१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

आफू त तीज मनाइन्छ बरिलै !

केही वर्षअघि एउटा विद्युतीय सञ्चारगृहमा सञ्चारकर्मी महिला र पुरूषबीच तीज विषयमा अनौपचारिक बहस चलेको थियो । म एक्लै त्यो बहसको श्रोता र दर्शक थिएँ । कुराकानीका क्रममा एकजना पुरुषले सहकर्मी महिलालाई प्रश्न सोधे, “तपाईं तीजको व्रत बस्नुहुन्छ ?” प्रश्न खस्न नपाउँदै ती महिलाले अलि आफूलाई आधुनिकतातर्फ धकेल्दै जवाफ दिइन्, “बस्दिनँ म त ।” फेरि अर्का पुरुष साथीले प्रश्न गरे, ‘ल झन् तपाईं त विवाहित कहिल्यै पनि बस्नुहुन्न ?’ उनले जवाफ दिइन्, “ पहिला–पहिला नबुझ्दा बस्थेँ, अहिले बुझेँ, बस्दिनँ ।” त्यसपछि संस्थाले खुवाउने गरेको तीजदरको कार्यक्रम नजुधाउन पनि त्यहाँका स्टेसन म्यानेजरलाई उनैले आग्रह  गरिन् । ए व्रत नबस्नेले पो एक महिना अगाडिदेखि दर खाने रहेछन् कि क्या हो ? भने जस्तै लाग्यो र म तीजको शाब्दिक अर्थ, महत्व र त्यतिबेलाको परिवेश जान्ने उत्सुकता लिएर फर्किएँ। 

हरितालिका तीजको शाब्दिक अर्थ ‘सखीभीर्हरिता यस्मात् तेनेयं हरितालिका’ अर्थात् सखीहरूले हरण गरेर लगेको हुनाले हरितालिका भनिएको रहेछ । सत्ययुगमा जब सतीदेवीले आत्मदाह गरिन्, तब उनको आत्मा हिमालयकी पत्नी मेनकाको गर्भमा बस्यो र पार्वतीको रूपमा जन्मियो । तिनै पार्वतीले होस सम्हालेदेखि नै महादेवसँग मात्र विवाह गर्ने मनसाय आफ्ना सखीहरूलाई सुनाएकी थिइन् तर उनका पिता हिमालय पर्वतले आफ्नी सुन्दरी कन्या पार्वतीलाई महादेवजस्तो विषभाङ, धतुरो सेवन गर्ने, सर्पको माला लगाउने, बाघको छाला कम्मरमा बेरेर हिँड्नेलाई नदिने विचार गरी सुन्दर रूपका भगवान् विष्णुलाई दिने निर्णय गरेछन्।

ती कुरा थाहा पाएपछि सखीहरूले पार्वतीलाई आउन लागेको विपत्बाट जोगाउन त्यहाँबाट हरण गरी वनको एकान्त ठाउँमा लगेछन् । सखीहरूको साथ पाएपछि भोक र भयबाट मुक्त भई एकाग्र चित्तले ईश्वरीय शक्तिको संवाहकका रूपमा आफूलाई परिवर्तन गर्न पार्वतीले त्यही एकान्त वनमा कठिन तपस्या गर्न लागिछन् । तपमा बस्नुअघिको रातमा उनले जडिबुटीको पात सेवन गरी आफ्नो इच्छा पूरा नभएसम्म तपस्यामा लिन हुने संकल्प गरेकी रहिछन् । उनको कठोर तपबाट महादेव प्रकट भई इच्छा सिद्धिको वर दिए रे । त्यही बेलादेखि व्रतको अघिल्लो रातमा जे खान्छौ त्यसलाई दर, पार्वतीले शिवको पूजा गरेकीले व्रतालुहरूले पनि शिवको पूजा गर्ने र सखीहरूमा खुसीयाली बाँडेकोले व्रतालुहरू तीजका दिन साथीसँगीहरूसँग नाच्ने, गाउने र मनका कुरा गीतमार्फत पोख्ने चलन सदियौँदेखि चल्दै आएको रहेछ। 

तीजपर्वको महत्वलाई ओझेल पारेर हाम्रो बहस दर र गीतका शब्दमा केन्द्रित हुन थालेको छ । एक छाक मीठो खान र घरका परिवारले दिएको दुःख, गुनासो पोख्नकै लागि माइत जानुपर्ने अवस्था छैन । आजका चेली अंश लिएर दाजुभाइलाई दर खुवाउन सक्षम भइसकेका छन् । गुनासा सुनाउने गन्तव्यस्थल फराकिएर राज्यसम्म पुगिसकेको छ। 

तीज कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि जहिलेदेखि मनाउन थालियो त्यतिबेलादेखि महिलाका मुद्दासँग सम्बन्धित रहेको पाइन्छ । हिन्दु धार्मिक ग्रन्थमध्ये शिव महापुराणको महिमासँग हरितालिका तीज सम्बन्धित छ । शिव पुराणमा शिव–पार्वतीको महिमा र विवाहको चर्चा गरिएको छ । अर्थात् शिव पार्वतीलाई सम्पूर्ण ब्रह्माण्डको सञ्चालनकर्ताका रूपमा मानिएको छ । पार्वतीलाई प्रकृति र शिवलाई पुरुषको प्रतीक मानिन्छ । विश्व चराचर जगत्मा जे–जति सृष्टि भएका छन् ती सबै प्रकृति र पुरुषको मिलनबाट मात्र सम्भव छ । विज्ञानको भाषामा नेगेटिभ प्वाइन्ट र पोजेटिभ प्वाइन्ट भने जस्तै आध्यात्मिक जगत्मा सृजनाको मुख्य विन्दुलाई नै प्रकृति र पुरुष भनिएको हो।

हरितालिका तीजको व्रत बस्नाले अविवाहितले चाहेको वर पाउने र विवाहिताका पतिको आयु दीर्घजीवी हुने भनिएको छ । विवाहित भन्नेबित्तिकै पति–पत्नी दुवै पर्ने भएकाले ‘धर्म सिन्धु’मा भनिएको छ, “भार्यापत्यूर्वतं कुर्याद् भार्यायाष्च पर्तिव्रतम् ।” अर्थात् पतिले पत्नीको सु–स्वास्थ्य र दीर्घायुका निम्ति र पत्नीले पनि आफ्ना पतिका लागि व्रत बस्नू । एकले अर्काका लागि व्रत लिँदा दाम्पत्य जीवन सुदृढ र सुमधुर बन्न सक्छ । एकले अर्काका लागि प्रेमपूर्वक आराधना गर्दा सुन्ने भगवान् पनि प्रसन्न हुने र दुवैको मनोकामना पूरा हुने सन्दर्भ जुनसुकै युगमा पनि सान्दर्भिक हुने देखिन्छ।

तर वर्तमान परिवेशमा तीजको मूल मर्म बिर्सेर विचार र आफ्नो परिवेशअनुसार बाहिरी आडम्बरमा ढालेर तीज पर्व मनाउन थालेको देखिन्छ । सबैभन्दा दुःखको कुरा तीजको भाका बिग्रिएको छ । पहिला–पहिला मानिसको जीवनस्तर कमजोर थियो भने पारिवारिक परिवेश पनि भिन्न थियो । पुरुष प्रधान समाजले महिलालाई पतिको दीर्घायुका लागि व्रत बस्न सिकायो । त्यतिबेला त्यो नै उचित थियो । महिलाले यो संसारमा आफ्नो पूर्ण जीवन बाँच्न पाउने अवस्था थिएन । जवान वा बूढोसँग गरिने बालविवाहका कारण छोरीहरूले आफ्नो इच्छा पहिचान गर्नै पाउँदैनथे भने विवाहपछि सती जानुपर्ने हुनाले बिछोडको कल्पनाले सधैं सताउने गथ्र्यो । त्यसैले समाजले देखाएको बाटोबाहेक उनीहरूसँग अर्को विकल्प थिएन, यो संसारमा आएपछि अलि धेरै बाँच्ने चाहना जो कोहीलाई पनि हुन्छ।

पतिको आयु लम्ब्याउन महिलाले व्रत बस्ने मुख्य कारण नै यो संसारमा अलि दिन बाँच्ने रहर हुन सक्छ । त्यतिबेला पुरुषको छायाँमा सास फेर्ने प्राणीको नाम नै महिला थियो । समाजमा जति–जति कुरीति बढ्दै गयो त्यति–त्यति महिलाको अस्तित्व विलीन हुँदै गयो । त्यो पाटोतिर जानु त्यति उचित नहोला । किनभने अहिले परिस्थिति बदलिएको छ । महिलाहरू हरेक दृष्टिकोणबाट सक्षम भइसकेका छन् । अब हामीले तीजलाई उतिबेला पार्वतीले किन र कसरी व्रत बसेकी थिइन् परिणाम के पाइन् भनेर विश्लेषण गर्ने र समयसँगै आउने समस्याको पहिचान गरी निराकरणको उपाय अपनाउनु पर्छ । समाजको तगारो कमजोर भएका बेला तीजलाई दरमा मात्र सीमित नराखी तीजको वास्तविक महत्वलाई उजागर गरी त्यसकै सेरोफेरोमा बहस चलाउने बेला आएको छ। 

तीजपर्वको महत्वलाई ओझेल पारेर हाम्रो बहस दर र गीतका शब्दमा केन्द्रित हुन थालेको छ । एकछाक मीठो खान र घरका परिवारले दिएको दुःख, गुनासो पोख्नकै लागि माइत जानुपर्ने अवस्था छैन । आजका चेली अंश लिएर दाजुभाइलाई दर खुवाउन सक्षम भइसकेका छन् । गुनासा सुनाउने गन्तव्यस्थल फराकिएर राज्यसम्म पुगिसकेको छ । देशमा गणतन्त्रको आगमनसँगै महिलाहरूको सामूहिक रूपमा दर खाने र एउटै आवाजमा समानताको हक खोज्ने प्रचलन भित्रिएको छ । जसका कारण राज्यका उच्च पदहरूमा महिला सहभागिता हुन पुग्यो । नेपालको संविधानको धारा ५१ को (ग) मा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिहरूका बारेमा उल्लेख गरिएको छ । अबको बहस यसैमा केन्द्रित हुन जरुरी छ। 

तीज दरको जमघट एउटा यस्तो शक्तिकेन्द्रका रूपमा फस्टाउँदै छ कि मिडियामा पहुँच भएका केही महिला र पुरुषहरूले यसलाई दरिलो आम्दानीको स्रोतका रूपमा लिइरहेका छन् । भड्किलो तीज दर, उच्छृंखल गीत र नृत्यमार्फत । गाउँ–घरका गरिब र अशिक्षित महिलाहरू हेपिएका छन् भने सहरका केही शिक्षित र आफूलाई समाज परिवर्तनको संवाहक भन्ने महिलाहरू तीजपर्वको नाममा समाजलाई नै नपच्ने किसिमका बहस चलाउन थालेका छन्।

पार्वतीले गरेको भोक हड्तालका पछि किन लाग्ने ? पुरुषले वर्षदिनभरि दर खान हुने महिलाले महिना दिन खान किन नहुने ? पक्कै पनि तीजपर्वका नाममा चल्नुपर्ने बहस दरमा सीमित हुन पुगेको छ । तीज विशेष गरी महिलाका मुद्दा उजागर गर्ने र समाधानका उपाय खोजी गर्ने पर्व हो । यसलाई भड्किलो बनायौँ भने महिलाका जटिल मुद्दाहरू ओझेल पर्न सक्छन् । त्यसैले जागरुक भएर तीज मनाऔँ । सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हरितालिका तीजको शुभकामना! 

प्रकाशित: २७ भाद्र २०७५ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App