१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

मानिसको दिमागको गहिराइ

स्नातक तहसम्म विज्ञानको पुस्तकै नपढेका दाङका प्रकाश अधिकारी अहिले चीनमा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत रहेको खबर सुन्दा जो कोहीलाई अचम्म लाग्नु अस्वाभाविक होइन। भाषा सिक्नका लागि कोरिया गएका अधिकारीले त्यहाँका प्राध्यापकलाई आफूले अहिलेसम्म साइन्स नपढेको तर अवसर पाए राम्रो गरेर देखाउन सक्ने कुरामा विश्वस्त तुल्याए। आत्मविश्वासका कारण उनले रशायनशास्त्रको स्नातकोत्तर तहमा भर्ना मात्र पाएनन् बरु विश्वविद्यालयमा समेत राम्रो गरेर देखाए। स्नातकोत्तरको सफलतापछि विद्यावारिधिसमेत गर्न उनलाई हुटहुटी लाग्यो। अन्तमा स्तरीय अनुसन्धानात्मक लेखसमेत प्रकाशित गरे। ग्रयाजुयट गर्दासम्म विज्ञानको मुखै नदेखेको नेपालीले केमेस्ट्रीमा विद्यावारिधि गरे। पछिल्लो दिनमा उनी वैज्ञानिकका रूपमा स्थापित पनि भए चीनमा।

अमेरिकी राष्ट्रपति बाराक ओबामाका वैज्ञानिक सल्लाहकार तथा म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक एरिक ल्यान्डरसँग क्याल्टेकमा कार्यरत रहँदा साक्षात्कारको अवसर जु-यो। गणितमा विद्यावारिधि गरेका ल्यान्डरले हार्वार्ड बिजनेस स्कुलमा अर्थशास्त्र पढाउँथे भने एमआइटीमा दर्जनौँ अनुसन्धानकर्तालाई बायोलोजीका विविध आयाममा अनुसन्धानको सुपरीवेक्षण गर्थ। हिसाब पढेको मानिस, अर्थशास्त्र पढाउने अनि बायोलोजी ल्याबको मुख्य अनुसन्धानकर्ताको दायित्व एकैसाथ कसरी निभाउँछौ भन्ने आफ्नो प्रश्नका सम्बन्धमा डा. ल्यान्डरले मानिसको दिमाग कम्प्युटरको हार्डडिस्क जस्तो भरिने प्रकृतिको नभएकाले फरक फरक विधामा एकैपटक हात हालेरसमेत उत्तिकै सफलता हासिल गर्न सकिने उनको निचोड आयो। गणितमा विद्यावारिधि गरेपछि रोग लाग्नुको मुख्य कारण आणुवांशिक पदार्थ, जिनमा आउने खराबी भन्ने बुझेपछि स्वअध्ययनमार्फत बायोलोजी अध्ययन गरेका डा. ल्यान्डर अहिले क्यान्सरको ओखती पत्ता लगाउन तल्लीन छन्।

समाजसेवाले दिमागमा बाहुल्य पाएको मानिसमात्र राजनीतिमा आउने वातावरण बनाउने सके मुलुकले रफ्तारी विकास गथ्र्यो कि?

वैज्ञानिक अधिकारी र ल्यान्डरको उदाहरण केवल एउटा व्यक्तिको पेशागत फड्कोसग मात्र गाँसिएको छैन बरु एउटा मानिसको दिमाग कतिसम्म चलायमान बन्न सक्छ भन्ने फेहरिस्त पनि हो । मानिसको बुद्धि र ज्ञानको सीमा कति हो र मानिसको दिमागमा के कति अट्न सक्छ ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ। मानिसको दिमागको भण्डारण क्षमता कति हो भन्ने सम्बन्धमा मोटामोटी निक्र्याेल भने नभएको होइन। शरीरमा एक स्थानको खबरलाई अर्को भागमा पु-याउने विशेष प्रकृतिको कोसलाई न्युरोन भनिन्छ। अमेरिकाको नर्थबेस्टर्न युनिभर्सिटीको ‘ब्रेन, बिहेबियर र कग्नेटिभ’ विभागका प्रमुख डा. पउल रेबर मानव मस्तिष्कका एक अरब न्युरोनले आपसमा करिव १ हजार ठाउँमा सम्बन्ध राख्दाको अवस्था विचार गर्दा मानब मस्तिष्कले संसारमा अहिलेसम्म आविष्कार भएको सुपर कम्प्युटरको हार्डडिस्कको क्षमताभन्दा पनि अधिक तथ्याड्क राख्न सक्ने देख्छन् । तुलना गर्दा ३०० वर्षसम्म लगातार टेलिभिजन चलाउन आवश्यक पर्ने भिडियो मानव मस्तिष्कमा सजिलै अटाउने ठान्छन् प्राध्यापक रेबल। उपरोक्त तथ्यांक विश्लेषण गर्दा मस्तिष्कको एक सानो हिस्सा पनि मानवले उपयोग गरेको देखिन्न। आफ्नो ब्रेनको स्टोरेजलाई पूर्ण उपभोग गर्ने हो भने मानिस कति परिस्कृत हुन्थ्यो होला?

एकै परिवारमा जन्मिएर त्यही समाजमा हुर्किएका बच्चाहरूमा कसैले सफलताको शिखर चुम्छ अनि कोही असफलताको दलदलमा भासिन्छ । आखिर त्यसो किन हुन्छ त ? कुनै पनि मानिसको सबल र दुर्वल दुवै पक्ष हुन्छ। मजबुत पाटोको पहचान गरी तद्नुरूपको कार्य गर्दा सफल होइन्छ तर आफ्नो दुर्वलतालाई राम्रो गुण ठान्दा मानिस असफल हुन्छ भन्ने कुरा नयाँ होइन । तर कुनै पनि व्यक्तिको राम्रा पक्ष के हो भनी ठम्याउने आधार भने थिएन। जसको परिपूर्ति गरे अनुसन्धानकर्ता टोम -याथले। विभिन्न व्यावसायिक क्षेत्रका झण्डै ७० लाख मानिससँगको अन्तर्वार्ता र ४० वर्षको अनुसन्धानको निचोडका रूपमा सन् २००७ मा टोम -याथले स्ट्रेन्थफाइन्डर (क्षमता जाँच) भन्ने पुस्तक प्रकाशित गरे। उनको पुस्तक अहिलेसम्म १६ भाषामा अनुवाद भयो, एक करोड प्रति बिक्री भए।

टोम -याथका  अनुसार मानिसमा जम्मा ३४ वटा लक्षण (हाम्रो संस्कृतिमा ३२ लक्षण भनिन्छ) हुन्छन्। सबैले आफ्नो सर्वोत्कृष्ट लक्षण समयमै पत्ता लगाएर त्यसैअनुसार आगामी काम गर्न सकोस् भन्नका लागि टोम -याथले स्ट्रेन्थफाइन्डर २ भन्ने सशुल्क अनलाइन प्रोग्राम बनाए । कम्प्युटर आधारित उक्त प्रोग्रामको प्रयोगबाट मानिसले छोटो अनलाइन परीक्षामार्पmत आफ्नो क्षमता अविलम्ब पहिल्याउन सक्छ। स्ट्रेन्थ फाइन्डरको उपयोग गरी पेशा छानेर आफूले सफलता हासिल गरेँ भन्ने जागिरेहरू धेरै फेला परेकाले उनको अनुसन्धानात्मक पुस्तक निकै लोकप्रिय भयो । लामो समयसम्म टोम -याथको पुस्तक न्युयोर्क टाइम्स, वालस्ट्रिट जर्नललगायतका धेरै प्रकाशनको सर्वाधिक बिक्रीको सूचीमा रह्यो । अझ महत्वपूर्ण कुरा त स्टिफेन हकिन्सले शरीर जीर्ण भएपछि ‘ए ब्रिफ हिस्ट्री अफ दाइम’ लेखेझैँ असामान्य अनुवांशिक रोगले ग्रस्त बनाएको अवस्थामा अनुसन्धानकर्ता -याथका स्ट्रेन्थफाइन्डरलगायतका सबै कृति प्रकाशित भए भनी सुन्दा कसलाई अचम्म नलाग्ला?

राजनीतिक चरित्र नभएको मानिस पोलिटिक्समा गए जतिसुकै पढेलेखेको भए पनि उसले सकारात्मक योगदान गर्न सक्दैन। तर राजनीतिक गुण भएको मानिस खासै अध्ययनशील नभए पनि उसले मुलुकको राजनीतिलाई नवीन दिशा प्रदान गर्छ भन्ने देखियो।

स्ट्रेन्थ फाइन्डर सफ्टवेयरले सोधिएका विभिन्न विधाका प्रश्नका सम्बन्धमा व्यक्तिले दिएका जवाफलाई संश्लेषण गरी उसमा अन्तरनिहित गुणहरूलाई क्षमताका आधारमा क्रमबध्दरूपले सूचीकृत गर्छ उच्च, मध्यम र निम्नस्तरका रूपमा । मानौँ, राजनीति कुनै मानिसको सवल पक्ष देखियो अनि संगीतलाई स्ट्रेन्थ फाइन्डरले निम्नकोटिमा राखेको अवस्थामा उक्त व्यक्तिलाई राजनीतिमा लाग्नका लागि परिवार तथा समाजले उत्प्रेरित गरे ऊ राजनेता बन्न सक्ने सम्भाबना प्रवल देखिन्छ। तथापि पारिवारिक दबाबका कारण उक्त व्यक्तिले संगीतमा हानिनुपर्ने अवस्था आए उपलब्ध सबै कुरा अनुकूल भए पनि उक्त व्यक्ति सामान्य संगीतकार बन्न सक्छ तर महानसंगीतकार कदापि बन्न सक्दैन भन्ने स्ट्रेन्थ फाइन्डरको निचोड हो। त्यस्तै मानिसले कमसल गुणलाई सवल पक्ष ठानी व्यवहार गर्ने अनि पारिवारिक समर्थनसमेत नभएको अवस्थामा व्यक्ति हरिलठ्ठु हुन्छ भन्ने हो। मानिसको नैसर्गिक गुण र मेहनत तथा पारिवारिक योगदानलाई बराबर अंक दिएर आफ्नो सिद्धान्तलाई गणितीय हिसावमा पुष्टि गर्ने कोसिससमेत गरेका छन् टम -याथले।

कर फछ्र्यौट प्रकरणमा नराम्ररी मुछिएका चुडामणि शर्माको प्रतिरक्षामा विद्यावारिधि गरेकाहरू किन उभिन्छन् अनि गाउँको अनपढ मानिस किन खराब गर्ने सबैलाई कारबाही गर्ने जनमन बनाउन तल्लीन हुन्छ त? त्यस्तै, मध्यम परिवारमा जन्मिएर औसत स्कुलमा शिक्षादीक्षा पाएका विश्वेश्वरप्रसाद कोइरालाले आफूलाई राजनीतिक धरोहरका रूपमा स्थापित गर्दा प्रधानमन्त्रीका छोरा डा शशांक कोइरालाले पटकपटक संसदीय चुनाव जितेर पार्टीको महामन्त्री जस्तो मर्यादित पदमा निर्वाचित हुँदा पनि किन आफूलाई राजनीतिज्ञका रूपमा स्थापित गर्न सकेनन् त । चरम गरिबीका अतिरिक्त संसारकै उत्कृष्ट फुटबल खेलाडी बन्न सफल पेलेले प्रवल चहाना राख्दाराख्दै पनि उनका छोरा नाति किन सकरको सामान्य खेलाडी पनि बन्न सकेनन् त भन्ने प्रश्न सरल छैन।

व्यापारिक लक्षणले दिमागमा अग्रस्थान लिएको मानिस उद्योग व्यवसाय गर्दा निकै सफलता हासिल गर्छ। तर, कदाचित त्यस्तो व्यक्ति राजनीतिमा प्रवेश गरे उसले राजनीतिलाई नाफा÷घाटाको व्यापारमा रूपान्तरित गर्छ। चुडामणि प्रवृत्तिको उपज व्यापारिक गुण भएको व्यक्तिले राजनीति गर्दाको परिणाम ठान्न सकिन्छ स्ट्रेन्थफाइन्डरको विवेचना गर्दा। कोइराला परिवारको राजनीतिक विरासत तथा ब्राजिलमा पेले फ्यामिलीको नियति नियाल्दा सम्बन्धित व्यक्तिहरूले आफ्नो सवल पक्ष पहिचान गरी तद्नुरुपको पेशा अंगाल्न नसकेको देखियो।   

संसारमा नोबल पुरस्कार पाउने व्यक्ति आआफ्ना विधाका उत्कृष्ठ विद्वान् हुन्। त्यसै सन्दर्भमा ग्रामीण विकास बैंकका पिता एवम् प्राध्यापक मोहमद युनुसले सन् २००६ मा नोबल शान्ति पुरस्कार पाउनेबित्तिकै आफ्नो बाँकी जीवन राजनीतिमा समर्पित गरेर बंगलादेशको दूषित राजनीतिलाई संग्ल्याउने उद्घोष गरे। त्यसको केही महिनापछि नै राजनीतिक क्षमता नभएकाले आफूले राजनीति गर्ने भावना त्यागेको घोषणा गरे । उनी राजनीतिमा होमिएका भए के हुन्थ्यो भन्ने सम्बन्धमा सदैव दुई उत्तर आउँछ। एक पक्षको राय छ– उनी राजनीतिमा होमिएका भए त्यहाँको राजनीतिमा धेरै सुधार आउँथ्यो। तर स्ट्रेन्थ फाइन्डरले अर्थ आर्जन र राजनीति फरक फरक विधा भएकाले बैकिंङ क्षेत्रमा सुधार गरेका कारणले नोबल पुरस्कार पाएका डा. युनुुसले बंगलादेशको धमिलो राजनीतिलाई सुधार्थे भन्ने कुरालाई धेरै दमदार ठान्दैन।

एसएलसीमा बोर्ड फस्ट गरेर विज्ञानको क्षेत्रमा राम्रो योगदान गरेका आर्किटेक्ट इन्जिनियर बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा धेरै योगदान गरे कि सामान्य पढेका बिपी कोइरालाले नेपाली राजनीतिमाा अधिक योगदान दिए ? उत्तर आफैँ बोल्छ। संंयुक्त राज्य अमेरिकाका अधिकांश राष्ट्रपति प्रतिष्ठित आइभिलिग कलेजका ग्राजुयट छन्। तर रोनाल्ड रेगन भने इलिनोइज राज्यको खासै चर्चामा नआएको युरेका कलेजबाट सि ग्रेड ल्याएर मुस्किलले ग्रयाजुएट भए। तर तिनै रेगनको पालामा लामो समयदेखि कायम पुँजीवादी तथा साम्यवादी मुलुकबीचको शीतयुद्ध अन्त्य भयो । सोभियत संघ विघटन भयो। अमेरिका संसारको सर्वाधिक शक्तिशाली मुलुक बन्यो । आधुनिक अमेरिकी इतिहासका एक सफलतम राष्ट्रपति बने रोनाल्ड रेगन । प्रारम्भिक जीवनमा फिल्मी लाइनमा लागेका रेगन त्यहाँको असफलतापछि राजनीतिमा लागे, सफल राष्ट्रपति भए । राजनीतिक गुणले दिमागमा अब्बल स्थान ओगटेका रेगनले फिल्मी लाइनमा सफलता पाउन नसक्नु अस्वाभाविक मान्दैन स्ट्रेन्थ फाइन्डर।

स्वास्थ्य अवस्था सामान्य रहे मानिसले नवीन कुराहरू सिक्न र जानेको ज्ञानलाई समयानुकूल उपयोग गर्न सक्छ भन्ने देखाउँछ ब्रेनको भण्डारण र प्रशोधनसम्बन्धी अध्ययनले। त्यस्तै विद्यावारिधि गरेको मानिसले अध्ययनका क्रममा सिकेको सीमित ज्ञानभन्दा एउटा सामान्य मानिसले दृढता भए स्वअध्ययनमार्पmत छोटो समयमा अधिक सिक्न सक्ने देखियो। त्यसैले राजनीतिक चरित्र नभएको मानिस पोलिटिक्समा गए जतिसुकै पढेलेखेको भए पनि उसले सकारात्मक योगदान गर्न सक्दैन । तर राजनीतिक गुण भएको मानिस खासै अध्ययनशील नभए पनि उसले मुलुकको राजनीतिलाई नवीन दिशा प्रदान गर्छ भन्ने देखियो।

मानवीय ब्रेनको अध्ययन र स्टे«न्थ फाइन्डरको निचोड जोडदा  सफल व्यापारी तथा राम्रो अनुसन्धानकर्तालाई राजनीतिको साँचो सुम्पिएर मुलुकमा सुशासन आउन सक्दैन भन्छ। उक्त कुराको पुष्टि स्वदेशी अनुभव र विदेशी अध्ययनले समेत देखायो। स्ट्रेन्थ फाइन्डरको उपयोगमार्फत नागरिकलाई जन्मजात गुणअनुसारको अध्ययन तथा पेशामा लगाउन सके मुलुकलाई थप उत्पादनशील बनाउन सकिन्थ्यो। अर्थशास्त्री बन्ने गुण भएको मानिसलाई विज्ञान पढाउँदा त्यति उत्पादनशील नहुने कुरा सबैले हेक्का राख्नुप-यो। अझैँ सबैभन्दा महत्वपूर्ण समाजसेवाले दिमागमा बाहुल्यता पाएको मानिसमात्र राजनीतिमा आउने वातावरण बनाउने सके मुलुकले रफ्तारी विकास गथ्र्यो कि?

प्रकाशित: २५ वैशाख २०७५ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App