१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

केपी ओलीको बाधक को ?

केही दिनअघि न्युजिल्यानडमा एउटा घटना भयो–७ वर्षीया बालिकाले आफ्नो हजुरबा–आमा भेट्न जाँदा बाटोमा ‘लाइनम्यान’ को चिह्न देखिन्। उनले घर पुगेर सडक विभागलाई एउटा पत्र लेखिन्– ‘म त शायद यो क्षेत्रमा आउँदिन होला तर पनि म जस्तै अन्य साथीहरू यो क्षेत्रमा आउन चाहे भने यो चिह्न महिला विरोधी छ, त्यसैले यसलाई परिवर्तन गर्नुहोस्।’ उनको चिठीको जवाफ सडक विभागले यसरी दियो– ‘धन्यवाद, राम्रो कुरा जहाँबाट पनि आउन सक्छ, हामी सच्याउँछौँ ।’ पछि त्यो ‘लाइनम्यान’ को चिह्न परिवर्तन गरेर ‘लाइन क्र्यु’ राख्ने निर्णय गरियो । सडक विभागले त्यो चिह्न परिवर्तन भएपछि धन्यवाद दिन अनि फोटो खिच्न ती बच्चीलाई बोलायो।

यो हो हामीले खोजेको सरकार। यदि हाम्रोमा कुनै बच्चीले यस्तो पत्र लेख्थिन् भने उनको कुरा कसैले सुन्दा पनि सुन्दैन थियो । उनले प्रश्न सोध्नुअघि नै यहाँ त यस्तै हो भनेर पाखा लगाइन्थ्यो । उत्तरदायी न्युजिल्यान्ड सरकारको त्यस्तो कदमले उक्त बच्चीको मनमा कति आत्मविश्वास भरियो होला ?

ओली सरकार बनेको आठ महिनापछि नै नागरिकमा उत्साह सकिएको छ। प्रधानमन्त्री केपी ओलीले जति नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भने पनि सरकारको काममा नै त्यो लय देखिएको छैन । बिस्तारै नागरिकसँगै प्रधानमन्त्री ओली नै निरुत्साहित बन्दैछन्। सबुत हो, उनको पछिल्लो अभिव्यक्ति, ‘केही काम गर्न खोजेको हो, कसैले टेर्दैन ।’ किन यस्तो हुँदैछ ? प्रश्न आफैँ उठ्छ– को हो त केपी ओलीका बाधक ?

केपी ओलीको व्यवहार सदन, अदालत, मिडिया सब बसमा पारेपछि आफूले चाहेजस्तो विकास गर्न सकिन्छ भन्ने देखिएको छ । उनका सुरुवाती कदम लोकतन्त्र विरोधी छन्।

१) लोकतन्त्रिक समाज
नेपाली समाजले लोकतन्त्रको स्वाद चाखिसकेको छ । केपी ओली जति स्वेच्छाचारी बन्छन् समाज त्यति लोकतान्त्रिक बन्नेछ। झन् यो डिजिटल युगमा त नागरिकहरू आफ्नो मत प्रत्येक पटक राख्छन्। केपी ओलीको व्यवहार भने सदन, अदालत, मिडिया सब बसमा पारेपछि आफूले चाहेजस्तो विकास गर्न सकिन्छ भन्ने देखिएको छ । उनका सुरुवाती कदम लोकतन्त्र विरोधी छन् । एमालेकै सदस्य अनि समर्थक सैद्धान्तिकरूपमा कम्युनिस्ट छन् तर व्यवहारले लोकतान्त्रिक छन्। प्रमुख प्रतिपक्ष नै निस्क्रिय हुँदा पनि मिडिया, नागरिक समाजले गत ६ महिना प्रतिपक्षको रूपमा कडा भूमिका खेले । त्यो भूमिका सरकारविरुद्ध होइन। लोकतन्त्रको समर्थनमा थियो।

डा. गोविन्द केसीको सत्याग्रह, माइतीघर प्रकरण, गोपाल पराजुली, निर्मला पन्तलगायतको मुद्दामा त्यो विरोध खुलेरै सडकमा आयो। सरकारको व्यवहारले एउटा लोकतन्त्रप्रति नै खतरा रहेको शङ्का उब्जायो। जुन मिडिया अनि नागरिक समाजमार्फत पोखियो। तुरुन्तै पाँचै वर्षमा समाज बदल्न सकिँदैन । तसर्थ हाम्रो समाज अनि सरकारको शैली मेल खाँदैन।

२) ‘नेकपा’ सङ्गठन
केपी ओली आफ्नो सङ्गठनको बोझ आफैँ धान्न नसक्ने अवस्थामा छन् । सङ्गठन अनि  भातृ सङ्गठनहरूको यस्तो जालो छ जसको नेतृत्वको सोच अनि व्यवहार बदल्न नसकिने अवस्था छ । जग्गा दलाली, भूमाफिया, बालुवा÷गिट्टी, एनजिओ, शिक्षा अनि स्वास्थ्यलगायतमा माफियाकरणमा पार्टीकै कार्यकर्ता अगाडि देखिएका छन्। अनि के तोड्ने ? कसरी तोड्ने ? कसलाई तोड्ने ? एउटा मेयरले चाहेर पनि एउटा मेसिन किन्न सक्दैन। किन ? किनकि उसकै ३ वटा सङ्गठनका कार्यकर्ताले ‘मेरोबाट किन’ भनेर किन्न दिँदैनन्। कर्मचारीतन्त्र सुधार गर्न सुरु ग¥यो, विरोधमा आफ्नै कार्यकर्ता हुन्छन्, टेर्दैनन् । ओलीले सुधार थाल्ने हो भने आफ्नो सङ्गठन अनि कार्यकर्ताको स्वार्थविपरीत थाल्नुपर्छ। सुधार थाल्यो, कुर्सी जान्छ । अर्को गुटको नेता संरक्षणका लागि तयार हुन्छ। तसर्थ, केपी ओलीलाई काम गर्न केपी ओलीकै पार्टीले दिँदैन।

सङ्गठनमात्रै होइन, केपी ओलीको बाधक उनकै किचेन क्याबिनेट बनेको देखिन्छ । धेरैपटक केपी ओलीले आफ्नै टिमको निर्णयमा अनविज्ञ रहेको बताइसकेका छन् । उनको सल्लाहकारमण्डल कुनै विज्ञ समूहभन्दा पनि पार्टीको नेता÷कार्यकर्ताको भर्ती केन्द्र बनेको छ जो आफैँ आफ्नो स्वार्थसिद्ध गर्न लागिपरेको भान हुन्छ । कहिले शेरबहादुर तामाङको भाषण, कहिले बामदेवको उपनिर्वाचन प्रकरण त कहिले सञ्चार मन्त्रीको तानाशाही प्रवृत्तिले सरकार अनि केपी ओली अल्मलिएका छन्। विचौलिया, दलाल, माफियाहरू नै केपी ओलीको टिममा देखिएपछि, उनले समग्र देशलाई समाजवादउन्मुख रहेको बताउन सक्दैनन्। बताए पनि पत्याउने कसले ?

३) केपी ओली
केपी ओली जे र जस्तो संरचना टेकेर प्रधानमन्त्री बने, आजै त्यही राजनीति अनि संस्कार केपी ओलीको सपना र समृद्धिको बाधक बन्दैछ । केपी ओलीको सबैभन्दा ठूलो बाधक केपी ओली आफैँ हुन्। केपी ओलीको चरित्र नै प्रतिक्रियात्मक छ। उनी गुटमा रमाउने नेताको रूपमा देखिएका छन् । उनी गर्ने होइन, बोल्ने नेताका रूपमा आफूले आफैलाई चित्रित गर्दैछन् । कहिले ‘बाढी मैले ल्याएको हो र ?’ भन्छन् त कहिले ‘देश मेरो पालामा गरिब भएको हो र ?’ भनेर बकम्फुसे कुरामा जवाफ फर्काउँछन् । भनिन्छ, सफल हुनका लागि आलोचकलाई आगनीमा राख्नुपर्छ।

ओली आलोचकलाई सिध्याउने रणनीतिमा छन् । उनी संसद्देखि लिएर फेसबुकमा उठाइएको कुराहरूमा प्रतिक्रिया दिन तम्सन्छन्। आफ्नै पार्टीको अर्को गुटको नेतालाई नै गाली गर्छन् । अनि ओलीले जुन सपना देखे त्यो एक्लै देखे। पार्टीमा त्यो सपनाप्रति सामूहिक भाव ल्याउन सकेनन् । जसले गर्दा त्यो ‘टिम वर्क’ बन्न सकेको छैन। केपी ओलीले पार्टीमा लामो समय प्रतिपक्षको भूमिका निभाएको त्यो स्वभाव अझै गएको छैन। उनी अझै पनि पहिले जस्तै आफूलाई बिलौना गर्ने ठाउँमै राखेर सोच्दैछन्। अब उनी माग्ने होइन, दिने ठाउँमा छन् । तसर्थ केपी ओलीले आफ्नो स्वभाव, व्यवहार, प्रवृत्तिकै कारण पनि आफैँ आफ्नो बाधक बन्दैछन् । साथै अहिलेकै बेथितिबाट लाभ लिएर राजनीति गरेर सत्तामा पुगेका कमरेडले त्यो बेथिति चिर्ने नैतिकता राख्दैनन्।

ओलीलाई सुझाव
यो सरकारसँग दुईतिहाइको समर्थनमात्र होइन, दुईतिहाइकै आशा अनि अपेक्षा पनि छ। त्यो अपेक्षा सम्बोधन हुन सकेन भने जति काम गरे पनि सानो हुन्छ। झन् केपी ओलीले त प्रत्येक भाषणमा चन्द्रमा पुग्ने गफ दिएका छन् त्यसैले जति गरे पनि उनी असफल नै देखिनेछन्। त्यसैले केपी ओलीलाई मेरो पहिलो सुझाव– तपाईँ अब केही महिना नबोल्नुहोस्, केही आमनागरिकले परिवर्तन महसुस गर्न सक्ने काम गर्नुहोस्। तपाईँले नागरिकको अनि मिडियाको साथ पाउनुहुनेछ। तपाईँकै आत्मविश्वास बढ्नेछ।

तपाईँले अहिलेसम्म म भ्रष्टाचार गर्दिन भन्नुभएको छ। अध्यक्ष कमरेड, के तपाईँमा मेरा पार्टीका कुनै पनि नेता अनि कार्यकर्ताले भ्रष्टाचार गर्दैनन् भनेर भन्ने ल्याकत छ? छैन भने कर्मचारीलाई बिहानै भ्रष्टाचार गर्दिन भनेर सपथ खुवाउनुको कुनै तुक छैन । डाक्नुहोस् आफ्नो संगठनको बैठक । गर्नुहोस् उदघोष । नत्र यी नारा गफमै सीमित हुनेछन्।

अनि, तपाईँ अब पार्टीको कार्यभार अरू कुनै विश्वासको पात्रलाई दिएर ‘फुल टाइम’ प्रधानमन्त्री बन्नुहोस्। कार्यकर्तामा अब परिवर्तन हुन तयार रहन निर्देशन दिनुहोस् । निर्देशनले मात्र नपुग्ला प्रेरित गर्नुहोस्। कर्मचारीमा ऊर्जा भर्नुहोस् । त्यसका लागि तपाईँले केही त्याग गर्नुपर्ने हुन्छ। १४ वर्ष जेल बसेको विगत हो। त्यसले तपाईँलाई सत्तासम्म त पुर्यायो अब अगाडि लान सक्दैन। रेलका केही पूर्वाधार बनाएर, मेलम्ची ल्याएर, शिक्षा स्वास्थ्यमा केही सुधार, फास्ट ट्रयाकको कामहरू देखाएर विकास गरेको भन्छु अनि अर्को पल्ट भोट ल्याउँछु भन्ने सोच्नुभएको छ भने त्यो भ्रम नपाल्नुहोला । त्यो समय क्रमसँगै आउने विकास हो। तपाईँहरू नभएर अरू जो कोही भएको भए पनि आउँथ्यो। जनता त्यति नबुझ्ने छैनन् अब । साथै, समृद्धिको नाममा जनता जिस्काउने काम धेरै नगर्नुहोस् । गोबर ग्यास उद्घाटन गरेर, धाराको टुटी घुमाउँदै धारा उद्घाटन गरेर, पिङ उद्घाटन गरेर दिन खेर नफाल्नुहोला । ठोस उपलब्धिका लागि जनता काकाकुल छन्।

निष्कर्ष
सत्ताको एउटा समस्या हुन्छ। ’बोल्न’भन्दा धेरै ’गर्न’ पर्छ । जुन दिन बोली गराइभन्दा ठूलो हुन्छ त्यहीँबाट अधोगति सुरु हुन्छ। नेतालाई सबै कुरा आउँछ भन्ने छैन तर कसरी काम गराउने अनि कसलाई गराउने भन्नेचाहिँ नेतालाई थाहा हुनुपर्छ। समृद्धिको यात्रामा हिँडेको सरकारलाई थाहा पनि छैन होला अहिले ‘उद्यम गर्न नेपालमा कति सहज छ’ भनेर नाप्ने परिसूचक ‘इज अफ डुइंग बिजिनेस’ संसारको १०५ नम्बरमा छ। कम्पनी खोल्न अनि कर तिर्नै झन्झट बेहोर्नपर्ने यो अवस्थामा कुनै युवा आफ्नो समय अनि स्रोत लगानी गरेर नेपालमा किन बस्ने ? उद्यमशील समाजबिना कसरी समृद्धि आउन सक्छ ?

अहिले प्रधानमन्त्रीले भाषणवाजी गर्नुभन्दा ‘वार रुम’ बनाएर काम गर्न सक्नुपथ्र्यो । इमरान खानले सेवा सुविधा छोड्नुअघि नै बनेको चप्पल लगाएर राजनीतिमा छिरेको कम्युनिस्टको दुईतिहाइको सरकारले किन त्यो त्याग गर्न सकेन ? दिल्लीको केजरीवाल सरकारको ‘सरकारी सेवाको होम डेलिभरी’ जस्तो के हाम्रो वडा ‘सेवक सरकार’ बन्न सक्दैन ? किन वडा–वडामा सिंहदरबारको ठाउँमा राजदरबार पुग्दैछ ? सक्ने काम पनि नगर्दा सरकार फेल हुँदैछ।

फेल हुने सुविधा केपी ओली सरकारलाई छैन। कुनै कुनै सरकार, राजनीतिको यस्तो कालखण्डमा बन्छन् जसलाई असफल हुने छुट हुँदैन। तर दुःखका साथ लेख्दैछु– यो सरकार असफलताको बाटोमा छ। मैले भनेको होइन, यहीँ सरकारलाई भोट हाल्ने त्यही दुईतिहाइले भन्दैछन् । केही दिनअघि नेकपाका एकजना शीर्ष नेतासँगचिया पिउँदै राजनीतिक गफ गर्दै थिएँ । उनले कुरोमा कुरो चल्दै गर्दा आन्तरिक व्यवस्थापनबाट सिर्जित असन्तुष्टि पोख्दै भने– यो सरकारलाई ५ वर्ष बाहिरबाट हल्लाउन सम्भव छैन तर यो सरकार भित्रैबाट सकिन्छ कि भन्ने डर छ।
(केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी )
 

प्रकाशित: ६ कार्तिक २०७५ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App