२६ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:० अपराह्न
विचार

ओक्साना मार्कोभाको आँसुले बगाएको ह्वाइटहाउस

अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच ह्वाइटहाउसको पत्रकार सम्मेलनमा भएको घोचपेचपूर्ण वार्तालापले संसारभरि बजार लिएको छ।

युद्धग्रस्त युक्रेन र तवाहीमा रहेका त्यहाँका नागरिकका तर्फबाट शान्ति र सहयोगको याचना लिएर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार अमेरिका पुगेका थिए।

अमेरिका र रुसको नजर सुरुदेखि नै युक्रेनको प्राकृतिक खनिजमाथि रहेको र सम्भवतः युद्धको प्रमुख कारण त्यो पनि हो भने बुझिन्छ। लगातार तीन वर्षको युद्धले सर्वस्व गुमाउने स्थितिमा रहेको युक्रेनमा मानवता र शान्ति चाहेका जेलेन्स्कीले युक्रेनको मूल्यवान् युरेनियम खनिज खानीभन्दा आफ्नो राष्ट्र र नागरिकको ज्यानलाई अमूल्य ठाने। र त देशलाई युद्धको मैदानबाट जोगाउनका लागि याचनासहितको सम्झौताका सर्त लिएर ह्वाइटहाउस पुगे।

तर जेलेन्स्कीसँग राष्ट्रपति ट्रम्पले बारम्बार गरेका घोचपेचपूर्ण प्रश्न, अशिष्ट व्यवहार र तिमी ह्वाइटहाउसबाट अहिल्यै निस्किहाल जस्ता अपमानजनक शब्द प्रयोग गरियो। यसरी विश्वले नियालिरहेको पत्रकार सम्मेलनमै ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले देखाएको त्यो व्यवहार आमनेसामने बसेका जेलेन्स्कीलाई मात्रै नभई संसारको जो कोही स्वाभिमानी व्यक्तिलाई पीडा दिने र उक्साउने खालको थियो। शक्ति राष्ट्र अमेरिकाको दम्भ र दोस्रो पटक जितको उन्मादमा रहेका राष्ट्रपति ट्रम्पले युक्रेनको घाउमाथि नुनचुक छर्कने गरी शब्दहरू बोलिरहेका थिए।

त्यसैबिच आफ्ना नागरिक र युक्रेनी आमाहरूको समेत प्रतिनिधित्व गरिरहेकी अमेरिकाका लागि युक्रेनी राजदूत ओक्साना मार्कोभाको आँसुले ह्वाइटहाउसको सुन्दर रङलाई बगाइरहेको थियो। उनीजस्ता लाखौं युक्रेनी आमा र युद्धको चिच्याहटमा निस्किने दर्दनाक आवाज एवं जिउँदै जलेका आत्माहरूले युद्ध चाहने ती सबै अघोषित मनलाई पक्कै सरापिरहेका होलान्।

दुनियाँले चाहेको शान्ति र युक्रेनप्रति देखाउनुपर्ने मानवताविपरीत आफ्नो देशका राष्ट्रपतिमार्फत युक्रेनी नागरिकप्रति ट्रम्पले गरेको निकृष्टतालाई ह्वाइटहाउसको पर्खाल नाघेर नदेखिने इतिहासका रूपमा विश्वले धिकारिरह्यो। एक सफल कूटनीतिज्ञ ओक्सानाले राष्ट्रको पीडामा सम्हाल्न नसकेको आँसुको अनुभूतिले करोडौं शब्दको सन्देश दिएको छ।

कतिले भन्छन्– राष्ट्रपतिमा जितेदेखि विश्वभरका धनाढ्यलाई अमेरिकन नागरिकता बिक्रीदेखि युएसआइडीजस्ता अन्तर्राष्ट्रिय निकायलाई दिँदै आएको अनुदान रोक्नेसम्मको निर्णय गरेर विश्वलाई एकपछि अर्का झट्का दिँदै विश्व बजार तताउँदै आए। जेलेन्स्कीले ट्रम्पलाई अहिले नै जवाफ दिइहाल्ने समय नआएको पनि सुझाव दिएका छन्। कतिले त आणविक शक्तिका रूपमा संसारकै शक्तिशाली भनिँदै आएका दुई ठुला राष्ट्र विश्व शान्ति र मानवताको सवालमा दिनदिनै अनुदार हुँदै आएकाले यी राष्ट्रलाई राष्ट्रपति जेलेन्स्कीले सही जवाफ दिएको पनि भनेका छन्।

यी सबैका बाबजुद रुस र युक्रेनबिचको युद्ध र यसै सन्दर्भलाई लिएर ह्वाइटहाउसमा शुक्रबार दुई राष्ट्रपतिबिच भएको अस्वाभाविक तथा गैरकूटनैतिक परिघटना भयो जुन नहुनुपर्ने थियो। उक्त वार्तालापलाई विश्वले अनेक कोणबाट विश्लेषण गरिरहँदा धेरैले राष्ट्रपति ट्रम्पको दम्भले विशाल राष्ट्र अमेरिका र रुसका अगाडि युक्रेनले संसारको नजरमा युद्ध जितिसकेको भनेका छन्।

यसै साता स्विटजरल्यान्डमा सम्पन्न जेनेभा ग्लोबलको सम्पन्न महासभामा रुस युक्रेन युद्धलाई लिएर छलफल र मतदानसमेत भएको थियो। असंलग्न राष्ट्रहरूको विदेश नीतिअनुसार शक्ति राष्ट्रले साना राष्ट्रमाथि आक्रमण गर्नु हुँदैन र युद्धविरामको समेत उल्लंघन गर्नुहुँदैन। नेपाल असंलग्न राष्ट्रको सदस्य पनि हो।

नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्न स्विटजरल्यान्ड पुग्नुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो परम्परागत कुटनीति/विदेश नीतिअनुसार युक्रेनका पक्षमा मत जाहेर गरेर फर्किसकेकी छन्। जुन नेपालको हितमा रहेको कूतनीतिज्ञहरूले बताएका छन्।

कथङ्कदाचित् भविष्यमा रुससँग युक्रेन युद्धमा पराजय भए पनि रुसका निम्ति र त्यहाँका शासकको आत्मालाई सधैं पोलिरहने अंकगणितीय जित मात्रै साबित हुनेछ। किनभने दुई देशको युद्धविराम मात्रै नभई लाखौं युक्रेनी नागरिकको बग्दो रगत थामेर जीवन बाँच्ने करुण याचनालाई अस्वीकार गरेको २०२५ फेब्रुअरी २८ लाई ह्वाइटहाउसले विश्व इतिहासमा नबिर्सिने गरी कालो रङ पोतिदिएको छ।

वास्तवमा त्यहाँ आयोजित पत्रकार सम्मेलनमा शक्तिशाली राष्ट्रपति ट्रम्पको पल्टाबाजीले युक्रेन र कमजोर मुलुकप्रतिको उनको अनुदार चरित्र प्रस्टिएको छ। जबकि विगतमा अमेरिकाकै उक्साहटले युक्रेन युद्धमा होमिएको सत्य जगजाहेर छ।

यद्यपि युक्रेनजस्तो सानो मुलुक विशाल रुससँग तीन वर्षदेखि लगातार रक्षात्मक युद्ध झेल्दै आएको छ। यो घटनाले एक पटक फेरि सामरिक अर्थमा युद्ध जितिसकेका जेलेन्स्कीले संसारलाई अनुभूति गराएका छन्। यहाँसम्म कि ‘उनी ह्वाइटहाउस प्रवेश गर्दैगर्दा अमेरिकी पत्रकार र ट्रम्पले जेलेन्स्कीले लगाएको लुगामाथि समेत टीकाटिप्पणी र मजाक उडाएका थिए। मैदानको योद्धा तर युद्धपीडित जनताका अभिभावकमाथि गरेको त्यस्तो तल्लो स्तरको मजाकलाई राष्ट्रपति जेलेन्स्कीले सहज ढंगले जवाफ फर्काएका थिए।

उनले भनेका थिए, ‘म त युद्ध लडिरहेको देशको पीडित नागरिकको प्रतिनिधित्व गरेर युद्ध मैदानबाट आएको हुँ। मेरो देश र जनता रोएको अवस्थामा म कसरी सुट र टाई लगाउन सक्छु। हो, म तपाईंहरूसँग वाचा गर्छु कि मेरो देशमा जब युद्ध रोक्छन्, त्यसपछि म तपाईंहरूजस्तै सुट र टाईमा आउनेछु। भलै त्यो महँगो नहोला तर अवश्य त्यो दिनको प्रतीक्षा रहन्छ र मेरो देशको युद्ध रोकिन अमेरिकासँग सहयोगको अपेक्षा पनि लिएर आएको छु।’

जब राष्ट्रपति ट्रम्पबाट अपेक्षाभन्दा फरक ढंगको बेइज्जती आफ्नो देश र नागरिकमाथि भइरहँदा हिम्मतसाथ शब्दमा त्यसको जवाफ फर्काएका जेलेन्स्कीले आफ्नो देश र नागरिकको स्वाभिमानलाई झुक्न दिएनन्। यस अर्थमा पनि स्वाभिमानका निम्ति चाहिने हिम्मत, साहस र एउटा शासकमा हुनुपर्ने राष्ट्रप्रेम एवं शान्ति चाहेको उच्च मनोदशाले जेलेन्स्की र युक्रेनका जनताले युद्ध जितिसकेको मान्न सकिन्छ। 

प्रकाशित: १९ फाल्गुन २०८१ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App