नेकपा एमाले र माओवादी केन्द्रले यही जेठ ९ गते पार्टी एकता गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’को करिब २४ वर्षे एकछत्र नेतृत्वको विधिवत अन्त्य भएको छ। १० वर्षे जनविद्रोहको मूल नेतृत्व गरेको, १७ हजार जनताको बलिदानी, सयौँको अंगभंग, आफन्त परिवारको सदस्य गुमाएका, भौतिक क्षति, जनधन गुमाएका त्रासद स्थितिका नायक उनी पछिल्लो उपलब्धिका मुख्य सूत्रधार पनि हुन्। मूलतः गणतन्त्र, संघीयता, धर्मनिरेपक्षता समावेशिताको श्रेय १० वर्षे जनविद्रोहले स्थापित गरेका मुद्दा हुन्।
प्रचण्डकै भनाइअनुसार उनले जनयुद्ध सुरु गर्नुपूर्व हतियार चलाउने लगायत युद्धका तौरतरिका गोरखाको हाल सिराञ्चोक गाउँपालिकामा पर्ने श्री नाथकोट जंगलमा सिकेका थिए, जुन स्थान यस पंक्तिकारको घरदेखि अलि माथि जंगलमा पर्छ। गोरखाकै एक दलित, दिलबहादुर रम्तेल जनयुद्धकै प्रथम सहिद हुन् । त्यतिमात्रै होइन दलितलाई समानता विभेदबाट मुक्ति, न्याय दिन, महिला, आदिवासी जनजाति लगायत उत्पीडित वर्ग, समुदाय, क्षेत्रलाई पूर्ण हक अधिकार स्थापित गर्ने नाउँमा हतियार बोक्न बाध्य पारियो । मर्न अनि मार्न निहत्था, निमुखा, गरिब, शोषित, उत्पीडित, भोका जनताको भावना र कमजोरीमाथि खेल्दै जनविद्रोहमा प्रयोग गरिएकै हो । जसलाई जुन चीजको अभाव छ, जुन वर्ग समुदाय दमनमा परेका छन्, जुन वर्ग समुदाय राज्यको शासनाधिकारबाट वञ्चित छन्, तिनलाई राज्य सत्ताप्रति वितृष्णा एवं आक्रोश भरिदिने कार्य गरियो। २०६२/६३ सालको जनआन्दोलन हुँदै तत्कालीन संसद्वादी ७ दलसँग शान्तिपूर्ण राजनीति गर्न सम्झौतागर्न बाध्य भयो, माओवादी।
शान्तिपूर्ण राजनीतिको अवतरणपश्चात्प्रचण्डको ख्याति झनै बढ्न पुग्यो । किन पनि भने विद्रोहको समयमा त उनीबारे सर्वसाधारणमा भ्रम र अन्योल थियो ।संविधानसभाको निर्वाचनलाई प्रयोग गरी शोषित, पीडित जनता, उपेक्षित क्षेत्र, लिङ्ग, जाति, समुदायको मुक्ति गर्न उनको भाषण, आश्वासन, भाव र भंगिमाप्रति सर्वसाधारण जनता अत्यन्तै आशावादी बन्न पुगे। साँच्चिकै गरिब, मजदुर, भूमिहीन, किसान, श्रमिक वर्ग उत्पीडित जाति, दलित, सीमान्तीकृत समुदायको मुक्तिदाता केवल यिनै प्रचण्ड नै हुन् भन्ने धेरैलाई परेको थियो । सिंहकै गर्जनमा उनी सामन्ती, सहरिया, सुकिला–मुकिला, दलाल, कालाबजारीविरुद्ध गर्जिने गर्थे । “अब केही हुन्छ है देशमा” भन्ने सबैलाई लागेको थियो।
अब त उनी प्रचण्ड रहेनन्, पुष्पकमल दाहालमा नै फर्किसके । प्रचण्ड न जात, न धर्म, न वर्ग, न समुदाय, केवल साझा थिए । उनी माथि केही कठोर प्रश्न छन् :
१७ हजार जनताको जीवन जाने गरी सशस्त्र क्रान्तिको बाटो उनले किन रोजे ? जनतालाई दिइएका आश्वासन उनले किन पूरा गरेनन् या गराउन चाहेनन् ? मुक्तिका निम्ति जनता लडाउनु भयो, मार्न र मर्न तयार गर्नुभयो, आखिर मुक्ति कसको भयो ? यस्तै गरी तपाईंकै भाषामा अवसरवादी संशोधनवादी, गैरकम्युनिस्ट (माओवादीहरू एमालेलाई कम्युनिस्ट मान्दैनथे) एमालेसँग मिल्नु नै थियो भने त्यत्रो जनताको जीवन किन सिध्याएको? अहिलेकै जस्तो प्रचण्ड हो भने के तपाईंले नै जनविद्रोहको नेतृत्व गर्नुभएको हो त ? कि देखावटी तपाईं भए पनि नेतृत्व अर्कै व्यक्ति या शक्तिले गथ्र्याे ? सम्भवतः प्रचण्डले यी र यस्ता सवालको जवाफ दिन सक्ने हिम्मत र हैसियत दुवै गुमाइसकेका छन्।
युद्धको समयमा दलितमाथि जातीय विभेद गर्न डर थियो । माओवादी हतियारधारी हुने भएकाले दलित नै भए पनि विभेद गर्ने, घरभित्र प्रवेश निषेध गर्न, छुवाछुत गर्न डराउने गर्थे । हतियारधारीसँग को बोलून् । अस्थायी नै भए पनि विभेदी व्यवहारमा बद्लाव आएको थियो । तर जब माओवादी शान्तिको मार्गमा आयो, सामन्ती, जमिनदार, भ्रष्ट, बेइमान, दरबारिया सबै मिसिए । रातारात माओवादी बने । पार्टीभित्र विचलन आयो । पार्टी फुटैफुटको दलदलमा फस्यो । मोहन वैद्य ‘किरण’, बादल, मातृका यादव, नेत्रविक्रम चन्दहरूले पार्टी विभाजन गरे । संशोधनवादमा प्रचण्ड फसेको, सहिदको रगतमाथि खेलबाड गरेको, पद, सम्पत्ति र सत्तामा लिप्त भएको आरोप लाग्यो, उनीमाथि।
जनयुद्धमा समर्पित, जुझारु, सैद्धान्तिक रूपमा प्रशिक्षित, सक्षम नेता, कार्यकर्ताले माओवादी केन्द्र छोड्दै गए । पछि पार्टीमा प्रवेश गरेका, जनयुद्धको कट्टर विरोधी, स्वार्थी, अवसरवादी, फाइदा उठाउने प्रवृत्ति बोकेका, ठग, व्यापारी, नवआगन्तुकहरूमात्रै प्रचण्डको साथमा रहन पुगे । पार्टीमा नै रहेका इमानदार, योग्य, लडेका, भिडेका, योगदान दिएका, सक्षम नेता कार्यकर्ता भूमिकाविहीन बन्दै गए । अन्ततः प्रचण्डसँग पार्टी सञ्चालन गर्ने, दूरदृष्टि राख्ने, राजनीतिक मार्गदर्शन र आँट नै समाप्त हुन पुग्यो । यस अर्थमा पार्टी एकता प्रचण्ड र उनका आसेपासेको स्वार्थका निम्ति मात्रै भएको स्पष्ट छ।
कतिपयलाई अझै पनि लाग्न सक्छ, प्रचण्ड त झनै विशाल नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वगर्न पुगेका छन् । शोषित, उत्पीडित वर्गको मुक्तिका निम्ति झनै दृढताका साथ काम गर्न र कार्यान्वयन गर्न सक्लान् । तथापि यो एक दिवास्वप्न मात्रै हो। क्रान्तिको ऐतिहासिक नायक, नेतृत्वकर्ता सक्षम र आफ्नै नामको पथ ‘प्रचण्डपथ’ समेत निर्माण गर्न सफल व्यक्तिमाथिको उत्पीडित वर्गको मुक्ति आकांक्षा मृत बन्न पुगेको छ । मुक्तिका निम्ति लडेका, शहादत प्राप्त गरेका, क्षति व्यहोरेका, यातना सहेका, गरिब, निमुखा जनताको सवाल हो, प्रचण्ड– खोई त उत्पीडित वर्गको मुक्ति ? साँच्चै परिवर्तन गर्न हिँडेका माओवादी उनीहरू आफैँ बदलिएछन् । त्यसै बदलिनेहरूमध्येकै नेता भएछन्, क. प्रचण्ड!
प्रकाशित: २० जेष्ठ २०७५ ०५:५८ आइतबार