९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

सडकमा सास्ती

सडकमा सबैभन्दा सास्ती तिनैलाई हुन्छ जसले अन्य मार्ग उपयोग गर्न सक्दैनन्। पहुँच र पैसावालालाई सडक प्रयोग नगरे पनि पुग्छ। चितवनबाट काठमाडौंसम्म पनि हवाईमार्ग प्रयोग गर्न सक्ने व्यक्ति धेरै छैनन्। अधिकांशका लागि सडक प्रयोग अनिवार्य हुन्छ। सर्वसाधारणका निम्ति सडक जीवनरेखा हो। त्यसमा पनि राजधानी काठमाडौंको कलंकीदेखि चितवनसम्म यात्रा गर्ने व्यक्तिले केही वर्षयता पाएको दुःखको कुनै हिसाब छैन। पत्याउन मुस्किल हुन्छ– कलंकीदेखि नौबिसे सडक खण्ड पार गर्न नौ घन्टा समय। यथार्थ यही हो । कलंकीदेखि धादिङको नौबिसे–धार्केसम्म पुग्न यतिका समय लाग्दैन। सामान्य बेलामा २६ किलोमिटर लामो यो सडक खण्ड घन्टाभरमा पार गर्न सकिन्छ। यसै पनि ४० किलोमिटर प्रतिघन्टाको दरमा मात्र सवारी गुड्ने हो भने यो दुरी पार गर्न आधा घन्टाभन्दा बढी समय लाग्दैन। अप्ठ्यारो भौगोलिक अवस्थाका कारण मात्र सवारीसाधनले बढी समय खर्च गर्नुपर्ने हुन्छ। सडक यातायातको अवस्था सुधार नगरेर सरकारका जिम्मेवार निकायले हदैसम्मको गैरजिम्मेवारीपूर्ण कार्य गरेका छन्। सडक विस्तारकार्य समयमा पूरा नगर्ने, काम थाले पनि त्यसको सूचना सर्वसाधारणलाई नदिने र काममा अनियमितता हुँदा बाह्रै महिना बाह्रैकाल सर्वसाधारणले दुःख भोग्नुपरेको छ। अझ सबैभन्दा दुखद पक्ष त्यो सडक पार गर्न नसकेर एकजना यात्रुको जामकै कारण निधन हुनु हो। एउटा बिरामीले नौ घन्टासम्म जाममा फसेर जीवन गुमाउनुजस्तो भयावह अवस्था के हुन सक्छ? हामीकहाँ संवेदना मरिसकेको अवस्था छ। यस्तो विषम परिस्थिति भए पनि सम्बन्धित मन्त्रीले यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता महसुस गरेको देखिँदैन। 

सर्वसाधारणको जीवनमा गम्भीर असर पार्ने गरी विकास निर्माणको गति अघि नबढेको विष्यमा प्रधानमन्त्रीको ध्यान जानु आवश्यक छ। सडक जाममा बिरामीको मृत्यु भएको अवस्थालाई गम्भीरतापूर्वक हेरी जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्छ।

चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडाैं ल्याइँदै गरेको बिरामीको सडक जामकै बीचमा बुधबार निधन भएको छ। रजनी चौधरी नामकी ५५ वर्षीया बिरामीले सडक जाममै परेर घन्टौं बिताउनुपरेको थियो। सामान्य व्यक्तिलाई पनि घन्टौं जाममा रहनुजस्तो पीडा केही हुन सक्दैन। घन्टौं यसरी बस्दा भोकप्यासले कम्ती सताउँदैन। त्यसो त, यो बुधबारको मात्र अवस्था होइन। र, यही अवस्था यो सडकको मात्र पनि होइन। कुनै बेला राजधानी काठमाडौंबाट बिहान गएर दिनभरि काम सकी बेलुका फर्किन सकिने दुरीमा समेत अहिले यात्रा हुन सक्दैन। राजधानी काठमाडौंबाट दोलखासम्म जाने यात्रुको पनि अहिले त्यस्तै बिजोग अवस्था रहेको छ। यति थोरै दुरीका निम्ति तिनले दिनभरि यसैमा खर्च गर्नुपर्ने अवस्था छ । राजधानी काठमाडौंभित्रकै अवस्था पनि त्यस्तै कठिन छ। त्यसमा पनि अति विशिष्ट व्यक्तिका ‘सवारी’ ले सर्वसाधारणको जीवनलाई कष्टकर बनाएका छन्। राष्ट्रपति, प्रधानमन्त्री आदिका यस्ता ‘सवारी’ का नाममा दुईतर्फी यातायात रोकेर सर्वसाधारणलाई अप्ठ्यारोमा पार्ने गरिएको छ । प्रहरीले आफैं चाकडी गर्न यसो गरेको हो वा अति विशिष्टहरूलाई यो स्थितिबारे हेक्का नभएको हो? यस्ता ‘सवारी’ का नाममा सर्वसाधारणले दुःख पाएको अवश्य पनि अति विशिष्टका ‘नजर’ मा पर्नुपर्ने हो। शासन व्यवस्था परिवर्तन भए पनि पात्रहरूमा कुनै किसिमको परिवर्तन अनुभव हुन सकेको छैन। त्यसै कारण अहिले सर्वसाधारणले यस्तो दुःख भोग्नुपरिरहेको छ। 

बेलाबेलामा सडकको अवस्थाबाट चिन्तित भई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिने गरेका छन्। उनले सरोकारवाला मन्त्रीलाई समेत निर्देशन दिएका हुन्। मन्त्री रघुवीर महासेठले ५० दिनको समयसीमा राखेर काम थालेका पनि हुन्। त्यतिमात्र होइन, उनले कलंकी, बौद्ध–जोरपाटी सडकको अनुगमन पनि गरेका थिए। बौद्धमा अनुगमन गर्न मन्त्री आफैंले पनि त्यहाँको भयावह अवस्था अनुभव गरेका थिए। तर, त्यसमा तत्काल सुधारको काम अघि बढ्न सकेन। बिम्स्टेक सम्मेलनका लागि भनेर झमझम पानी परिरहेका बेला सडकमा कालोपत्रे गर्ने काम भएको थियो। केही दिनयता पानी थामिइसकेको छ। तर, सडक विस्तारले गति लिन सकेको देखिएन। बरु सर्वसाधारणको अवस्था झन् कठिन हुन थालेको छ। सडकको जाममै बिरामीले जीवन त्याग गर्नुपर्ने जस्तो भयावह अवस्था के हुन सक्छ? यो अवस्था बुधबार एक दिनको मात्र होइन। केही वर्षयता देशभरिका सडकको यो अवस्था छ। यसले देशका भूभागलाई राजधानीबाट अलगथलग बनाउन थालेको छ। मानिसले यात्रामा मात्र कष्ट भोग्नुपरेको छैन, सडकछेउमा रातोदिन भोग्नुपरेको धुवाँधुलोको समस्याले पनि मुलुकबासीलाई उत्तिकै आक्रान्त पारेको छ। यस्तो प्रदूषणले मानव स्थास्थ्यमा गम्भीर असर पारेको छ। जनस्वास्थ्य सरकारको प्राथमिक जिम्मेवारीको क्षेत्र हो। सर्वसाधारणको जीवनमा गम्भीर असर पार्ने गरी विकास निर्माणको गति अघि नबढेको तर्फ प्रधानमन्त्रीको पुनः ध्यान जानु आवश्यक छ। सडकको जाममा बिरामीकै मृत्यु भएको अवस्थालाई गम्भीरतापूर्वक हेरी जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्छ। कसको कारणले सडक निर्माणमा ढिलाइ भएको हो? सडक विस्तारको कामले जाम हुँदैछ भन्ने जानकारी किन दिइएन? यातायात सुचारु गर्नेतर्फ के कठिनाइ थियो? यी यावत् विषयमा छानबीन समेत हुनु आवश्यक छ। यो गम्भीर लापरबाही गर्नेमाथि कारबाही भएन भने यो स्थितिमा कहिल्यै सुधार आउने छैन।

प्रकाशित: १९ आश्विन २०७५ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App