बालबालिकाको भविष्य निर्माण प्रक्रियाको आरम्भ घरबाटै हुन्छ अनि विद्यालय, वरपरको वातावरण र साथी संगतले ठुलो प्रभाव पार्छ। बालबालिकालाई जस्तो ज्ञान दियो, त्यस्तै बन्छन्। जस्तो संस्कार, संस्कृति, शिक्षा, रीतिरिवाज, चालचलन छ, त्यहीअनुरूप तिनको व्यवहार निर्माण हुने हो। बालबालिकालाई समाजभन्दा छुट्टै अब्बल, नैतिकवान् बनाउन मुस्किल होला।
हुन त आजको शिक्षा प्रणालीले ज्ञान र प्राविधिक सिप हासिल गर्नलाई बढी जोड गरेको छ। बालबालिकाको जीवनका उर्वर दुई दशक कागजमा समस्या समाधान गर्ने उपायबाटै बित्छ। अनि आफ्नो जीवनोपयोगी बाटोतर्फ लाग्नुपर्छ। उनीहरू व्यक्तिको व्यावसायिक सफलताका रुचि र विचार बोक्ने भिडमा पुगी आफ्नो बाटो रोज्न पुग्छन्। त्यहींनेर आफूले सिक्नुपर्ने, जान्नुपर्ने सिपबाटै विमुख भएको अनुभव गर्न पुग्छन्। यदि त्यहाँ समयमै बालबालिकालाई शिक्षकले उपयुक्त ज्ञान, सिप र अनुभवलाई राम्ररी बाँड्न सकेमा विद्यार्थी जहाँ पनि सबल बन्न सक्छन्।
शिक्षकले आफूले पढाएका विद्यार्थी असल नागरिक होऊन् भन्ने सोचेर ज्ञान र सिप बाँड्न सकेमा अवश्य असल बन्न सक्छन्। हाम्रा प्रायः शिक्षकहरू एकचोटि पढेर कक्षा कोठा प्रवेश गरेकाहरूले हरेक वर्ष त्यही कुरा जस्ताको तस्तै पढेर कक्षा कोठामा पढाउने गरेका छन्। यस्ता कमजोर शिक्षक पनि हामीकहाँ कम छैनन्।
अब शिक्षकले बुझ्नुपर्छ, आजका विद्यार्थी हिजोका जस्ता छैनन्, आजको ज्ञान हिजोको जस्तो छैन। आजको सिक्ने तरिका पनि भिन्न छ। सोचाइ र बुझाइको तरिका व्यापक फेरिइसकेको छ। हिजो विद्यार्थी शिक्षकमा निर्भर थिए। शिक्षकबाट जे सिक्यो त्यही ठिक थियो उनीहरूलाई। आज विद्यार्थीले सिक्ने अनेक स्रोत छन्। ज्ञानका स्रोत पनि अथाह छन्।
आज बच्चाले सिक्ने तरिका र क्षमता पनि निकै व्यापक बनाइसकेका छन्। शिक्षकले कक्षाकोठामा सिकाएको ज्ञान र सिपभन्दा धेरै ज्ञान इन्टरनेट, गुगल आदिबाट प्राप्त गर्न थालेका छन्। कतिपय विषयवस्तुमा आफ्नो शिक्षकभन्दा विद्यार्थी बढी सूचीकृत साबित भएका छन्। कतिपय कुराको व्यावहारिक ज्ञान भने हाम्रा केटाकेटीले विद्यालयका कक्षाकोठा, छरछिमेक र घरपरिवारबाटै पाउने हुुन्छन्। जुन कुरा बाहिरी मिडियाबाट पाउन मुस्किल हुन्छ। कक्षाकोठामा पढ्दा त्यहाँ पढ्न आएका भिन्न क्षेत्र, ठाउँ, गाउँसहर, अनेक संस्कृति, रीतिरिवाज, चालचलनका हुन सक्छन्। ती एकै ठाउँमा बसी आपसी छलफलबाट ज्ञान पहिचान गर्छन्। यस्तो संगतले सिंगो मुलुकको भूगोल, संस्कृति, परम्परा, रीतिरिवाज आदि सहजै जान्न सकिन्छ।
शिक्षकले सिकाएको भन्दा साथीहरूसँगै बसेर चित्रण गर्दा, ठाउँ विशेष र भूगोल–संस्कृतिको विषयमा छलफल गर्दा सहजै सिक्न सक्ने हुुन्छ। शिक्षकले कक्षा कोठामा सिकाएका कुरा केवल परीक्षामुखी मात्र भएका छन्। विद्यार्थीका व्यावहारिक ज्ञान र सिप बन्नसकेका छैनन्। किताब पढ्ने र घोकाउने भनेको त केवल परीक्षामा पास गराउने मात्र हो। यस किसिमको शिक्षापद्धतिले देशको दीर्घकालीन भविष्यसँग गाँसिएको विषय दूरदराजमा पर्ने देखिन्छ।
विगतदेखि नै नाजुक अवस्थामा पुर्याउने शिक्षा निकायका जिम्मेवार पदाधिकारी, राजनीतिक नेतृत्वलगायत जिम्मेवार छन्। अझ सार्वजनिक विद्यालय आजको अवस्थासम्म पुर्याउँदा पनि कोही सचेत देखिँदैन। कतिपय स्वतःस्फूूर्त रूपमा फस्टाएका निजी विद्यालयबाट सिक्ने र तिनलाई पनि नियमभित्र बाँधेर सुनिश्चितता दिनेतर्फ सरकार अझै लागेको देखिँदैन।
सार्वजनिक विद्यालयको सम्बन्धमा अझै स्वामित्वको प्रश्न खडा भइरहेको छ। शिक्षकहरू केन्द्रद्वारा निर्देशित हुन् वा स्थानीय सरकारबाट। यस सम्बन्धमा सरकारले संघीय, प्रान्तीय र स्थानीय सरकारबीच समन्वयात्मक ढंगले परिचालित हुनुपर्ने नीति अपनाउने वा आधारभूत तहको शिक्षा संविधानबमोजिम स्नानीय सरकार मातहत राख्ने यस विषयमा स्पष्ट हुनुपर्यो। अहिलेसम्मको नीतिले सक्षम व्यवस्थापनको चयन गर्न नसकेको नै देखिन्छ।
नयाँ शिक्षायोजना २०२८ लागु हुनु भन्दा पहिला सबै जसो विद्यालयहरू स्थानीय समुदायको पहलमा खोलिएका थिए। त्यसबेला सबै विद्यालय सामुदायिक थिए। त्यतिबेला शिक्षाबाट नाफा कमाउने होइन, सेवा गर्ने भावनाबाट अभिप्रेरित थिए। विद्यालयको स्वामित्व स्थानीय समुदायको थियो। २०२८ मा नयाँ योजना लागुु भएपछि सरकारले पूर्ण रूपमा आफ्नो जिम्मामा लिएर ठुलो आर्थिक भारको बोझ उठायो। सरकारले तिनलाई सरकारीकरण गरी भौतिक, आर्थिक, प्रशासनिक सबै दायित्व आफ्नै काँधमा लियो। स्थानीय समुुदायले अब सबै सरकारले जिम्मा लिएपछि हाम्रो भूमिका केही भएन भनेर स्थानीय समुदाय विद्यालयबाट पन्छियो।
यसरी सरकारी उचित नियमनको अभाव र अपारदर्शी विधिविधानका कारणले शिक्षा अन्योलग्रस्त बन्दै आएको छ। भरपर्दो शिक्षा प्रणालीको विकास पञ्चायतकालमा मात्र होइन, आजसम्म पनि विकसित हुन सकेको छैन। विगत २०२८ सालमा नयाँ शिक्षा लागु गरी विद्यालय सरकारीकरण गर्यो। आर्थिक बहन गर्न नसक्दा २०३७ सालबाट निजी विद्यालयमा परिणत गर्न पाउने नीति अवलम्बन गर्यो। क्रमैसँग आर्थिक दायित्वबाट पन्छिँदै गयो।
२०४६ सालपछि पनि समुुचित ढंगले शिक्षानीतिले सही बाटो अगि बढाउन सकेन। शिक्षानीतिअन्तर्गत पढेलेखेका, ठुला डिग्री हासिल गरेका व्यक्तिहरू यो देशमा भन्दा विदेशमा आफ्नो भविष्य सुरक्षित ठान्न थाले। स्वदेशमा राम्रा मान्छेले भन्दा हाम्रा मान्छेले अवसर पाउन थाले। राजनीतिक पहुँचका आधारमा योग्य व्यक्ति पाखा लाग्न थाले। अयोग्य व्यक्ति राजनीतिक पहुँच, दौडधुप र चाकडीका भरमा ठुलो जिम्मेवारी पाउन थाले। देशमा राजनीतिक अस्तव्यस्तता तथा अन्योलपूर्ण वातावरणले झनै नैराश्य बढायो।
शिक्षा सर्वसुलभ, सुपथ अनि सिपदक्षता अभिवृद्धि गराउने खालको हुन नसक्दा पनि हाम्रो शिक्षाप्रति वितृष्णा पैदा हुन थालेको छ। हाम्रा विद्यार्थी विदेश जान किन लालायित भए ? ठुलो धनराशी खर्च गरेर विदेशमै बस्ने, आफ्नो देश फर्कन नचाहने प्रवृत्ति किन बढिरहेको छ ? यसतर्फ सरोकारवालाको खासै चासो देखिँदैन। विदेशमा गएर आफ्नो पसिना, श्रम खर्च गरेर कमाएको धन र त्यहाँबाट सिकेको ज्ञानसिप हासिल गरेर फर्कने वातावरण सिर्जना हुनु अति आवश्यक छ।
प्रकाशित: ६ मंसिर २०८१ ०५:१५ बिहीबार