६ वैशाख २०८१ बिहीबार
विचार

गान्धी, अम्बेडकर र पुना प्याक्ट

हजारौँ वर्षदेखि आध्यात्मिक फासीवादी संस्कृतिबाट त्रस्त दलित/बहुजनको जीवन अन्धकार युगमा बितिरहेको थियो। सन् १९२० को आसपास दलित/बहुजनलाई बाबासाहेब डा. भीमराव अम्बेडकरको नेतृत्व प्राप्त भयो। सन् १९३० सम्म दलित/बहुजनको संघर्षलाई गान्धी र उनको दल कांग्रेसले अधिकतम उपेक्षा गरेको देखिन्छ। आधुनिक भारतको इतिहासमा १६ अगस्ट १९३२ दलित/बहुजनका लागि ऐतिहासिक दिन हो। यो दिन ब्रिटिस सरकारले पृथक् निर्वाचन मण्डल (सामुदायिक पंचाट) को घोषणा गरेको थियो। ब्रिटिस सरकारको यो निर्णय भारतको संवैधानिक इतिहासमा महत्वपूर्ण परिघटना हो। यो निर्णयबाट भारतीयहरूको सार्वभौम बालिग मताधिकार र पृथक् निर्वाचन मण्डलबाट सामुदायिक प्रतिनिधित्वको अधिकारलाई सैद्धान्तिक मञ्जुरी प्राप्त भयो। मुस्लिम, शिखजस्तै अस्पृश्यलाई हिन्दुभन्दा पृथक् पहिचानको मान्यता प्राप्त भयो। सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपबाट अलग अस्पृश्य समाजलाई तत्कालीन ब्रिटिस प्रधानमन्त्री रेमसे मैकडोनाल्डले राजनीतिक रूपमा पनि पृथक् मान्यता प्रदान गरे।

डा. अम्बेडकरको योग्य नेतृत्व, उनले गोलमेच सम्मेलनमा प्रस्तुत गरेको तथ्य र तर्कबाट ब्रिटिस सरकार सहमत भई जब पृथक् निर्वाचन मण्डलको घोषणा भयो गान्धी स्तब्ध भए। गान्धी र कांग्रेसका लागि उक्त निर्णय असह्य भयो। उनले ब्रिटिस सरकारको कडा विरोध गरे। उनी र ब्रिटिस सरकारबीच एक महिनासम्म पत्र व्यवहार भयो। उनले ब्रिटिस सरकारलाई सहमत गराउन सकेनन्। अन्तमा उनले २० सेप्टेम्बर १९३२ मा पुनाको यरवादा जेलमा अस्पृश्यले प्राप्त गरेको पृथक् निर्वाचन मण्डल तथा दुई मतको अधिकारको विरुद्धमा आमरण अनशन सुरु गरे। भारी दबाबको कारण डा. अम्बेडकर र हिन्दु प्रतिनिधिबीच २४ सेप्टेम्बर १९३२ मा पुना सम्झौता भयो जसले गर्दा अस्पृश्यहरूले पृथक् निर्वाचन र दुई मतको अधिकारबाट हात धुनु प-यो। १६ अगस्ट १९३२ मा प्राप्त अधिकारविरुद्ध गान्धीले २४ सेप्टेम्बर १९३२ मा गरेको ‘सत्याग्रह’ले खोस्यो। अस्पृश्यहरू आफ्नो समुदायबाट स्वतन्त्र प्रतिनिधि छान्नु सट्टा सबै हिन्दु समुदायबाट प्रस्तावित प्रतिनिधिलाई छनौट गर्न बाध्य भए। पृथक् निर्वाचनको सट्टा मिश्रित निर्वाचन मण्डल लागू भयो।

बीसौँ शताब्दीको आधुनिक भारतीय इतिहास गान्धी र अम्बेडकरबीचको टक्करको इतिहास पनि हो। अम्बेडकरले गान्धीलाई वैचारिक, राजनीतिक र नैतिक चुनौती दिएका थिए। गान्धी स्वराजका पक्षधर थिए। उनले ब्रिटिस साम्राज्यबाट मुक्तिलाई मूल कार्यभार मानेका थिए भने अम्बेडकर ब्रिटिस शासनसँगै ब्राह्मणवादबाट पनि मुक्ति चाहन्थे।

पुना सम्झौता (पैक्ट)लाई अम्बेडकर आफ्नो जीवनको सबभन्दा ठूलो हारका रूपमा व्याख्या गर्छन्। भारी दबाब, बौखलाहटपूर्ण समय, गम्भीर द्विविधाबीच पुना पैक्ट भएको थियो। दुई विकल्पमध्ये एउटा चुन्नुपर्ने बाध्यता थियो। अम्बेडकरसामु मानवताको नाताले गान्धीलाई निश्चित मृत्युबाट बचाउनुपर्ने कर्तव्य थियो। अर्कोतर्फ अस्पृश्यहरूको पृथक् राजनीतिक अधिकारलाई पनि बचाउनु थियो। उनले मानवताको आवाज सुने, साम्प्रदायिक पंचाटसँग सम्झौता गरी गान्धीलाई जीवन बचाए।

डा. अम्बेडकरपछि भारतीय राजनीतिक इतिहासमा कांशीराम एउटा यस्तो राजनेताको रूपमा उदय भयो, जसले भारतको संसदीय राजनीतिमा नयाँ धारको सुत्रपात भयो। २०औँ शताब्दीको सुरुदेखि भारतमा महत्वपूर्ण परिवर्तन सुरु भयो। सवर्ण हिन्दु स्वराजका लागि लडिरहेको थियो भने अर्कोतर्फ दलित बहुजन स्वाभिमानका लागि। गुलामहरू स्वतन्त्रता तथा स्वराजका लागि चिल्लाइरहेका थिए, गुलामका पनि गुलाम दलित/बहुजन युगाैँ पुरानो बन्धन, दासता र अपमानबाट मुक्तिका लागि चिच्याउँदै थिए जुन अन्यत्र कतै थिएन। मान्यवर कांशीरामले छ हजार जातजातिमा विभाजित अनुसूचित जाति, अनुसूचित जनजाति, पिछडा वर्ग र धर्म परिवर्तित अल्पसंख्यकलाई ‘हुकमरान’ बन्ने सपना दिए। जात होइन जमात निर्माण गर्ने सूत्र स्थापित गरे। जमात निर्माणको विचारधाराका रूपमा बहुजन विचारधारालाई स्थापित गरे। उनले दलित÷बहुजनको गैरराजनीतिक जरा मजबुत गर्न बामसेफ, डिएसफोर हुँदै बहुजन समाज पार्टी बनाए।

पुना पैक्टको ५० वर्षपछि २४ सेप्टेम्बर १९८२ मा कांशीरामले ‘चमचा युग’ पुस्तक लेखे, जुन दिन दलित÷बहुजनको वास्तविक प्रतिनिधि छनौट गर्ने अधिकार खोसिएको थियो, हिन्दुद्वारा प्रस्तावित उम्मेदवार दलित÷बहुजनमाथि थोपरिएको थियो। पुना पैक्टबारे अम्बेडकर भन्छन्, “एउटा चिरपरिचित भनाइ प्रयोग गर्ने हो भने हिन्दुको दृष्टिकोणमा संयुक्त निर्वाचन मण्डल एउटा ‘राटन बरो’ (जीर्ण–शीर्ण उपनगर) हो जसमा हिन्दुलाई एउटा अछुतको नामाङ्कणको अधिकार हुन्छ, जो नाममात्रको अछूत प्रतिनिधि हुन्छ। वास्तविक रूपमा उनीहरू हिन्दुको औजार (चमचा) हुन्छन्।” यही ऐतिहासिक भनाइलाई व्याख्या गरेका कांशीरामको विचारमा दलित/बहुजनलाई हिन्दुले संयुक्त निर्वाचन प्रणालीको माध्यमबाट चम्चा युगमा धकेल्यो। दलित÷बहुजनको वर्तमान राजनीतिक प्रतिनिधित्व सवर्णको औजारका रूपमा मात्र विकास भयो। सार्वभौम बालिग मताधिकारको कारण राजनीतिक सत्ताको मूल स्रोत दलित/बहुजन भएको हुनाले सवर्णले दलित/बहुजनभित्र संयुक्त निर्वाचन प्रणालीको माध्यमबाट चम्चाहरू निर्माण गरे। यस्तो दृश्य नेपालको राजनीतिमा पनि देख्न सकिन्छ।

गोलमेच सम्मेलनको समयमा गान्धीले अम्बेडकरलाई भनेका थिए, “डा. अम्बेडकर, तपाईंलाई के कुरा जानेर हैरानी हुनु पर्दैन भने हरिजनबारे अहिलेसम्म कसैले सोचेको छ भने त्यो म नै हो। हरिजनको वास्तविक प्रतिनिधि वा मुखिया मै हुँ।” गान्धी हरिजन शब्द प्रयोग गर्थे। हरिजन के हो ? हरिजन को हो ? हरिजन शब्द मनुवादी विचारधाराबाट सचेततापूर्वक विकास गरिएको हो। मनुवादअनुसार महिलाको कुनै जात हुँदैन। महिलाले जोसँग विवाह गर्छ उसैको जातको हुन्छ। महिलाको विवाह अति कम उमेरमै हुन्थ्यो। सानै उमेरमा विवाह हुने भएको कारण गौना गर्नुपथ्र्यो। गौना नभएसम्म माइतीघरमै बस्नुपथ्र्यो। गौना १० वर्ष देखि १५ वर्षबीच गरिन्थ्यो। गौना गर्ने अवधि बढ्दा कतिपय दुलहा केटाको मृत्यु पनि हुन्थ्यो। कतिपय महिला ससुराली जानुभन्दा पहिले, श्रीमान्सँग जीवन बिताउनुभन्दा पहिल्यै विधवा हुन्थे। हिन्दु समाजमा विधवाको पुनर्विवाहलाई घोर पाप मानिन्छ। विधवा विवाह सम्भव नहुँदा विधवालाई पीपलको सात फेरा लगाएर विवाह गराइन्थ्यो। पीपलसँग विवाहपछि महिलाहरू मन्दिरमा बस्नुपथ्र्यो। मन्दिरको सरसफाइ, रेखदेखसँगै उनीहरूले पूजारीसँग सम्बन्ध पनि राख्नुपथ्र्यो। त्यस सम्बन्धबाट जन्मिने बच्चालाई हरिजन भनिन्थ्यो। त्यस्तो ‘भगवान्को बच्चा’ कुनै दलित÷बहुजनको बच्चा हुँदैनथ्यो। किनभने मन्दिरमा सवर्णलाई मात्रै प्रवेशको अधिकार थियो।

गान्धीले पनि अस्पृश्यहरूलाई अपमानित गर्ने हरिजन नाम अँगाले। त्यसैले अस्पृश्यहरूको नजरमा उनी कहिल्यै महात्मा भएनन्। अस्पृश्यहरूका नेता अम्बेडकरको भनाइमा गान्धी शोषित पीडित समाजको मुखिया हुन सक्दैनन्। “गान्धीजी, इतिहासमा अनेकौँ महात्मा आयो र गयो। महात्मा आउनु र जानु हावाको झोकाजस्तै हो। हुन सक्छ, तपाईंले शोषित पीडित समाजको नेतृत्व गर्ने इच्छा गर्नुभएको होला, तर यो कुरा राम्रोसँग बुझ्नुस् ‘आमा र धाईआमा’बीच आकाश–जमिनको फरक हुन्छ। गान्धीजी, तपाईं यो समाजको धाईआमा’ हुन सक्नुहुन्छ, तर यसको असली आमा म नै छु।”

बीसौँ शताब्दीको आधुनिक भारतीय इतिहास गान्धी र अम्बेडकरबीचको टक्करको इतिहास पनि हो। अम्बेडकरले गान्धीलाई वैचारिक, राजनीतिक र नैतिक चुनौती दिएका थिए। गान्धी स्वराजका पक्षधर थिए। उनले ब्रिटिस साम्राज्यबाट मुक्तिलाई मूल कार्यभार मानेका थिए भने अम्बेडकर ब्रिटिस शासनसँगै ब्राह्मणवादबाट पनि मुक्ति चाहन्थे। दुवै जना नैतिक प्रेरणाका लागि धर्मका आवश्यकतालाई महसुस गर्थे। गान्धीको आदर्श समाज रामराज्य थियो भने अम्बेडकरचाहिँ बुद्धको प्रेरणाबाट स्वतन्त्रता, समता र बन्धुता आधारित समाज निर्माणका सपना देख्थे। गान्धी केवल राजनीतिक लोकतन्त्रको पक्षपाती थिए भने अम्बेडकरचाहिँ सामाजिक लोकतन्त्रको बुनियादमा राजनीतिक लोकतन्त्रको वकालत गर्थे। दुवै सत्याग्रही थिए, गान्धी नमक (नुन) सत्याग्रहबाट चर्चित भए भन्ने अम्बेडकर महाड सत्याग्रहबाट। नमक सत्याग्रह नुन बनाउने अधिकारसँग सम्बन्धित थियो भन्ने महाड सत्याग्रह अस्पृश्यहरूलाई पानी पिउने अधिकारसँग सम्बन्धित थियो। महाड सत्याग्रह हजारौँ वर्ष पुरानो वर्ण–जात व्यवस्थाको उत्पीडनको विरोधमा थियो भने नमक सत्याग्रह ब्रिटिस साम्राज्यको विरुद्ध। त्यही भिन्नताको छायाँ भारतीय राजनीतिमा अहिले पनि देखिन्छ, जसबाट नेपाल पनि अछुतो छैन।

(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन्)

प्रकाशित: १३ मंसिर २०७५ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App