउँपालिका वडा नं. १, हेलम्बुको तेम्बाथानमा ४० घर परिवार एकीकृत रूपमा घर बनाइरहेका थिए। कति घर बनिसकेका, कति बन्ने तरखरमा। हेलम्बु गाउँपालिकाले यो बस्तीलाई ह्योल्मो संस्कृति अनुसारको घर बनाउनुपर्छ भनेर तालिमसमेत दिएको रहेछ। समुदाय उत्साहित थिए। झ्याल कुँद्न आफैँ लागिपरेका थिए। भूकम्ले आवास गुम्यो, जीविका गुम्यो। सँगै संस्कृति पनि गुम्छ कि भन्ने उनीहरूको चिन्ता र चासो देखिन्थ्यो। त्यसैले पनी उनीहरूले आवास निर्माण ढिला सुरु गरेको बताउँथे। घरको बनावट हेर्दा आधा परम्परा र आधा आधुनिकता झल्कने थियो। जो होस् यस्ता खाले एकीकृत बस्तीले सामाजिक भावनाको उपस्थित भने गराउँछ। र, विकासका हरेक पूर्वाधारहरू निर्माण गर्दा कम खर्चिलोसहित व्यवस्थापन गर्न सहज हुने देखिन्छ। तेम्बाथान एकीकृत बस्तीपछि घ्याङ्ग्युल पुग्दा एउटा छुट्टै रमाइलो कुना थियो। मेलम्ची, दुवाचौर पाल्चोक सेर्माथाङ, छिमिघ्याङ हुँदै पदमार्गीहरू घ्याङ्गुल बसेर तार्केघ्याङ, नाकुते हुँदै मेलम्ची घ्याङ जाने बीच भाग थियो, घ्याङग्युल। ४६ वटा घरमा ८० जनामा भेट्न पनि मुस्किल थियो। धेरै ज्येष्ठ नागरिकहरूले घर समालेका थिए। तर पनि उनीहरू खुसी छन्। अहिले बाटोले गर्दा सामग्री ढुवानीमा सहजता भएकाले त्यति दुःख नभएको उनीहरूको मुस्कानबाट थाहा हुन्थ्यो।
७ वटा घरमा होमस्टे र एउटा सानो होटल छ। उनीहरूले होमस्टेमा २५ देखि ३० जना सम्मलाई खान र बासको व्यवस्था गर्न सक्छन्। दावा र छिरिङ शेर्पाको ४ जनाको परिवार छ। छोरा र छोरी काठमाडौँमा बसेर पढ्छन्। तर, त्यो परिवारको आम्दानीको स्रोत होमस्टे नै हो। उनले ५ देखि ७ जनासम्म होमस्टेमा व्यवस्थापन गर्न सक्छन्। उनीहरूको आग्रह पनि यस्तै हुन्थ्यो। तपाईंहरूको चिनजानको मान्छे पठाइदिनोस् है। हेलम्बुको जीविको एउटा मुख्य स्रोत होमस्टे हो। यसलाई अझ व्यवस्थापन गर्न सके हेलम्बुको आर्थिक पुनर्निर्माणको पाटोमा सहयोग पुग्ने देखिन्छ।
घ्याङ्ग्युलमा पनि बाँदर, बँदेल र मृगले दुःख दिन थालेपश्चात् निमा शेर्पाले ७ सय स्याउका बिरुवा लगाएका छन्। यसपालिबाट स्याउ फल्न थालेको छ। बँदेल र मृगले रातमा दुःख दिन्छ। बाँदरले दिनमा मात्र। त्यसैले कुकुर राखेर र आफू बसेर स्याउ जोगाउन सकिन्छ भन्ने लागेर स्याउ खेती सुरु गरेको बताए। हेलम्बुको हावापानीमा सुहाउँदो स्याउ खेती पनि अन्य खेतीको विकल्पका रूपमा लिन सकिन्छ। पहिला पनि हेलम्बुमा स्याउ खेतीका रूपमा चिनिन्थ्यो।
हेलम्बुमा आलुखेती बढी हुन्थ्यो। हाल बँदेलले आलुखेतीलाई दुःख दिन थालेपश्चात् कतिले किंवी खेतीको सुरुवात गरेका छन्। विशेष गरी घ्याङग्युल, नाकुते र ठुलढुङ्गामा किंवी खेती लगाएका छन्। यस पटक घ्याङ्ग्युलमा मात्र दुई हजार केजीभन्दा बढी उत्पादन भयो। सुरुमा कहाँ बिक्री गर्ने भन्ने चिन्तामा थिए। किंवी पाक्न थाल्यो। तर किन्ने माछे भएनन्। अब अर्को वर्ष किंवी काट्नुपर्छ भन्ने सोचमा थिए। पछि बजार र समुदायमा पुग्दा सवै किंवी बिक्री भयो। त्यसपश्चात उनिहरू हौसिएका छन्, किंवी खेतीप्रति।
घ्याङ्ग्युलको परिचय यति मात्र दिँदा अन्याय हुन्छ। यो एउटा अर्गानिक गाउँ पनि हो। यहाँ प्राङ्गारिक मलबाहेक अरू मल जमिन तथा बालीमा प्रयोग हुँदैन। प्राकृतिक स्रोतलाई सहीरूपमा भरपुर उपयोग गरी उत्पादनमा लगाउनुपर्छ। तर उत्पादन गर्दा विषादी प्रयोग गर्नुहुँदैन। यदि खेती गर्दा विषादी प्रयोग गरिन्छ भने त्यो हिंसा हो। त्यसैले नाश हुने हिसाबले प्राकृतिक स्रोतको उपयोग गर्नुहुँदैन भन्ने कुरा त्यो समुदायबाट सिक्न सकिन्छ। प्रकृतिको मात्र हैन, कुनै पनि कुराको हिंसा गर्नुहुँदैन भन्ने कुरा त्यो समुदायले बुझेको छ। त्यसैले उक्त समुदायलगायत हेलम्बुमा जीव जनावर लगायत वस्तुको कारमाट गर्न निषेधित छ। समुदायमा ढलेका आवास लगायत अन्य संरचना बिस्तारै उठाउँदै छन्। ह्योल्मो संस्कृतिअनुसारको घर निर्माण कसरी गर्ने भन्नेमा चिन्तित पनि छन्। सरकारले बनाएको घरको डिजाइन उनीहरूको संस्कृतिअनुसार नभएपश्चात् उनीहरूकै पहलमा ह्योल्मो डिजाइन पास गरेका छन्। सबै नसके पनि एउटा मात्रै भए पनि ह्योल्मो डिजाइन अनुसारको झ्याल बनाउने प्रयास गरिरहेका छन्।
प्रकाशित: ११ माघ २०७५ ०४:२१ शुक्रबार