३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
विचार

सम्पदा पुनर्निर्माणमा मूल्यांकन

काठमाडौँका केही अति महत्वपूर्ण स्मारक, जस्तै– काष्ठमण्डप, माजुदेवल, त्रैलोक्यमोहन नारायण मन्दिर र रानीपोखरी आदिलाई छाडेर धेरैजसो अन्य ठूला/साना स्मारक र दरवार क्षेत्रहरूभित्र पनि पुनर्निर्माण र जीर्णोद्धारका काम कतै भइसकेका छन् भने कतै हुँदैछन् । यस आर्थिक वर्ष २०७४/०७५ भित्र धेरै नै स्मारकको पुनर्निर्माण र जीर्णोद्धार भइसक्ने आशा गर्न सकिन्छ। 

पुरातत्व विभाग र अन्य निकायले गरिरहेका पुनर्निर्माण र जीर्णोद्धारका कामप्रति जनसरोकार दिनदिनै बढ्दो छ । त्यो राम्रो पनि हो। जनताले आफ्ना स्मारक र सम्पदाहरूबारे चासो र दिलचस्पी राखिरहनुपर्छ। साथै सम्बन्धित निकायले यी महत्वपूर्ण सम्पदाको पुनर्निर्माण र जीर्णोद्धार ठीक तरिकाबाट ठीक ठीक ढंगले ठीक ठीक सामग्रीहरू प्रयोग गरेर गरेका छ छैनन्, त्यसमा पनि जनचासो त्यत्तिकै हुनु जरुरी छ।

रानीपोखरीलाई लिएर सम्पदाप्रेमी र सरकारी निकायबीच धेरै नै समस्या खडा भएका छन्। त्यसको समाधान शायद अझै पूर्णरूपमा हुन बाँकी नै छ। काठमाडौंँ महानगरपालिकाले एउटा विशेषज्ञ टोली गठन गरी त्यहाँ आइपरेका समस्या समाधान गर्न खोजेको भएतापनि त्यो टोलीले समस्या समाधान गर्नुको सट्टा झन बढी जटिल बनाइदिएको देखिन्छ। भूकम्पले भत्किएको वालगोपालेश्वर महादेव मन्दिरको छेउछाउ यताउति केही पुराना प्रस्तरका संरचना भेटिएका आधारमा उक्त टोलीले इतिहासको गर्भभित्र लुप्तप्रायःभइसकेको प्रताप मल्लकालीन मन्दिरको कतै भेटिएको स्केचको आधार लिई उक्त मन्दिरलाई त्यस्तै स्वरूप दिई पुनर्निर्माण गर्नुपर्छ भनी जुन सुझाव दिएको छ, त्यो आफैँमा पनि भ्रमपूर्ण र आत्मभ्रामकझैँ देखिन्छ । हुन त अहिले भूकम्पले भत्किएको दुईतले गुम्वजशैलीको मन्दिर जंगबहादुरको समयमा बनिसकेको थियो। किनभने सन् १९१८ मा दीर्घमान चित्रकारले खिचेको रानीपोखरी र दरवार हाइस्कुलका फोटोहरू ‘चेन्जिङ फेसेज अफ नेपाल : दि ग्लोरी अफ एयिाज पास्ट, १९९५’ को पेज नं. ५४ र ‘इमेज अफ सेन्चुरी : दि चेन्जिङ टाउनस्केप्स अफ दि काठमाडौँ भ्याली, १९९७’को पेज ५४ मा प्रकाशित भइसकेका पाइन्छन्। यी फोटोले बालगोपालेश्वर महादेव मन्दिरको स्वरूप कस्तो थियो भन्ने कुरा दर्शाउनुका साथै यो मन्दिर देख्ने स्वदेशी एवं विदेशी सबैलाई उक्त मन्दिरबारे एउटा छाप नै पारिसकेको छ। त्यस स्वरूपलाई पुनर्निर्माण गरी फर्काउनेपुरातत्व विभागको जुन अभिप्राय हो त्यो सराहनीय र उचित छ।

सन्ततिलाई हस्तान्तरण गर्दा तिनीहरूले यी स्मारकबाट आफूलाई चाहिने आवश्यक सेवा र फाइदा लिन सक्छ/सक्दैन, ती सबै कुरा मनन् गरी सम्पदा पुनर्निर्माण एवं जीर्णोद्धारको मूल्यांकनको आवश्यकताबारे जनता र सम्बन्धित निकाय सबैले विचार गर्नुपर्ने बेला आइसकेको छ। 

कम्पपछि जुन रफ्तारमा पुनर्निर्माण र जीर्णोद्धारका कार्य भए र हुँदैछन् ती कार्य के/कसरी भइरहेका छन्, के कसरी भयो, ती स्मारकमा के/केस्ता सामग्री प्रयोग गरिए, के यी स्मारकको भित्री/बाहिरी सबै देखिने/नदेखिने भागमा नाप साइजअनुसार ठीक/ठीक ढंगबाट पुनर्निर्माण गरिएका छन् र ती स्मारकमा जडिएका कलाकृति वा अन्य कुनै संरचना के सबै ठीक ठीक ठाउँमा ठीक ठीक ढंगबाट जडान गरिएका छन्? पुनर्निर्माण एवं जीर्णोद्धार गर्दा पर्याप्त मात्रामा उक्त स्मारकमा पहिले प्रयोग गरिएका इँटा, माटो, काठ, कलाकृतिहरू, झिंगटी आदिबारे राम्ररी अध्ययन/अनुसन्धान गरी पुनः त्यसैअनुसार प्रयोग गरिएका छ/छैनन्, सम्वन्धित निकाय र सम्पदाप्रेमी जनताले समेत चनाखो भई हेर्नुपर्छ। ठेकेदार प्रथाबाट गरिने पुनर्निर्माण तथा जीर्णोद्धारका काम के/कति गुणस्तरीय हुन सक्छ भन्ने पनि विचारणीय नै छ। तर सरकारी नियमअनुसार ठेक्काप्रथामा नगई सरकारी निकायलाई अर्को कुनै विकल्प नै रहेनछ। 

हाम्रो देशमा सरकारी काम र योजना सु–सम्पन्न भइसकेपछि त्यसको मूल्यांकन गर्ने पद्धति अझै राम्ररी बसिसकेको देखिँदैन । कुनै पनि कार्यक्रम र योजनाको बाहिरी भौतिक स्वरूपमात्र हेरिने र खर्चको हिसाब ठीक ढंगबाट राखेको छ/छैनमात्र हेर्ने गरिन्छ। नियमअनुसार खर्च भएको छ/छैन र जुन निकायका प्राविधिकले कामको जिम्मा पाएका छन्, तिनीहरूले नै काम सकिएपछि जाँच पास गरी ठेकेदारलाई बाँकी भुक्तानी दिने चलन छ । वास्तवमा यो पद्धति नै गलत छ। देशका अन्य ठूलाठूला निर्माण कार्यबारे मलाई थाहा छैन तर स्मारकहरूको पुनःनिर्माण र जीर्णोद्धार गर्दा भने त्यस स्मारकमा सबै कुरा ठीक भएको छ/छैन, मूल्यांकन गर्न एउटा सानो टोली जसमा पुरातत्वविद् वा कला इतिहासकार, वास्तुकलाविद् वा इन्जिनियर, अडिटर वा एकाउन्टेन्ट र अन्य एकजना स्वतन्त्र विशेषज्ञ हुनुपर्छ। उक्त टोलीले सम्बन्धित स्मारकको पुनर्निर्माण कामको सुरुदेखि अन्तसम्मको प्रत्येक चरणको सम्बन्धित नाप नक्शा, फोटो, इस्टिमेटहरू हेरी स्मारकमा प्रयोग गरिएका माटो, सुर्की, इँटा, झिंगटी, काठ, कलाकृति एवं अन्य संरचना आदि सबैको राम्ररी अवलोकन गरी निरीक्षण गर्नु पर्दछ। यसरी स्मारकहरूको पुनर्निर्माणपछि मूल्यांकन गराउने चलन सामाजिक सेवा परिषद्मा मात्र रहेछ। उक्त संस्थाले केही वर्षअघि पाटन दरवार क्षेत्रमा भइरहेको मूलचोक तथा सुन्दरीचोकहरूको पुननिर्माणबारे दुईपटक अनुगमन एवं मूल्यांकन गराएका थिए। यस्तै प्रक्रिया पुरातत्व विभाग, काठमाडौंँ महानगरपालिका, गुठी संस्थान आदिले पनि अपनाएमा सरकार र जनताप्रति तिनीहरूको उत्तरदायित्व पूरा हुने देखिन्छ। 

वास्तवमा स्मारकहरूको पुनर्निर्माणको मूल्यांकन गर्ने काम त्यति सजिलो छैन। यस काममा धेरै अनुभवी र विशेष चनाखो आँखा भएका विशेषज्ञ चाहिन्छ। यसरी मूल्यांकन गर्दा उक्त टोलीले पुनर्निर्माण गरिने स्मारकको काम सुरु गर्नका लागि आवश्यक भत्काउनुपर्ने ठाउँमा भत्काउने, सरसफाइ गरी मिलाउनुपर्ने ठाउँमा मिलाउने आदि काम गर्दादेखि प्रत्येक दिनका उपलब्धि राम्ररी टिपोट राख्नुपर्छ। उक्त स्मारकको विस्तृत नाप नक्शा, फोटो, कन्जरभेसन नोट,इस्टिमेट र सामग्रीहरूको पूर्ण विवरण, पुनर्निर्माण गर्दा मौलिक प्राचीन सामग्री एवं कलाकृतिहरूको हुन सकेसम्म पुनः प्रयोग गरिएको छ/छैन, जगमा सर्दी र धमिराबाट बचावट गर्ने काम गरेको छ/छैन, के/कति हदसम्म भूकम्प प्रतिरोधको व्यवस्था गरेको छ, डकर्मी सिकर्मीहरूलेके/कसरी वा गुणस्तरीय काम गरेका छ/छैनन्, सम्बन्धित कर्मचारीले समय/समयमा स्थलगत निरीक्षण गरेको छ/छैन, उक्त स्मारकलाई भविष्यमा के/कसरी प्रयोग गरिने हो र त्यो के/कति दिगोहुन्छ आदि सबै एक/एक गरी केलाइ हेर्नुपर्छ।

कुनै पनि स्मारक चाहे त्यो धार्मिक होस् वा ऐतिहासिक त्यसले आ–आफ्नै किसिमको भावात्मक, सांस्कृतिक र अन्यखालका महत्व बोकेका हुन्छन् । कुनै पनि स्मारकको पुनःनिर्माण र जीर्णोद्धार गर्दा त्यसमा सकेसम्म बाहिरी हस्तक्षेप कम हुनुपर्छ। उक्त स्मारकलाई जीवन्तता प्रदान गरी मौलिक स्वरूप दिन अति आवश्यक भएमा मात्र आधुनिक प्रविधि, निर्माण सामग्री र रसायनहरू प्रयोग गरिनुपर्छ। स्मारकमा जडिएको कुनै पनि कलाकृति र इतिहास प्रतिविम्बित गर्ने कुनै सामग्री नास हुन दिनुहुँदैन।

स्मारक पुनर्निर्माणपछि प्रयोग गर्ने तरिका स्वस्थ र राम्रो हुनुपर्छ। स्मारकलाई आगलागीबाट बचाउने व्यवस्था हुनुपर्छ साथै चोरी र ध्वंसात्मक तत्वहरूबाट बचाउने उपाय पनि अवलम्बन गरिनुपर्छ। बिजुली बत्तीको राम्रो प्रबन्ध हुनुपर्छ नत्र भने धेरै पैसा, मेहनत र सिप खर्च गरी गरिएका पुनर्निर्माण र जीर्णोद्धारका कार्यबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिँदैन।

जेहोस्, यत्रो ठूलो परिमाणमा स्मारकहरूको यत्रो ठूलो धनराशी खर्च गरी यति धेरै जनशक्ति लगाइ विदेशी मित्रराष्ट्रहरूको समेत आर्थिक एवं प्राविधिक सहयोग लिइ गरिएका पुनर्निर्माण र जीर्णोद्धारका कार्य ठीक/ठीक प्रक्रिया पु-याइ ठीक/ठीक ढंगबाट भएको छ/छैन र यी स्मारक हाम्रा भविष्यका सन्ततिलाई हस्तान्तरण गर्दा तिनीहरूले यी स्मारकबाट आफूलाई चाहिने आवश्यक सेवा र फाइदा लिन सक्छ/सक्दैन, ती सबै कुरा मनन् गरी सम्पदा पुनर्निर्माण एवं जीर्णोद्धारको मूल्यांकनको आवश्यकताबारे जनता र सम्बन्धित निकाय सबैले विचार गर्नुपर्ने बेला आइसकेको छ।

प्रकाशित: १९ चैत्र २०७४ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App