६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

सुखदुःखको घामछाया

आफ्नोभन्दा सहकर्मीको जीवन सुखमय देख्नु मानवीय स्वभाव हो। समाजको तल्लो कित्तामा रहनेदेखि सभ्रान्त वर्गका सबै सदस्यले आफू दुःखको दलदलमा रहेको अनि अरूको दैनिकीलाई लोभलाग्दो देख्छन्। संसारकै धनीको सूचीमा रहेका कार कम्पनी टेस्लाका मालिक एलन मस्कदेखि नेपालका सर्वाधिक सम्पत्तिवाला विनोद चौधरी मात्र होइन मानव सभ्यतालाई उपल्लो तप्कामा पुर्‍याएबापत पृथ्वीकै सर्वाधिक महत्त्वको नोबल पुरस्कार पाएका विद्वान्हरू सबैको जीवनगाथाको अध्ययनले जस्तोसुकै सफलताको टाकुरामा पुग्दासमेत मानिसले दीर्घकालीन खुसी पाउन सक्दैन भन्ने देखाउँछ।

तिलकसिंह पेलाको गायन अनि प्रदीपकुमार मैनालीले लेखेको गजल ‘के लत बस्यो मलाई...’ मा भनेझैं के जीवनमा सुख पाहुना जस्तो कहिलेकाहीँ झुल्कने अनि दुःख हरदम सवार रहने मित्र नै हो त ? मानवको सामान्य अवस्था सुख वा दुःखमध्ये के हो त भन्ने प्रश्नको वैज्ञानिक उत्तर खोज्नु यो आलेखको लक्ष्य हो।

मित्र मिलन, मीठो भोजन, मनतातो पानीको स्नान, जागिरको सफलता, बौद्धिक तथा पेसागत उत्थान, धनराशीको प्राप्तिदेखि समाजिक तथा मानवीय हितमा गरिने दानदक्षिणा लगायतका धेरै किसिमका कार्यकलापहरूले मानिसलाई खुसी दिन्छ। तर उल्लिखित सबै किसिमको प्रसन्नता समान हुँदैन अनि व्यक्तिले अनुभूति गर्ने आनन्द पनि बराबर हुँदैन। भिन्न क्रियाले पृथक चरित्रको हर्ष दिनुको कारण व्यक्तिलाई प्रफुल्ल बनाउन केबल एउटा हर्मोनले मात्र भूमिका नखेल्ने बरु धेरै किसिमका रासायनिक पदार्थहरूले दायित्व लिनु नै हो। चार ‘प्राइमरी कलर’को आनुपातिक समिश्रणबाट इन्द्रेणी निर्माण भएझैं विभिन्न प्रकृतिका हर्मोनको समागमले पृथक प्रसन्नता दिन्छ।

धेरै प्रकृतिका खुसी अनुभूतिका लागि शरीरमा चार किसिमका रासायनिक पदार्थहरू डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र इन्डोर्पिmन उत्पादन हुन्छन्। तर सबै किसिमको प्रसन्नताका लागि शरीरमा चारै हर्मोन पैदा हुनुपर्छ भन्ने होइन। उदाहरणका लागि व्यक्ति शारीरिक रूपले उत्साहित भयो भने डोपामिन उत्पादन हुन्छ भने तातोपानीको कुण्डमा नुहाएको बखत आनन्द दिने हर्मोन भने सेरोटोनिन हो।

आफूलाई अरूले महत्त्व दिँदा व्यक्तिले स्वयम्लाई मर्यादित ठान्छ अनि प्रफुल्ल हुन्छ। त्यस्तो अवस्थामा शरीरमा अक्सिटोसिनको मात्रा उकासिन्छ। अर्को महत्त्वपूर्ण हर्मोन डोपामिन हो। यसको रासायनिक चरित्र हेर्दा यसले नै मानवीय सभ्यतालाई परिमार्जित गरेको देखिन्छ। हिजोभन्दा आजको समाज अझ असल हुनुमा यो हर्मोनको योगदान देखिन्छ।

डोपामिनलाई ‘ह्याप्पी केमिकल’ पनि भनिन्छ। त्यसो भन्नुको कारण लक्ष्यमा पुग्ने संभाव्यता भएका बखत यो रसायनको उत्पादन हुने भएकाले नै हो। सगरमाथा चढ्ने काम आफैंमा महाअभियान हो। झण्डै नौ हजार मिटर उकालो चढ्दा व्यक्ति लखतरान हुन्छ, शरीर जिर्ण हुन्छ नै। तर जब पर्वतारोहीले आठ हजार मिटरको सीमा टप्छ उसलाई सफलताको निकट पुगेको महसुस हुन्छ।

अन्तिम फड्को उसका लागि कठिन हुँदैन बरु उत्साहको अनुभव हुन्छ। लक्ष्यको समीपताको अनुभूतिले व्यक्तिमा डोपामिन पैदा हुन्छ, व्यक्ति प्रसन्न बन्छ। तत्त्वले थप ऊर्जा दिन्छ। तर जब पर्वतारोही लक्ष्यमा पुग्छ, परिस्थिति फेरिन्छ। माउन्ट एभरेस्टको चुचुरो टेकेपछि ह्याप्पी केमिकलको उत्पादन बन्द हुन्छ अनि व्यक्तिको हर्षितपन घट्छ।

तसर्थ, सदैव खुसी हुनका लागि व्यक्तिको शरीरमा डोपामिनको उत्पादन निरन्तर हुन आवश्यक छ। लगातर ह्याप्पी हर्मोन बन्नका लागि व्यक्तिले सदैव नयाँ नयाँ लक्ष्यको निकट पुगेको अनुभव गर्नुपर्छ। एकपछि अर्को सफलताका लागि अनुसन्धानकर्तालाई हौस्याउने इन्जाइमले समाज परिमार्जित गर्छ। सदैव नवीन उपलब्धि हासिल हुने लोभमा व्यक्तिलाई पुलकित बनाइराख्छ डोपामिनले।

खरदारमा जागिर सुरु गरेको व्यक्तिले सुब्बा, शाखा अधिकृत, उपसचिव, सहसचिव अनि सचिव हुने सपनामार्फत आफूलाई मानसिक तथा बौद्धिक रूपले लक्ष्यतिर डोहोर्‍याउँदै गर्दा व्यक्तिको ह्याप्पी हर्मोनको उत्पादनले निरन्तरता पाउँछ, व्यक्ति समकक्षीभन्दा प्रफुल्ल हुन्छ। तर यदि त्यही व्यक्तिले वृत्ति विकासका लागि आफू काबिल नभएको ठान्न थालेपछि प्रफुल्ल रासायनिक पदार्थको उत्पादन रोकिन्छ। व्यक्ति दुःखी बन्न पुग्छ। तसर्थ, जिन्दगीमा लक्ष्य भेट्नका लागि निरन्तर क्रियाशील रहने मानिस तुलनात्मक रूपले प्रसन्न हुन्छ।

आम्दानीले खुसी बढ्छ तर मासिक तलब वृद्धि र हर्षबीचको सम्बन्ध भने सरल देखिँदैन भन्छ अध्ययनले। घर चलाउन नै पैसा नपुग्ने मानिसको तलब दुगुना भएको खण्डमा खुसी पनि दोब्बर हुने देखिन्छ। तर फजुल खर्च गर्न पुग्ने कमाइ भएको व्यक्तिको तलब दोहोरो अंकले वृद्धि हुँदासमेत प्रफुल्लताको ग्राफ भने खासै नबढ्ने देखियो।

एउटा पृथक अध्ययनले आम्दानीका अतिरिक्त वैवाहिक अवस्था र धार्मिक झुकावले पनि खुसीलाई निर्देशित गर्ने देख्यो। अविवाहितको तुलनामा विवाहित, एकलकाटेभन्दा साथीसंगीको समीपमा रम्ने अनि नास्तिकको दाँजोमा धार्मिक आस्थामा बाँधिएका व्यक्तिहरूले बढी आनन्द महसुस गर्छन् भन्छिन् इनर म्यामल इन्स्टिच्युटकी संस्थापक तथा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लोरेटा ब्रियुनिंग।

मानवीय दिमाग सुसीका लागि हरदम लालायित हुने ठान्छिन् ब्रियुनिंग। सधैँ हर्षका लागि आतुर रहने मस्तिष्कको सामान्य अवस्था असन्तुष्ट र नाखुसी नै हो भन्ने कुरा ब्रियुनिंगले आफ्नो पुस्तक ‘ह्याबिट्स अफ अ ह्याप्पि ब्रेन’ मा लेखिन्। जसरी सुत्नु सामान्य जीवन चरित्र हो असन्तुष्टि, दुःख जस्ता नकारात्मक आवेग पनि मानवका लागि आवश्यक ठान्छिन् उनी। जनावरदेखि अवोध बालकसमेतले आफ्नो असन्तुष्टि जाहेर गर्न रुने/कराउने अनि झगडा गर्ने भएकाले दुःखीपनलाई मानवीय विकासको चरण मान्नुपर्ने ठान्छिन् प्राध्यापक ब्रियुनिंग।

धेरैलाई लाग्छ कि नकारात्मक भावनालाई नियन्त्रण गर्दा व्यक्तिमा सकारात्मक ऊर्जा पैदा हुन्छ अनि व्यक्ति समष्टिगतरूपमा खुसी हुन्छ। तर प्रकाशित अन्वेषणले त्यस्तो भन्दैन। सन् २०१९ मा इन्दिरा गान्धी न्यासनल ओपन युनिभर्सिटीका अन्वेषण समूहले प्रकाशित गरेको अनुसन्धानले नकारात्मक भावनालाई दबाउँदा व्यक्तिको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देख्यो।

घरमा पहिलोपटक कफी पाक्दा पेय पदार्थको बास्नाले परिवारका सबैलाई आकर्षित गर्छ। तर जब घरमा दैनिकरूपले कफी पाक्न थाल्छ तब परिवारका सदस्यले बास्नाको अनुभूति नै गर्न छाड्छन्। शारीरिक बायोलोजीले दैनिक रूपमा हुने कुनै पनि घटनालाई सामान्य ठान्छ।

विभिन्न किसिमको हर्मोनले व्यक्तिलाई खुसी दिन्छ भने ती रासायनिक पदार्थको सहारामा मानवलाई प्रफुल्ल बनाऔँ भन्ने लाग्नु अन्यथा होइन। तर अप्राकृतिक रूपले दिइने बाह्य केमिकलको प्रभाव घट्दै जाने अनि समान नतिजाका लागि ओखतीको मात्रा थप्दै जानुपर्ने हुन्छ। अनि व्यक्ति अन्ततः ह्याप्पी हर्मोनसँग बेदखल भइ मानसिक रोगको सिकार बन्न सक्ने भएकाले खाना तथा अन्य व्यावहारिक माध्यमको उपयोग हितकर होला कि भन्ने सोच्नुपर्ने हुन्छ।

अमेरिकाको क्लिभल्यान्ड क्लिनिकका चिकित्सक मलिसा योंगको विचारमा माछा, अण्डा, दही, तरकारी, फलफूल तथा नेपालमा प्रतिकूल समयमा खान भण्डारण गर्ने गरिएको गुन्द्रुक, मस्यौरा, तितौरा, तामा जस्ता  फर्मेन्टेड फुडको सेवनले व्यक्तिमा प्रफुल्लता दिने रासायनिक पदार्थ उत्पादन भइ व्यक्ति खुसी हुन्छ। तसर्थ, खानामार्फत तनाव कम गर्नु बुद्धिमानी हुन्छ।

व्यक्ति बेखुसी हुनुको मुख्य कारण व्यक्तिगत कमजोरीलाई अन्यसँग दाँजी आफू असफल भएको ठान्नु देखियो। आफूसँग भएको क्षमतालाई स्वीकार गरी यथार्थलाई पछ्याउँदा तनाव कम हुन्छ। अझ सबैभन्दा महत्त्वपूर्ण कुरा संसारमा कोही पनि व्यक्ति सर्वगुण सम्पन्न र सधैँ सफल हुँदैन भन्ने तथ्यलाई स्मरण गर्दै आफ्नो अन्तरनिहित योग्यतामा भरोसा गर्दा खुसीको प्राप्ति सहज देखियो। मानवीय दिमागको सामान्य अवस्था दुःख हो भन्ने वास्तविकतालाई आत्मसात गर्दै उपलब्ध स्रोतको उपयोग गर्दै प्रसन्न रहने प्रयास गरौँ।

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्। 

प्रकाशित: १३ कार्तिक २०८१ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App