७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

खाद्य सुरक्षामा किसानको स्थान

हामी किसान नै हो माटोसँग खेल्ने। माटो सुकाउने। माटो भिजाएर चिस्याउने। त्यही माटोलाई हिल्याएर लहलह धान झुलाउने। अन्न र हरियो तरकारी फलाएर सबैको भान्छामा हामी पुर्‍याउँछौँ। तर त्यही भूमिमा हाम्रो स्वामित्व खै ? हामीसँग भूमिको अधिकार मात्र नभएको हैन। भूमि नहुँदा किसानको नाममा आउने मल बिउसमेत पाउँदैनौँ। जमिनको अधिकार नहुँदा कृषि ऋण पाउन सकेका छैनौँ।

हामी चुरेमा बस्छौँ। चुरेको माया हामीलाई छ। चुरे वगे हामी बग्छौँ। चुरेको बोटबिरुवा मासे हामी मासिन्छौँ। त्यसैले चुरेमा बसेर हामी मात्र बाँचेका छैनौँ। प्रकृतिलाई पनि बचाएका छौँ। खाली जग्गा र नदी छेउछाउ अम्रिसो लगाएका छौँ। खाली ठाउँमा वृक्षरोपण गरेका छौँ। तर हामीलाई नै जहिले पनि चुरे मासेको आरोप लाग्छ। हामी माटो र बिरुवालाई माया गर्ने किसान हौँ। हामीलाई आफ्नो जत्तिकै माया प्रकृतिको छ। त्यसैले त हामी जुन माटोमा जे फल्छ त्यही रोप्छौँ।

एक त हामी चुरेको अनकण्टारमा छौँ। अर्को हामी बसेको र हामीले जोतेको माटोको स्वामित्व आफ्नो बनाउन सकेका छैनौँ। पटक–पटक भूमि आयोग बने। निवेदन पेस गर्दै आएका छौँ। तर ती आयोग पनि सरकारसँगै सती गए। हाम्रा सपना सधैं अपुरै रहे। पुस्ताले खनजोत गरेको जमिन हामीले पाउन सकेनौँ। जसका कारण हामी राज्यबाट पाउनुपर्ने सेवा÷सुविधाबाट वञ्चित भयौँ।

बूढापाकाको भनाइ छ– ‘जुन खोलाको दुवाली त्यही खोलाको चपरी ।’ तर किसानको अधिकारको कुरा गर्दा उल्टो छ। जुन किसानले माटोलाई माया गर्छ। अन्न उत्पादन गर्छ। आफू खान्छ र अरूलाई खुवाउँछ। अधिकार त्यसलाई चाहिने हो। तर आज त्यही किसान अधिकारबाट वञ्चित छ। बरु जमिन खेती नगर्नेहरूको हातमा छ। उनीहरू माटो छुँदैनन्। उनीहरू जमिनलाई पैसासँग तुलना गर्छन्। तर हामी जमिनलाई अन्नसँग तुलना गर्छौैँ। जमिनलाई जीवन ठान्छौँ। तर हामीसँग न खान पुग्ने जमिन छ। न त भएकै जमिनको पुर्जा छ। हामी किसान कहिलेसम्म यसरी असुरक्षित बस्नुपर्ने ?

म जस्ता धेरै किसान कृषि कर्मबाट बाहिरिँदै छन्। किनकि पुस्तौँदेखि जोतेको जमिनको अधिकार छैन। गाउँमै बसेर कृषि कर्म गरौँ, भनेको बेलामा मल पाइँदैन। बल्लतल्ल मलबिउ जुगाड गर्‍यो, अन्न फलायो, भनेअनुसार बजार हुन्न। हामी किसान सबै अधिकारबाट वञ्चित हुन थाल्यौँ। यस्तै जीवन धान्नु त रहेछ। त्यसका लागि किन जबर्जस्ती खेती गर्ने ? कसका लागि खेती गरिदिने ? हामी कृषि कर्म गर्नेले उत्पादन गरेर राज्यलाई राहयोग गरेको देखिँदैन र किसान सधैँ अपमानित हुनुपर्ने हो भने माटोलाई माया गरेर किन बस्नुपर्ने ? कि किसानलाई भूमिको अधिकारसहित अन्य अधिकार सुनिश्चित हुनुपर्‍यो। यस्तै सवालमा किसानबीच छलफल हुन थालेका छन्। यो राम्रो पक्ष हैन। त्यसैले सरकार, अब किसानको अधिकारका लागि केही सोच।

किसानले आफ्नो खेतबारी बाँझो राखेर सहर र बिदेश धाउनुपर्ने बाध्यता बढ्दैछ। जसको जग्गाधनी पुर्जा छ, उसैले कृषिको अनुदान पाउँछ। जसको पुर्जा छ, उसैले ऋण पाउँछ। गाउँमा चलनचल्तीको ऋण पनि जसको आफ्नै जमिन छ, उसैले पाउँछ। यसरी हेर्दा जमिनसँग सम्मान र सम्बन्ध दुवै जोडिएको छ। त्यसैले वास्तविक किसानलाई जमिनको अधिकार पहिलो आवश्यकता हो। जमिन अधिकारबिनाको किसान जीवन अधुरो छ। किसानको जीउने आधार जमिन हो। किसानले परिवारको शिक्षा, स्वास्थ्यलगायत आधारभुत आवश्यकता पूरा गर्ने भनेकै जमिनको उत्पादनले हो। जमिनको स्वामित्व छ भने मात्र किसान मानव बन्न सक्छ। नत्र किसान सधैँ कामदार मात्र बन्छ। उसको समाजमा कुनै हैसियत हुँदैन। आज हाम्रो जीवन त्यस्तै भएको छ। किनकि हामीसँग माटो छ तर त्यही माटोमा अधिकार भने छैन।

आज हामी किसानले आफ्नो जग्गा नभएका कारण अरूको जग्गा हराभर बनाएका छौँ। अरूको जमिनको माटो मलिलो बनाएका छौँ। केवल हामी कामदारका रूपमा परिचित छौँ। त्यही पनि दिनभर खेतमा काम गर्दा बेलुकाको छाकटार्न समस्या हुन्छ। हामी किसान नै हौँ, आफ्नो पेटमा पटुका कसेर खेती गर्ने। तर हामी नै भोका छौँ। हाम्रा बालबालिका भोका छन्। किनकि हामीसँग जमिन छैन। इतिहास नियाल्दा पनि पुस्तौँदेखि जमिनमा श्रम गर्ने किसानहरू नै हरूवाचरुवा भए, कमैया÷कमलरी बनाइए। आज उनै भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोबासी, मोही, दर्ताछूट, गाउँब्लक, गुठी, चुरेपीडित भएर अपमानित जीवन जिउन बाध्य भए।

हामीले सोचेका थियौँ– लोकतन्त्र भनेको हाम्रो पनि हो। लोकतन्त्रमा हामी किसान पनि नागरिक बन्छौँ। यो तन्त्रमा खेती गर्ने किसानको पेट भोको हुन्न। हाम्रा बालबालिका कुपोषणका कारण मर्नुपर्दैन। नागरिकले बनाएको सरकारले नागरिकको अधिकार सुनिश्चत गरेर विकासको गति अघि बढ्नेछ। तर देशमा लोकतन्त्र आयो। संविधान नयाँ बन्यो। विभिन्न रंगका सरकार बने, एमाले–माओवादी एक भए। माओवादी र कांग्रेस पनि मिले। नयाँ अनुहारका रास्वपा पनि सरकारमा सामेल भयो। अपवादबाहेक सबैको सरकार बन्यो। तर हामी भूमिहीन किसानका समस्या भने जस्ताको तस्तै। हामीले नेपालमा गणतन्त्र आएको २० वर्षसम्म कु¥यौँ। अब त झिना आशाहरू पनि मर्दै गए।

दलहरूलाई अनुरोध छ– हामीलाई पटक–पटक भर्‍याङ बनाइयो। हामीलाई पटक–पटक झुक्याइयो। हामीलाई प्रयोग गरियो तर हाम्रो समस्या समाधान गर्न चासो दिइएन। के हामी किसानसँग शक्ति छैन भनेर हो ? या हामीले केही गर्न सक्दैनौँ भनेर हो ? सरकार र दलले यस्तै सोचेका छन् भने एक वर्ष किसानले खेती गरेनन् भने के हुन्छ भन्ने एकाध मिनेट आँखा चिम्लेर सोचून्। उत्तर सहज छ– सबै मर्नेछन्, भोकले। भोकमरीको महामारी फैलनेछ। पैसा भए पनि के गर्नु ? त्यही खान मिल्दैन, किन्न अन्न हुँदैन। त्यसैले सरकार, मुलुकलाई साँच्चै समृद्ध बनाउने हो भने कृषिलाई प्राथमिकता देऊ, कृषकको मुहार हँसाउ। उनीहरूले आफ्नो पसिना चुहाएर उर्वर तुल्याएका माटोको मालिक उनीहरूलाई नै बनाऊ। समय घर्केपछिको पश्चातापले कुनै परिणाम हासिल हुने छैन ।

प्रकाशित: ७ आश्विन २०८१ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App