नेपाली कांग्रेसको सम्भवतः सात दशकको इतिहासमा यति लामो समयसम्म पहिलोपटक केन्द्रीय समितिको बैठक बस्यो।२०७४ चैतमा सुरु भएर २०७५ वैशाख १६ सम्म (१४ दिन) चलेको बैठकको केन्द्रमा विगत साल सम्पन्न तीन तहका निर्वाचन नै देखियो। निर्वाचनमा पराजयले घाइते भएको नेपाली कांग्रेसले प्रशस्त विमर्श गर्ने काम गर्यो। ती विमर्शको निष्कर्षसमेत सार्वजनिक गरेको छ। यद्यपि विमर्शको निष्कर्षमा कुनै पनि नयाँपन छैन । निर्वाचनपछि हामीले नेपाली कांग्रेसका विषयमा धेरैपटक गरेका विश्लेषण जस्तै उसको निष्कर्ष छ। भविष्यका लागि कांग्रेसले गर्नुपर्ने प्रस्तावमा पनि नवीनता छैन । गर्नैपर्ने विषयप्रति प्रतिबद्धता जनाइएको छ। विगतमा राष्ट्रिय महत्त्वका इतिहास बनाउने परिघटनामा समेत नेपाली कांग्रेसको बैठक बसेका थिएनन्।
खासगरी २०५१ र २०५९ को संसद् विघटन, २०६३ मा धर्म निरपेक्षता घोषणा, २०४७ को संविधान खारेजी र राजसंस्था निलम्वन, २०६४ मा संघीयतामा जाने सहमति जस्ताराष्ट्रिय महत्त्वका मुद्दालाई एकल निर्णयबाट टुंग्याउने काम गरिएको थियो । गिरिजाप्रसाद कोइरालाका लागि वस्तुतः पार्टीभित्रको बहसको कुनै अर्थ थिएन । पार्टीभित्रको विपरित सोचलाई तह लाउन जिल्ला समितिहरू भंग गर्ने, पार्टी र विभाग पुनर्गठन गर्ने, समकालीन अग्रजहरूलाई किनारा लगाउने काम गर्दै कोइरालाले करिब १४ वर्ष पार्टी चलाए । २०५९ जेठमा गरिएको संसद् विघटन भने वर्तमान पार्टी सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको एकल निर्णय थियो । जसको परिणाम तत्कालकालागि घातक हुनपुग्यो।
ओलीले जुत्ताअनुसारको खुट्टा ताछेर, काटेर भए पनि बनाउनैपर्ने नयाँ भाष्य प्रस्तुत गरेका छन् । यो भनाइ निरंकुशताको द्योतक हो । यसविरुद्ध नेपाली कांग्रेस जनतासमक्ष पुग्ने बेला भएको छ ।
कोइरालाका ती सबै कर्मका सहयोगीमध्ये धेरैजसो अहिले देउवा विरोधी पक्षमा छन् र उनीहरू असहमतिलाई संस्थागत गराउनुपर्ने दबाब देउवामाथि सिर्जना गर्दैछन् । यद्यपि २०५९ मा देउवालाई सहयोग गर्नेहरूको ठूलो पंक्ति अहिले देउवाविरुद्ध गोलबद्ध हुनपुगेको छ । गिरिजाप्रसादको स्मृति लोकतन्त्रका लागि गरिएको संघर्ष निम्ति हुने गर्छ । २०५९ पछि पछिल्लो चरणमा उनको नेतृत्वले देशमा ऐतिहासिक परिवर्तन गराएकालेउनका विगतका ती अलोकतान्त्रिक अभ्यास छायाँमा परेका हुन् । लोकतन्त्रका निम्ति संघर्ष गरे पनि उनी लोकतान्त्रिक अभ्यासमा भने निरपेक्ष देखिन्थे भन्दा कतिपयलाई पाच्य हँुदैन भने कतिपयलाई मसला मिलेजस्तो हुनसक्छ । २०४८ मा निर्वाचन जितेर सरकारको नेतृत्व लिएपछिका व्यवहारले नै त्यस गैरलोकतान्त्रिक आचरण प्रमाणित गरिदिएका थिए।
जनआन्दोलनका नायक गणेशमान सिंहदेखि संविधान निर्माणको नेतृत्वगर्ने पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई सजिलै पाखा लगाएर कोइरालाले निर्णयहरू गरेका विषय अब इतिहास हुन पुगेको छ । २०५२ पछि त कोइराला पार्टी सभापतिसमेत भए । त्यसबेला शक्तिशाली पार्टी सभापति गिरिजाप्रसादले हुकुमी शैलीमा गरेका निर्णयलाई बिनासर्तशिरोधारण गर्नेमध्ये नै अहिले नेपाली कांग्रेसको शीर्ष तहमा पुगेका छन् । नेपाली कांग्रेसको वर्तमान नेतृत्वले पार्टीमा विद्यमान मुद्दामाथि विमर्श गर्नु यसैकारण अत्यन्त सकारात्मक विषय भएको छ । गिरिजाप्रसादका उत्तराधिकारी दाबी गर्ने शेरबहादुर र रामचन्द्र पौडेल आमनेसामने भएको अवस्थामा नेपाली कांग्रेसमा लोकतान्त्रिक अभ्यास हुनुलाई सुखद मान्नुपर्ने हुन्छ । वामपन्थी दलहरूमा आन्तरिक विवाद सिर्जना भएमा दुईधार अन्तरविरोधलाई निरन्तरता दिने सहमति गर्दै पार्टी चल्ने अथवा तुरुन्त विभाजित हुने घटना देखिँदै आएका छन् । तर कांग्रेसभित्रको विवाद भने ‘न मरिजाने न गरिखाने दीर्घरोगी’ जस्तो छ।
लामो केन्द्रीय समिति बैठकले पनि अन्तरविरोध घटाउन सकेन । हुन त निर्वाचनदेखि विविध विषयमा सर्वसम्मत निष्कर्ष सार्वजनिक भएको छ । बैठकमा भएको चर्को अन्तरविरोध हेर्दा र त्यहाँभित्रको काम कार्बाही सुन्दा यसरी सर्वसम्मत निष्कर्ष आउनेमा शंका थियो । निर्वाचनको जिम्मा कसले र किन लिने भन्ने विषय विवादको मूल मुद्दा भएकाले यस्तो शंका उत्पन्न भएको हो । दुई प्रतिस्पर्धी देश अथवा दुई युद्धरत देशले युद्धविराम गर्न शान्ति र सहमतिको सन्धिमा प्रयोग गरिने भाषा विवाद जस्तो गरी कांग्रेसका दुवै पक्षले अन्तिम निष्कर्षको भाषामा विवाद गरेको नसुनिएको होइन । यो विवादको मूलमा कांग्रेसभित्र पन्पिइरहेको प्रतिस्पर्धा र प्रतिशोधको खेल नै निर्णायक देखिन्छ । तर पनि पराजयको जिम्मा सिंगो पार्टी केन्द्रीय समितिले लिएको छ । पार्टी सभापतिले मात्र पराजयको जिम्मा लिनुपर्ने अडानमा रहेका पौडेलसहितको विचारले अन्ततः सहमतिको बाटो खोल्दै सिंगो पार्टी पंक्ति नै जिम्मेवार ठहर गर्नुले निश्चय पनि सकारात्मक सन्देश दिएको छ।
एकता, विश्वास, सक्रियता र रणनीतिक अभियान कांग्रेस पुनर्जीवनका आधार हुन् । विस्तारै पार्टी नेतृत्वमा नवीन सोच र संगठनात्मक कुशलता विकास जरुरी छ । २०३६ सालतिर गणेशमानले पञ्चायतबारे टिप्पणी गर्दा भन्थे– सर्पको मुखमा परिसकेको भ्यागुतोले आफ्नो मृत्यु बोध गर्दैन । उसले सास रहेसम्म अगाडि पर्ने कीरा फटेंग्राजिव्रोले तान्दै चपाउँदै गर्छ । यही अवस्था पञ्चायतको छ । ती महान् कर्मशील इस्पाती नेताले विगतमा प्रयोग गरेको यो उदाहरणको पाठ नेपाली कांग्रेसले अहिले सिक्ने बेला आएको छ।
वर्तमान सन्दर्भमा कांग्रेसले गुमाएको साख पुनस्र्थापित गर्नुपर्ने चुनौती छ । अहिले सत्तामा बसेको साम्यवादी शक्तिका कमीलाई आमनागरिकमा पुर्याउँदै ५ वर्षपछिको सम्भावनालाई सहज बनाउनुपर्ने जिम्मेवारी छ । तर आफूभित्रनै अल्झिरहेको विवादलाई निरन्तरता दिने दौडमा कांग्रेस नेतृत्व सक्रिय देखिन्छ । यतिसम्म कि आफ्ना दिवंगत नेता गिरिजाप्रसादबारे एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गरेको टिप्पणीबारे प्रत्युत्तर दिनसमेत सकिरहेको छैन । आन्तरिक झगडा र लफडामा ब्यस्त कांग्रेसका लागि सरकारमा बस्नेले के गरिरहेका छन् र के भनिरहेका छन्, चासो दिने फुर्सद देखिँदैन । केही दिनपहिले ओलीले गिरिजाप्रसाद कम्युनिस्ट भएको र उनलाई मनमोहन अधिकारीले कम्युनिस्ट बनाएको बताएका थिए । कोइराला कम्युनिस्ट थिए भनी अहिलेको पुस्तालाई सम्झाउनुको अर्थ नयाँ पुस्ताले लोकतान्त्रिक दलमा सामेल हुनुको कुनै औचित्य छैन भन्ने सन्देश दिने प्रयास हो । ओलीले यसो भन्दा इतिहास बंग्याएका छन्।
भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी हुनुपूर्व बिपी कोइराला माक्र्सवादबाट अत्यधिक प्रभावित थिए । उनलाई भारतका कम्युनिस्ट नेता श्रीपाद अमृतपाद डांगेले कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए । दाजुले कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि गिरिजाप्रसाद पनि उनकै पछि लागेका थिए । तर सन् १९४० मा महात्मा गान्धीले चलाएको ‘भारत छोडो’ आन्दोलनमा भारतीय कम्युनिस्ट पार्टीले गान्धीको अभियानविरुद्ध अंग्रेज शासकलाई सहयोग गरेपछि बिपीले कम्युनिस्ट पार्टी परित्याग गरे । बिपी, जयप्रकाश नारायण र डा. मनोहर लोहियाको समाजवादी आन्दोलनसँग जोडिन पुगे। बिपीले कम्युनिस्ट पार्टीको यो अवसरवादिताको पाठ पढाएपछि गिरिजाप्रसादले समेत कम्युनिस्टको संगत परित्याग गरे। मनमोहनले गिरिजाप्रसादलाई कम्युनिस्ट बनाएका भन्नु इतिहास बांगो बनाउनु हो।
आफ्नै साम्राज्यवादको विरोध गर्ने कम्युनिस्ट पार्टीले भारतमा साम्राज्य चलाइरहेको अंग्रेजलाई सहयोग गर्नु अवसरवादिताको निकृष्ट दृष्टान्त थियो । हुन त संसारका कम्युनिस्ट पार्टीको चरित्र योभन्दा भिन्न हुँदैन । अहिले सर्वाधिक क्रान्तिकारी मानिएका खड्गप्रसाद ओलीले २०६३ को जनआन्दोलनलाई परिहास गर्दै नेपालमा गणतन्त्र आउँछ भन्नु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु समान हो भनेका थिए । तर गणतन्त्र आएपछि उनी नै यस देशको मूली हुनपुगेका छन् । २०६२ मा उनको यो वचनले राजा र उनका समर्थकलाई सहयोग पुर्याउन खोजेको स्पष्ट हुन्छ । २०४६ को जनआन्दोलनका समयमा साम्यवादीहरूले नेल्सन मन्डेला भनी सम्बोधित मोहनचन्द्र अधिकारीले समेत जनआन्दोलन विपरित विचार प्रक्षेपण गरेको यहाँ स्मरणीय छ।
युवा अवस्थामा मानिसमा जोश हुन्छ, संसार थेग्ने आँट हुन्छ, परिवर्तनको सपना हुन्छ, तातो रगत हुन्छ र उनीहरूमा सम्वेदना भरिएको हुन्छ । तत्कालीन स्पेनी राजाको शब्द सापटी लिने हो भने जो मानिस २५ वर्षसम्म कम्युनिस्ट हँुदैन, त्यसमा तातो रगत नै हुँदैन र जो मानिस २५ वर्षपछि पनि कम्युनिस्ट भइरहन्छ त्यसमा मस्तिष्क नै हुँदैन। यो सूत्र अपवादबाहेक अनेक युवामा लागु हुने गर्छ । नेपालमा निर्मल लामा, कमलराज रेग्मी पहिले कांग्रेसमा थिए, पछि कम्युनिस्ट भए । वर्तमानमानै पनि आजको माओवादी नेतृत्वको शीर्षमा रहेका नारायणकाजी श्रेष्ठ पहिले हामीसँंगै नेपाल विद्यार्थी संघमा थिए । यी अपवाद हुन् । पहिले कम्युनिस्टमा लागेका अनेक युवा पछिल्ला दिन, खासगरी सिद्धान्त, भनाइ र गराइ मूल्यांकन गर्ने भएपछि साम्यवादी आन्दोलनबाट विरत भएका प्रशस्त उदाहरण छन्।
यो पंक्तिकार पनि २०२७ सालतिर ११–१२ वर्षको उमेरमा कम्युनिस्ट बनेर कुद्थ्यो। तर उनीहरूका अवसरवादी चरित्र, सामन्ती व्यवहार, निरंकुशतावादी आदर्श, शोषक प्रवृत्ति, दोहोरो चरित्र र स्वतन्त्रता विरोधी सिद्धान्तका कारण २–३ वर्षमै लोकतन्त्रको फराक समुद्रमा सक्रिय हुन पुगेको थियो । यतिखेर ओलीका दिव्य वाणीले नेपाली जनता आक्रान्त छन् । उनले जुत्ताअनुसारको खुट्टा ताछेर, काटेर भए पनि बनाउनैपर्ने नयाँ भाष्य प्रस्तुत गरेका छन्। यो भनाइ निरंकुशताको द्योतक हो । सरकारको नेतृत्व गरिरहेका नेताले यसरी जनताको अपमान हुनेगरी दिएका विचारविरुद्ध नेपाली कांग्रेस जनतासमक्ष पुग्ने बेला भएको छ । अन्तरविरोधको कुण्डली बनाउनु घातक खेल हुनेछ।
प्रकाशित: १९ वैशाख २०७५ ०४:१५ बुधबार