विकासको क्रममा रहेका अल्पविकसित दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेशले गरेको आर्थिक उपलब्धि यस क्षेत्रमा चर्चा गरिनु योग्य बनेको छ।
करिब डेढ–दुई दशकदेखि हासिल गर्दै आएको उच्च आर्थिक वृद्धिले यस वर्षदेखि बंगलादेश संयुक्त राष्ट्रसंघद्वारा निर्धारण गरिएका आर्थिक, सामाजिक, मानवीय विकास तथा जोखिम वहनसहितका तीनवटै मापदण्डहरू पूरा गरी अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको समूहमा समावेश हुने यात्रामा सहभागी हुन सफल भएको छ।
त्यसैगरी न्यून आय भएको मुलुकबाट न्यून मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न सफल भएको छ । विगत दुई दशकमा बंगलादेशको आर्थिक वृद्धिदर ५.९५ रहेकामा विगत ५ वर्षमा उक्त वृद्धि दर ६.८ बाट ७.६५ पुगेको छ । विकासक्रमसँगै बंगलादेशको अर्थतन्त्रको संरचना विकास सहयोग प्राप्त गर्नेबाट व्यापारमुखी अर्थतन्त्र बन्न गएको छ । २०१७ मा कुल निर्यात ३४,६५६ मिलियन अमेरिकी डलर, आयात ४७,००५ मिलियन र रेमिटेन्स १२,७६९ मिलियन तथा वैदेशिक सहायता ३,५३१ मिलियन अमेरिकी डलर रहेकोबाट समेत फेरिँदै गएको बंगलादेशको अर्थतन्त्रलाई बुझ्न सकिन्छ।
यस क्रममा बंगलादेशको अर्थतन्त्रका आधारभूत पक्षहरूमा परिवर्तन देखापरेका छन् । प्रमुख रूपमा निर्यात हुँदै आएका तयारी गार्मेन्ट्स, फर्माच्यूटिकल, मत्स्य उत्पादनका अतिरिक्त बंगलादेशले विगत केही वर्षदेखि कृषि उत्पादनका क्षेत्रमा समेत उल्लेख्य उपलब्धि हासिल गरी कृषि उत्पादन निर्यात गर्न सफल भएको छ । केही वर्षयता विश्व मानचित्रमा बंगलादेश धान र माछा उत्पादनमा चौथो, तरकारी उत्पादनमा तेस्रो, बाख्रा उत्पादकमा चौथो, आँप उत्पादनमा सातौँ स्थानमा पु¥याउन सफल भएको व्यहोरा तथ्यांकले देखाउन थालेका छन् । यद्यपि अन्य क्षेत्रको तुलनामा गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घटेर १३.८५ मा पुगेको छ, तर १९७० मा कुल खाद्यान्न उत्पादन १० मिलियन टन रहेको बंगलादेश हाल ३५.१ मिलियन टन उत्पादनसहित खाद्यान्नमा करिब आत्मनिर्भर भई निर्यातकर्ताको अवस्थामा पुगेको छ ।
कृषि लागतमा अनुदान, कृषि अनुसन्धान तथा विकासमा लगानी, कृषि विस्तार तथा बजारीकरणका क्षेत्रमा सरकारको नीतिगत हस्तक्षेप तथा सुधारसहित कृषि विकास कार्यक्रमहरूको कार्यान्वयन, राजनीतिक स्थिरताले सरकारी नीति र कार्यक्रममार्फत गरिएका प्रयासले नतिजा प्राप्तिमा प्रत्यक्ष योगदान दिएको देखिन्छ । करिब १७ करोड हाराहारीको जनसंख्याको आन्तरिक माग पूरा गर्नु आफैँमा चुनौतीपूर्ण छ, तर आज आन्तरिक माग पूरा गरेर उल्लिखित उत्पादनहरू विदेश निर्यात गर्ने अवस्थामा बंगलादेश पुगेको छ । वाणिज्य मन्त्रीले सदनमा दिएको तथ्यांकलाई हेर्दा पनि बंगलादेशले २०१६÷१७ मा तरकारीसमेत करिब ४१ देशमा निर्यात गरेको देखिन्छ।
बंगलादेशमा बितेको एक दशकमा कृषि उत्पादकत्वमा प्रतिहेक्टर धान उत्पादन ३,७६१ केजीबाट ४,६२९ केजी पुर्याउन सफल भएको छ । के थिए त सरकारका नीति तथा कार्यक्रमहरू ? जसले कृषि क्षेत्रको विकासमा योगदान गरे ? यो सफलताको गहिराइमा मूलतः नीति तथा कार्यक्रमको निरन्तरता र सरकारको स्थायित्व नै देखिन्छ । जस्तैः सरकारले किसानसम्म रासायनिक मल, उन्नत बिउ, सिँचाइ, कृषि यन्त्रीकरण, प्रविधि हस्तान्तरण, खेतीमा विविधीकरण तथा बजारीकरण, कृषि पुनःस्थापना सहयोग जस्ता कृषि नीति तथा विकासका कार्यक्रमहरू १९९० देखि नै निरन्तर रूपमा कार्यान्वयन गरेको पाइन्छ । हाल आएर लक्षित वर्गलाई प्रत्यक्ष सहयोग पुर्याउन कृषक परिचयपत्रको व्यवस्था गरिएको छ ।
परिचयपत्रकै आधारमा किसानलाई मोबाइल बैंकिङका माध्यमबाट अनुदानको सहयोग प्रत्यक्ष नगद हस्तान्तरणको व्यवस्था गरेको पाइन्छ । जसका आधारमा किसानले उन्नत बिउ, प्रविधि, सिँचाई, कृषि विविधीकरण, सूचना तथा बजारीकरणमा अनुदान सहयोग पाउनुका साथै सरकारले सञ्चालन गरेका कार्यक्रमसँग प्रत्येक्ष जोडिने अवसर प्राप्त गरेका छन् । साना सिँचाइ योजना, पानी डुबान हुने क्षेत्रको संरक्षण र घटाउने, बिउबिजनमा सुधार, पानी डुबानले कम असर गर्ने, नुनिलो पानी तथा ज्यादा तापक्रमले कम असर गर्ने बिउको विकास तथा वितरण जस्ता कार्यक्रमहरू सञ्चालनबाट साना किसानहरूलाई समेत कृषिमा टिकिरहन र विविधीकरण गर्न सहयोग पुगेको देखिन्छ।
नेपालीका लागि सबैभन्दा लोभलाग्दो पक्ष भनेको बंगलादेशमा जमिन खाली रहने समय केही दिन वा हप्ता मात्र हो, जुन एक बालीको हार्भेस्टपछिको अर्को बाली रोप्नका लागि तयारीमा लाग्ने समय मात्र हो । ठूलो मात्रामा गरिएका बदाम खेती कुनै चकलेट बनाउने कारखानासँगको आबद्धतामा भएका छन्, बदाम खेती र चकलेट फ्याक्ट्रीको सम्बन्ध, मकै र पोल्ट्री दाना मिलको सम्बन्ध, रेसम र कपडा फ्याक्ट्री, जुट खेती र जुट मिलको आबद्धताले कृषकहरूलाई पेसामा विविधीकरण गर्न, उत्पादकत्व बढाउन र व्यावसायिक खेती गर्न सहज बनाएको देखिन्छ । नेपालमा हालसम्म खेतीमा प्रत्यक्ष आधारित उद्योगहरू विरलै देख्न पाइन्छ।
मुलभूत रूपमा कृषि उत्पादनको प्रत्यक्ष सम्बन्ध स्थानीय उद्योग र उपभोक्ता बजार साथै मुलुकको निर्यातसँग प्रत्यक्ष रूपमा स्थापित हुनु नै कृषिमा सफलताको प्रमुख आधार बन्न पुगेको देखिन्छ । जसले गर्दा किसानहरू बजारको अभावमा पेसाबाट विमुख हुनुपर्ने अवस्था छैन । त्यसैगरी बंगलादेशमा सरकारी क्षेत्रबाट कृषि उत्पादनलाई प्रत्यक्ष सहयोग पुग्ने गरी गरिने अध्ययन अनुसन्धान, बजारीकरणमा गरिने सहयोगी कार्यहरू साँच्चिकै उपयोगी र प्रभावकारी सिद्ध भएका देखिन्छन् । यी सबैको परिणामस्वरूप आज बंगलादेश तयारी पोसाकमा मात्र नभई जुट, धान, माछा, तरकारी जस्ता कृषि उत्पादनमा समेत एक अग्रणी मुलुकका रूपमा विकास गर्ने क्रममा छ।
आकासे पानीमा भर परेको खेती, आधुनिक बिउबिजनको अभाव, खण्डित कृषि जमिन, परम्परागत खेती, अधिकांस समय बाँझो रहने नेपाली कृषि जमिन, विदेशिने जमातले कृषि श्रमिकको अभावले महिला र जेष्ठ नागरिकमा आश्रित खेती, बजारीकरणको अभाव, छिमेकमा ठूलो मात्रामा व्यावसायिक रूपमा गरिने कृषिका सस्ता उत्पादनले निराश पार्ने खुला सीमासहितको स्थानीय कृषिबजार भएको अवस्थामा कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणमा सरकारले दिएको जोडलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छिमेकी मुलुकले गरेका केही यस्ता प्रयास र प्राप्त सफलता सायद शिक्षाप्रद तथा सहयोगी सन्दर्भ हुनसक्ने आशा गर्न सकिन्छ कि ?
(नेपाली राजदूतावास, बंगलादेश)
प्रकाशित: ७ श्रावण २०७५ ०४:४६ सोमबार