मेरो बच्चा जन्मँदाको एउटा घटना सम्झन चाहन्छु। धेरै साथीभाइ अनि चिनजानका मान्छेले बच्चा जन्मिएपछि बाटोमा भेट्दा ‘बुबा भएकामा बधाई है’भन्थे। म खुसी हुँदैं धन्यवाद भन्थेंँ। अनि धेरैजसोको पुरक प्रश्न आउँथ्यो– छोरा भयो कि छोरी?’ छोरा– म उत्तर दिन्थेँ। अधिकांशको जवाफ हुन्थ्यो–ल उसो भए फेरि बधाई छ।
यो हाम्रो समाजको मानसिकता हो जुन विस्तारै नियति बन्दैछ। जबसम्म हामी छोरा जन्मँदा दुईचोटि बधाई दिइरहन्छौँ, तबसम्म नारीलाई सम्मान गर्ने समाज बन्दैन। जबसम्म लैङ्गिक समानतामा हामी अघि बढ्न सक्दैनौँ तबसम्म हामी स्थिर समाज अनि समृद्ध देश बनाउन सक्दैनौँ।
महिला हिंसाको कारण
‘राधा चौधरीमाथि दिनभरि कुटपिट’, ‘६ वर्षीया बालिका बलात्कृत’ वा ‘पार्वतीलाई दाइजो निहुँमा घर निकाला’ वा ‘परीक्षा दिन जाँदै गरेकी महिलामाथि एसिड प्रहार’ यस्ता समाचार अनि बुझाइमै महिला हिंसाको कारण लुकेको छ। यी सबै घटनामा हामीले पीडितलाई प्रधान अनि पीडकलाई गौण बनाएका छौँ। यी हाम्रो बुझाइले पीडितको मनोबललाई गिराउने काम गरेको छ।
फलस्वरूप, हाम्रो समाजले पीडितलाई नै दोषी देखाउने काम गर्दैछ। हामी पीडकलाई प्राथमिकता दिँदैनौं, त्यसैले हाम्रो समाजमा पीडित अपहेलित हुनुपरेको छ। हामी पीडकलाई सजाय दिनेभन्दा पनि पीडितलाई ‘किन राति राति एक्लै हिँडेको’ वा ‘कसले त्यहाँ जान भनेको थियो?’ वा ‘खुब छोटो लुगा लगाउनुपर्छ’ भनेर महिला हिंसालाई बढावा दिँदैछौंँ। अझै हामीले पीडकलाई मूलपात्र बनाएर सामाजिक बहस चलाउन सकेका छैनौँ। ‘हाम्रा सामाजिक संस्था, हाम्रो परिवार, हाम्रो धर्म, हाम्रो शिक्षाले किन हिंसा गर्ने यति धेरै पुरुष जन्माउँदैछ?’ भनेर हामी आफूले आफैँलाई प्रश्न सोध्न सकेका छैनौँँ। किन महिला हिंसा राजनीतिको प्रमुख मुद्दा बनेको छैन? किन हामी आफैँ मौन छौं? उत्तर हो– हामी महिला हिंसाबाट भाग्ने प्रयास गर्दैछौंँ।
अर्को मूल समस्या भनेको हामी महिला हिंसा भनेको महिलाको मात्र विषय भनेर पन्छिने काम गर्दैछौंँ। म यहीँ सबैलाई रोक्न चाहन्छु। महिला हिंसा महिलाको मात्र विषय होइन। यो पुरुषकै विषय हो। जब एउटा बुबाले आमालाई हिंसा गर्छ भने त्यो देख्दै रहेको छोराको मानसिकतामा कस्तो असर पर्छ? बलात्कार गरिएकी छोरीको बुबाको पीडा कसले बुझ्ने? दाइजोका कारण दिदीबहिनीमाथिको हिंसामा दाजुभाइको पीडा के महिला हिंसामात्रै हो? अब सोच्ने बेला आएको छ।
महिला हिंसाको अर्को पक्ष भनेको महिला आर्थिकरूपमा कमजोर छन् भन्ने मानसिकता हो। पुरुषले कमाएर खुवाएको छ भन्ने भ्रम छ। युनाइटेड नेसन्स डेभलपमेन्ट फन्ड फर वुमेन, १९९७ का अनुसार यदि गृहिणीको कामलाई श्रम बजारको दृष्टिकोणबाट हेर्ने हो भने पनि यसको औसत प्रतिमहिना ७० हजारदेखि १ लाख ५० हजार रुपियाँसम्म हुने पाइएको छ । महिलाको औसत श्रमको मूल्यांकन गर्ने हो भने त्यसले संसारको लगभग ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन हुन आउँछ। गृहिणीको यत्रो ठूलो योगदान छ तर हामीले यो तथ्य राम्ररी बुझ्न अनि बुझाउन सकेका छैनौं।
अनि महिला हिंसाको अर्को प्रमुख कारण भनेको हामी महिला हिंसालाई लुकाउन खोज्दैछौँ। धेरै मुद्दामा पीडितले नै मुद्दा फिर्ता लिने वा उजुरी नदिने गरेको पाइएको छ। साथै, श्रीमान्ले मरेतुल्य गरेर पिट्दा पनि ‘श्रीमान्–श्रीमतीको झगडा परालको आगो’ भनेर पन्छ्याउने गरिएको छ। किनकि परिवारले महिला हिंसालाई पीडितको परिवार अनि समाजको प्रतिष्ठाको विषय बनाउँदै छन्।
महिला हिंसाको समाधान
अब महिला हिंसाविरुद्ध युवाहरू सडक उत्रन जरुरी छ। पाठ्यक्रममै महिला हिंसाको प्रतिकार गर्न सिकाउन जरुरी छ। अब संसद्मा महिला हिंसाविरुद्धको कानुनबारे व्यापक छलफल चल्नुपर्छ। अनि, अब महिला हिंसा राजनीतिक अजेन्डा बन्नुपर्छ। २०७५ साललाई सरकारले ‘महिलाविरुद्धको हिंसामा शून्य सहनशीलता वर्ष’कारूपमा मनाउँदै पीडितले जुनसुकै बेला उजुरी गर्न सक्ने गरी हटलाइन सेवा र छुट्टै युनिट खडा गर्न जरुरी छ। महिला हिंसाको समाधान निम्न हुन सक्छन्ः
१) शिक्षा, चेतना अनि कानुन
हामीले स्कुलदेखि नै महिला हिंसा सामाजिक, नैतिक अनि कानुनीरूपमा नै गलत हो अनि यो हिंसामात्र नभएर अपराध पनि हो भन्ने सिकाउन जरुरी छ। सिकाउनेमात्र होइन, महिला हिंसाको प्रतिकार कसरी गर्ने भनेर अभ्यास नै गराउन जरुरी छ। साथै, हामीले महिला हिंसा लुकाउने होइन कि महिला हिंसालाई अगाडि बढेर सामना गर्ने चेतना फैलाउन जरुरी छ। अब गोष्ठी, सेमिनार अनि छलफल कार्यक्रम ५ तारे होटेलमा मात्र होइन, राधा बस्ने गाउँमा हुन जरुरी छ।
२) महिला उद्यमशीलता
आर्थिकरूपमा सबल महिलामाथि कम हिंसा हुने गरेको छ। तसर्थ महिला सशक्तीकरणको अर्को दीर्घकालीन समाधान भनेको महिला रोजगारी हो। यदि महिला आर्थिकरूपमा सक्षम हुने हो भने महिलाले हिंसा सहनुपर्ने स्थिति आउँदैन थियो। साथै, अब महिलाले बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्मको कामको मूल्यांकन राज्य अनि समाजबाट हुन जरुरी छ।
३) बाइस्ट्याडर अप्रोच
‘बाइस्ट्याडर अप्रोच’ नीति भनेको महिला हिंसाविरुद्ध समाजलाई नै नेतृत्व दिने वा समाजले नै महिलामाथि हिंसा हुन्छ भने प्रतिकार गर्ने वा रोक्ने विधि हो। जब कुनै नारी वा पुरुषमाथि अन्याय हुन्छ तब समाज (साथी, छिमेकी, सहकर्मी, परिवार) ले के गर्छन्? अब समाजलाई जगाउने बेला आएको छ। अब वरिपरिको मान्छेले रमिते बन्ने होइन कि म तिम्रो पक्षमा छु भन्नुप-यो कि विरोध गर्नुप-यो।
महिला हिंसाविरुद्ध पुरुष
महिला हिंसाबारे महिलाले बोल्दा लेख्दासम्म हाम्रो समाजले त्यसलाई स्वाभाभिकरूपमा लिन्छ। तसर्थ, अब महिला हिंसाविरुद्ध पुरुष अघि सर्न जरुरी छ। महिलाले नसक्ने भनेर होइन। यो महिलाको मात्र विषय होइन अनि महिला हिंसाको पीडित पुरुष आफैँ पनि भएकाले अबका अभियानको नेतृत्व पुरुषले गर्नुपर्छ । स्टेफेन क्लासेन (१९९९, २००५) को विश्वब्यापी अनुसन्धानअनुसार पनि महिला सक्षम भएको घरका बच्चा स्वस्थ, शिक्षित अनि अनुशासित हुने गरेका छन्। जुन समाजमा महिला कमजोर हुन्छन्, त्यहाँ धेरै द्वन्द्व हुने अनि राजनीतिक अस्थिरता हुने देखिएको छ।
अन्त्यमा, महिला हिंसा महिलामाथिको हिंसामात्र होइन, मानव अधिकारविरुद्धको अपराध हो। जबसम्म विद्यार्थीमाथि हुने यौन दुव्र्यवहारमा स्कुलको इज्जत जान्छ भनेर लुकाउने, बलात्कार गरिँदा परिवारको इज्जत जान्छ भनेर मेलमिलाप गर्ने अनि दाइजोको सवालमा चूप बस्ने संस्कार हट्दैन तबसम्म महिला हिंसा बढ्दै जान्छ।
केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी
प्रकाशित: २० चैत्र २०७४ ०४:५३ मंगलबार