७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

इन्द्रजात्रा: सांस्कृतिक उल्लासको पर्व

काठमाडौं उपत्यकाको ऐतिहासिक र सांस्कृतिक पर्व इन्द्रजात्रा नेवार समुदायको प्रमुख पर्वमा पर्छ। हरेक वर्ष, भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजको विधिवत् रूपमा हनुमानढोकाको प्रा·णमा प्रतिस्थापन गरी यस पर्वको शुभारम्भ गरिन्छ।

पर्वको विधिवत् प्रारम्भ भक्तपुरको नाला–गुँबाट भोटाहिटीसम्म ल्याइएको यसिंलाई हनुमानढोका दरबारको इन्द्रपुरअगाडि प्रतिस्थापन गरिन्छ। यस इन्द्रपुरमा कुनै बेला इन्द्रको मूर्ति पनि यस अवसरमा प्रदर्शनमा राखिन्थ्यो। पर्वको रथ उत्सव काठमाडौंको पुराना सहरका विभिन्न टोलहरू मरु, चिकमुगः, जैसिदेगः, लगं, ह्युमत, भीमसेनस्थान, प्याफः यट्खा, ङ्तमरु अजिमा, त्यंघः र किलाघःमा हुन्छ।

वसन्तपुरको कुमारी घरअगाडि रहेको गद्दी बैठकको दक्षिणको बार्दलीबाट राष्ट्राध्यक्षले कुमारी माजूमा भेटी चढाएपछि विधिवत् रथ यात्राको शुभारम्भ गरिन्छ। रथ ल्याउने टोलका घरघरमा विवाहित छोरी चेली, साथीभाई र आफन्तजनलाई बोलाएर भोज खुवाउने र रथयात्राको खुसी मनाउन व्यस्त हुन्छन्। रथयात्रामा पर्ने विभिन्न टोलका डबलीहरूमा नचाउने देवदेवीका नाच र जात्राभरी नै ल्याउने लाखे, पुलु किसि, सवाभक्कु नाचले वातावरणलाई रमाइलो बनाउने गरेका छन्।

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ऐतिहासिक नेवार बस्तीहरूमा आआफ्नै शैलीमा मनाइने यस पर्वमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी विभिन्न देवदेवीको नाच, भैलः आजु (हाथु द्यः) पूजा र जीवित देवदेवीको रथयात्राजस्ता क्रियाकलाप गरिन्छ। इन्द्रले फूल चोर्ने कथाको प्रसङ्गले पनि यस पर्वलाई रोचक बनाउँछ।

 खुँद्यः÷लुँद्यःका रूपमा इन्द्रको मूर्तिलाई प्रदर्शनमा राख्ने परम्पराले संग्रहालयको प्रारम्भिक स्वरूप र संरक्षण विधिलाई उजागर गर्छ। यसबाहेक यस पर्वमा काठ, माटो तथा धातुका मूर्तिहरूका साथै पौभा चित्रहरू पनि प्रदर्शनमा राख्ने परम्परालाई संग्रहालयको प्रारम्भिक स्वरूप (संग्रहमा रहेको वस्तु देखाउने) मान्न सकिन्छ।

भदौको हावा र घामलाई विशेष मान्ने हाम्रो समाजमा यस मौसममा मानिसहरू अन्न, खाद्यान्नलगायत लुगाफाटा, ओढ्ने, ओछ्याने, घाममा सुकाउने र हावामा राख्ने चलन पनि छ। यसो गर्नाले गोसाइकुण्डको हावाले ओस हराउने र कीटनाशक पनि हुने विश्वास गरिन्छ। यस पर्वमा प्रदर्शनमा राखिने इन्द्रलाई नेपाल भाषामा खुँद्यः र लुँद्यः भन्ने गरेको पाइन्छ।

तारकेश्वर नगरपालिकामा पर्ने धर्मस्थलीको मुसुबहामा मुस्वा लिन आएको भन्ने गरिन्छ। यस्तै यस पर्वमा डबलीहरूमा देखाइने देवदेवीको नाच, दश अवतारको नाटक प्रर्दशनीले रङ्गमञ्चको परम्परा देखाउने गरेको छ भने जात्रामा बालिने ग्वारा मतः र ह्युमतःको विशेषताले यसलाई उज्यालोको पर्व पनि मान्न सकिन्छ।

चथाको दिन स्वर्गबाट इन्द्र उनकी आमाले गर्न लागेको धलंदनि अर्थात् सत्यनारायणको पूजाका लागि मुस्वा अर्थात् चथास्वा लिन धर्ती आउने र नसोधी फूल टिपेको प्रस·मा चोर दोष लागेको कथाको प्रसङ्गमा नेपाल भाषामा खुँद्यः र इन्द्रजात्रामा प्रर्दशनमा राखिने इन्द्रको सुनको मूर्तिको प्रस·मा नेपाल भाषामा लुँद्यः भन्ने गरेको छ। यस पर्वको इतिहासले नेपालका प्राचीन धार्मिक, सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो सम्बन्ध राख्छ। काठमाडौं उपत्यकाको नेवार समुदायमा इन्द्रजात्रालाई महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ, जसको सुरुवातको सम्बन्ध ऐतिहासिक–पौराणिक कथा र धार्मिक विश्वासहरूसँग जोडिएको छ।

इन्द्रजात्राको इतिहास लिच्छविकालसँग पनि जोडिन्छ। राजा गुणकामदेवले काठमाडौंमा बसोबास सुरु गराउँदा नगरमा धार्मिक पर्वहरूलाई पनि प्राथमिकता दिए। राजा गुणकामदेवले काठमाडौं उपत्यकाको स्थापना गरेपछि पहिलोपटक इन्द्रजात्राको आयोजना गराएका थिए भन्ने मानिन्छ।

पौराणिक कथा

इन्द्रजात्राको मुख्य कथा वैदिक देवता इन्द्रसँग सम्बन्धित छ। पौराणिक कथाअनुसार देवराज इन्द्रकी आमा अदितिलाई ‘पारिजात फूलको आवश्यक परेको थियो। फूल खोज्दै इन्द्र पृथ्वीमा आएका थिए र काठमाडौं उपत्यकाको एक बगैंचामा फूल त फेला पारे तर फूल टिप्ने क्रममा उनलाई स्थानीयले चोर ठानी बन्दी बनाए।

इन्द्रले आफूलाई चोर भनेर अपमानित गरेकोमा रुष्ट हुँदै काठमाडौं उपत्यकामा वर्षा नहुने श्राप दिए। पछि इन्द्रको वास्तविक पहिचान थाहा पाएपछि स्थानीयले उनलाई रिहा गरे र क्षमायाचनास्वरूप उनको पूजा आराधना गर्दै जात्रा मनाए भन्ने विश्वास गरिन्छ।

अर्को भनाइअनुसार स्वर्गका राजा इन्द्रले आफ्नी आमाले स्वर्गमा गर्न लागेको विशेष पूजाका लागि ‘चथाः स्वां’ लिन धर्तिमा आएको र उक्त समयका काठमाडौंको ख्यः केवः भीमसेनस्थान (भिं द्यः) को तलतिरको स्थानको बगैंचामा आएका थिए। त्यस बगैंचाका गथुं (माली) तान्त्रिक विद्या जान्ने भएकाले स्वर्गका राजालाई चिनेर तान्त्रिक शक्ति तारणले बाँधेर यहीं राखे। यसरी देवराज इन्द्र बाँधिएर पृथ्वीलोकमा नै रहेपछि इन्द्रराजकी आमा (दागिं), इन्द्रको वाहन ऐरावत हात्ती (पुलुकिसि) इन्द्र खोज्दै आएको कथा पनि यस पर्वसँग सम्बन्धित छ।

धार्मिक विधि

इन्द्रजात्रा मनाउन इन्द्रध्वज (यसिं) ठड्याइन्छ, जुन काठमाडौंको हनुमानढोका दरबारको प्रा·णमा गरिन्छ। इन्द्रध्वज ठड्याउने चलनलाई वर्षा र सहकालको प्रतीक मानिन्छ। यस पर्वमा यसिं पूजा, इन्द्रको मूर्ति पूजा, देवी गणलाई दिने पूजा, आजु द्यःको पूजा र हाथु प्रसाद ग्रहण, दाँगिंको यात्रा, बौमतः, उपाकु परिक्रमा र जीवित देवदेवी रथयात्रा र पूजा विधिहरू विशेष हुन्छन्। यसमा नेवारहरू गुँमपुन्हिका दिन हातमा बाँधेको डोरा इन्द्रको हातमा बाँधेर आफ्नो अस्तित्व स्वर्गमा पनि रहोस् भन्ने कामना पनि गर्ने गरिन्छ।

पवित्र काठको छनौट गरी यसिं बनाउन प्रयोग हुने काठ विशेष रूपमा भक्तपुरको नाला गाउँबाट ल्याइन्छ। यो काठ ठुलो, बलियो र सिधा हुने गर्छ, जसलाई धार्मिक रूपमा पनि पवित्र मानिन्छ। काठको छनौट, ल्याउने प्रक्रिया सबै नै एक धार्मिक अनुष्ठानका रूपमा गरिन्छ।

यसिंलाई हनुमान ढोकाको प्रा·णमा ठड्याउनुअघि विभिन्न धार्मिक अनुष्ठान गरिन्छन्। विशेषगरी, धिमय्, खिं, ढोलक, ता, झ्याली र अन्य नेवार बाजागाजाका तालमा देवदेवीको नृत्यको धुनमा यसलाई ठड्याउने गरिन्छ। यस क्रममा भक्तजनहरू र विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहन्छ। यसिंको टुप्पोमा राखिने ध्वजपत्र (ध्वजा) जसलाई देवराज इन्द्रको प्रतीक मानिन्छ।

यो ध्वजपत्रलाई राम्ररी सजाइन्छ, जसमा विभिन्न धार्मिक चिह्नहरू अंकित गरिएका हुन्छन्। यसिं ठड्याएपछि नै इन्द्रजात्राको औपचारिक सुरुवात भएको मानिन्छ। यसपछि गणेश, भैरव, र कुमारीको रथयात्रा हुन्छ, जसमा स्थानीय बासिन्दा, भक्तजन र पर्यटकहरूको ठुलो सहभागिता हुन्छ। यसिं उठाउने परम्परा नेवार समुदायको सांस्कृतिक धरोहरको महत्त्वपूर्ण अंग हो।

यो पर्वबाहेक नेवारहरूले मनाउने अन्य पर्व जस्तै पाहाचह्रेमा दमाई टोल, वंघः (इन्द्रचोक) मा पनि यसिं ठड्याउने परम्परा रहेको छ। यो पर्वको प्रतीक पनि मानिन्छ। यस्तै जात्राभर नचाइने देवदेवी, लाखे, पुखु किसि नाच सबै धार्मिक अनुष्ठानमा हुने गर्छ।

समग्रमा, यो चाड नेवार समाजमा विद्यमान परम्परागत धार्मिक–सामाजिक कला, वास्तुकला, चित्रकला, मूर्तिकला, गाउने–बजाउने, र·मञ्च कलाको प्रस्तुतिको सामूहिक उत्सव हो। जसले समाजमा एकता सौहार्द कायम राख्न मद्दत गरेको हुन्छ। यो केवल धार्मिक उत्सव मात्र नभई काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अंश पनि हो। यसमा देखाइने नेवार समुदायको परम्परागत धार्मिक–सामाजिक कला,  वास्तुकला, चित्रकला, मूर्तिकला र र·मञ्च कलाको सामूहिक उत्सव हो।

यस पर्वले समाजमा एकता, सौहार्द र समृद्धि कायम राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यसले नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक विविधतासँग गहिरो सम्बन्ध राख्दै आएको छ। त्यसैले यो पर्व नेपाली समाजमा धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सामाजिक एकतालाई सुदृढ बनाउने माध्यम पनि भएको छ।

प्रकाशित: ३ आश्विन २०८१ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App