७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

मार्ग विस्मरण पथमा समाज

अठार पुराणको आचारिक सारका रूपमा महर्षि वेदव्यासको वचन छ-‘परोपकारः पुण्याय पापायः परपीडनम्’ अर्थात् परोपकार नै पुण्य हो र अरूलाई पीडा दिनु नै पाप हो।

खुला बजार र सामाजिक सञ्जालको पहुँचमा भएको विस्तार र भौतिक सम्पत्तिको उपभोग र आर्जनप्रतिको उत्कट लालसाले हाम्रो समाजमा आफूले गर्न नसकेकोमा भन्दा पनि अरूले गरेको उन्नति र प्रगतिबाट दुःखी हुने मानिसको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ। त्यसमा पनि कसैले मेहनतपूर्वक उन्नति गरेको छ भने त्यसलाई तल खसाल्न खेदो खन्नेहरूको त लस्करै देख्न सकिन्छ।

कारण सरल छ, बेइमानहरू धूर्त र छट्टु हुन्छन्, तिनलाई पछ्याउन हरेकका लागि सहज हुँदैन तर मेहनती र इमानदार मानिसलाई विश्वासमा लिन र तिनले गरेका काम पछ्याउन धेरैलाई सहज प्रतीत हुन्छ। आममानिसलाई तिनले गरेका काम ‘गरेको भए मैले पनि त सक्थेँ नि !’ भन्ने प्रतीत हुनु अनौठो देखिन्न अनि ऊ पनि त्यस्तै सुरुवात गर्नेबारे सोच्छ। तर सोचलाई क्रियामा परिणत गर्न सक्दैन। विस्तारै उसले आफ्नो अक्षमता थाहा पाए पनि त्यसलाई आडम्बरी आत्माभिमानले गर्दा आत्मस्वीकृतिका रूपमा उसले अनुभूत गर्न सक्दैन वा चाहँदैन। परिणामतः ऊ इष्र्यालु बन्छ।

सामाजिक सञ्जालको विस्तारसँगै वर्तमान समयमा यस्ता इष्र्यालुहरूले दुर्वचनहरूको माध्यमबाट अश्लीलतामा रमाउन, आफ्नो इष्र्या, डाहा, कुण्ठा, रिस जस्ता कुभावनाहरू प्रकट गर्न, आडम्बरी आत्माभिमानलाई मलजल गर्न र अरूको खिल्ली उडाएर आत्मरतिमा रमाउन ऊर्वर भूमि प्राप्त गरिरहेका छन्।

शिक्षाको विधि र उद्देश्यप्रतिको अस्पष्टता, शिक्षाका आधारभूत उपलब्धिहरूउपर सम्यक चिन्तन र विमर्शको अभावले सिर्जित अस्पष्ट दृष्टिकोणप्रति सचेत नहुँदा यस्तो अवस्था उत्कर्षतर्फ अघि बढेकामा शंका गरिरहनुपर्ने ठाउँ नै छैन। गरिबी, बेरोजगारी र अवसरहरूको अभाव केवल समस्या होइनन् अपितु महारोग हुन् भन्नेतर्फ सचेत भई नीति निर्माणमा ध्यान नपुग्दासम्म समाधानमा सफलता प्राप्त हुन सक्दैन। बरू यसले सामाजिक चिन्ता र राज्यको आर्थिक दायित्व मात्रै बढाउँछ। बालबालिकाको शिक्षामा पर्याप्त ध्यान नपुग्दासम्म उच्च मानवीय मूल्यसहितका नैतिकवान नागरिकहरू तयार गर्ने कल्पना गर्नु व्यर्थ छ।

क्रूरता, हत्या, अपराध, बलात्कार जस्ता आपराधिक गतिविधिहरूतर्फको अग्रसरता केवल आकस्मिकता हुँदैनन्, बरू यी विशृंखलित सांस्कारिक र सामाजिक परिस्थितिका शृंखलाबद्ध उपज हुन्। उच्च मनोबल, नैतिकता र संस्कारको सम्बन्ध तथाकथित धार्मिक आडम्बरहरूसँग भन्दा चिन्तन गर्ने सामाजिक पद्धति र प्रवृत्तिसँग गाँसिएको हुन्छ। जसरी ‘गणेश’ कहलिनु र ‘गोबर गणेश’ भनिनुमा फरक छ, त्यसरी नै चलाख हुनु र धूर्त हुनु एउटै कुरा होइनन्।

सामाजिक मनोविज्ञानमा देखापर्ने अधोपतन र मानसिक विकृतियुक्त व्यक्तित्व विश्लेषण गर्न मनोविज्ञानमा आजभोलि चारवटा पक्ष समेटिएको एक पदावली ‘अँध्यारा चतुष्पक्ष’ को उपयोग गर्ने गरिन्छ। यी पक्ष मानव व्यक्तित्व र व्यवहारसँग सम्बन्धित हृदयहीनता, छुद्रता र दुष्टतासँग सम्बन्धित छन्।

१. आत्माभिमानवाद:  ‘मै खाउँ, मै लाउँ, सुःख–सयल वा मोज म गरुँ, मै बाँचु, मै नाचुँ अरू सब मरुन् दुर्बलहरू’ भन्ने आत्मकेन्द्रित भावनासहितका गतिविधि यस प्रकारका विशेषताअन्तर्गत पर्दछन्। अरूको महŒवलाई तृण बराबर पनि नगन्ने आत्माभिमानीहरू आफूलाई सर्वगुण सम्पन्न ठान्दछन्। व्यर्थको आत्मसम्मानको भावनासँग ती यसरी जोडिएका हुन्छन् कि तिनलाई अरूको जस्तोसुकै आलोचना वा अपमान गर्नु सामान्य लाग्ने र आफूलाई कसैले आलोचना गरे आगै सल्किएको महसुस गरी प्रतिशोधको भावना राख्ने गर्दछन्।

२. म्याकियाभेलीवाद: यो विशेषताले तर्क, नीति, दृष्टिकोण, वचनबद्धता आदिमा आफू अनुकूल व्याख्या–अपव्याख्या गर्दै व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यले अपनाइने रणनीतिक व्यवहार समावेश गर्दछ। प्रायः विश्वसनीयता, मानवीयता, नैतिकता वा अरूको भावनालाई ध्यान नदिइ केवल निहीत स्वार्थ पूर्ति गर्ने उद्देश्यले गरिने कुटील व्यवहार र छलकपट यसअन्तर्गत पर्दछन्।

म्याकियाभेलीवादले उच्चपदस्थ व्यक्तिहरू तिकडमबाजी र छलकपट गर्न अर्थात् धुत्याइँयुक्त छट्टुपनामा कुशल छन् भन्ने मान्यता राख्दछ।

(निकोलो म्याकियाभेली (१४६९–१५२७) इटालियन कूटनीतिज्ञ, दार्शनिक, इतिहासकार, र लेखक थिए, जसलाई कतिपय सिद्धान्तकारहरूले आधुनिक राजनीतिक सिद्धान्तका पिता पनि भनेका छन्।

इटालीको फ्लोरेन्स शहरमा जन्मिएका उनले इटालीमा तीव्र राजनीतिक अस्थिरताको समयमा विभिन्न सरकारी पदमा रही कूटनीतिक सेवा प्रदान गरे। त्यही अनुभवले सत्ता र शासनबारे उनको सोचलाई प्रभाव पारेको थियो। सत्ता र शक्तिमा पकड कसरी कायम राख्ने भन्ने सम्बन्धमा म्याकियाभेलीले सन् १५१३ मा प्रकाशित आफ्नो बहुचर्चित राजनीतिक ग्रन्थ ‘द प्रिन्स’ (१५१३) मार्फत् व्यावहारिक सल्लाह दिएका छन्। उनको मतले अक्सर परिणाममुखी र निर्दयतापूर्ण दृष्टिकोणको वकालत गर्दछ।

आदर्शवादी वा नैतिक विचारहरूमा भन्दा राज्यशक्तिको व्यावहारिक वास्तविकताहरूमा ध्यान केन्द्रित गर्दै, आवश्यक परेमा अनैतिक कार्य गर्न पनि अग्रसर हुनुपर्छ भन्ने मतले उनको नामलाई सबैखाले राजनीतिक जालझेल र छलकपटको पक्षपोषण गर्ने धूर्त राजनीतिज्ञ र सत्ता र शक्ति हत्याउन गरिने राजनीतिक खेलदर्शनको पर्यायवाची बनायो।)

३. मनोविकृति: सामान्यतयाः आवेग, पश्चाताप वा अपराधबोधको कमी र असामाजिक व्यवहारद्वारा चिन्हित व्यक्तिगत अवस्थाले नै मनोविकृतिलाई बुझाउँछ। मनोविकृत व्यक्तिहरू प्रायः सतही आकर्षणमा रमाउने र मानवीय संवेदनालाई निचताको हदैसम्म बेवास्ता गर्नेखालका हुन्छन्।

मनोविकृतिको स्तर बढ्दै जाँदा त्यस्ता व्यक्तिमा व्यक्ति, घर–परिवार र समाजप्रति लेस मात्रै पनि समानुभूतिको भावना र मानवीय संवेदनाको न्यूनता चरम नकारात्मकता रहेको हुन्छ भने तिनले सामाजिक मान्यता र अरूको अधिकारको पूर्ण बेवास्ता गर्नुमा नै आनन्द अनुभूति गर्छन्।

मनोविकृतिको उच्चतम स्तरमा पुगेको मानिसले के गर्छ र के गर्दैन भन्नेसम्मको अनुमानै गर्न पनि दुरुह छ। एक दुई दशकअघिसम्म बलिउड र हलिउडका चलचित्रमा मात्रै त्यस्ता खलपात्रहरू देखिने गर्दथे भने आजभोलि हाम्रै समाजमा त्यस्ता खलपात्रको बिगबिगी देख्न पाइन्छ। यस्ता मानिस विभाजित व्यक्तित्व भएका हुन पनि सक्छन् जसको प्रकट र अप्रकट रूप नितान्त भिन्न हुने गर्दछ।

४. परपीडकवाद: यो विशेषताले अरूलाई पीडा दिएर वा अपमानित गरेर आनन्द प्राप्त गर्ने व्यक्तिको सोच र उपक्रमलाई जनाउँछ। परपीडकहरू केवल स्वकेन्द्रित क्षणिक आनन्दका लागि पनि अकल्पनीय क्रूरता वा अपमानजनक व्यवहारमा संलग्न हुन सक्छन्। परपीडकहरू सतहीरूपमा आकर्षक देखिए पनि अरूलाई तनावमा पार्दा आनन्द महसुस गर्ने मूलरूपमा भावनाहीन, अविश्वसनीय, धोकेबाज र लम्पट हुन्छन्। हालसाल मात्र काठमाडौँको  बूढानीलकण्ठबाट पक्राउ परेका ‘सुगर ड्याडी’ उपनामले चिनिएका ३१ वर्षीय आशीष देउलासहितका चार युवालाई परपीडकको उच्चतम विकृत रूपमा चित्रण गर्न सकिन्छ।

विषय वा प्रसंगको अन्तरवस्तु नै नबुझी आआफ्नो कुतर्क तेस्र्याउने प्रवृत्तिले सत्यलाई ओझेलमा पार्न वा उद्घाटित हुनमा विलम्ब सिर्जना गर्ने मात्रै होइन, बरु समाजमा क्षणिक नै भए पनि भ्रम सिर्जना गर्दछ। यसले सामाजिक मनोविज्ञानमा प्रतिकूलता उत्पन्न गर्छ। न्याय सम्पादनलाई बाधित गर्दछ। वर्तमान सञ्चार क्षेत्रमा सामाजिक सञ्जालको भूमिकामा समाज विरोधी नकारात्मक तत्त्वको महत्ता बढ्दै गएको छ। अश्लीलता, नकारात्मक सोच, स्वार्थप्रेरित भाष्य निर्माण, आत्माभिमानी प्रवृत्ति र परपीडकवादको गहनता यत्रतत्र सर्वत्र छरपष्ट छ। समाज यसैमा रमाएको छ, तर यो ‘मूतको न्यानो’ मात्रै हो भन्ने बुझ्नु–बुझाउनु आवश्यक छ।

हिंसा र बलात्कार जस्ता घटनाको नियन्त्रण गर्न प्रहरी प्रशासनको उपयोगबाट सकिएला तर यसको निर्मूलन भने समाजिक मनोविज्ञानको नियमनबाट मात्रै सम्भव छ। संस्थागतरूपमा गुनासाहरूको संख्या बढ्नु सकारात्मक हुन सक्ला तर तिनको गुणवत्ताको विश्लेषण नगर्ने हो भने दुनियाँमा प्रत्येक दिन पर्ने गरेका परपीडक बेनामी उजुरीको भन्दा तिनको औचित्य केही हुने देखिन्न।

जरिवाना असुलेर राजस्व बढेको देखाउने ट्राफिक प्रहरी प्रशासनले जरिवानास्वरूप राजस्व बढ्नु ट्राफिक व्यवस्थाका लागि बनाइएका ऐन–नियमको अप्रभावकारितामा वृद्धि हुनु हो भनेर किन नबुझेको होला? सवारी साधनहरूको दुर्घटनामा चालकहरूको लापरबाही प्रमुख कारण त हो नै तर सडक व्यवस्थापनमा हुने गरेका गम्भीर त्रुटिहरूको जिम्मेवारी सम्बन्धित निकायले कहिलेसम्म नलिने?

हालै आएको प्राकृतिक विपद्को समयमा सेना, प्रहरी र स्थानीय निकायले सहयोग गरेको बिगुल फुक्ने तर ‘सरकारको उपस्थिति भने देखिएन’ भन्ने भाष्य निर्माण गर्ने सञ्चारकर्मीलाई के भन्ने ? सरकारको नून खाने तर नूनको सोझो नगर्ने कर्मचारीहरूको बिगबिगीले सम्पूर्ण कर्मचारीतन्त्र नै गनाएको र समग्र मुलुकलाई नै बदनाम गरेको छ।

दोष कसको?

स्वच्छ छवि भएका कसैलाई बाँकी नै नराख्ने, आरोपित गर्ने, लाञ्छना लगाउने, खुइल्याउने तर प्रमाणित गर्न नसकेपछि मिथ्या आरोप लगाउनेले दण्डित हुन किन नपर्ने? सरकारी निकायलाई नियमानुसारको दस्तुर वा राजस्व तिरेर विधिपूर्वक स्वीकृति प्राप्तगरी प्रामाणिक रूपमा प्रचलित कानुनबमोजिम खरिद वा निर्माण गरेको चल–अचल सम्पत्तिउपर गिद्धेदृष्टि लगाएर उचित मुआब्जा नदिइ जनताको उठिवास लगाउन निर्णय गर्ने उच्च तहका न्यायाधीश र स्थानीय तहका निर्वाचित मठाधीशहरू सामाजिक उत्पीडनका संवाहकहरू हुन्।

पार्टी कार्यकर्ताको नाउँमा गरिने गुण्डा दलको संरक्षण, दलालहरूको पक्षपोषण, राष्ट्रवादको नाउँमा विदेशी स्वार्थको भरण–पोषण जस्ता क्रियाकलाप वर्तमान समाजका वास्तविक मनोवैज्ञानिक समस्या हुन्।

जबजब समाजले न्याय र अन्यायबीचको सकारात्मक विभेद बिर्सन थाल्छ, क्षणिक स्वार्थको विजयलाई नै आफ्नो वास्तविक जीत हो भन्ने बुझ्न थाल्छ र अन्तःस्करणले अनुभूत गर्ने सत्यको तुलनामा इन्द्रियले अनुभव गर्ने सत्यलाई वास्तविक सत्य हो भन्ने भ्रम पाल्न थाल्छ, तबतब समाजमा मनोविकृतिका नयाँ नयाँ स्वरूपहरू देखापर्न थाल्छ। मूर्खहरूले यसलाई मार्ग परिवर्तन भने पनि चिन्तकहरूको मतमा यो मार्ग विष्मरण हो।

हाम्रो समाज अहिले मार्ग विष्मरणको पथमा अघि बढ्दै गएको छ। यहाँ हरेक व्यक्ति आफ्नो दायित्व एकातिर पन्छाइ अरूमाथि दोष थोपरेर उम्कन प्रयत्नरत छ भने अर्कोतर्फ आफूले गरेका हरेक प्रयत्न, छलछाम र तिकडमलाई तर्कले प्रमाणित गर्दै पानीमुुनिको ओभानो हुन प्रयत्नरत छ।

बेइमानहरूको कब्जामा प्रशासनिक संयन्त्र, दलालहरूको हातमा व्यवसायतन्त्र, दूरदृष्टिबिहीनहरूका हातमा न्यायतन्त्र र धूर्तहरूको हातमा नीतितन्त्र पुगेको छ। हिजो राजतन्त्रलाई गुमराहमा राखेर आफ्नो दुनो सोझ्याउनेहरू नै आज राजतन्त्रका हिमायती बनेका छन्। विदेशी स्वार्थको पृष्ठपोषकहरू घनघोर राष्ट्रवादी देखिएका छन्। कुतर्कले स्थापित गरिएका क्षणिक सत्य भन्दा अन्तरमनले अनुभूत गर्ने सत्य नै शाश्वत हो भन्ने जान्दाजान्दै पनि पखेटा उखालिएको झिंगाले ‘उड्’ भनेको सुनेन, त्यसकारण झिंगाको कान पखेटामा हुन्छ, भन्ने निष्कर्ष निकालिएकाले गर्दा उप्रान्त यो भन्दा धेरै लेख्न बाधित छु।

–जोशी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन्।

 

विनोद जोशी

प्रकाशित: २० कार्तिक २०८१ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App