१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

सहज सडक

यतिबेला हामीले भोगेका दुःखमा सबैभन्दा ठूलो हिस्सा सडकको पीडा हो। लाग्छ, समयमै सडक निर्माण र विस्तारको काम सकिने हो भने हाम्रा सुखका दिन पनि त्यहीँबाट सुरु हुनेछन्। सडकको निर्माण सम्पन्न भएपछि सुन्दर र फराकिला सडकका तस्बिर सामाजिक सञ्जालदेखि अखरबारसम्म फैलाउन हामी लालायित भएको देखिन्छ। कलंकीदेखि जडिबुटीसम्मका सुन्दर सडक दृश्यले हामी सबैको मन लोभ्याउने गरेको छ। तिनलाई जहिल्यै सामाजिक सञ्जालले ‘भाइरल’ बनाएका छन्। यसबाट बुझ्न सकिन्छ, हामीमा विकासप्रतिको उत्कट अभिलाषा छ। त्यसलाई हामी व्यक्त वा अव्यक्तरूपमा सार्वजनिक गरिरहेका छौँ। नारायणगढ–मुग्लिन सडक खण्डको ३३ किलोमिटर बाटो समयमा सम्पन्न नहुँदा हामीले भोगेको पीडा यतिबेला कम भएको छ। त्यति सडक पार गर्न कुनै बेला चार घण्टासम्म लागेको हो। अहिले त्यही सडक पार गर्न जम्मा ४० मिनेट छुट्याए पुग्ने भएको छ। सडक राम्रा भए भने हाम्रो जीवनको गति तीव्र बन्छ र हाम्रो विकासले गति लिएको पनि देखिन्छ। यो सडक समयमै सम्पन्न नहुँदा सर्वसाधारणले पाउने दैनिक सास्तीको कुनै बयान थिएन। साथै त्यहाँ दुर्घटना हुँदा धेरैको ज्यानसमेत गएको अवस्था थियो। सडकको काम ढिलो हुनुमा भूकम्प र भारतीय नाकाबन्दीको केही हदसम्म योगदान छ। तर, सम्पूर्ण कारण भने त्यही होइन। वास्तवमा हाम्रो विकासलाई गति दिने प्रक्रिया र संरचनामै समस्या हो।

सडकको काम ढिलो हुनुमा भूकम्प र भारतीय नाकाबन्दीको केही हदसम्म योगदान छ। तर, सम्पूर्ण कारण भने त्यही होइन। वास्तवमा हाम्रो विकासलाई गति दिने प्रक्रिया र संरचनामै समस्या हो।

अहिले नारायणगढ–मुग्लिन सडक फराकिलो भएपछि फेरि समयले गति लिएको अनुभव भएको छ। आखिर यसले त्यही सडकमा दैनिक गुड्ने सवारी साधनलाई मात्र होइन सर्वसाधारणलाई पनि खुसी तुल्याउँछ। सडकमार्गबाट गएर समयमै काम भ्याउन सकिने छोटो दूरीमा समेत समस्या देखिँदा सर्वसाधारणले हवाइ मार्गका निम्ति बढ्ता खर्च गर्नुपर्ने अवस्था पनि रहेको हो। त्यति मात्र होइन, घण्टौँघण्टा सर्वसाधारणले सडकमा विजोग अवस्थामा रहनुपरेको अनुभव छ। दुई वर्षमा काम सक्न २०१५ को अप्रिलमा सुरु भएको नारायणगढ–मुग्लिन सडकको निर्माण बल्ल सकिएको हो। तीनवटा खण्डमा ११–११ किमि सडक तीन भिन्न ठेकेदारलाई दिइएको हो। यति गर्दा पनि यसमा निकै ढिला हुन पुग्यो। सडकको लागत पनि बढ्यो। तैपनि सडक निर्माण पूरा हुँदाको प्रशन्नतालाई यतिबेला लुकाउन सकिन्न। समयमै सडक सम्पन्न गर्न ठेकेदारलाई जरिवाना समेत गर्नुपरेको थियो। यसकारण पनि हाम्रा विकास निर्माणमा साम, दाम, दण्ड, भेद सबैको प्रयोग गर्नुपर्ने अवस्था छ। वास्तवमा अहिले सर्वसाधारणको सबैभन्दा ठूलो चिन्ताको विषय समयमै सडक निर्माण कार्य पूरा नहुनु हो। कलंकीदेखि नागढुंगासम्मको सडक विस्तारमा देखिएको ढिलाइले त्यस क्षेत्रमा बस्ने सर्वसाधारणको जीवन कठिन भएको छ। यतिका वर्ष सडक किनारामा बसोवास गर्ने सर्वसाधारण धुलोले छोपिएर बाँचिरहेका छन्। सडक विस्तारको काम समयमा नहुँदा त्यसले हाम्रो दैनिक स्वास्थ्यमा पारेको असरको कुनै लेखाजोखा छैन।

सडक भत्किन्छन् तिनलाई नियमित मर्मत–सम्भार गर्नुपर्ने हुन्छ। कतिपय सडक अहिलेको आवश्यकता र भविष्यको सम्भावनासमेतलाई हेरेर विस्तार गर्नुपर्ने हुन्छ। यसरी थालेको काम समयमै सकिँदा भने सर्वसाधारणलाई पनि आफ्नो क्षेत्रमा केही भइरहेको सकारात्मक सन्देश जान्छ। राजधानी काठमाडौँको अहिलेको प्रदूषणको अवस्था यही सडकको निर्माण कार्य समयमै पूरा नहुँदा आएको छ। हामीले सडकको विस्तार, बिजुली र टेलिफोनका तारलाई भूमिस्थ गर्ने र ढल बनाउनेजस्ता काम गरिरहेका छौँ। तर, यी सबै काममा समन्वय गरी एकै पटकमा सक्न पाएको भए पटक–पटक दुःख पाइने थिएन। केही दिन अगाडि मात्र पिच गरेका सडक अहिले धमाधम भत्काएको देखिन्छ। एकाध महिनामै भत्काउनुपर्ने भए किन केही महिनाकै निम्ति पिच गर्ने काम हुन्छ ? सबै निकायले आफ्नो बजेट सक्नका निम्ति यसो गरेको प्रस्ट हुन्छ। तत्काल कमजोर र कम गुणस्तरको पिच गर्नेलाई समेत यसबाट उन्मुक्ति हुन्छ। अर्को आयोजनाले आएर सडक भत्काइदिएपछि अघिल्लोलाई हाइसञ्चो हुन्छ। चाबहिल गोपीकृष्ण अगाडिको सडक पिच गरेको तीन महिनामै भत्कियो। त्यसका ठेकेदारलाई कुनै कारबाही भएन। अहिले आएर फेरि अर्को कुनै आयोजनाले त्यहाँ एक्काभेटर लगाएर खनेको देखिएको छ। यसले आयोजना सञ्चालक र सम्बन्धित कर्मचारीलाई झन् सजिलो भएको छ। विकास निर्माणका काममा समन्वय अत्यन्त आवश्यक छ। विशेष गरी सडक निर्माण र फेरि त्यसमा गएर खन्ने प्रक्रियाको अनुगमन आवश्यक छ। वास्तवमा सडक निर्माणलाई मात्र व्यवस्थित तुल्याउन सक्दा पनि सरकारको छवि सकारात्मक बन्नेछ। नागरिकको मन खुसी पार्न सडकलाई सहज बनाउन सरकारको ध्यान पुगोस्।

प्रकाशित: ९ मंसिर २०७५ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App