नेपाली समाजमा तुलनात्मक रूपमा उद्यमशीलता वा व्यावसायिकताको कमी छ। धेरै समयसम्म जीविका चलाउने हिसाबमा चलेका नेपाली आर्थिक क्रियाकलापहरू व्यावसायिक बन्ने क्रममा आज पनि प्रयासरत त छन् तर निरुत्साहित अवस्थामा छन्। धेरै समयसम्म संसारसँग एक्लिएर बस्नुको असर पनि हुन सक्छ, नेपाली समाजमा उद्यमशीलता र व्यावसायिकताको प्रवेश धेरै ढिलो नै भएको पाइन्छ। खास गरेर १९९० को परिवर्तनपछि मात्र नेपालीहरू विदेशिने वा विदेशी पर्यटकहरूलाई स्वागत गर्ने अभियानहरू सुरु भएपछि आम नागरिकहरू आफ्ना घरेलु उत्पादन बिक्री हुनसक्छन् भन्ने सोचमा लागेको पाइन्छ। नेपाली आमसमाजमा व्यावसायिकताको प्रवेश पनि त्यही समययता बढ्न सुरु गरेको देखिन्छ। यी सबैको असर नेपालीहरूको व्यावसायिक व्यवहार वा मानसिकतामा आज पनि देख्न पाइन्छ। आमरूपमा घरमा बढी भएका तरकारी, फलफूल वा दही, दूध बेच्न सकिन्छ वा बजारमा बिक्छ, बेच्नुपर्छ भन्ने सोचको विकास केही दशकयता मात्र सुरु भएको हो।
व्यवसायी युगको तीव्र विस्तार हुँदै गर्दा खुम्चिँदै गएको नेपाली व्यावसायिक पहिचानमा आजको यथार्थ हो। कोरियन किम्ची विश्व बजारमा स्वादिलो परिकारका रूपमा निर्यात भइरहँदा नेपाली सिन्की आज पनि गाउँको सहजै पाइने सस्तो कोसेलीमै सीमित छ। कर्ण फ्लेक, मुसेली, ओट, हर्लिक्सजस्ता उत्पादनहरू सात समुद्र पार गरी नेपालका गाउँसम्म पुग्दासमेत नेपालमा मकै, चामल, गहुँ, जौ वा भटमासबाट बन्ने परम्परागत परिकार गाउँबाट समेत विस्थापित बन्दै गएका छन्। कुकिज, बिस्कुट वा चाउचाउ व्यस्त जीवनमा सहज खाजा बन्दा नेपाली सीपका रोटीका विभिन्न परिकार वा घरेलु सीपका अनेकौँ उत्पादन बजारमा बिक्री गरिने वस्तु बन्न सकेका छैनन्।
हाम्रा पुर्खाबाट हस्तान्तरण हुँदै आएका परम्परागत सीपबाट बन्ने दैनिक जीवनका सामग्रीहरू बाबियो, सनपाट, पटुवाबाट बन्ने डोरी, दाम्लो, नाम्लोको स्थान आयातित प्लास्टिक डोरीले लिइसके, चोयाचित्राबाट बन्ने घरेलु मान्द्रो, भकारी, डोको, छिट्वा, झापी, टोकरी, थुन्से, ठुइलो, बिन्ठी, स्याँउ–स्याँगु–घुम, छत्री सबै सबै प्लास्टिकका बकेट, ड्रम, स्टोरेज -याक, ट्रे, छाता, रेनकोट वा यस्तै प्रकृतिका वस्तुबाट विस्थापित भइसके वा हुँदै छन्। दैनिक जीवनका हरेक पक्षमा यस्तै खालका परिवर्तनलाई आजको विकासका रूपमा हामी सहर्ष स्वीकार गर्छौं। जहाँ सहजता, सुलभताका कारण आफ्ना परम्परागत वस्तुहरूलाई आधुनिक अनुसन्धान वा आविष्कारले सिर्जना गरेका उत्पादनले पुनःस्थापना गर्न हामी बाध्य छौँ। नेपाली जीवनका दैनिक व्यवहार वा व्यवसायमा प्रयोग हुने वस्तुहरू जुन परम्परागत रूपमा नेपालकै सीप र साधनका उत्पादनले चल्ने गरेका थिए आज प्रायः औद्योगिक उत्पादनबाट विस्थापन भएका छन्। यो स्वाभाविक वा प्राकृतिक प्रक्रिया हो, तर दुखद् त यस मानेमा हो कि औद्योगिकीकरणको यो प्रविधि पुस्तामा आइपुग्दा समेत नेपालका कुनै पनि सीप वा साधनको औद्योगिकीकरण हुन सकेनन्।
हाम्रा बालीघरे दर्जीलाई फेसन डिजाइनर बनाउन सकिन्थ्यो होला, आरनहरू यन्त्रशाला बन्न सक्थे, अल्लोको धागो होस् वा भेडी गोठहरूले अहिलेका चल्तीका बजारिया कपडालाई प्रतिस्पर्धा गर्न सक्थे, हाम्रा छालाका शिल्पीहरू सुज डिजाइनर बन्न सक्थे, सालका पात गाँसेर बनाउने दुना र टपरीले संसारकै खराब उत्पादन प्लास्टिकका प्लेटहरूलाई प्रतिस्थापन गर्न सक्थे, कुमालेका सीपले पर्सिलियनका उत्पादनको स्थान लिनसक्थे, यस्ता नाम गन्दै जाँदा निकै लामो सूची सबैका मनमा अवश्य पनि होलान्। यहाँ यो विषय उठान गर्नुको अर्थ हामीले अवसरहरूलाई कहाँ छोड्दै छौँ ? वा कहाँबाट सुरुआत गर्न सक्छाैँ भन्ने हो। जब देशको कुरा उठ्छ सबैलाई यो देश दुख्छ, नेपाली जाति देश बोकेर हिँड्ने सुरवीर जात हो ? तर आजको वाणिज्य युगमा नेपालको पहिचान विश्व बजारमा कसरी स्थापित गर्ने भन्ने हो। नेपाल आज विदेशी उत्पादनका लागि सबैभन्दा सहज बजार बनेको छ, जहाँ गुणस्तरहीन वस्तुहरू समेत सहज रूपमा लोकप्रिय बन्न सकेका छन्। नेपालीहरू विभिन्न मुलुकमा आफ्नो ज्ञान र क्षमताको श्रेष्ठता स्थापित गर्न सफल छन् तर नेपाली वस्तुहरू आफ्नै मुलुकमा समेत बिराना बन्दै गएका छन्। आजको विश्व बजारमा नेपाली वस्तुको स्थान सुरक्षा नेपाली पहिचान र व्यावसायिक सार्वभौमिकतासँग पनि जोडिएको विषय हो। जसको विकासको सुरुआत आफ्नै बजारमा आफ्ना वस्तुहरूको बजार विकासबाट मात्र सम्भव छ। नेपाली उत्पादनको बजार विकास आजको मूल विषय हो।
राजनीतिक परिवर्तनपछि आज हामीसँग तीन तहका सरकार छन्। नेपालका हरेक स्थानमा जनताले आफ्नो दैनिक जीवनमा आफ्नो स्थानीय तहको सरकारलाई भेट्न वा सहकार्य गर्न सक्ने अवस्था छ। स्थानीय सरकारसँग पनि जनस्तरका काम गर्न प्रायः सबै अधिकार संविधान प्रदत्त छन्। त्यो भन्दा माथि तर जनताको सहज पहुँचमा नै प्रदेश सरकार छ। जो आफ्नो प्रदेशमा मात्र केन्द्रित भई काम गर्न निर्वाचित छ। सबै तहमा आआफ्ना साधन स्रोत व्यवस्थापनको अधिकार संविधानमा नै व्यवस्था गरिएका छन्। सहकारिताको मोडेलमा सबै तहका सरकारको सहकार्यको व्यवस्था गरिएको छ।
नेपालको वैदेशिक व्यापार अहिले एकतर्फी ट्राफिक जस्तो बनेको छ। यो दोहोरो मार्ग बन्ने कुनै लक्षण देखाउने क्रममा पनि देखिँदैन। वैदेशिक रोजगारले प्रेषित डलरले नेपालमा विदेशी उत्पादनको बजार फस्टाउँदै गएको छ। नेपालका उद्यमी र व्यवसायीहरू व्यापारी भएका छन्, जो कमिसनमा मात्र व्यापार देख्ने गरेका छन्। सीमित संख्यामा रहेका उद्योगहरू पनि स्थानीय कच्चा पदार्थ वा साधन स्रोतसँग जोडिएका छैनन्। प्रायः त केवल देशको नाममा रहेका छुट र कोटाको उपभोगमा बाँचेका छन् भन्दा समेत अतिशयोक्ति नहोला।
यसो भन्दैमा नेपाली समाज सम्पूर्ण रूपमा आत्मसमर्पण गरेर आफ्ना सबै स्थानीय सीप र साधनमा आधारित उत्पादनलाई छोडेर बसेका छन्, नेपाली उत्पादनको अस्तित्व नै समाप्त भइसक्यो भन्ने हुँदै होइन। तर नेपाली उत्पादनको अवस्था विदेशी उच्च प्रविधि र बजारीकरण संयन्त्रको चपेटामा छेउ–कुनामा परेको भने अवश्य हो। नेपाली उत्पादन प्रायः घर, निश्चित समुदाय, समाज वा क्षेत्रमा जीवित रहेका छन् र बाँच्नलाई संघर्ष गरिरहेका छन्। उनीहरू आफ्नो परम्परागत शैलीमा सुधार ल्याउन नसक्दा राष्ट्रिय बजारबाट समेत खुम्चिँदै स्थान विशेषमा सीमित हुन पुगेका छन्। बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूले घचेट्दै छेउ कुनातिर पु-याइएका छन्।
यो अवस्थामा आज हाम्रासामु चुनौतीसँगै सुनौलो अवसर पनि छ। स्थानीय सरकारसमेत आफ्ना नियम–कानुन बनाउने हैसियतमा छन्। सबै तहलाई स्थानीय रोजगारीको सृजना गर्नुपर्ने, उद्यम व्यवसायको विकास गर्नुपर्ने दबाब छ। त्यसैले आजको यो अवस्थामा सबै तहले आफ्नो व्यवस्थापकीय र कार्यपालिकाको अधिकार प्रयोग सक्छन् र स्थापना गर्न सक्छन् नेपाली वस्तुका लागि संगठित संरचनागत स्थानीय बजारहरू, जहाँ नेपाली र स्थानीय वस्तु मात्रले प्रवेश पाउने र किनबेच हुने व्यवस्था गर्न सकिन्छ। जहाँ स्थानीय स्तरमा उत्पादित थोरै वा ससाना उत्पादकले आफ्ना उत्पादनलाई समेत सहज रूपमा बेच्न पाउने विशेष व्यवस्था गर्न सकिन्छ। उनीहरूलाई विदेशी उत्पादनसँग प्रतिस्पर्धी बनाउन सीप र प्रविधिको विकास र लगानीमा सहयोग गर्न सकिन्छ, कमसेकम निश्चित मात्राको स्थानीय माग आफ्नै उत्पादनबाट पूर्ति गर्दै जाने गरी योजना बनाई सहयोगी वातावरणको सृजना गरिदिन सकिन्छ। स्थानीय वस्तुको संगठित बजार हरेक गाउँ, टोल र वडा स्तरसम्म स्थापना गर्न प्रेरित गर्न सकिन्छ, कमसेकम एक–दुई उत्पादन हरेक घर वा गाउँ–टोलमा हुन्छ नै तर व्यावसायिक स्तरमा उत्पादन नहुँदा बिक्री गर्न बजारसम्म पुग्न सकेका हुँदैनन्। वातावरणमैत्री स्थानीय उत्पादनलाई बढावा दिन आयातित वस्तुहरूमा वातावरणीय मापदण्ड, स्वास्थ्य मापदण्ड जस्ता जनहितका स्थानीय मापदण्डको निर्माण गरी कार्यान्वयन गर्न सकिन्छ। स्थानीय स्तरमा आफ्ना साधन–स्रोत र सीपले विस्थापन गर्न सकिने आयातित वस्तुहरूको पहिचान गरेर योजनाबद्ध रूपमा स्थानीय उत्पादन बढाउन सहयोगी भूमिका निर्वाह गर्न स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन्। सीप र क्षमताको विकासमा सहयोग, गुणस्तर र उत्पादकत्व बढाउने परिस्थितिको सृजना, बजार विकासमा सहयोग जस्ता व्यवस्थाबाट स्थानीय उत्पादनलाई बढावा दिने काम स्थानीय तहमा प्रदेश सरकार समेतको सहकार्यमा तत्काल नै सुरु गर्न सकिन्छ।
प्रदेशहरूले समेत आफ्नो उत्पादन क्षेत्रहरू पहिचान गरी स्थानीय तहसँगको सहकार्यमा क्षमता अभिवृद्धिमा केन्द्रित कार्यक्रमको सुरुआत गर्न आफ्नै अधिकार र स्रोतका सम्पूर्ण आधारहरू तयार नै देखिन्छन्। आफ्नै साधन स्रोत र स्थानीय तहसँगको सहकार्यमा प्रत्येक प्रदेशले आफ्नो व्यावसायिक पहिचानलाई सहज रूपमा स्थापना गर्न सक्छन्। जुन दिन सबै तहले आफ्नो कार्य क्षेत्र, अधिकार अनुसार आआफ्नो साधन स्रोत, उत्पादन क्षमता, सम्भावना र दक्षताको पहिचान गरी कार्ययोजना कार्यान्वयनमा ल्याउनेछन् त्यति बेलादेखि नै देशले परिवर्तनको अनुभूति गर्न समेत सुरु गर्नेछ। यसर्थ, संघीयताको सुरुआती कालमा बनेका सबै तहका प्रथम सरकारहरूले आआफ्ना तहहरूमा गाउँ, टोल, वडा, स्थानीय केन्द्र र प्रदेश केन्द्रहरूमा केन्द्रित रही नेपाली उत्पादन मात्रको ‘नेपाली’ बजार स्थापना र विकासको सुरुआत यसै आर्थिक वर्षदेखि गर्न सकेमा नेपाली उत्पादनले आफ्नो स्थान ग्रहण गर्न विलम्ब गर्नेछैन, स्थानीय सीप र क्षमताको विकासमा समय लाग्नेछैन। आजका नेपाली विश्व बजारमा नेपालको स्थान सुरक्षित गर्ने हैसियत राख्छन् भन्ने प्रमाण चाँडै नै स्थापित हुनेछ। नेपालीहरू पुगेका सबै मुलुक र स्थानहरू नेपाली वस्तुका बजार बन्नेछन्।
प्रकाशित: ६ पुस २०७५ ०२:२८ शुक्रबार