१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

यही तालले तीज कहाँ पुग्ला ?

एकजना व्यक्ति आफ्ना नराम्रा आदत कसरी छोड्न सकिन्छ होला भन्ने सल्लाह र उपायको खोजीमा एकजना सन्त–फकिरकहाँ पुगेछन् । ती सज्जनले सन्त फकिरसँग भने— हजुरको आध्यात्मिक ज्ञान, अन्तर्यात्रामा डुब्ने कलाबारे धेरै सुनेको छु र जुनसुकै समस्याको समाधानको उपाय पनि हजुरसँग छ भन्ने थाहा पाएको छु । त्यसैले हजुरकहाँ आएको हुँ । नराम्रा आदत र विकृतिबाट कसरी छुट्ने होला मलाई उपाय बताइदिनुपर्याे। 

ती व्यक्तिको कुरा सुनेपछि कुनै पनि जवाफ नदिई सन्त आफ्नो कुर्सीबाट उठे र नजिकैको खम्बामा टाँसिए । दुवै हातले जोडले खम्बा समातेर चिच्याए । भने— मलाई बचाऊ, यो खम्बाबाट मलाई बाहिर निकाल! 

सज्जन आश्चर्यमा परे र भने— भूल गरेको छु मैले, तपाईं जस्तो पागल व्यक्तिकहाँ आएर ज्ञान लिने कोसिस गरेर । धेरै ज्ञानी हुनुहुन्छ भन्ने लागेको थियो वास्तवमा त तपाईं आफैँ विक्षिप्त हुनुहुँदो रहेछ। 

सन्त फकिर फेरि चिच्याउन थाले र भने— कुरा पछि गरौँला, पहिले मलाई यहाँबाट बाहिर निकाल । सज्जनले भने— महाशय तपाईंलाई खम्बाबाट छुटाउन जरुरी छैन, किनकि खम्बाले तपाईंलाई समातेको छैन, तपाईं आफैँले खम्बा पकडेर बस्नुभएको छ । तपाईंले खम्बा पक्रेर छोडेपछि आफैँ बाहिर निस्कनुहुन्छ। 

— तिमी धेरै चतुर रहेछौ त ! तिमी मलाई सोध्न आएका थियौ कि खराब आदत र विकृतिबाट कसरी छुट्कारा पाउने होला ! खराब आदत र विकृतिले तिमीलाई पकडेको छैन, तिमीले पकडेर बसेका छौ । जुन कुरा तिमी मलाई सिकाउन सक्छौ, त्यही कुरा आफूले व्यवहारमा प्रयोग गर त्यही हो आध्यात्मिक ज्ञान। 

समाजका प्रचलन र विकृतिबारे जति हामीलाई चिन्ता छ, त्यसको आदतबाट फुस्किन नसक्नु र त्यसलाई आदत बनाएर बस्नु व्यक्तिको कमजोरी हो । ओशोले आफ्नो प्रवचनमा सुनाउनु भएको यो बोध कथाले भड्किलो बन्दै गएका हाम्रा चाडपर्व, त्यसलाई मनाउने तरिका र संस्कृतिमा आएको विकृतिलाई छर्लंग पार्छ।

केही वर्षयता हाम्रा पर्वहरू र त्यसमा विकास हुँदै गएको भड्किलो र अव्यावहारिक प्रचलन देखेर सबैलाई यो आदतबाट कसरी मुक्ति पाइएला, समाजमा यो विकृति हटेर संस्कृतिको विकास कसरी होला भन्ने चिन्ता छ जुन स्वाभाविक पनि हो । तर, विकृतिलाई हामीले अँगालेनौँ भने त्यो आफैँ छुट्ने निश्चित छ । जुन भड्किलो र रवाफिलो प्रवृत्तिलाई हामीले साथ दिएका छौँ, त्यो नै विकृति फैलिनुको कारण हो । घरघरमा, प्रत्येक व्यक्तिमा र समाजमा यो रवाफिलो परिवर्तन हामीले अँगाल्नु जरुरी छैन भन्ने बोध हुनासाथ सबै क्रियाकलापहरू सहज भएर प्रस्तुत हुन्छन् । तीज जस्तो पारिवारिक र मौलिक पर्वमा परिवारका सदस्य र चेलीबेटी जम्मा भएर भावनात्मक रूपले यसलाई मनाउने गर्याैं भने सतही रूपमा निस्केको भड्किलो पन स्वतः हराएर जान्छ।

तीज आफ्नै परिवारभित्र दिदीबहिनीको सुहागन, सौभाग्य, प्रेमको प्रस्तुति झल्काउने एउटा मौलिक पहिचान बोकेको पर्व हो । सुहागन र सौभाग्य महँगा कपडा, गहना, उत्ताउला गीत र भड्किलो फेसनमा भेटिँदैन, यो त हृदयबाट प्रस्फुटन हुनुपर्छ । तीजे गीत आफ्ना मौलिक रचना हुन्, जसको सृजना हृदयबाट हुन्छ । प्रेमको अभिव्यक्ति, गुनासा, प्रार्थना, घटनाका सन्देशमूलक आवाज तीजे गीतका मौलिक पक्ष हुन् । खिचडी पकाए जस्तो सबै संगीत र शब्दले तीज गीतका मौलिकतालाई चुनौती मात्र थपेका छन् । अर्काेतिर सामान्य सुतीको रातो सारी, २५ रुपियाँको सिन्दुर, २० रुपियाँको रातो टीका र १०० रुपियाँको पोतेले पनि सौभाग्यको परिचय दिन्छ । लाखौँ पर्ने गहना र हजारौँ पर्ने सारीमा भेटिन्न खुसी । खुसी हृदय पग्लेर निस्कनपर्छ । प्रेमको वर्षात्ले खुसीको उमंगलाई नदीझैँ आफैंभित्र बगाउन सक्नुपर्छ।

परिवारमा सम्यक र सुमधुर सम्बन्धले भावनात्मक रूपमा प्रेम वृद्धि गर्छ । आफ्नासँगको अटल प्रेम र खुसी कसरी कायम रहन्छ त्यतातिर ध्यान पुर्याउनु हरेक पर्वका सन्देशमूलक प्रस्तुति र प्रचलन हुने गर्छन् । भित्र आनन्द छैन भने बाहिरको तडकभडकले क्षणिक खुसी मात्रै दिन्छ । गहना र कपडाको प्रदर्शनले सम्पत्तिको देखासिकीलाई मद्दत पुर्याउला तर आन्तरिक खुसी दिँदैन र पर्वको मर्म पनि बुझाउँदैन । सादा जीवन र उच्च विचार नै सबैलाई मन पर्छ र खुसीको वास्तविक राज पनि यही नै हो।

अकोतिर दर खाने नाममा होटेल र पार्टी प्यालेस नै बुक गरेर देखाउने रवाफले कुनै दुःखी असहायलाई सहयोग गर्न सके कति विवेकको काम हुन्थ्यो होला । तीन दिनको पर्वलाई महिनौँ मनाएर, शरीरलाई पाच्य हुने, खान हुने, खान नहुने चिज खाएर स्वास्थ्यलाई नै चुनौती दिनु कुनै बुद्धिमानी हुँदैन । स्वास्थ्य भनेको स्वयंमा स्थित हुनु हो । जबसम्म आफ्नो स्वभावमा स्थित हुन सकिन्न तबसम्म खुसी र आनन्द भेटिँदैन । सबै पर्वका उद्देश्य हुन्, जीवनमा उत्सव मनाउने र आनन्दित रहने । त्यसैले खुसी र आनन्द कसरी, कहाँ भेटिन्छ त्यसलाई पनि हेक्का राख्नुपर्छ । विकृतिको खम्बालाई आफैँले समातेर बस्ने अनि छुटकारा पनि चाहने यो सम्भव छैन।

हरेक पर्वको सामाजिक, सांस्कृतिक, धार्मिक र पारिवारिक महत्व रहेको हुन्छ । त्यसैले हामीले ल्याएको परिवर्तनले समाजमा, संस्कारमा, हाम्रो स्वधर्ममा र परिवारमा कस्तो प्रभाव पार्छ ख्याल नगर्ने हो भने सबै उत्सव देखावटी र बेहोसीका रूपमा मानिएको सिद्ध हुन जान्छन् । हरेक कर्मको परिणाम आउँछ । आजका हाम्रा कर्मका परिणाम भोलिका हाम्रा सन्तति, समाज र राष्ट्रमा कसरी प्रस्तुत होलान् त्यतातिर पनि ध्यान पुर्याउनै पर्छ।

सदाचार, शिष्टता, मर्यादा, अनुशासन हाम्रा मौलिक गुण हुन्, मानिसका पहिचान हुन् भने यसलाई बचाएर राख्नका लागि हाम्रो व्यवहारमा त्यति नै सजगता आवश्यक पर्छ । हाम्रो खानपान, जीवनशैली, हाम्रो सकारात्मक सोच र सजगताले हरेक कर्म र हरेक पर्वमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । देखावटी र भड्किलो शैली प्रस्तुतिले आफ्नै समाजमा हुनेखाने र नहुने बीचमा विभेद मात्र पैदा गर्दैन यसले मनोवैज्ञानिक रूपमै असर पनि गर्छ । क्षणिक रवाफभन्दा दीर्घकालीन सुख अत्यावश्यक छ।

हामी के गर्छौं भन्दा पनि कसरी प्रसन्न, प्रफुल्लित र आनन्दित रहन सक्छौँ त्यो उपाय अपनाउनु जरुरी छ । बाहिर देखिने भौतिक सुन्दरताभन्दा भित्रको आन्तरिक सुख कयौँ गुणा मूल्यवान् र जीवन्त छ । आफ्नो हैसियतले जे सकिन्छ जसरी सकिन्छ पर्व मानौँ ! घमण्ड र अहंकार प्रस्तुत हुनेगरी मनाउनुको कुनै औचित्य छैन । आफ्नो पनमा रमाउनु, आफूसँग जे छ त्यसमै रमाउनु र सद्भाव अनि प्रेमपूर्ण रूपमा परिवारजन र साथीभाइमा खुसी साटासाट गर्नु हरेक पर्वका पहिचान हुन् । अरूका गुण दोष केलाउनुभन्दा आफ्नो स्वभावको पहिचान गर्नु वास्तविक ज्ञान पनि हो।

 

प्रकाशित: २७ भाद्र २०७५ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App