कुनै पनि व्यावसायिक कम्पनीका लागि ६ दशक लामो यात्राले के संकेत गर्छ? परिपक्व, जुझारु, पूर्ण व्यावसायिक योजना, चुस्त दुरुस्त एवं आर्थिक रूपबाट सक्षम। तर मुलुककै ध्वजावाहक नेपाल वायुसेवा निगमका हकमा भने यो पूरै उल्टो देखिएको छ। आफ्नो व्यावसायिक यात्रामा करिब ६० वर्षमा पुग्दा निगम अहिले चर्को वित्तीय संकटमा छ। न यो परिपक्व बन्न सकेको छ न पूर्ण व्यावसायिक। निगम कसरी चलेको छ ? यसको अवस्था कस्तो छ? एउटा उदाहरण मनग्य छ। निगमसँगै जन्मेको थाई एयरवेज यो वर्ष (सन् २०१८) विश्वका प्रमुख एलाइन्सहरूको सूचीमा १० औँ नम्बरमा छ। निगमको स्थान भने एक सय नम्बरभित्र पनि छैन। थाईले वर्षेनि जहाज र उडान गन्तव्य थप्दै गएको छ। ऊ वित्तीय रूपमा सक्षम छ । निगम भने चरम आर्थिक संकटमा पुगेको छ।
मुलुकको राजनीतिक परिवर्तनसँगै निगममा भएको राजनीतीकरणले संस्थालाई क्रमशः धराशयी बनाउँदै लगेको हो । त्यो क्रम अहिले पनि जारी छ । निगमसँग आवश्यक भन्दा धेरै संख्यामा कर्मचारी छन् । संस्थालाई हाँक्ने प्रमुख व्यक्ति नै अहिले दुई जना नियुक्त गरिएको छ।
निगम वित्तीय रूपमा अहिले संकटमा आएको होइन। लामो समयदेखि निगम ग्राउन्ड हेन्डलिङ (भूमिस्थ सेवा) को आम्दानीबाट बाँचिरहेको कम्पनी हो । नयाँ दुई जहाज खरिद गर्ने तर सोही अनुरूप उडान संख्या नबढाउने अवस्थामा निगम थप उच्च वित्तीय जोखिममा पुगेको मात्र हो । हुँदाहुँदा निगमसँग अहिले दैनिक कारोबार सञ्चालनका लागि पनि नगद अभाव छ । यो अवस्था भनेको कुनै पनि कम्पनीका लागि धराशयी हुने पहिलो बाटो हो। दैनिक कारोबार गर्न पैसा नभएको अवस्थामा कतैबाट जोहो गर्न नसके कम्पनी बन्द गर्नुको विकल्प हुँदैन। यही विषम परिस्थिति जनाउँदै निगमले सरकारसँग २० अर्ब रुपियाँ थप रकम मागेको छ। निगम पूर्ण सरकारी लगानीको कम्पनी भए पनि अर्थ मन्त्रालयले रकम दिन नसक्ने र अन्यत्रबाट जोहो गर्न सक्ने धारणा सार्वजनिक गरेको छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न ३३ अर्ब रुपियाँ कर्जा लिएको छ। यसबाहेक लामो र छोटो अवधिको गरी यसको कुल कर्जा ३७ अर्ब ५८ करोड रुपियाँ पुगेको छ । निगमले ब्याज (दीर्घकालीन र छोटो अवधिको गरी) वार्षिक ३ अर्ब ८४ करोड रुपियाँ छ । निगम लामो समयदेखि सञ्चिति नोक्सानमा छ । गत वर्षसम्म यसको सञ्चिति नोक्सान दुई अर्ब ५१ करोड रुपियाँ पुगिसकेको छ। निगमले आफूसँग ४८ अर्ब ९३ करोड सम्पत्ति रहेको बताएको छ। यसमध्ये ३७ अर्ब ७२ करोड जहाजको मूल्य मात्र हो। ६० वर्षे कम्पनीको साख शून्य जस्तै छ। यसैले यो संस्थाको हबिगत कस्तो छ भन्ने छर्लंग पार्छ। पछिल्लो समयमा ठूलो ऋण गरेर ल्याएका जहाजलाई निगम व्यवस्थापनले त्यहीअनुसार उडाउन नसकेपछि वित्तीय घाटा दैनिक एक करोडभन्दा बढी पुगेको हो। ठूला जहाजलाई दैनिक कम्तीमा १५ घन्टा त्यो पनि लामो दूरीमा उडाउन नसके यसबाट आर्थिक लाभ लिन सकिँदैन। अहिले ठूला जहाजहरू छोटो दूरीमा ६–७ घन्टा मात्र उठेको अवस्था छ।
स्थापनाको सुरुवाती दिनमा निगम पनि राम्रोसँगै चलेको कम्पनी हो। विगतमा राज्यले लगानी गरेका संस्थानमध्ये सरकारलाई मुनाफा दिन सक्ने हैसियतमा निगम थियो। अहिले पनि निगमसँग साना–ठूला गरी १४ वटा जहाज छन्। एउटा वाइड बडीसँगै ५ वटा एयरबस छन्। पूर्ण व्यावसायिक योजना बनाएर सञ्चालन गर्न सके निगम यिनै जहाजबाट पनि चाँडै वित्तीय रूपबाट स्वस्थ बन्न सक्छ। तर अन्य संस्थानहरूमा जस्तै यसमा पनि कामभन्दा राजनीति हाबी भएको छ। मुलुकको राजनीतिक परिवर्तनसँगै निगममा भएको राजनीतीकरणले संस्थालाई क्रमशः धराशयी बनाउँदै लगेको हो। त्यो क्रम अहिले पनि जारी छ। निगमसँग आवश्यक भन्दा धेरै संख्यामा कर्मचारी छन्। संस्थालाई हाँक्ने प्रमुख व्यक्ति नै अहिले दुई जना नियुक्त गरिएको छ। विगतमा निगम आफैँले संस्था सञ्चालन गर्न नसक्ने भन्दै विदेशी साझेदार कम्पनी ल्याउनुपर्ने आवाज उठेको थियो। निगमलाई सफल बनाउन यो पनि एउटा विकल्प हुन सक्छ। निगममा पुराना अनुभवी दक्ष कर्मचारी छन्। सरकारले राजनीति नगर्ने, सहयोगी भूमिका निभाउने र पूर्ण व्यावसायिक योजना बनाएर अगाडि बढ्ने हो भने केही वर्षभित्र नै निगम सफल कम्पनीमा रूपान्तरण हुनसक्ने सम्भावना छ। अन्यथा यही अवस्था रहिरहे संस्था कुनै पनि बेला बन्द हुन सक्नेछ।
प्रकाशित: ३ मंसिर २०७५ ०३:२३ सोमबार