८ वैशाख २०८१ शनिबार
विचार

फाल्गुनन्द अवतार आत्मानन्द

मुहिगुम अङसीमाङ आत्मानन्द लिङदेन महागुरु फाल्गुनन्दको पुनवतार हुन भनी किरात धर्ममा पूज्यनीय मानिन्छ। दर्शन दृष्टिकोणले किरात धर्म दर्शन अवतारवादमा विश्वास गर्छ, अवतारवादी हुनाले आत्मावादि र नआत्मावादी अर्थ नै परमात्मावाद हो। आत्मा र परमात्मा बीचको समन्वयवादलाई अनात्मावादी भनिइएको मध्यममार्गी हो। वस्तुतः किरात धर्मको शास्त्र सामाजिक मुन्धुममा आत्मावाद, अनात्मावाद, परमात्मावाद, त्रितत्ववाद, मुन्धुमवादमा पाइन्छ भन्ने व्यख्याताका महान् दार्शनिक आत्मानन्द लिङदेनज्यूलाई महागुरु फाल्गुनन्दको पुनःअवतार मानिन्छ। किरात धर्म वाङ्मयमा येहाङ, लेप्मुहाङ, कान्देनहाङ, सिरीजङ्गाहाङ, माबोहाङ, फाल्गुनन्दपछि आत्मानन्द गुरुदेवलाई सातौँ अवतारका रूपमा पूज्यनीय विराजमान हुनुहुन्छ।

जन्म र मरण अनिवार्य हो, किन्तु जन्मनु ठूलो कुरा हो, जन्मलाई सृष्टि भनिन्छ, सृष्टि ईश्वरीय देन प्रकृतिको नियममा विश्व ब्रह्माण्ड र जीव पशु पक्षी, मनुष्य यही विधिविधानको चक्रमा निरन्तर गुज्रिरहेछ। सृष्टि क्रममा, गति, मति, प्रगति र परमगति हुने गर्छ। अगतिलाई विसंगति भनिन्छ, असंगतलाई संगति दिन युगपुरुषहरूको ज्ञानदर्शन जीवनमा वरण गर्न जरुरी छ। यही मान्यतामा २०११ संसिर १८ गते इलाम इभाङमा जन्मावतार हुनु भएका बालागुरुले माइको किनार फुलुङ्गी वन ओढारबाट तपस्यारत हुँदा ध्यानबाट सिद्ध गर्नु भएको ज्ञान मानव मोक्षको कोशेढुंगा मात्र होइन नदी तर्ने डुंगा भएको छ। त्रिकालदर्शी आत्मानन्दको ज्ञानबोध परम परमेश्वर माङ दर्शनमा आत्मा साक्षात्कार गरी प्रथम देववाणीमा “मुहिगुम अङसीमाङ फाल्गुनन्द रे कुयाम्बक चोगेसुरेआङलक थाङेओ” किरात धर्मका महागुरु फाल्गुनन्दको महाज्ञान दर्शन पूर्ण गरेर मात्र आउनू भन्ने माङइङघङ ईश्वरवाणी दिनु भई उहाँको अवतरण भएको १०८ दियो कलश, सेतो कपडा बिछ्याएर “माङलाङताक्मा” स्वागतम गरेको सर्वत्र स्वीकार्य रहेको छ। आत्मादर्शी ज्ञानीमुनिले सिद्ध गरेको नै सिद्धान्त बन्छ। महागुरुको महाज्ञान आत्मानन्दरूपमा पुनःअवतार हुनु किरात धर्मावलम्वीहरूको सौभाग्य औ सगौरव हो। देवसिद्धिबाट देवविद्या देवज्ञान र राजसिद्धिबाट राजज्ञान हुन्छ। विश्वको जनाधार नै देवनीति र राजनीति दुईधार हुन। आध्यात्मिकता धर्मबाट मोक्ष प्राप्ति र राजनीतिबाट राज्यप्राप्ति गरी देवशासन र राज्यशासनबाट प्रशासन, अनुशासन कायम गराउन आचरण, विचरण विधि, विधान, संविधान चाहिन्छ। यी दुई विधाबाट मानवमात्रले साधन बनाई साधकले साध्य गरेको संसारभर उदाहरणीय छ। ध्यानबाट ज्ञान र ज्ञानबाट विज्ञानको उत्पत्ति हुने शास्त्र बमोजिमको अस्त्र निर्माण गरी अणु अणु बनाएर अस्त्रास्र्थको प्रतियोगात्मक भइरहेको पाइन्छ। मूल ज्ञान ध्यान हो भने अरुज्ञान भूल हो, भूलवश विज्ञान अज्ञान हुन्छ, विज्ञानले बिगार्छ, ज्ञानले सपार्छ, विश्वले एक दिन मलाई सोध्ने दिन आउँछ भनाइका स्रोत आत्मानन्दको आत्माज्ञान राज्यले पालना गरेमा नेपाल सुखी, शान्ति र आनन्दी स्वर्गमयी बन्छ। ज्ञानका खानी आध्यात्मिक र विज्ञानका वैज्ञानिक बीचको दूरी यति मात्र हो। ज्ञानमा “वि” थपिएपछि खतरा हुन्छ, वैज्ञानिकले बनाएको विज्ञानले आपूm ध्वस्त हुन्छ भने ज्ञानीले बनाएको आत्माज्ञानले स्वर्ग तर्छ।

मित्रु र शत्रु, पक्ष र विपक्ष सबैलाई सम्मान गर्नु, दुश्मनको रक्षा गर भन्ने महावाणीका महात्मा आत्मानन्द जिउँदो देवपुरुष, युगको युगपुरुष, ज्ञानको ज्ञानपुरुष, आत्मा–अनात्मा–परमात्मा जानेर आत्मानन्द आनन्द हुनु भएको जीवनीमा उल्लेख छ। पृथ्वी सतहदेखि माथि ९ भुवन, पृथ्वीमुनि ९ भुवन जम्मा १८ भुवनको ब्रह्माण्डका व्याख्याकार गुरुदेवले आजको ४ वर्ष पूर्व सार्वजनिक वाणीमा शून्यकाशमा १ सूर्य ८ ताराहरूले परिक्रमा गरिरहेको आत्मा अनुभूत भएको घोषणा गर्नुभएको १ वर्षपछि नासाले पत्ता लगाएको सूचना सार्वजनिक भएको स्मरण गर्छु भने आजका वैज्ञानिक र किरात मुन्धुमविद्हरूले मुन्धुममा “मिक्फुरा लाजे खाम्फुरादेनबाट पृथ्वीमा आएको यथार्र्थ अनुसन्धान गर्न बाँकी नै छ। गुरुदेवका अनुसार “खाम्फुरा मिक्फुरा” पृथ्वीतलमा नै त्यस्तो भूमि छ कि वा अर्को लोकको वर्णन हो, भनाइप्रति संवेदनशील छैनौँ। जात जाति, भाषा भाषी, लिपि, संस्कार, भेषभूषा, गरगहणा, इतिहास र धर्म सापेक्ष कि निरपेक्षमा विवाद गर्नु ठीक होइन। संसारको लडाइँ यही ज्ञान र अज्ञानबीचको कारण विश्व सन्त्रास्त छ, संघर्ष, युद्ध, हिंसाले मानवीय द्वन्द्व चर्केको घाउलाई ज्ञान दबाइले मात्र शान्त गर्छ। विज्ञानलाई ज्ञानले मार्गनिर्देश गरे ज्ञान र विज्ञानको समन्वय गरी विश्वयुद्धका विध्वंस नीति रोक्न सकिन्छ, यसका लागि तिल, जौ, कुश, दुबो, ढुंगो, सुन, चाँदी पानी र मुन्धुम वाचन गरी विश्व शान्तिको शंखघोष गर्न सकिन्छ भन्ने भनाइका देवात्मा आत्मानन्दको २०७५ मंसिर १८ गते ६५ औँ जन्मोत्सवमा किरात चाड उधौली पर्व पूजाआजाका साथ सम्पन्न हुने संयोगमा माननीय उपप्रधानमन्त्री उपेन्द्र यादवज्यूको आवागमनलाई राष्ट्रिय सन्दर्भ सहिष्णुता तथा किरात धर्मावलम्वीहरूको गौरव मानिन्छ।

धर्मगुरु आत्मानन्दको देववाणी एउटा मुन्धुमको सानो अस्त्रले विश्व ध्वंस गर्ने ज्ञान छ भनिरहनु भएका गुरुको मूलभूत उद्देश्य “विश्व शान्ति र मानव एकता” मात्र परम लक्ष्य र परमज्ञान रहेको बताउनु भएको छ। विश्व शान्तिको यात्रा “म” बाट मनु मनासा वा मनुष्यले सुरुवात गर्न मनशान्ति गरी मनचीःतले बुद्धि शान्त र बुद्धि विद्याले आत्मा शान्ति हुनासाथ विश्व शान्ति हुन्छ, विश्व शान्ति नै मानव एकता हो। ईश्वर एक, धर्म एक, कर्म एक, मानव एक, पृथ्वी एक, संसार एक भएकाले अनेकतामा अनविज्ञता छ। यसका लागि काम, क्रोध, लोभ, मोह र घमण्ड अहंकारलाई ७ समुद्रमा बगाएर अग्निधुनीमा डढाएर खरानी बनाउने शक्तिशाली मन्त्रको मन्त्रदाता आत्मानन्द आत्माज्ञानी होइबक्सिन्छ। पुरुषार्थका चार अंग काम, धर्म, मोक्ष र अर्थको साधक, आहार, विहार, विचार र व्यवहारका धनीमानी, अखण्ड ज्ञानका खानीको मार्गदर्शन राष्ट्र, राष्ट्रियता, देश देशीयता, आत्मा, आत्मीयता, मानव मानवीयता, धर्म धार्मिकता, सहिष्णु सहिष्णुता कायम गर्न मनन अनुसरण गर्न राष्ट्रिय आवश्यकता भनाइका दाता हुन्। उहाँको ध्यान, ज्ञान, दान र भगवानको पूर्णता दिन बिर्तामोड लारुम्बा आत्मानन्द मार्गमा ६५ लाख मनोज्ञानी दान दिनु भएर सार्वजनिक मोटर बाटो खोलाइदिने ज्ञानवीर मात्र नभई दानवीर दानदाता गुरुदेव उदाहरणका हस्ती चेतनदाता, ज्ञानदाता र मुक्तिदाता हुन भन्नु अत्युक्ति हुनेछैन।

पृथ्वी घर हो, एसिया पाटा हो भने भूमिको सानो अंश नेपाल हो, यसलाई नेपाली पहिचान बोकेको विश्वधुरी सगरमाथा विश्वभरका ७ अर्ब मानिसको “माथ” हो, “शिखर” सागर हुनाले सगरमाथा मानव मात्रको मस्तिष्क, शिररुपी टुप्पी र दिमागरुपी माथको गरिमा मर्यादालाई परिणाममुखी, जनमुखी, धर्ममुखी, ज्ञानमुनी शान्तिमुखी बनाउन आफ्नो अवतारको उपादेयता बताउनु हुन्छ।

जीवेम शरदः शतम्
नित्य शुद्धं निराभाषं निराकार निरञ्जनम्।
नित्य बोध चिदानन्दं गुरोर्ब्रह्मा नमाम्यहम्।।

प्रकाशित: १६ मंसिर २०७५ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App