१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

सुखको अनुभूति र यथार्थ

गरिब बच्चाको मुहारमा एउटा चकलेट पाउँदा देखिने खुसी र धनीले आफ्नो छोरालाई आइप्याड दिँदा कलिलो अनुहारमा प्रष्टिने सुखबीचको फरक ठम्याउन कठिन छ।

एउटा बच्चा एक रुपियाँको चकलेटमा जति हर्षित हुन्छ, अर्को बालक हजारौँ दाम पर्ने इलेक्ट्रोनिक उपकरण पाउँदा पनि त्यत्ति खुसी नहुन सक्छ । मानिसमा आउने सकारात्मक आवेग नै खुसीको मापन भएकाले एउटा व्यक्ति सानो कुरा पाउँदा जति पुलकित हुन्छ अर्को मानिस ठूलो उपलब्धिमा समेत त्यति प्रफुल्ल नहुन सक्छ । राम्रो सोचले मानिसमा हर्ष, खुसी तथा प्रशन्नता दिन्छ भने नकारात्मक भावनाले क्रोध, रिस तथा इष्र्या ल्याउँछ । शरीरभित्र के÷कस्ता हर्मोनको आगमनले मानिसलाई खुसी बनाउँछ भन्ने कुरा पहिचान गर्न विज्ञान सफल भइसकेको अवस्थामा के÷कस्ता अभ्यासले सुखद जीवन व्यतीत गर्न सकिन्छभन्नेतर्फ शिक्षाको ध्यानजान जरुरी हुन्छ।

गत सेमेस्टर संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ऐल युनिभर्सिटीले अन्डरग्रयाजुयट विद्यार्थीलाई लक्षित गरी ‘साइकोलोजी एन्ड द गुड लाइफ’ भन्ने कक्षा सञ्चालन गर्यो । २०१३मा प्रकाशित एउटा प्रतिवेदनले ऐलका आधा विद्यार्थीमा मानसिक समस्या देखाएको बताएपछि आफ्ना छात्रछात्रालाई अहिलेको तनावमुखी समयमा कसरी खुसी राख्न सकिन्छ भनेर विश्वविद्यालयले उक्त कोर्स सञ्चालन गर्यो ।

खुसीपूर्वक बाँच्ने चाह सबैमा हुन्छ । इच्छाएको कुरा पूरा हुँदा प्रशन्न हुनु अस्वाभाविक होइन तर चाहना राखेका सबै कुराफत्ते गर्न सकिन्न । असम्भव लक्ष्य राख्दा भेदन कठिन बन्ने भएकाले सामथ्र्यअनुसारको इच्छा राख्नुपर्ने हुन्छ।

विद्यार्थीलाई हर्षित जीवन व्यतीत गर्न सिकाउने उक्त कक्षाको लक्ष्य भएकाले कोर्सलाई ‘ह्याप्पिनेस क्लास’पनि भनियो । प्रारम्भमा सामान्य विद्यार्थी भर्नाको आकलन गरिएको उक्त क्लासमा एक चौथाइ अन्डरग्रयाजुयट स्टुडेन्ट भर्ना भएपछि कक्षा व्यवस्थापनमा ठूलो समस्या देखियो ।केही दर्जन विद्यार्थी अपेक्षा गरेको कक्षाकोठामा १२ सय विद्यार्थी सूचीकृत भएपछि व्यवस्थापनको अस्तब्यस्तताअन्यथा भएन । तर उक्त क्लासलाई क्याम्पसको ३१७ वर्षीय  इतिहासमा सबैभन्दा सफलतम कोर्स मान्छन् एलका सभापति पिटर स्यालोभी । 

यसै वर्ष ओल्ड इकोनोमिक फोरम डाभोसमा डा. स्यालोभीले सुखद जीवन बिताउने मानिसको लक्ष्यलाई आफ्नो युनिभर्सिटीले पूरा गरेकोमा प्रशन्नता व्यक्त गर्नमात्र भ्याएनन् बरु भेलाले समेत महाविद्यालयको उक्त कक्षाको प्रशंसा गर्यो । आफ्नो क्षमताअनुरूपको लक्ष्य निर्धारण गर्ने तथा उपलब्ध स्रोत र साधनको उपयोगमार्पmत कसरी अर्थपूर्ण जीवन व्यतीत गर्ने भन्ने व्यावहारिक पाठ सिकाएकाले सो कक्षालाई सफल मानियो । लक्ष्यबिहीन संघर्षभन्दा यथार्थवादी गोरेटो हिँड्नु भन्ने कुरा बेठीक हुने भएन नै । ऐलमा उक्त कोर्सको सफलतापछि अन्य विश्वविद्यालय पनि त्यस्तै किसिमका कक्षा सञ्चालन गर्न उद्यत देखिए।

तथ्यांक हेर्दा प्रतिष्ठित विश्वविद्यालयका विद्यार्थीहरूमा मानसिक रोगको समस्याउच्च देखियो । मनोरोगका कारण नामचलेका स्कुलका विद्यार्थीले अन्यत्रका सहपाठीका तुलनामा सुख अनुभूत गर्न नसकेकोमात्र देखिएन बरु त्यहाँ आत्महत्याको प्रतिशत अन्य महाविद्यालयभन्दा अधिक देखियो ।

उदाहरणका लागि जम्मा २ हजार विद्यार्थी अध्ययनरत क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, क्याल्टेकमा सन् २००६ देखि २०१० को अवधिमा ५ जना विद्यार्थी र १ प्राध्यापकले आत्महत्या गरेको देखियो । अध्ययनले क्याल्टेकका तीआत्महत्याका घटनापढाइको अनावश्यक तनावले सिर्जना गरेको देखियो ।त्यस्तै, सन् १९९०को रशायनशास्त्रको नोवेल पुरस्कार विजेता हार्वार्ड विश्वविद्यालयका प्राध्यापक इलियस कोरेको ल्याबमा २ वर्षको अवधिमा दुई विद्यार्थीले प्राणत्याग गरे ।ल्याबको तनाव धान्न नसक्नु नै हार्वार्डकोपनि आत्महत्याको कारण देखियो। 

सन्ततिको क्षमताअनुरूपको बोझमात्र बोकाउने अभिभावकीय संस्कारको महत्व आफ्नै स्थानमाछ । तनावपूर्ण प्रतिस्पर्धाभन्दा खुसी प्राप्तिलाई जीवनको लक्ष्य बनाउनु मानव हितमा रहेकाले तद्अनुरूपका पाठ्यक्रम तर्जुमा गर्नु शैक्षिक संस्थाको कर्तव्य देखियो ।  

ठूलो मेहनत तथा लगानीका साथ संभ्रान्त महाविद्यालयमा पुगेका विद्यार्थीमा सपना उच्च हुनेनै भयो । आआफ्नो क्षेत्रमा उच्च सफलता हासिल गरेर मार्गदर्शक सावित गर्ने लक्ष्यका साथ अध्ययन सुरु गरेका बच्चामा परिणाम सकारात्मक नहुनेबित्तिकै उदासीनता आउने अनि अन्ततःउनीहरूमानसिक रोगको सिकार हुने गरेको देखियो ।लक्ष्य प्राप्त गर्न नसक्ने अवस्था आउनेबित्तिकै वैकल्पिक बाटो रोज्नुको सट्टा देहत्याग गर्ने सोच राख्ने विद्यार्थीको संख्या बढ्दै जाँदा ती समस्याको व्यवस्थापन विश्वव्यापी चुनौतीका रूपमा रह्यो।

मनोरोगले ग्रसित विद्यार्थीहरूको सहयोगार्थ परामर्शदाताको व्यवस्था भए पनि मानसिक समस्यामा परेकाहरूले त्यसबाट खासै फाइदा लिन सकेको देखिएन । प्रतिकूल अवस्थामा समेत आफूलाई कसरी खुसी राख्ने भन्ने विषयलाई अभियानको रूप दिन सके सकारात्मक सन्देश प्रवाह गर्न सकिने भएकाले ऐलले सञ्चालन गरेको ‘ह्याप्पिनेस’ जस्ता कक्षा अन्यत्र पनि सञ्चालन गर्नुपर्ने दबाब पर्यो । नेपालमा समेत मानसिक रोगीको संख्या दिनानुदिन बढ्दै गएको अवस्थामा विश्वविद्यालयले त्यता ध्यान दिन आवश्यक देखियो । त्यसो त उच्च कृषि उत्पादनको लक्ष्यसहित बैंकबाट ऋण लिएर खेती गर्दा उत्पादन नभइदिँदा डिप्रेसनमा गएका किसानको कथा फरक नहोला । चिताएको कुरा नपुग्दा दुखित को हुँदैन र?

हामीमा देखिने सकारात्मक भाबना र नकारात्मक सोचलाई शरीरमा पैदा हुने हर्मोनहरूले निर्देशित गर्छन् ।सकारात्मक खबर सुन्दा शरीरलाई खुसी बनाउने हर्मोनहरू क्रियाशील हुन्छन् भने खराब सन्देशले नकारात्मक हर्मोनहरू पैदा हुन्छन् । खुसी तथा दुःखी बनाउने हर्मोनका क्रियाशीलताले मानिसको मनोविज्ञानलाई नियन्त्रण गर्ने हो । प्राकृतिकरूपलेनैखुसीकाहर्मोनहरू नकारात्मक इन्जाइमका तुलनामाबढी क्रियाशील हुने शारीरिक बनोट भएका व्यक्ति प्रायः खुसी देखिन्छ । समान सामाजिक परिवेशमा हुर्केका दाजुभाइमा एउटा सधैँ खुसी रहने अनि अर्को उदास देखिनुमा उसको शरीरमा बन्ने हर्मोनहरू जिम्मेवार छैनन भन्ने होइन।

अब के-कस्ता हर्मोनले हामीलाई खुसी तुल्याउँछ र त्यसको उचित व्यवस्थापन कसरी गर्ने भन्नेमा ध्यान दिउँ ।जैविक पद्धतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हर्मोनले एक स्थानको सन्देश अर्को ठाउँमा पुर्याउने भएकाले मानव शरीरमा तिनीहरूको बहुआयामिक भूमिका हुन्छ । अहिलेसम्मको पहिल्याइले मानिसलाई खुसी बनाउन सामान्यतः चारवटा हर्मोनले भूमिका खेल्छन्।

डोपामिन, अक्सिटोसिन, सेरोटोनिन तथा इन्र्डोफिन हर्मोनको उचित व्यवस्थापनले मानिसलाई बहुआयामिकरूपले खुसी बनाउँछ । तरमानव शरीरमा ती हर्मोनका आआफ्नै भूमिकाछन् । उदाहरणका लागि डोपामिनले मानिसलाई आनन्द दिन्छ । लक्ष्य भेदन गरेका अवस्थामा शरीरमा डोपामिन पैदा हुन्छ । उदाहरणका लागि सगरमाथामा पुग्ने मात्र लक्ष्य राख्नेहो भने चुचुरोमा पुगेपछि मात्र डोपामिन पैदा हुन्छ । एकमात्र लक्ष्य एभरेस्ट चढ्ने राख्दा कदाचित टाकुरोमा पुग्न सकेन भने उक्त व्यक्तिमा असन्तुष्टि पैदा हुन्छ।

तरसगरमाथामा पुग्ने योजनालाई फलानो दिन यो बेस क्याम्पमा पुग्ने, ढिस्कानो दिन फलानो स्थानमा पुग्ने जस्ता धेरवटा लक्ष्यमा विभक्त गरी योजना बनाउँदा प्रत्यक लक्ष्य प्राप्तिले शरीरमा डोपामिन पैदा गर्छ, खुसी ल्याउँछ । मुख्य लक्ष्य भेदन गर्न सकिएन भने पनि व्यक्ति सन्तुष्ट बन्छ । क्षमताअनुरूपको ससाना लक्ष्य बनाउने र त्यसलाई पार लगाउँदै जाने व्यक्ति लामो समयसम्म खुसी रहनुको कारण डोपामिनको क्रमिक उत्पादनले नै हो । विज्ञान पढ्ने विद्यार्थीले नोवल पुरस्कार पाउने लक्ष्य राख्नुपर्छ तर गर्दैभन्दै जाँदा महान्लक्ष्य पूरा गर्न सकिएन भने पनि सामान्य आविष्कारमा समेत आनन्द लिनुपर्ने पाठको उद्देश्य हो।

माया र पारस्परिक विश्वासले ‘अक्सिटोसिन’ हर्मोन पैदा गर्छ । पारिवारिक बिछोडका कारण प्रेमको अनुभूति गर्न नसकेको अवस्थामा शरीरमा यो हर्मोनन्यून हुन्छ । परिणामस्वरूप त्यस्ता व्यक्तिले खुसीको अनुभूति गर्न सक्दैन । खुसी र सफलताबीच प्रत्यक्ष सम्बन्ध रहने हुँदा पारिवारिक मायाले विमुख भएका व्यक्तिलाई सफलताको सिँडी चढ्न कठिन हुनुको कारणलाई अक्सिटोसिन हर्मोनले व्याख्या गर्छ नै।

त्यस्तै, खुसी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले सेरोटोनिनलाई ह्याप्पी हर्मोन पनि भनिन्छ । खुसी र उदासीपनबीच विरोधाभाष सम्बन्ध हुने भएकाले प्रशन्न व्यक्तिहरू मानसिक रोगको सिकार हुँदैनन भन्ने हो । व्यक्तिलाई कुनै विधिबाट खुसी बनाउन सक्नेहो भने आत्महत्या गर्ने सोचबाट उसलाई बचाउन नसकिने होइन । त्यस्तै इन्डोर्फिनलाई प्राकृतिकरूपमा दुखाइ कम गर्ने हर्मोन पनि भनिन्छ ।

कडा शारीरिक परिश्रम गर्ने मानिसमा इन्डोर्पिनको उत्पादन बढी हुने भएकाले खेलाडीहरूमा चोट पटकको प्रभाव कम हुनेहो । संयुक्त राज्य अमेरिकाको नर्थ वेस्टर्न युनिभर्सिटीले गरेको खोजअनुसार जिब्रोले महसुस गर्ने पिरोलाई समेत हाम्रो दिमागले पीडाका रूपमा बुझ्ने हुँदा इन्डोर्फिन उत्पादन हुन्छ र अन्ततः शारीरिक दुखाइ कम हुन्छ । प्राचीन कालमा खोर्सानीलाई पेन किलरका रूपमा प्रयोग गरिनुको कारण पुष्टि भयो।

खुसीपूर्वक बाँच्ने चाह सबैमा हुन्छ । इच्छाएको कुरा पूरा हुँदा प्रशन्न हुनु अस्वाभाविकहोइन तर चाहना राखेका सबै कुराफत्ते गर्न सकिन्न । असम्भव लक्ष्य राख्दा भेदन कठिन बन्ने भएकाले सामथ्र्यअनुसारको इच्छा राख्नुपर्ने हुन्छ । महालक्ष्यका अतिरिक्त हासिल गर्न सकिने लघु उद्देश्यहरू कायम गरी मनलाई प्रफुल्ल राख्नु बुद्धिमानी देखियो । परिश्रमले खुसी हर्मोनको उत्पादन बढाउने हुँदा शारीरिक व्यायाम लाभदायक देखियो।

योगामार्फत मस्तिष्कलाई नियन्त्रण गर्न सकिने भएकाले ध्यानमार्फत ह्याप्पी हर्मोनको उत्पादन बढाउनु उचित भयो । स्वस्थ आहारबिहारले खुसीको बढोत्तरी गराउने भएकाले त्यता पनि ध्यान दिनुपर्ने हुन्छ । सन्ततिको क्षमताअनुरूपको बोझमात्र बोकाउने अभिभावकीय संस्कारको महत्व आफ्नै स्थानमाछ । तनावपूर्ण प्रतिस्पर्धाभन्दा खुसी प्राप्तिलाई जीवनको लक्ष्य बनाउनु मानव हितमा रहेकाले तद्अनुरूपका पाठ्यक्रम तर्जुमा गर्नु शैक्षिक संस्थाको कर्तव्य देखियो।

 

 

 

 

 

प्रकाशित: १५ श्रावण २०७५ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App