मानिसको जीवन दुःख र सुखको मिश्रण हो। सम्पन्न–विपन्न, धनी–गरिब, शक्तिशाली–तागतबिहीन, विद्वान्–अशिक्षित, जुनसुकै कित्ताका मानिसको जिन्दगीसमेत सधैँ सुखद अथवा चिरकालीन दुःखद हुँदैन। स्वास्थ्य समस्या, धनको अभाव, पारिवारिक तनाव, सामाजिक उतारचढाव, अस्वाभाविक मरणदेखिका जटिलताले मानिसको दैनिकीलाई नकारात्मक प्रभाव पार्छ। तर सुख भोग्न सहज हुन्छ भने दुःखले व्यक्तिलाई शारीरिक तथा मानसिक हिसाबले थिल्थिलो बनाउँछ। केही मानिसले जटिल विपत्तिबाट आफूलाई छिटो उकास्छ भने कसैका लागि जीवन असहज बन्छ, परिवार नै तहसनहस हुन्छ । ढिलो/चाँडो सबैलाई पर्ने भएकाले भीमकाय समस्याबाट कसरी छिटो उक्सने त भन्ने प्रश्न आमचासोको विषय हो नै।
दर्जनौँ अध्ययनले ठूलो विपत्तिबाट आफूलाई मानसिकरूपले छिटै उकास्न सक्ने व्यक्ति लामो समय बाँच्छ भन्ने देखाएका छन्। आज कि भोलि भन्ने अवस्थामा रहेका जटिल मुटु रोगदेखि क्यान्सर पीडितसम्ममा गरिएको अध्ययनले आफूलाई अहिले थल्याएको रोग खेपेका मानिस संसारमा धेरै छन, आफू एक्लो होइन भनेर दिमागलाई सुसूचित गर्ने व्यक्ति अर्को पक्षभन्दा थप प्रसन्न मात्र देखिएन बरु लामो समय बाँचेकोसमेत पाइयो। हालै स्विडेन र चीनका अन्वेषणकर्ताहरूले १२ वर्ष लामो तथ्यांकलाई प्रशोधन गरी दिमागी लचकताले मृत्युलाई कसरी प्रभाव पार्छ भन्ने देखाएका छन्। यसै वर्ष ब्रिटिस मेडिकल एसोसिएसनको जर्नल ‘बिएमजे मेन्टल हेल्थ’ मा प्रकाशित उक्त अध्ययनले ठूलो जटिलतालाई सहजै वरण गरी चित्त बुझाउन सक्ने व्यक्ति दिमागमा समस्या खेलाइरहने व्यक्तिको दाँजोमा अधिक बाँच्छ भन्ने देखाएको छ।
विविध कारणले कुनै व्यक्तिले समस्यालाई सहजरूपमा लिन्छ भने कसैले चुनौतीलाई सामना गर्नुको बदला जटिलतादेखि भागेको देखिन्छ। असामयिक मृत्युका कारण परिवारको सदस्य गुमाएको बखत मानिसमा पीडा हुनु अस्वाभाविक होइन। अपत्यारिलो परिस्थिति सामना गर्न कुनै तालिका र तयारी हुँदैन। तर पनि समान प्रकृतिको समस्या कसैका लागि किन पार पाउनै नसक्ने बन्छ त रु त्यस्तो हुनुमा मानिसको दिमाग, शरीर र परिवेश के प्रधान हुन्छ त ?
बिएमजे मेन्टल हेल्थमा प्रकाशित अनुसन्धानले दुःखका बेला व्यक्तिको समस्यासँग जुध्न सक्ने दृढता, परिस्थिति सामना गर्न सक्ने शक्ति अनि जीवन लक्ष्यको आत्मबोधले व्यक्तिको आगामी कदमलाई निर्देशित गर्ने भन्छ। त्यस्तै आफ्नो समस्या आफैँले समाधान गर्नुपर्छ भन्ने आत्मनिर्भर सोचले व्यक्तिलाई ठूलो समस्याबाट उम्कन मद्दत गर्ने देख्छ। आफूलाई परेको वज्रपात परिस्थितिको मूल्यांकन गरी आफैँले नै समस्याको समाधान खोज्नुपर्ने अन्यथा लक्ष्यमा पुग्न नसकिने सोच मात्र पनि दिमागमा ल्याउन सके व्यक्तिले आफूलाई छोटो समयमै सामान्य बनाउन सक्छ भन्ने उक्त अन्वेषणको निचोड हो।
लामो समयसम्म दिमागले शरीरलाई चलाउँछ र सन्देशको सञ्चार ‘ब्रेन टु बडी’ एकतर्फी हुन्छ भन्ने मानिसको आमबुझाइ थियो। हालै प्रकाशित अध्ययनहरू मस्तिष्क र देहबीचको संवाद दोहोरो हुन्छ भन्ने देखाएको छ। दिमागले शरीरलाई आदेश दिने अनि कायाले कस्तो किसिमको सञ्चार औचित्यपूर्ण छ भन्ने कुरा मस्तिष्कलाई बताउने गरेको देखिन्छ। हालै ‘इन्टरन्यासनल जर्नल अफ् बिहेबियरल न्युट्रिसन एन्ड फिजिकल एक्टिभिटी’ मा प्रकाशित एक अध्ययनले चरम दुःखका कारण शिथिल भएको दिमागलाई शारीरिक परिश्रममार्फत समस्यासँग जुध्न सक्ने बनाउन सकिने उल्लेख गरेको छ। दुःखका बखत खानामा रुचि नहुनु, शारीरिक क्रियाकलाप अनि सामाजिक अन्तरक्रियाबाट आफूलाई पृथक राख्न खोज्नु मस्तिष्कको सामान्य चरित्र हो। पोषणयुक्त सादगी भोजनले दिमागलाई सकारात्मक ऊर्जा प्रदान गर्छ। त्यस्तै, प्रकृतिसँगको सामिप्य, सामान्य परिश्रम अनि टोलछिमेक टहल्दा, साथीसंगीसँगको अन्तरक्रियाका कारण शरीरमा पैदा हुने हर्मोनहरूले दिमागलाई सबल गर्छ भन्ने अध्ययनमा देखिएको छ।
शारीरिक क्रियाकलापले व्यक्तिको दिमागलाई कसरी दुःखको सामना गर्न सक्ने ऊर्जा दिन्छ त भन्ने सम्बन्धमा भएका धेरै अनुसन्धानको चुरो पस्किएको एक आलेख चर्चायोग्य छ। अमेरिकाको डार्टमोथ कलेजका अध्यक्षसमेत रहेकी मस्तिष्क विज्ञानकी प्राध्यापक सिएन बेलकले ‘एकेडेमिक रिसर्च’ का आधारमा ‘हाऊ द बढी नोस इट्स माइन्ड’ भन्ने पुस्तक लेखिन। पुस्तकअनुसार साथीसंगीको संगत, प्रकृति अवलोकन अनि सकारात्मक सोच भएका व्यक्तिहरूको भाषण तथा प्रवचनले दिने तागतले दिमागलाई ऊर्जावान बनाउँछ। ऊर्जासहितको दिमागले दुःखबाट छुटकारा दिन सक्ने भएकाले शारीरिक क्रियाकलापमार्फत जटिलताको उन्मुक्ति लाभप्रद् हुन्छ।
बाहिरी वातावरण र शारीरिक क्रियाकलापले मानिसको दिमागलाई कसरी परिस्कृत गर्छ भन्ने दर्जनौँ उदाहरण दिएकी डा। बेलकले एउटा अनौठो परिवेश बताइन् उक्त पुस्तकमा । जसरी बच्चालाई जन्मनेबित्तिकैको प्राकृतिक अवस्थामा आमाको शरीरमा टाँसेर राख्दा ‘बेबी–मदर’ बीचको सम्बन्ध अझ गहिरो हुन्छ त्यसैगरी शिशुलाई सम्भव भएसम्म निर्वस्त्र प्रकृतिमा रमाउन दिँदा हुर्कँदो बालकको मस्तिष्क परिस्कृत हुन्छ भन्ने उदाहरण पस्केकी छिन् प्राध्यापक बेलकले। जन्मनेबित्तिकै ‘डाएपर’ मा बाँधिएर कोठामा कुजिने बच्चाभन्दा दुर्गम कन्दरामा लुगाको अभावमा नांगै टोल–टोल दगुर्ने बच्चाको दिमाग सबल हुन्छ भन्ने उनको तर्क नेपालको सन्दर्भमा सान्दर्भिक देखियो। सधैँ अन्याय भोग्नुपरे पनि गरिबीले यदाकदा फाइदा पनि गर्छ भन्ने देखियो डा। बेलकको रिसर्चमा।
दुःखद पीडाले लामो समयसम्म मानसिक थकान दिने व्यक्ति आखिर किन अल्पआयुमै मृत्यु वरण गर्न पुग्छ भन्ने कुराको जैविक चिरफार पनि गरेका छन वैज्ञानिकहरूले। आनुवांशिक खराबी आउँदा व्यक्तिमा रोग लाग्छ, मानिस ‘जेनेटिक डिजिज’ को सिकार हुन्छ। अणुवांशिक पदार्थको अस्तित्व जोगाउन ‘डिएनए’ लाई ‘टेलोमियर’ले रक्षा गर्छ। सुरक्षा कबचका रूपमा रहने टेलोमियरको आकृति खुम्चँदै जाँदा व्यक्तिमा अणुवांशिक समस्या आउँछ, व्यक्ति क्यान्सरको सिकार हुन्छ।
सामान्यतः पाको हुँदै गएपछि टेलोमियरमा क्षयीकरण हुन्छ, जिनमा खराबी आउँछ। हजुरबा पुस्ता रोगका कारण थलिन्छन्। लामो उमेरसम्म अर्बुद रोग तथा आनुवांशिक समस्याबाट जोगिन जिनको आकृति र टेलोमियरको बनोटको रक्षा आवश्यक हुन्छ। तर जब गहिरो चोटका कारण व्यक्ति लामो मानसिक थकानमा पर्छ त्यस्तो अवस्थामा शरीरमा कोर्टिसोल र एडरिनालिन हर्मोनहरू मात्र उकासिँदैन बरु अक्सिजन रेडिकल्सहरू पनि शरीरमा अस्वाभाविकरूपले बन्छन्। रेडिकल्सले जिन तथा टेलोमियरलाई क्षतिग्रस्त बनाएर विभिन्न किसिमका क्यान्सर उकास्छ। त्यस्तै कोर्टिसोल र एडरिनालिन हर्मोनको मात्रा हरदम बढ्दा प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पर्छ। प्रतिरक्षा प्रणालीको शिथिलताका कारण व्यक्तिले रोगसँग लड्ने क्षमता गुमाउँछ। परिणामस्वरूप झिना मसिनो रोगले समेत व्यक्ति थलिन्छ। तसर्थ, दुःखलाई धेरै लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा व्यक्ति मृत्युको मुखमा छिटो पुग्न सक्ने देखिन्छ।
दुःखले सताएको बेला व्यक्तिले समस्या लुकाउन आफ्नो बानीमा परिवर्तन गर्छ। त्यस्तो अवस्थामा सामाजिक व्यक्तिसमेत एकलकाँटे बन्छ। मदिरा र धुवाँलाई साथी बनाउँछ। रक्सी तथा चुरोटको खराब आदतका कारण स्वस्थ्यबर्धक भोजनमा ध्यान जाँदैन। मद्यपान र धूमपानको अत्यधिक सेवनले मुटु तथा फोक्सोका समस्या अनि क्यान्सर जस्ता रोगको संभाव्यता बढ्छ। अस्वस्थकर भोजनले ल्याउने समस्या आफ्नो ठाउँमा छ नै।
कुनै पनि व्यक्तिको जीवन सदैव सुखमय हुँदैन। सानातिना दुःख धान्न सहज भए पनि ठूला मानसिक समस्यालाई छिटै व्यवस्थापन गर्न नसक्दा व्यक्ति बहुआयामिक स्वास्थ्य समस्याको चपेटामा पर्छ। ऊर्जावान दिमागले मात्र ठूलो पीडाबाट सहज पार लगाउन सक्छ। दिमागलाई लचकता दिन स्वस्थ भोजन अनि समस्याको प्रारूप र समाधानको खाका आवश्यक पर्छ। अहिले आफूलाई परेको समस्या विगतमा भोग्ने मानिस धेरै छन् भन्ने स्मरणले दिमागलाई शक्ति दिने भएकाले यथार्थवादी चिन्तनमार्फत जटिल पीडाबाट सहजै छुटकारा पाउन सकिन्छ।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।
प्रकाशित: २७ कार्तिक २०८१ ०९:०४ मंगलबार