नेपाल सन् २०२६ नोभेम्बरमा अल्पविकसित राष्ट्र (एलडिसी) बाट उत्तीर्ण हुने अपेक्षा गरिएको छ। वर्तमान नेपाल निम्न आय भएको देशका रूपमा छ। विश्व बैंकको हालको मापदण्डअनुसार, वार्षिक प्रतिव्यक्ति आय १,४४५ अमेरिकी डलरभन्दा कम आय भएको देशलाई निम्न आय अर्थतन्त्रका रूपमा वर्गीकरण गरेको छ।
गत वर्ष नेपालको प्रतिव्यक्ति आय १,४३५ अमेरिकी डलर छ। १,१४६ अमेरिकी डलरभन्दा माथि ४,५१५ डलरबीच प्रतिव्यक्ति आय रहेका देशलाई मध्यम आय मुलुकका रूपमा वर्गीकरण गरेको छ।
४,५१६ देखि १४,००५ सम्म अमेरिकी डलर आय भएका देशलाई उच्च–मध्यम अर्थतन्त्र भएको देशका रूपमा वर्गीकरण गरेको छ। १४,००६ डलरभन्दा माथिका अर्थतन्त्रलाई उच्च आय भएका देशका रूपमा वर्गीकरण गरेको छ।
दक्षिण एसियामा नेपाललगायत पाकिस्तान, अफगानिस्तानलगायतका देशलाई निम्न आय भएका अर्थतन्त्रको वर्गमा तथा भारत, बाङ्लादेश, श्रीलङ्का, भुटान निम्न मध्यम आय भएका देशका रूपमा वर्गीकरण गरेको छ। यद्यपि यो विश्व बैंक मानक प्रत्येक देशको सामाजिक सांस्कृतिक मूल्यमान्यतालगायत सबै पक्षको व्याख्या गर्ने सूचक भने होइन। तथापि आर्थिक सूचक झल्काउन अवश्य पनि उपयोगी मानकका रूपमा हेर्ने गरिएको छ।
विश्व बैंकको मापदण्डअनुसार नेपाल भविष्यमा आर्थिक वृद्धि र विकासको माध्यमबाट मध्यम आय अर्थतन्त्र र कालान्तरमा उच्च आय अर्थतन्त्रतर्फको यात्रा तय गर्नुपर्ने अवस्थामा छ।
नेपालको यस यात्राको सन्दर्भमा यसै वर्ष अगस्टमा प्रकाशित विश्व बैंकको ‘विश्व विकास प्रतिवेदन–२०२४’ मध्यम आयको जाल (मिडल इनकम ट्रयाप)’ सम्बन्धी विषयवस्तु तथा गणतन्त्र कोरियाको अनुभवबारे सङ्क्षिप्त परिचय गराउन चाहन्छु। विश्व बैंकको प्रतिवेदनका विषयवस्तुले नेपालको विकास यात्रामा एकपटक गहिरिएर पुनर्विचार गर्नुपर्ने देखाउँछ।
विश्व बैंकको प्रतिवेदनअनुसार नेपालसहित १०८ लाई निम्न आय अर्थतन्त्र भएका देशमा वर्गीकरण गरेको भएका छन्। त्यसैगरी यिनै निम्न आय भएका मुलुकले विश्वका जनसंख्याको ७५ प्रतिशत र विश्व अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगटेका छन्।
पछिल्लो समय मध्यम आय भएका देशहरूलाई विगतको तुलनामा मध्यम आयको जालबाट उम्कन गाह्रो भइरहेको छ। द्रुत गतिमा बूढापाकाको संख्यामा आएको उच्च वृद्धि, उच्च आय अर्थतन्त्र भएका मुलुकको संरक्षण नीति, जलवायु परिवर्तनका कारण उत्पन्न भएको ऊर्जा सङ्क्रमणलगायतको अवस्थाले मध्यम आयको जालबाट उम्कन कठिनाइहरू थपिँदै गएको छ।
उक्त प्रतिवेदनले मध्यम आयको जालबाट उम्कने अवधारणाका रूपमा ‘थ्रि–आई रणनीति’ प्रस्ताव गरेको छ। पहिलो, लगानी (इन्भेस्टमेन्ट) विस्तारमा ध्यान दिनुपर्नेछ। दोस्रोमा, लगानी विस्तारका साथसाथै विदेशमा सफल भएका नयाँ प्रविधि भित्र्याउने पक्ष (इन्फ्युजन) लाई जोड दिनुपर्ने हुन्छ। तेस्रो लगानी र इन्फ्युजन (इन्भेस्टमेन्ट, इन्फ्युजन) का साथ सन्तुलितरूपमा नवप्रवर्तन (इनोभेसन) लाई पछ्याउनुपर्छ।
हरेक चरण पार गर्न सहज कदापि हुँदैन तर सृष्टि, संरक्षण र विनाशसम्बन्धी सिद्धान्त अंगीकार गर्दै सबैलाई सन्तुलनमा राख्नु नै सफलताको सूत्र हो। धेरै देश परिवर्तनका लागि तयार नहुनु र खुला अर्थतन्त्रको पीडाबाट बच्न आफ्नै जिद्दीपनका कारण विकासको अवसरहरू गुमाउँदैछन्।
प्रतिवेदनले माथिका रणनीतिको सफल परीक्षणका रूपमा गणतन्त्र कोरियालाई द्रुत विकास सुपरस्टार (ग्रोथ सुपरस्टार) को उपमा दिएर उदाहरणका रूपमा व्याख्या गरेको छ।
गणतन्त्र कोरिया सन् १९६० मा प्रतिव्यक्ति आय लगभग १५८ अमेरिकी डलर रहेको थियो। त्यस बखत गणतन्त्र कोरियाको सरकारी सहज नीतिले सरकारी र निजी लगानी विस्तार तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न केन्द्रित भएको स्मरण गराउन चाहन्छु।
त्यसैगरी वैदेशिक लगानीको आवश्यकतालाई मध्यनजर गरी नीतिगत झण्झट हटाई वैदेशिक लगानीका लागि सहज वातावरण निर्माण भयो। कोरियाली बजार विदेशी कम्पनीहरूका लागि खुला गरियो।
सन् १९७० को दशकमा, कोरियाली कम्पनीहरूलाई विदेशी उन्नत प्रविधि तथा उत्पादन विधिहरू (इन्फ्युजन) को प्रयोग गर्न प्रोत्साहित गरियो। उदाहरणका लागि, चाउमिनको नुडल्स निर्माताका रूपमा सुरु भएको सामसङ कम्पनीले जापानी इलेक्ट्रोनिक्स कम्पनीहरूसँग साझेदारीमा इलेक्ट्रोनिक सामान उत्पादन गर्न थाल्यो। कोरियाली सरकारले यस इन्फ्युजनलाई बढावा दिन नीतिगतरूपमा आवश्यक सबै किसिमका सहुलियत प्रदान गर्यो। उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि ठूलो लगानी गरेको छ।
अर्को चरणका रूपमा, कोरियाली सरकारले बजार प्रतिस्पर्धा कायम राख्न प्रतिस्पर्धात्मक बजारका लागि आवश्यक कानुनहरू बनाएर निजी कम्पनीहरूको अनुसन्धान र विकासका लागि नवप्रवर्तन (इनोभेसन) अनुसन्धानलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्यो। प्रत्येक चरणमा प्रगतिको प्रक्रियामा निहित स्वार्थबाट प्रतिरोध भएको थियो तर संकटले यो प्रतिरोधलाई जित्ने अवसरका रूपमा काम गर्यो।
सन् १९९७ मा एसियामा आएको आर्थिक संकटका बेला कोरिया पनि आर्थिक संकटको भूमरीमा परेको थियो र सरकारले राष्ट्रिय आर्थिक संकट घोषणा गरेको थियो। यस अवसरलाई सदुपयोग गर्दै, कोरियाली सरकारले वित्तीय बजार पर्यवेक्षणलाई सुदृढ गर्दै, प्रतिस्पर्धात्मक बजार नीतिहरू सुदृढ गर्दै र उद्यमशीलता विकासका नीतिहरू लागू गरेर रचनात्मक रूपमा एक चरणको विनासपश्चात नवप्रवर्तनलाई प्रवद्र्धन गर्न सक्षम भयो।
गणतन्त्र कोरियाले प्रगतिको प्रत्येक चरणमा, कर्मचारीतन्त्रको बलियो क्षमता, भ्रष्टाचार विरोधी प्रयास, पारदर्शी कानुनी प्रणाली र सुधारिएको नीति समन्वय प्रणालीलाई आधार स्तम्भका रूपमा लिन सकिन्छ।
लेखकलाई पनि विगतमा कोरियाका ठूला कम्पनीहरूले कोरियाली कम्पनी र विदेशी कम्पनीको नाम संयुक्त उद्योगका रूपमा उल्लेख गरेको सम्झना छ। उदाहरणका लागि, कम्पनीको नाम लक्ष्मी–हुन्डाइ जस्तै नामहरू राखिन्थे। संयुक्त लगानीमा सुरुवात भएका उद्योगहरू प्रविधि तथा उन्नत सिप हस्तान्तरणका साथसाथै नवप्रवर्तनको विकास हुँदै कालान्तरमा कम्पनीको नामबाट विदेशी कम्पनीको नाम लोप हुँदै गए।
विश्व बैंकको प्रतिवेदनमा उल्लेख भएअनुसार कोरियाले ‘थ्रि–आई रणनीति’ को सफल परीक्षण र संयोजनबाट व्यक्तिगत कम्पनीहरू विकास गर्न सक्षम भएको र देशको सम्पूर्ण अर्थतन्त्रलाई उचाइ दिन सफल भएको विश्वास गरेको छ।
कोरियाका अनुसार वैदेशिक लगानीले अपर्याप्त लगानी स्रोतको पूर्ति गर्ने मात्र नभै प्रविधि हस्तान्तरण, उन्नत सिप हस्तान्तरण, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादन गर्न ठूलो मद्दत गर्छ। त्यसैगरी वैदेशिक लगानी र खुला बजार अर्थनीतिले लगानीकर्तालाई पैसा कमाउन अनुमति दिएको जस्तो देखिए तापनि, ठूलो चित्रमा हेर्दा वैदेशिक लगानीका कारण उक्त देशले घाटा बेहोरेका उदाहरण छैनन्।
त्यसैगरी, वैदेशिक लगानी तथा खुला बजार अर्थनीतिले प्रतिस्पर्धामार्फत स्वदेशी कम्पनी र उद्योगहरूको क्षमता विस्तारका साथै विदेशका सामानसरह गुणस्तरीय बनाउन मद्दत गर्ने तथा विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसरहरू प्राप्त हुनेछन्।
हाल नेपालले पनि लगानी विस्तारमा धेरै जोड दिएको छ। मलाई लाग्छ, यो सही दिशा हो। ‘थ्रि–आई रणनीति’ अनुसार विदेशी प्रविधि (इन्फ्युजन) भिœयाउने र निजी आविष्कारको प्रवद्र्धन (इनोभेसन) का लागि नीति तथा लगानी पनि आवश्यक छ।
सबै मध्यम आय भएका देशहरू जस्तै नेपालले पनि सन् २०२६ मा एलडिसीबाट उत्तीर्ण मात्र नभई मध्यदेखि दीर्घकालीन रूपमा मध्यम आयको जालबाट छुट्कारा पाउन आजैका मितिबाट आधार खडा गर्नुपर्ने देखिन्छ। मध्यम आय देशहरूले १० प्रतिशत वृद्धिको अवधिमा जनसंख्या वृद्धिबाट आर्थिक विकासमा सकारात्मक फड्को मार्ने अवसर प्राप्त गरेका उदाहरण पनि छन्।
नागरिकको औसत उमेर २६ वर्ष रहेको युवा जनशक्तिको बाहुल्य मुलुक नेपाल, सन् २०२२ को जनगणना अनुसार जन्मदर १.७ प्रतिशत रहेको, मेहनती तथा परिश्रमी श्रम शक्तिलाई देशको अर्थतन्त्र उकास्न सही मार्ग निर्धारण गर्नुपर्ने आवश्यकता देखिएको छ।
युवाशक्ति लक्षित उद्योग स्थापना तथा रोजगारी सिर्जना गर्न ढिला गर्नुहुँदैन भन्ने लाग्छ। नेपालले आर्थिक अवस्था मजबुत गर्न प्रतिवेदनमा उल्लेख भएबमोजिम सन्तुलित रूपमा ‘थ्रि–आई रणनीति’ पछ्याउनुपर्छ भन्ने बुझाइमा म पनि सहमत छु।
यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठका रूपमा वर्षको सुरुवातबाट नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौँ। नेपालको आर्थिक समृद्धिका लागि उपयोगी हुन सक्ने ‘थ्रि–आई रणनीति’ प्रवद्र्धन गर्न कोरियाली सरकार र कम्पनीहरू प्रमुख साझेदारका रूपमा नेपालमा आफ्नो व्यवसाय सञ्चालनमा ल्याएका छन्।
विश्वमा आफ्नो छुट्टै प्रतिष्ठित पहिचान बनाएको सामसङ इलेक्ट्रोनिक्सले गत वर्ष अप्रिलदेखि नेपालको गोल्छा ग्रुपसँग मिलेर नेपालमा टिभी एसेम्बल प्लान्ट सञ्चालन गर्दै आएको छ भने हुन्डाइ मोटर कम्पनीले लक्ष्मी समूहसँग मिलेर यस वर्ष मेदेखि ‘मेड इन नेपाल’ लेखिएका गाडी उत्पादन गर्दै आएको छ।
धेरै कोरियाली साना तथा मझौला उद्योगमा लगानी गरेर नेपालको उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा भूमिका खेलिरहेका छन्। नक्कली कपाल उत्पादन गर्ने कम्पनीले नेपालमा उत्पादन गरेको सामान नेपालभित्र उपभोग गरी विदेश निर्यात गर्दै आएका छन्।
यसबाहेक, कोरियाली कम्पनी र कोरियाली इन्जिनियरहरू नेपालमा जलविद्युत् आयोजना तथा नेपालमा सडक निर्माणलगायतका पूर्वाधार निर्माण क्षेत्रमा सक्रिय छन्। आर्थिक वर्ष २०२३–२०२४ मा दक्षिण कोरिया नेपालको तेस्रो ठूलो वैदेशिक लगानीकर्ताका रूपमा आफ्नो उपस्थिति देखाएको छ।
कोरिया सरकारको स्तरमा, हामीले नेपाल सरकारसँग विभिन्न नीतिगत क्षेत्रमा विभिन्न तरिकाले आफ्ना अनुभव र ज्ञान बाँडिरहेका छौँ। नेपालमा लगानी, इनपुट र नवप्रवर्तनको ‘थ्रि–आई रणनीति’ (इन्भेस्टमेन्ट, इन्फ्युजन र इनोभेसन) सहीरूपमा लागु गरेर समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुने विश्वास लिएका छौँ।
-थेयङ नेपालका लागि गणतन्त्र कोरियाली राजदूत हुन्।
प्रकाशित: ७ आश्विन २०८१ ०९:०९ सोमबार